स्वास्थ्य

स्वास्थ्य : कर्णालीको भरोसा ब्याच नम्बर ११

- भिषा काफ्ले

आश्विन २२, २०७४-कालिकोटकी ३२ वर्षीया सुपर्णा हमाल गत १९ असारमा सातौं बच्चा जन्माउँदै थिइन् । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राजीव शाह (३३) उनको ‘केस’ हेर्दै थिए । बच्चा जन्माउने क्रममा हमालको अचानक पाठघर फुटेर रक्तश्राव सुरु भयो । यस्तो अवस्थामा आमाको ज्यान उच्च जोखिममा हुन्छ । रक्तश्राव धेरै भएकाले उनलाई तत्काल रगत दिनुपर्ने अवस्था आयो । उनको ज्यान बचाउन अस्पतालकै केही डाक्टर शल्यक्रिया गर्नतिर लागे भने केही रगतको जोहो गर्न । तत्काल अन्यत्रबाट रगत आउने सम्भावना नभएपछि शल्यक्रिया गर्दा बेहोस बनाउनका लागि बसेका डा. रमेश भट्टराई आफैंले पहिलो एक पिन्ट रगत दिए । डा. निराजना कायस्थ, डा मंगल रावल, डा. हरिहर देवकोटा, डा. अनुस्मृति पल, डा. अनुपमंगल समाललगायतका चिकित्सकहरू पनि कोही थप रगत जुटाउन लागे भने कोही डा. राजीवलाई शल्यक्रियामा सहयोग गर्न । डाक्टरहरूको अथक प्रयासमा ५ घण्टाको शल्यक्रिया र १४ पिन्ट रगत दिएपछि हमालले जुम्लाको कर्णालीको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘पुनर्जन्म’ पाइन्, नवजात शिशुको साथमा । 

पूर्वाधार र उपकरणको राम्रो व्यवस्था नहुँदा प्रतिष्ठानमा यस्तो आपतकालीन परिस्थिति मेडिकल टिमले दैनिक झेलिरहेको हुन्छ । तर पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ११ औं ब्याच आफ्नो विशेषज्ञतामार्फत कर्णालीको स्वास्थ्य सेवामा परिवर्तन ल्याउन कस्सिएको छ । चिकित्सा विज्ञानका फरक–फरक विषयमा विशेषज्ञता हासिल गरेका ७ युवा चिकित्सक सीमित उपकरण, व्यवस्थापनका बाबजुद कर्णालीका जनताको ज्यान जोगाउन तल्लीन छन् । विशेषज्ञ (पीजी) डाक्टरी हासिल गरेर दुर्गमको सेवामा खटिएको ब्याच नं. ११ सुगम मात्र रोज्नेहरूको यो भीडमा प्रेरणादायी हुन सक्छ । 

कर्णालीवासीको स्वास्थ्य सेवामा तल्लीन यही ब्याच नं. ११ का एक सदस्य हुन्, हाडजोर्नी विशेषज्ञ डा. मंगल रावल, ३३ । हुम्लाका उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस पूरा गरे । दुई वर्ष मेडिकल अधिकृतको रूपमा काम गरिसकेपछि पुन: धरानमै जनरल मेडिसिनमा विशेषज्ञ चिकित्सक पढ्नका लागि छात्रवृत्ति पाए । पढ्दै गर्दा सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि न्याम्समा हाडजोर्नी तथा ट्रमा शल्य चिकित्सकको छात्रवृत्ति खोल्यो । ‘कर्णालीमै जन्मेको त्यो अवसर मेरा लागि महत्त्वपूर्ण थियो,’ हालैको एक भलाकुसारीमा मंगलले भने, ‘त्यसमाथि कर्णालीको प्रमुख समस्या भनेकै हाडजोर्नी र ट्रमा उपचारको व्यवस्था नहुँदा अकालमा ज्यान गरेको आफैंले देखेको थिएँ ।’ डा. रावललाई यिनै कुराले कर्णाली तान्यो ।

सप्तरीका राजीव साहचाहिँ किन तानिए त दुर्गम कर्णालीमा ? ‘पत्रपत्रिकामा दैनिकजसो आउने उपचार नपाएर कर्णालीमा सुत्केरी महिलाको मृत्युका खबरले मलाई निकै पिरोल्थ्यो,’ ३३ वर्षीय उनले सुनाए, ‘कर्णाली आउनुको यही प्रमुख कारण हो । यहाँको स्वास्थ्य सूचाकंक पनि एकदमै कमजोर छ । हामीजस्ता युवाको योगदानले कर्णालीको स्वास्थ्यमा योगदान गर्नुपर्छ भन्ने लागेर आएँ ।’ 

डेढ वर्षअघि बाल रोग विशेषज्ञ भएर डा. निराजना कायस्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्दा दैनिक मुस्किलले १० देखि १५ जना बालबालिका बहिरंग सेवा लिन आइपुग्थे, भर्ना भन्ने कुरा त गाह्रो थियो । तर यो डेढ वर्षमा पूरै फरक भएको छ । दैनिक ५० देखि ६० बच्चा बहिरंगमा उपचार हुन्छन् भने १५ देखि २० जना इमर्जेन्सीमा आइपुग्छन् । १२/१३ जना त प्रत्येक दिन भर्ना नै भएका हुन्छन् । ‘अलि–अलि बिरामी धामी–झाँक्रीकोमा लान्थे, गाह्रो भए नेपालगन्ज लैजान्थे,’ बनेपाकी ३१ वर्षीया यी डाक्टरले सुनाइन्, ‘अहिले त एक छिन बस्ने फुर्सद नै हुँदैन ।’ निराजनाको विशेषज्ञताले यो डेढ वर्षमा कर्णालीका धेरै बच्चाको ज्यान जोगिएको छ । ‘एउटा गाउँको कुनै बच्चा राम्रो भएपछि उनीहरूले नै विज्ञापन गर्दा रहेछन्,’ उनले थपिन्, ‘पहिलेभन्दा प्रतिष्ठानप्रति धेरैको विश्वास जागेको छ ।’ 

चिकित्सक बुवाआमाकी छोरी उनले नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस सकेपछि दुई वर्ष पाटन अस्पताल र सिभिल अस्पतालमा मेडिकल अफिसरको रूपमा काम गरिन् । सिभिलमा काम गर्दैगर्दा दुर्गमबाट ढिलो गरी उपचारका लागि आइपुग्ने बालबालिकाहरूलाई बचाउन नसक्दा उनको मुटु पोल्थ्यो । त्यही थकथकीकै कारण उनी दुर्गममा सेवाका लागि तयार भइन् । ‘मैले दुर्गममा गएर काम गर्ने सोच राख्दाराख्दै सरकारले त्यही बेला कर्णालीका लागि बालरोग विशेषज्ञ पढ्न छात्रवृत्ति खुलायो,’ उनले कर्णाली किस्सा सुनाउन थालिन्, ‘तँ सोच म पुर्‍याउँछु भन्ने उखानजस्तै छात्रवृत्तिमा पढ्न पाएँ, अहिले यहाँ आएर सेवा गर्ने मौका पाएकी छु ।’ 

अछामका डा. हरिहर देवकोटालाई कर्णाली पुर्‍याउने कारण पनि न्याम्सको ब्याच नं. ११ नै हो । शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा एमबीबीएस पढेका उनले सेती अञ्चल अस्पताल र कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरे । त्यसपछि त्रिवि शिक्षण अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दुवै ठाउँबाट विशेषज्ञ चिकित्सा शिक्षा अध्ययनका लागि दिएको परीक्षामा उनको नाम निस्कियो । तर, त्योभन्दा कर्णालीका लागि निस्किएको न्याम्सको छात्रवृत्ति उनलाई बढी प्यारो लाग्यो । धरान र आईओएमबाट पढेर सुविधासम्पन्न सहरका अस्पतालमा काम गरेका भए सहरका सुविधासम्पन्न अस्पतालहरूमै शल्यक्रिया गर्नलाई उनलाई भ्याइनभ्याई हुन्थ्यो होला ? तर, ३४ वर्षीय यी डाक्टर कर्णाली पुगेका छन् । ‘कर्णाली मेरा लागि चुनौतीसँगै ठूलो अवसर पनि हो,’ उनी भन्छन्, ‘सेवा सुविधा भएको ठाउँमा त जसले पनि गरिहाल्छ नि, केही नभएको ठाउँमा गरेर देखाउन सक्नुमा पो आनन्द छ ।’ जनरल सर्जनको रूपमा विशेषज्ञता हासिल गरेका उनको टिमले महिनामा ५० देखि ६० वटा साना–ठूला शल्यक्रिया गर्छ । 

विशेषज्ञताको उपाधि हासिल गर्न कर्णाली छात्रवृत्ति कोटा काठमाडौंका डा. अनुप मंगल समाललाई अवसर थियो । तीन वर्षको पढाइपछि जब उनी कर्णाली पुगे त्यसपछि त्यहाँको स्वास्थ्य क्षेत्र सुधारका लागि केही गर्नैपर्छ भन्ने लाग्यो । ३४ वर्षीय यी तन्नेरी डाक्टर अहिले कर्णालीमा जनरल फिजिसियनका रूपमा दैनिक ५० बढी बिरामीको स्वास्थ्य निरीक्षण गरिरहेका छन् । ‘देश के रहेछ भनेर यहाँ आएर थाहा पाएँ,’ उनले भने, ‘नेपाल काठमाडौं उपत्यका मात्रै रहेनछ ।’ 

देवदह मेडिकल कलेज भैरहवा र नेपाल मेडिकल कलेज काठमाडौंमा दुई वर्ष काम गरेका बुटवलका डा. रमेश भट्टराई एनेस्थेसिया विशेषज्ञका रूपमा कर्णाली पुगेका हुन् । एनेस्थेसिया (शल्यक्रिया गराउँदा बेहोस बनाउने प्रक्रिया) पढेका उनलाई आफूले पढेको ज्ञान भरपूर उपयोग गर्न नपाउँदा सुरुका दिनमा केही खिन्नता हुन्थ्यो । ब्याच नं. ११ को कर्णाली यात्रा उनका लागि त्यो खिन्नता मेट्ने कारण माध्यम बन्यो । ‘एक्लै आएको भए उहिल्यै छोडिसक्थे होला,’ ३४ वर्षीय यी तन्नेरी अनुभव सुनाउँछन्, ‘सँगै पढेका एउटै ब्याचका सबै किसिमको विशेषज्ञता भएका साथी एकै ठाउँमा रहँदा निकै रमाइलो भइरहेको छ ।’ 

उमेरले ब्याच नं. ११ की सिनियर हुन्, अनुस्मृति पल । ३६ वर्षीया उनी इन्टरनल मेडिसिनकी विशेषज्ञ हुन् । पुरानो घर अछाम भए तापनि काठमाडौंकै बासिन्दा भइसकेकी पलको माइती पश्चिम नेपाल हो । त्यही पश्चिमको लिगेसीले उनलाई कर्णाली नजिक लाग्यो । ‘पश्चिमको स्वास्थ्य सूचकांक कमजोर नै छ,’ उनले भनिन्, ‘त्यो सूचकांक देखेर मलाई केही गरौं भन्ने भावना जाग्यो र कर्णाली आएँ ।’ 

न्याम्सको २०१२ को ८५ जनाको ब्याचमध्ये यी ७ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि छानिएका विद्यार्थी थिए । जसले कर्णालीको स्वास्थ्यमा सुधारका लागि मिलेर सामूहिक पहल गरिरहेका छन् । त्यसमा डा. रावल एक जना मात्र कर्णालीका बासिन्दा हुन् भने अरू सबै देशका फरक क्षेत्र र भूगोलका हुन् । 

आफ्नो क्षेत्रमा टिमसहित नै जाने भएपछि रावलले अरूलाई त्यस क्षेत्रको बारेमा जानकारी गराउनु सामान्य नै हो । ‘म एक्लै आएको भए केही हुने थिएन,’ डा. रावलले भने । उनको कुरा बीचमै काट्दै डा. साहले थपे ‘आउनुअगाडि कर्णालीको बारेमा जुन डरलाग्दो कल्पना गरिएको थियो, त्यो गलत रहेछ ।’ 

विशेषज्ञ डाक्टर अभाव झेलिरहेको कर्णालीमा ब्याच नंंं. ११ को उपस्थिति स्वास्थ्य सेवामा कायाकल्प ल्याउन थालेको छ । उपचारका लागि अस्पताल जानेहरू बढेका छन् भने विशेषज्ञ डाक्टर उपस्थितिको परिणाम पनि बिरामीमा देखिने थालेको छ । अर्कोतर्फ पैसा हुनेहरू नेपालगन्ज र काठमाडौं धाउने परिपाटी कर्णालीमा बिस्तारै रोकिँदै गएको डा. देवकोटाको बुझाइ छ । ‘यहाँ १० देखि १५ हजारमा हुने शल्यक्रिया गर्न लाखौं तिरेर नेपाल र भारतका विभिन्न ठाउँमा जाने अवस्था बिस्तारै कम हँुदै गएको छ,’ उनले भने । 

५ वर्षका लागि कर्णाली पुगेको यो ब्याचले के त्यहाँको स्वास्थ्य अवस्थामा आमूल परिर्वतन नै ल्याउला त ? ‘आमूल परिर्वतनभन्दा पनि धेरै हदसम्म यो टिमले जनतालाई सुविधा दिन्छ,’ डा. कायस्थ थप्छिन् ‘तर राज्यले स्रोत साधनमा भने सहयोग गर्नैपर्छ ।’ 

ब्याच नं. ११ लाई सघाउन ब्याच नं. १२ का डा. मणिक न्यौपाने र डा. सुनानन्द पौडेल पनि कर्णाली पुगेका छन् । त्यसो त पुराना विशेषज्ञहरू डा. सूर्यमान म्याङबो, डा. प्रवीणकुमार गिरी र डा. विनोद अर्यालले उनीहरूलाई सुरुका दिनमा कर्णालीको परिवेशमा घुलमिल गराएका थिए । 

कर्णालीको स्वास्थ्य मात्र हैन यो ब्याचलाई प्रतिष्ठानलाई चाँडोभन्दा चाँडो एमबीबीएस चिकित्सक उत्पादन गर्न सक्ने बनाउने जिम्मेवारी पनि छ । किनकि सरकारले यो प्रतिष्ठानलाई एउटा चिकित्सक उत्पादन गर्ने विश्वविद्यालयको मान्यतासमेत दिएको छ । 

७ जना विशेषज्ञ चिकित्सकको टोली कर्णाली पुगेपछि त्यहाँबाट बाहिर उपचार गर्न जानेको संख्या प्राय: शून्यमा झरेको कणली जिल्लाका पूर्वसभासद नरेश भण्डारी बताउँछन् । ‘यसअघि पनि केही सीमित विशेषज्ञ हुनुहुन्थ्यो, तर अहिले भने प्राय: सवै रोगका विशेषज्ञ चिकित्सक पाइएको छ,’ उनी भन्छन्, ‘सेवा नियमित भएको छ, यो क्षेत्रका जनतामा त्यहाँ गएपछि उपचार पाइन्छ भन्ने मनोवैज्ञानिक छाप पार्न उहाँहरू सफल हुनुभएको छ ।’

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार