समाचार

ईपीजी पाँचौ बैठक: सीमा नियमन, डुबान र आप्रवासनमा छलफल

- चन्द्रशेखर अधिकारी, काठमाडौं

आश्विन २१, २०७४-भारतले सीमा नियमनलाई ब्यवस्थित गर्न चेकपोइन्टहरुमा अभिलेख राख्ने प्रणाली विकास गर्न पर्नेमा जोड दिएको छ । हवाई मार्ग झै स्थलमार्गबाट आवत जावत गर्दा पनि अभिलेख राख्न पर्नेमा उनीहरुले जोड दिएका छन् ।

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठकमा भारतीय टोलीले आप्रवासनहरुको विषयमा पनि कुरा उठाएको छ । दुवैतर्फ रहेका एक अर्का आप्रवासन नागरिकलाई दिने समान सुविधानको विषयमा छलफल भएको र उक्त विषयलाई भारतले गम्भीर रुपमा लिएको एक सदस्यले बताए ।

नेपालले पनि आप्रवासनको विषयमा समान हैसियत दिन समस्या हुने यसमा भूगोल र जनसंख्याको कुरा ख्याल गर्नपर्ने भन्ने धारणा राखेको छ । १९५० को मैत्री सन्धिको पुनरावलोकनको विषयमा यो पक्ष काँडो झै नै रहेको छ । अन्य कुरा उठ्ने वित्तिकै भरतले आप्रवासनको समान हैसियतको कुरा उठाएपछि समस्या उस्तै रहने गरेको छ अहिले पनि त्यही पक्षमा कुरा अघि बढेको एक सदस्यले भने, ‘बीचको बाटो निकाल्ने हाम्रो प्रयास जारी छ । यसमा भारतीय पक्षका सदस्यहरु पनि लचिलो देखिएका छन ।’

आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसार पसार लगायत तस्करी नियन्त्रणका लागि दुवै पक्षलाई हित हुनेगरि भारतले सीमा नियमनमा यसपटक बढि नै जोड गरेको छ । भारतीय टोलीका सदस्य प्राध्यापक बीसी उप्रेतीले आफ्नो प्रस्तुतीमा यो धारणा राखेका हुन् । नेपाली पक्षले यसमा आइतबार थप धारणा राख्नेछ । नेपाल र भारतबीच रहेका सानाठूला विभिन्न ७० चेक पोइन्ट (नाका) नियमन गर्ने विषयमा केन्द्रित प्रस्तुतिमा भारत सरकारले चासो दिंदै आएको धारणा नै ईपीजी मार्फत आएको छ । यस्तो प्रस्तुति अर्थपूर्ण रहेको अधिकारीहरुले बताए । अवैध आउजाउ नियमन गर्ने भारतीय चासोमा नेपाली पक्ष पनि सकारात्मक रहेको भएपनि सीमा क्षेत्रका ‘रोटी बेटी’ सम्वन्धलाई ख्याल गर्नपर्ने विषय पनि सँगै उठेको छ । 

भारतीय टोलीको एक सदस्य उपस्थित नहुँदा पनि बैठक अघि बढ्नु दुई पक्षीय सम्वन्धको सकारात्मक पक्षको रुपमा समिति सदस्यहरुले बताए । पूर्व राजदूत जयन्त प्रसाद अस्वस्थताका कारण बैठकमा सहभागी भएनन । माइनर हार्ट अट्याकपछि स्वास्थ्य लाभ गरिरहेका कारण उनी सहभागि नभएपनि एक महिना ढिलो गरि बैठक बसेको हो । तर, उनले यसअघि प्रस्तुत गरेको १९५० को सन्धिको विषयमा भने यसपटक थप छलफल हुन सकेन । भारतमा हुने छैटौ बैठकमा त्यो विषयमा छलफल हुनेछ । बैठकमा शान्ति तथा मैत्री सन्धिका विषयमा नेपालले आफ्नो प्रतिक्रिया सहित राय पेश गरिसकेको छ । यसमा थप छलफल जयन्तको उपस्थितीमा गर्ने भनिएको छ ।

बैठकमा नेपाली पक्षका सदस्य सूर्यनाथ उपाध्यायले नेपाल–भारत जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा आफ्नो प्रस्तुती दिएका थिए । त्यसमा जलस्रोतको उपयोग संगै सीमामा बनेको भारतीय संरचनाका कारण परेको डुवान बारेमा समेत छलफल भएको छ । 

‘पाँचौ बैठकले पनि अघिल्ला बैठक झै नै दुईपक्षीय विविध विषयमा छलफल अघि बढाएको छ,’ नेपाली टोलीका संयोजक डा. भेखबहादुर थापाले भने, ‘सकारात्मक रूपमै छलफल अघि बढेको छ । अहिले हामीले एजेन्डा यो वा त्यो भन्नुभन्दा पनि समग्र विषयमा छलफल भइरहेको छ । यो सकारात्मक दिशामा नै अघि बढेको छ । काम पनि आधा सकिएको छ । हामी एकै समूहका रूपमा काम गरिरहेका छौं । सकारात्मक नतिजा आउनेमा हामी विश्वस्त छौ ।’

ईपीजीमा अधिकांश विषय सहमति नजिक पुगेकोले केही विषयमा बीचको बाटो खोजेर सहमतिको तय गरिने एक सदस्यले बताए । दुवै तर्फको प्रस्तुतीमा दोहोरो छलफल हुँदै कुराकानी भइरहेको छ । आइतबार पनि बैठकले निरन्तरता दिने र एक अर्काका राय राख्ने काम भइरहेको पनि सदस्यहरुले बताए । 

नेपाली टोलीले यसअघि सीमामै पुगेर नेपाली पक्षहरूसँग अन्तरक्रिया समेत गरेकोले नेपाली पक्षबाट राखिने राय अर्थपूर्ण हुने सदस्यहरुको धारणा छ । भारतले आफ्नो सुरक्षाबाहेक अन्य विषयमा नेपालले लिने निर्णय स्विकार्ने बताइरहेको अवस्थामा सीमाबारे छलफल अघि बढेको हो । 

नेपालले पनि भारतको संवेदनशीलतालाई ध्यानमा राखेर शान्ति र मैत्रीमा परेका दफा २, ५, ६ र ७ का विषयमा नेपाललाई समस्या नहुने गरी बीचको बाटो उपयोग गरेको छ । नेपालले राखेका विषयमा भारतले ठूलो आपत्ति नजनाएको र छलफल गरेर संयुक्त प्रतिवेदनका लागि सकारात्मक हुादै अघि बढेको अवस्थामा आप्रवासनको विषय र सीमा नियमनको  विषय आएको हो । सीमाका विषयमा पनि सकारात्मक रूपमा सहमति हुने तर आप्रवासनको विषयमा निकै लामो बहस र थप सुझावहरु लिन पर्ने अधिकारीहरुको धारणा छ । 

नेपालको तर्फबाट संयोजक सहित चार र भारतको तर्फबाट संयोजक भगतसिंह कोशियारी सहित तीन जना सहभागी थिए । बैठक आइतबार अपरान्ह अर्को बैठकको विषय तय गर्दै सकिनेछ । टोली यतिबेला राजनीतिक भेटघाटमा छ ।   

प्रकाशित: आश्विन २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार