समाचार

चाँदीको मूर्तिसहित भारतीय पक्राउ

- देवनारायण साह, मोरङ

आश्विन २१, २०७४-इलाका प्रहरी कार्यालय रानीले चाँदीको मूर्तिसहित एक भारतीयलाई पक्राउ गरेको छ । 

भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको चाँदीको मूर्तिसहित भारतको अररीया जिल्लास्थित जोगबनी ग्राम पञ्चायत-१ का १९ वर्षीय दीपक साहलाई पक्राउ गरेको हो । उनको साथबाट २ किलो १ सय ६२ ग्राम चाँदीको तयारी लक्ष्मीको मूर्ति ८, गणेशको ९, आचमनी १०, चम्चा १२, माछा ६, मुकुट २९ र पञ्चपात्रो ९ थान बरामद भएको रानी प्रहरी प्रमुख सन्तोष निरौलाले बताए । सिएस र बिएसके १०० ब्रान्डका उक्त मूर्तिहरु छन् ।

 

साहले गोजी नै गोजी भएको लुगाभित्र उक्त मूर्ति राखेर माथि अर्को लुगाएर आउँदै गरेको अवस्थामा विराटनगर-१५ स्थित हुलास मेटल चोकबाट पक्राउ गरेको प्रहरी निरीक्षक निरौलाले बताए । तस्करहरुले अवैध रुपमा लुकाईछिपाई चाँदीका तयारी गहनालगायत सामग्री यहाँका सुनचाँदी व्यवसायीलाई बिक्रीका लागि ल्याउने गरेको सूचनाको आधारमा रेकी गरेर पक्राउ गरेको उनले सुनाए ।

कारबाहीको लागि चाँदीसहित क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरीमा शनिबार बुझाएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए । 

‘तस्करहरुले कुन पसलहरुमा उक्त तयारी चाँदीका सामग्रीहरु ल्याउने गरेको, कहाँ तयार गर्ने गरेको कति मिसावट रहेकोबारे थप अनुसन्धानबाट खुल्छ,’ उनले भने, यस्तो कार्यमा संलग्न भएकाहरुलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

तस्करहरुले अवैध रुपमा लुकाईछिपाई नेपालबाट काँचो चाँदी भारत लगेर ६० प्रतिशत मिसाबट गरी गहनालगायत सामग्री बनाएर नेपालस्थित सुनचाँदी पसलेहरुलाई दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । 

प्रकाशित: आश्विन २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार