भिडियो

कहीं नभएको जात्रा हाँडीगाउँमा

- प्रशान्त माली, काठमाडौं

आश्विन २२, २०७४-सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ । राजधानीको हाडीगाउँमा भने शुक्रबार गजुर भुइँपट्टि र देवता टुप्पोमा भएको जात्रा गरियो । यही जात्राले गर्दा नै ‘कहीं नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान नै बन्यो । कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ । जात्रालाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा पनि भनिन्छ ।

पौराणिक कथाअनुसार लिच्छविकालमा दिदीको बिहे धनी र बहिनीको गरिब परिवारमा भएछ । धनी दिदीले राम्रो स्वस्थ सन्तान जन्माउन सक्छु भनी घमण्ड गरिन् । बहिनीले आफूसँग धनसम्पत्ति नभए पनि भगवान् विष्णुप्रति आस्था भएकाले आफ्नो पनि राम्रो सन्तान जन्मने विश्वास लिइन् । ९ महिनामा बहिनीले स्वस्थ सुन्दर सन्तानको जन्म दिइन् । घमण्ड गर्ने दिदीको गर्भमा रहेको सन्तान भने १३ वर्ष बित्दा पनि जन्मिएन ।

गर्भावस्थामै दाह्री जुंगा पलाएपछि ज्योतिषीलाई देखाउँदा ‘रिसाएर शिवपुरी जंगलमा बसेका विष्णुलाई मनाउन सके बच्चा जन्मिने’ बहिनीले थाहा पाइछन् । त्यसपछि ज्योतिषकै सल्लाहमा दिदीले क्षमापूजा गरिन् । अन्यत्र कतै नपाइनेखटमा राखेर जात्रा गर्ने, सुनको धागोले गाँसेको मैनको फूल र हिमालय पर्वतलाई ल्याएर जात्रा गर्ने प्रतिबद्धता उनले गरेपछि विष्णु खुसी भएछन् । यसरी १४ वर्षपछि जन्मिएको छोरालाई विष्णुको प्रतीकका रूपमा लिइएको स्थानीय धिमे बाजाका गुरु टेकबहादुर डंगोलले बताए । ‘१४ वर्षमा जन्मिएको हुनाले नेपाल भाषामा नारायणलाई चोक्ते: नारायण भनियो,’ उनले भने । मन्दिर सुनको धागोले गाँसेको मैनको फूलले सजाइएको पृथ्वीजस्तो घुम्ने आकारको हुन्छ । यस्तो अनौठो मन्दिरलाई १५/१५ गुठियारले बोकेर जात्रा गरिने भएकाले यसलाई कहीं नभएको जात्राका रूपमा चिनिएको डंगोलले बताए । खटको टुप्पोमा हिमालको प्रतीकका रूपमा बेतको गोलाकार चक्कालाई सेतो कपडाले बेरिन्छ । बीच भागमा पृथ्वीको प्रतीकका रूपमा घुमाउन मिल्ने गरी बाँस र बेतले कलात्मक ढंगले मन्दिर बनाइएको थियो, जसको माथिपट्टि पृथ्वीको श्रृष्टि फूलका बगैंचाका रूपमा फूलैफूलले सजाइन्छ । सर्वसाधारणले पूजाआजा गर्दा मन्दिरको देवतालाई नभई गजुरलाई गर्छन् । कोता: त्वा: (टोल) का गुठियार गुणनारायण डंगोलका अनुसार जात्रा गर्न कतिं पुन्ही (कोजाग्रत पूर्णिमा) का दिन कोता: गुठीका गुठियारहरू शिवपुरी ध्यान मग्न विष्णुको आत्मा लिन बाँसबारीमा रातभर जाग्राम बस्छन् ।

‘बेलुका विधिपूर्वक नारायण भगवानको पूजाआराधना गरी प्राण निकाली कोता: टोलस्थित पुजारीको घरमा ल्याइएको थियो,’ उनले भने, ‘यस दिन हाडीगाउँका रैथाने निराहार बस्छन् ।’ उनका अनुसार व्रत बसेका पुरुषले ‘म्हतुं दाय्गु’ भनी जीउले नापी प्रत्येक एक जीउ बराबर एक बत्ती चढाउँदै नगर परिक्रममा गर्छन् । शुक्रबार रातिदेखि मूर्तिलाई विधिवत् पूजा गरी खटमा विराजमान गराई नगर परिक्रममा गराइएको थियो ।

जात्रामा ब्रह्माको प्रतीकका रूपमा खट कोता: टोलका, विष्णुको खट न्याल्म टोल र महेश्वरको थतु टोलका गुठियारले बोकेर जात्रा गर्ने चलन छ । खट यात्राका लागि पोङ्गा बाजा अनिवार्य बजाउने परम्परा छ ।

प्रकाशित: आश्विन २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार