देश

अन्तिम रोजाइमा आयुर्वेद

- फातिमा बानु, काठमाडौं

आश्विन २२, २०७४-आधुनिक चिकित्सा पद्धतिको अत्यधिक विकासका कारण विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धति आयुर्वेदतर्फ बिरामीको आकर्षण घटदो छ । अत्याधुनिक उपचारबाट पनि सम्भव नभएका बिरामी भने आयुर्वेदतर्फ नै फर्किने प्रवृत्ति बढेको आयुर्वेद चिकित्सकहरू बताउँछन् । आयुर्वेदतर्फको चासो कम हुँदै जाँदा यो चिकित्सा पद्धति ओझेलमा पर्न थालेको औषधि व्यवस्था विभागका आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीले बताए । ‘सरकारले पनि चासो नदिँदा यो चिकित्सा पद्धति सङ्कटमा पर्न थालिसक्यो,’ डा. ज्ञवालीले भने ।

ललितपुर बुंगमतीका बँुद महर्जनलाई दस वर्ष पुरानो घुँडा दुख्ने रोग छ । घुँडाको उपचारका लागि नेपालका ठूला अस्पतालदेखि भारतसम्म पुगेको उनले सुनाए । ‘कतै गए पनि यो रोग ठीक हुन सकेन, खर्च पनि थुप्रै गरियो,’ उनले भने । महर्जन अहिले नरदेवीको आयुर्वेद चिकित्सालयमा भर्ना भई उपचाररत छन् । उपचारको अन्तिम विकल्पका रूपमा आयुर्वेद अपनाएको उनले सुनाए । उनकी श्रीमती बैनी महर्जनलाई पनि प्यारालाइसिस छ । सबैतिर उपचार गरेपछि अन्त्यमा उनी पनि नरदेवी आयुर्वेद चिकित्सालयमै भर्ना भएकी छन् ।

बिरामीले सबैतिरका उपचारबाट हार खाएपछि आयुर्वेद अस्पताल धाउनु बिडम्बना भएको नरदेवी आयुर्वेद चिकित्सालयका डा. सुरेन्द्र शर्मा बताउँछन् । ‘यहाँसम्म आइपुग्दा बिरामीलाई एलोपेथीको औषधिले पूरै साइडइफेक्ट गरिसकेको हुन्छ, आयुर्वेद उपचारको असर यसै पनि ढिलो हुन्छ,’ शर्मा भन्छन्, ‘अन्तबाट थाकेर आएकालाई सञ्चो बनाउन हामीलाई पनि गाह्रै पर्छ ।’ अन्यत्र धाएर आउनुभन्दा सीधै आयुर्वेदमा आउँदा उपचार सहज र कम खर्चिलो हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । सबैतिर धाएर अन्त्यमा आयुर्वेद उपचार गर्नेमा दीर्घरोगी बढी भएको डा. शर्माले बताए । ‘कतिपय रोग त आयुर्वेदबाट मात्रै सम्भव छ, त्यस्ता बिरामीलाई अस्पतालले नै रिफर गरेर हामीकहाँ पठाउँछ,’ शर्माले भने, ‘जन्डिस, पिनास, प्यारालाइसिस, फिस्टुलाजस्ता रोगलाई आयुर्वेदको औषधिले चाँडो छुन्छ, बिरामी कताकता अल्झिरहन्छन् ।’

आधुनिक चिकित्साका अस्पताल, डाक्टर र औषधि पसलको सर्वसुलभ हुनु, आयुर्वेदको प्रचारप्रसार निकै कम हुनुले पनि आयुर्वेद उपचार छायामा परिरहेको नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा. रामदेव यादवले बताए । ‘नेपालको केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीको कुनामा थन्काइएको छ, यसबारे धेरै बिरामीलाई थाहै छैन,’ उनले गुनासो गरे, ‘जनचेतना फैलाउन सरकारले कत्ति पनि अभ्यास गरेको छैन, यसतर्फ बिरामीको आकर्षण दिनानुदिन घटदै गइरहेको छ ।’

हाल नरदेवी आयुर्वेद चिकित्सालयमा ग्यास्ट्राइटिस, अल्सर, हेपटाइटिस, बाथ, पिनास, नसासम्बन्धी रोग, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटीको रोग, पाइल्स, फिस्टुला, मधुमेह, रक्तचाप पत्थरीलगायत रोगहरूको उपचार हुने चिकित्सालयले जनाएको छ । अर्कातिर चिकित्सालयमा उपकरण र जनशक्तिको भने सधैं अभाव भइरहने हुनाले सेवा प्रभावमा बाधा परिरहेको निर्देशक यादवले सुनाए । ‘भएका उपकरण पुराना भइसके, बिरामीलाई भिडियो एक्सरे र रगत परीक्षणका लागि वीर अस्पताल र टेकुको शुक्रराज ट्रपिकल अस्पताल पठाउनुपर्ने अवस्था छ,’ उनले भने । 

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार