फिचर

सिनेमा–चेतनामा हामी कहाँ ?

  • बहस
- मनोजबाबु पन्त
आजको समयमा सिनेमा मान्छेहरूलाई जात्रा देखाएर पैसा कमाउने भाँडोको रूपमा अत्यधिक लोकप्रिय छ । त्यो सँगै जीवन जगत्का काव्यिक अवयवहरू बोकेर सदावहार सिर्जनाको रूपमा आउने सिनेमाहरू पनि समानान्तर छन् ।

आश्विन २१, २०७४-रोमानियाजस्तो युरोपको सानो देश आफ्ना काव्यिक सिनेमा संस्कृतिको परिचयले संसारभर चिनिन थालेको छ । इरानलाई सम्भँmदा त्यहाँका द्वन्द्वका नमीठा प्रभावभन्दा गम्भीर सिनेमाका मीठा प्रभावहरू मनमा आउँछन् । चीनको प्रभावबाट मुक्त हुन नसकेको ताइवान आफ्ना सिनेमाको प्रभाव संसारभर छर्न थालेको छ । विश्वयुद्धमा हारेर दुखेको जापान अहिले आफ्ना सिनेमाहरू बोकेर संसार जित्न निक्लेको छ । नवलहरले संसार लहरिँदै गर्दा हाम्रोतिरचाहिँ कस्तो बतास चलेको छ, एकफेर आफैंतिर फर्केर हेर्ने बेला भएको छ ।

अलेक्जेन्डर एस्त्रक नाम गरेका एक चिन्तकले सन् १९४८ मा लेखेको एक लेखले विश्व सिनेमा जगत्मा तरंग फैलायो । उनले त्यो लेखमा सिनेमा भन्ने माध्यम एउटा विशुद्ध कलाको रूपमा अवतरण गर्दै गरेको उद्घोष गरिदिए र कलमले किताब लेखेजस्तै क्यामराले लेख्ने सिर्जना सिनेमा हो भनिदिए । लेखको शीर्षक थियो- नयाँ कलाको जन्म, क्यामरा कलमको रूपमा । 

लेखमा खिचिएको नाटक र चित्रमा देखिने उपन्यासजस्ता सिनेमाहरूका भीडबाट छुट्टिएर कसरी सिनेमाले आफ्नो भाषा खोज्नुपर्छ भन्ने आवाज थियो । उनले सिनेमा अब कसरी बजारबाट निक्लेर, एकान्तको सम्मोहन खोज्ने एउटा गम्भीर कलाको रूपमा विकास हुन्छ भनेर संकेत गरेका थिए । उनले भने कि अबका केही दशकहरूमा मान्छेहरूले घर–घरमा प्रोजेक्टर भित्र्याउलान् र ठूलो भीडभाडको थिएटरबाट, पेन्टिङ र उपन्यासजस्तै, मान्छेहरूका घरहरूमा सिनेमा पस्नेछ । सिनेमाको स्वरूप फेरिँदै छ । सिनेमाको संस्कृति फेरिँदै छ । 

आफ्नो आधी शताब्दीको उमेर बाँच्दै गरेको सिनेमा उतिबेला धेरै भ्रमित थियो । ५० वर्षसम्मको अवधिमा सिनेमाले आफ्नो बाटो भेटेन । आफ्नो सुगन्ध भेटेन । अस्तित्व संकटमा परेको निर्धो निमुखो प्राणीजस्तो, आधा शताब्दी सिनेमा दुखेर बाँच्यो । 

सिनेमा जन्मिदा, एउटा जादुको स्वरूपमा जन्मेको थियो । पर्दामा चल्मलाइरहेका देखिने साँच्चिकै मान्छेका आकृतिहरू, गुडिरहेको रेल, दौडिरहेका कुकुरहरू- एउटा गजबको इन्द्रजालजस्तो थियो । मान्छेहरू यो जादु देखेर तीनछक परे र सिनेमाका ठेकेदारहरूले मदारीले बाँदर नचाएझैं सिनेमालाई नचाउँदै हिँडे, सभ्यता बास बसेका कुना कन्दराहरूमा । तर जादु कति समय टिक्थ्यो र ? जब मान्छेहरूले सिनेमाको स्वभावलाई सामान्यीकरण गर्न लागे सिनेमाको ओज भँड्खालोमा पर्न थाली गो । सिनेमाको दु:खी भविष्यको संकेत त यसको जन्मदाता लुमियेर बन्धुले उतिबेला नै गरिसकेका थिए । उनीहरू भन्थे- सिनेमा यस्तो आविष्कार हो जसको कुनै भविष्य नै छैन । 

२० वर्ष उमेर पुग्दा नपुग्दै, आफ्ना ओजहरू निभाएर मसानतिर पुग्न लागेको सिनेमा अचानक सल्बलाएर आयो । आफ्नै जन्मदाताहरूको भविष्यवाणीलाई लोप्पा खुवाएर सिनेमा संसारभरिका मान्छेहरू लठ्ठयाउँदै २०औं शताब्दीको सबैभन्दा लोकप्रिय माल पो बनिदियो । यसो हुनुमा एउटा काइदाले काम गरेको थियो- ग्रिफिथ नाम गरेका एक अमेरिकीले सिनेमालाई एक काइदा सिकाएर गए- कथा भन्ने काइदा ।

त्यसपछिका वर्षहरूमा सिनेमाले के मात्रै भनेन । अनेकथरीका मान्छेहरूका अनेकथरी भोगाइहरू । भोगाइले निम्त्याएका अनेक समवेदनाहरू । अनेक शैलीहरूमा पोख्दै, सिनेमा संसार डुली हिँड्यो । मान्छेहरूलाई डर देखाएर, उत्तेजित बनाएर, रुवाएर, हँसाएर, ठूला–ठूला भीडहरूबाट पैसा सोहोर्दै हिँड्ने माध्यमको रूपमा सिनेमाले आफ्नो परिचय भेट्यो । 

कथा भन्ने मामलामा सिनेमा, साहित्य र नाटकभन्दा धेरै कान्छो थियो । सिनेमा जन्मनुभन्दा अघि नै साहित्यले कथ्य परम्पराको लामो संस्कृति बोकिसकेको थियो । कथा भन्ने बानी विकास गरिरहँदा सिनेमाको धरातल यति कमजोर बनिदियो कि साहित्यका शैलीहरूलाई उसले सर्लक्कै काँधमा बोक्यो । देख्न र सुन्न सकिने किताब वा क्यामराले खिचेको नाटकजस्तो स्वरूपमा सिनेमा, किताब र नाटकको भारी बोकेर दास प्रथाको कुनै दासजस्तो लुरुलुरु आफ्नो मालिकको सेवा गर्न तल्लीन थियो । सिनेमालाई लोकप्रियताको नशाले यसरी सकेको थियो कि आफ्नै अस्तित्व क्षय हुँदै गएको पनि उसलाई ख्याल भएन । 

५० वर्षपछि बल्ल सिनेमाको क्षयीकरणले अलिकति ध्यान खिच्न थाल्यो । केही गम्भीर चिन्तकहरूले सिनेमाको स्वरूपलाई लिएर चिन्ता प्रकट गरे । ५० वर्षको अविरल यात्रामा सिनेमा विस्मृतिको क्रोनिक रोगी भइसकेथ्यो । सिनेमा भ्रमित थियो । यो एउटा जादुको स्वरूप हो कि, मास मनोरञ्जनको ठेकेदार हो कि, साहित्य र नाटकको दास हो ? पैसा कमाउने भाँडो हो कि ? संस्कृतिक संग्रहालय हो ? अथवा पापराजीहरूको जिन्दगी गुजार्ने माध्यम हो ? कि गम्भीर कला साधनाको प्रथिष्ठान हो ? वास्तवमा सिनेमा के हो ? किन हो ? केका लागि हो ? कतै सिनेमाले गलत बाटो त हिँडेन ? पुग्नुपर्ने कतै थियो अन्त कतै त पुगेन ? अझै पनि सिनेमाका कोड्सहरूको अल्टिमेट सम्भावनाहरू नजरअन्दाज भइरहेका त छैनन् ? बहसहरू चर्किन थाले त्यो बेला ।

त्यसै बेलाको छेको पारेर एस्त्रकले लेखे- सिनेमा एउटा कलाको स्वरूप हो र हुनुपर्छ्र यो संगीत, पेन्टिङ वा काव्यजस्तै आफ्नै कोड्स र कन्भेन्सन्सका सौन्दर्य बोकेर छिट्टै एउटा विशुद्ध कलाको रूपमा अवतरण हुँदै छ । फ्रान्समा उतिबेला कला र संस्कृतिको गम्भीर उत्खननको लहर चलेको थियो । केही जोसिला युवाहरूले सिनेमाको मियो समाते र सिनेमालाई केही भन्न थाले, ‘सिनेमालाई केही भन्नु छ’ भन्ने पत्रिकामार्फत । उनीहरूले किताब सारेर कनीकुथी कथा भन्ने सिनेमाहरूलाई भयंकर गाली गरे । सिनेमाको स्वभावको कुरा गरे र सम्भावनाहरूको वकालत गरे । उनीहरूको सामूहिक प्रयास सिनेमालाई एउटा स्वतन्त्र कलाको रूपमा व्याख्या गर्ने चेतनाले भरिएको थियो । उनीहरूले चर्का–चर्का भावहरूमा धेरै वर्ष लेखे । सिनेमा साँच्चै कलाको रूप हो भने यसको एक सर्जक हुनुपर्छ भन्ने बहस सुरु भयो र उनीहरूले निर्देशकलाई सिनेमाको अथरको रूपमा मान्ने निक्र्योल गरे । कविताको कविजस्तै, संगीत सर्जकजस्तै, किताबको लेखकजस्तै, सिनेमाको अथरचाहिँ निर्देशक हो है भन्ने मान्यतालाई संसार घुमाएर हेरे । 

केही वर्षको निरन्तर चिन्तनपछि उनीहरू सिनेमाको सिर्जनामा उत्रिए । त्यसो गर्दा सिनेमासम्बन्धी पुराना मान्यताहरूलाई सर्लक्कै छोडिदिए । सिनेमा यसरी बनिनुपर्छ भनेर बनेका घिसिपिटी सूत्रहरूलाई तोड्दै बङ्ग्याउँदै उनीहरूले क्यामेराको माध्यमबाट गर्न सकिने स्वतन्त्र अभिव्यक्तिका सम्भावनाहरू उत्खनन गर्न लागिपरे । उनीहरूले कथाका सूत्रहरू मानेनन् । बजारका सूत्रहरू मानेनन् । सिनेमा इतिहासमा त्यो समय सिनेमा संस्कृतिको फरक आयामको रूपमा स्थापित हुन पुग्यो । सिनेमाको नवलहरको रूपमा सिनेमाले स्पष्ट र फरक बाटो समात्यो त्यो बेला । 

नवलहरको अभियान फरक सिनेमा बनाउने एउटा मुढे लहड मात्रै थिएन । बरु सम्पूर्ण सिनेमाको स्वरूप र संस्कृतिलाई फरक रूपमा व्याख्या गर्ने सचेत अभियान थियो । हुन त सिनेमालाई विशुद्ध सिर्जनाको रूपमा प्रस्तुत गर्ने प्रयास थुप्रै सर्जकहरूले त्योभन्दा अघि र त्यही समयमा पनि गरिरहेथे । सिनेमाको आफ्नो अस्तित्व खोज्न सामूहिक झट्का दिने अभियान भने फ्रान्सको नवलहरको अभियान नै थियो । 

नवलहरले यसरी गुन लगाएर गयो । सिनेमा, घिसिपिटी कथा भनेर पैसा सोहोर्ने कमोडिटीभन्दा गहिरो र फराकिलो महासागर बनिदियो । जीवन र जगत्को सबैभन्दा नजिक र इमानदार साक्षी सिनेमा बन्न सक्छ भन्ने चैतन्य सिनेमाले बाँड्यो । मानवशास्त्रीय अभिलेख सिनेमाका रिलहरूमा खोज्ने परम्परा सुरु भयो । मानवीय संवेगका गहिराइदेखि आध्यात्मिक अनुभूतिका यात्राहरू सिनेमाले वाचन गर्न थाल्यो । 

ब्रेसोंजस्ता सर्जक, सिनेमाको फ्रेमबाहिरबाट अध्यात्मको खोज गर्न अभ्यस्त थिए । फेलिनी, अवचेतन भावनाका गहिराइहरू श्रव्य–दृश्यको माध्यममा खोज्न लागे । आन्द्रे तार्कोब्सकी वस्तुगत समयको काव्यिक अनुभूतिलाई कैद गर्न तल्लीन थिए । इरानमा अब्बास किरोस्तामी कथाका सूत्रलाई छोडेर मान्छेका अति साधारण भोगाइका मूल्यहरू खोजिरहे । अनेक देशका अनेक सर्जकहरूले सिनेमाका अनेक सम्भावनाहरू खोजे । जीवन अनुभूतिको गहिरो रस सिनेमाको यात्रामा खोज्न सकिने एउटा आध्यात्मिक परम्पराको जग बसाएर महान् सर्जकहरूले सिनेमालाई सांस्कृतिक सेतुको रूपमा विकास गरे । पश्चिमतिरको सिनेफिलिक संस्कृतिले यी सिनेमाहरूलाई लोकप्रिय बनाइदियो र सिनेमाले विशुद्ध कलाको रूपमा आफूलाई स्थापित गरिछाड्यो ।

हुन त आजको समयमा सिनेमा व्यापारिक कमोडिटीजस्तो, मान्छेहरूलाई जात्रा देखाएर पैसा कमाउने भाँडोको रूपमा अत्यधिक लोकप्रिय छ । तर त्योसँगसँगै जीवन जगत्का काव्यिक अवयवहरू बोकेर सदावहार सिर्जनाको रूपमा आउने सिनेमाहरू पनि समानान्तर छन् । राष्ट्रको सांस्कृतिक सेतु बनेर यी सिनेमाहरू संसारभरिको आत्मालाई जोड्न लागिपरेका छन् । रोमानियाजस्तो युरोपको सानो देश आफ्ना काव्यिक सिनेमा संस्कृतिको परिचयले संसारभर चिनिन थालेको छ । इरानलाई सम्भँmदा त्यहाँका युद्धका नमीठा प्रभावभन्दा गम्भीर सिनेमाका मीठा प्रभावहरू मनमा आउँछन् । चीनको प्रभावबाट मुक्त हुन नसकेको ताइवान आफ्ना सिनेमाको प्रभाव संसारभर छर्न थालेको छ । विश्वयुद्धमा हारेर दुखेको जापान अहिले आफ्ना सिनेमाहरू बोकेर संसार जित्न निक्लेको छ । नवलहरको लहरले संसार लहरिँदै गर्दा हाम्रोतिरचाहिँ कस्तो बतास चलेको छ, एकफेर आफैंतिर फर्केर हेर्ने बेला भएको छ ।

फ्रान्सको नवलहरको तरंगले संसार तरंगित हुँदै गर्दा, हीरासिंग खत्री पोको पुन्तुरो कसेर राजाको निगाहाले धन्य हुँदै नेपाल आउने सुर गर्दै हुँदा हुन् । पञ्चायती शासन प्रणालीलाई मालिस गर्न भनी सुरु भएको नेपाली सिनेमाको इतिहास आधारमै कमजोर थियो । त्यसमाथि भारतीय सिनेमाले थुपारेको अतिरञ्जित मेलोड्रामामा हाम्रो सिनेमा चेत अड्किएको थियो । त्यसपछि जे जति सिनेमाहरू बने भारतीय मूलधारका सूत्रहरूलाई पछयाएर मान्छेहरूलाई भुलाउने घिसिपिटी सिनेमाको संस्कारको निरन्तरता मात्र रह्यो । हाम्रो भाषामा पनि सिनेमा छन् है भन्नेबाहेक ती सेलुलोइडका स्ट्रिपहरूले कुनै तात्त्विक उपलब्धि दिन सकेनन् । 

प्रकाश थापा हुँदै तुलसी घिमिरेको जुगसम्म आइपुग्दा बिस्तारै कथानकता र भावनाको गहिराइ त खोजियो तर त्यसको आधारशिला सम्पूर्ण रूपमा भारतीय सूत्रबद्ध चलचित्रमा निहित थियो । भारतीय मूलधार जता–जता बग्यो उतै–उतै, बचेराले माउको पिछा गरेझैं नेपाली सिनेमा, ‘जसो–जसो बाहुन बाजे उसै–उसै स्वाहा’ गर्न अभ्यस्त रह्यो । विकृत संस्कृतिलाई काँध थापेर हिँडेको दूतजस्तो । सिनेमाको संस्कृति सम्मानित संस्कृति बन्न सकेन । रासलीला मच्चाउने ठेकेदारहरूको विरासतजस्तो, स्तरहीन नौटंकी गर्ने मुस्तन्डेहरूको अखडाजस्तो, सिनेमा जगत्मा लाग्नेहरू समाजका हेयका पात्र बने । 

सिनेमा बनाउनु त परै जाओस्, सिनेमा हेर्न हलमा जानु पनि इज्जतै जाने कर्मको रूपमा समाजले व्याख्या गर्‍यो । हलमा सिनेमा हेर्न पुगेका स्कुले बच्चाहरू ठूलो कारबाहीमा परे र साना कलिला नानीले सिनेमा हेर्लान् कि भन्ने ठूलो डरले हलहरूमा बिहान सिनेमा देखाउन प्रतिबन्ध गरियो ।

सिनेमा देखाउने सिनेमा हलहरू र नगरवधूले तमासा देखाउने रेड लाइट एरियामा खासै तात्त्विक फरक रहेन । 

आजभोलि विदेशतिर सिनेमालाई स्कुलको कोर्सहरूमा राख्न थालिएको छ । किताबी अक्षरहरूमा पढिएको किंवदन्तीहरूभन्दा आँखैअगाडि देखिएको जीवन र जगत्का दृश्यहरूको अध्ययन भरपर्दो र प्रभावकारी सिकाइ हुन सक्छ । आजभोलि विद्यालयहरू त्यो बाटो लाग्दै छन् । प्राज्ञिक बहसमा सिनेमाको स्थान धेरै माथि रहने गर्छ । समाजशास्त्र, मानवशास्त्र वा विश्व साहित्य पढाउने विश्वविद्यालयहरू कागजमा छापिएका अक्षरहरूभन्दा रिलमा छापिएका मान्छेहरूमा बढी विश्वास गर्न थालेका छन् । तर हाम्रोतिर स्कुले बच्चाहरू बिग्रेलान् भन्ने डरले हलमा भोटेताल्चा लगाउने नीति बनाउनुपरेको छ । यो एउटा दृष्टान्तबाट नै थाहा हुन्छ हाम्रो सिनेमाको चेतना कहाँसम्म पुगेको छ भनेर । 

वर्षौंसम्म कनीकुथी सूत्रीय कथा भन्न पनि नसकिरहेको हाम्रो सिनेमा जगत्मा काव्यिक वा कला चेतनाको संस्कृति छिर्नु त्यति सजिलो कुरा रहेन । सबैभन्दा महत्त्वपूर्ण कुरा त हाम्रो समाजको चेतना कुन गहिराइमा छ भन्ने कुरा रहेछ । भौतिकताको अभावमा भौतिक भोकको ताडनाले पीडित हाम्रो समाज, भाषा संस्कृति, कला अध्यात्मका मूल्यहरू नजरअन्दाज गर्न लागिसक्यो । अंग्रेजी ठेलीहरूको सुगारटाइ गर्दै, ओठमाथि जुँगाका मसिना रेखीहरू भर्भराउन नपाउँदै बुर्कुसी मारेर गोराहरू बास बसेको भूगोलमा भाग्य खोज्ने सपना देख्ने आजको नयाँ पुस्ता सांस्कृतिक रूपमा विचलित छजस्तो लाग्छ । 

आफ्नै अस्तित्वका अवशेषहरूलाई हेयको भावले हेर्ने नयाँ पुस्ता, अरूको संस्कृतिको अनुयायी बन्छ र आफू गलत भूगोलमा जन्मेकोमा खेद प्रकट गर्छ । ग्लोबलाइजेसनको युगमा एक व्यक्ति विश्वको नागरिक बन्ने अभियानमा आफ्नो ज्ञान र व्यक्तित्वको क्षितिजलाई फराकिलो पार्न पक्कै पर्छ तर यो यात्रामा लाग्दै गर्दा आफ्नो भाषा, संस्कृति र मूल्य मान्यताहरूलाई घृणा गरेर संसार जित्न निक्लेको मान्छे भौतिक विलासिताले त पुरिएला तर ऊभित्रको आत्माले संसारको कुन कुनामा पुगेर शान्ति भेट्ला ? कतै हाम्रा प्रतिष्ठानहरूले नयाँ पुस्तालाई ग्लोबलाइजेसन नराम्रो तरिकाले त सिकाइरहेका छैनन् ?

भौतिक उपलब्धि मात्र संसारका सम्पूर्ण उपलब्धि हुन् भन्ने कमजोर मानसिकताले ग्रसित हाम्रो समाजमा कला चेतनाको गहिराइ धेरै सतहमा छ । प्रत्येक समाजले आफू जत्रै सिनेमा पाउलान्, हाम्रा सिनेमाहरू पनि हाम्रो समाजजस्तै चैतन्यको सतहमा बुर्कुसी मारिरहेछन् । 

५ दशकको लामो इतिहासमा केही गम्भीर प्रयासहरू पक्कै भए तर ती प्रयासहरू बतासजस्तै आए, बतासजस्तै गए । ४० को दशकमा साहित्यका रागहरू सिनेमामा छिराउने फुटकर प्रयासहरू भएका हुन् तर एडप्टेसन कलामा चुक्दा र हेर्ने दर्शकहरू नपाउँदा यी सिनेमाहरूले चिरकालका प्रभाव छाड्न सकेनन् । सिनेमा आफ्नै सूत्रहरू बोकेर हिँडिरह्यो । 

५० को दशकमा ‘मुकुण्डो’ र ‘नुमाफुङ’ जस्ता मौलिक र गम्भीर सिनेमा बनाउने प्रयासहरू भए । तर सूत्रबद्ध सिनेमा संस्कृतिले छोपेको बजारमा यिनीहरूले न्याय पाएनन् र मौलिक सिनेमा संस्कृतिले निरन्तरता पाउन सकेन । केही सर्जकहरूले चलिआएको सूत्रको फराकिलो मैदानमा आफूलाई सेफ ल्यान्डिङ गराउने कोसिस गरे । आफ्नो अडानमा बसिरहने नवीन सुब्बाजस्ता सर्जकलाई दोस्रो सिनेमा बनाउन दुई दशक लागिरहेछ । सम्झी ल्याउँदा यो नेपाली सिनेमाको मन दुख्ने दृष्टान्त हो ।

विगतका केही वर्षहरूदेखि नेपाली सिनेमाले अन्तर्राष्ट्रिय सिनेमा महोत्सवहरूमा उपस्थिति देखाइरहेछ । ‘कालो पोथी’ र ‘सेतो सूर्य’ जस्ता सिनेमाहरू नेपालको प्रतिनिधित्व गर्दै संसार घुमेका छन् । ठूला महोस्त्सवहरूमा पुरस्कार जितेका छन् । विश्व सिने जगत्ले नेपाली सिनेमाको झंकारलाई गहिरिएर हेर्न खोज्दै छ । अन्तर्राष्ट्रिय फन्डका लागि प्रयास गर्नु, महोत्सवहरूमा छनोट हुने प्रयास गर्नु एउटा संस्कार जसरी विकास हुँदै छ । 

नेपाली सिनेमा अन्तर्राष्ट्रिय भेन्चरमा निक्लनु हाम्रा लागि क्रान्तिकारी कदम पक्कै नै हो तर यो यात्राका केही नमीठा पाटाहरू छन् जस्तो कि : विदेशी दातृ निकायहरूका स्वार्थमा उनीहरूले धेरै ठाउँमा अंकुश हालेर उनीहरूले हेर्न खोजेजस्तो सिनेमा मात्र बनाइरहँदा हाम्रो सिनेमाको स्वरूप पश्चिमी हेजिमोनीले खर्लप्पै खाइदिने त हैन ? विदेशी सम्भ्रान्तहरूले आफ्नो मानसिकताबाट हेर्न खोजेको समाजको तस्बिर बन्दै जाँदा हाम्रो आफ्नो वास्तविक तस्बिरचाहिँ सधैं पर्दाबाहिरै रहने पो हो कि ?

एउटा सर्जकलाई सयौं ठाउँमा थुप्रो खात दस्ताबेजहरू बनाएर, म यस्तो सिनेमा बनाउँदै छु भनी प्रमाणित गर्दै हिँड्नुपर्ने, एउटा सिर्जनाको अर्गानिक बाटो भएन कि जस्तो लाग्छ । त्यसैगरी आफ्नो सिनेमा बनाउनका लागि ‘साँढेको ... खस्ला र खाउँला’ भनेर कुरेर बसेझैं विदेशी प्रभुहरूको संकेत वर्षौंसम्म कुरेर बस्नुपर्ने एउटा सर्जकको नियति साह्रै पीडादायक छ । 

अन्तर्राष्ट्रिय वृत्तमा निर्माता, वितरक र सेल्स एजेन्टहरू महोत्सव वृत्तलाई सर्लक्कै छोपेका छन् । सिन्डिकेटजस्तो संस्कार विकास भएको छ र महोत्सवहरू कर्पोरेट हाउसमा रूपान्तरण हुँदै छन् । यो सिन्डिकेटलाई तोडेर एउटा स्वतन्त्र सिनेमा सर्जक ठूला महोत्सहरूमा सहभगी हुन धेरै गाह्रो छ । नयाँ पुस्ताका थुप्रै सिने सर्जकहरू यही घानमा पिसिएका छन् । थुप्रैको बीचबाट, दीपक रौनियार र मीनबहादुर भामले दिलाएको सफलता धेरै महत्त्वपूर्ण छ । कस्ता विषयमा कुन शैलीले बनेका सिनेमाहरू अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिन्छन् भन्ने उदाहरण नेपाली दर्शकमाझ पेस गर्न सफल भएका छन् । नेपाली सिने साक्षरता बढाउन यी सिनेमाहरूको ठूलो भूमिका छ । तर नेपाली नवलहरको प्रतिनिधित्व गर्न भने यी पुरस्कृत सिनेमाहरू केही कोणबाट चुकेका छन् । 

सिनेमाको स्वरूप परिवर्तन हुन सबैभन्दा पहिले आफ्नै देशमा एउटा सिनेफिलियाको आवश्यकता छ । विदेशीको निगाहामा सिनेमा बन्ने परम्परालाई तिरस्कार गरेर हाम्रा सिनेमाको जग हाम्रै देशमा खोज्न जरुरी छ । कला, साहित्य, संगीतका अनुरागीहरूलाई सिनेमाको स्वाद चखाउन सकियो भने विश्वविद्यालयमा जीवन र समाजका विविध आयामहरूको डिस्कोर्समा व्यस्त नयाँ पुस्तालाई सिनेमा संस्कृतिसँग जोड्न सकियो भने सिनेमा कलाले एउटा राम्रो सिनेफिलिया भेट्दो हो । बौद्धिक वर्गले सिनेमा हेर्ने बानी बसाले भने मात्र सिनेमाभित्र पनि गम्भीर बौद्धिकताको छाप लाग्न सक्ने थियो । सिनेमा नहेर्ने वर्गलाई सिनेमा हेर्ने बनाउन एउटा अभियानजस्तो छेड्नुपरेको छ । त्यसका लागि वैकल्पिक सिनेमा प्रदर्शनको संस्कृति सुरु हुन जरुरी छ । बजारिया मालको रूपमा सिनेमालाई ग्रहण गर्ने अहिलेका सिनेमा थिएटरहरूले नवलहरको भावना बोक्न सक्ने छैनन् । 

ठूला–ठूला स्वचालित भर्‍याङहरू चढेर, पुँजीवादी पपकर्न चपाउँदै, रंगीचंगी सिनेमा हेरिने संस्कारभन्दा फरक, सिनेमाभित्रका गम्भीर कला साधनाका शैलीहरूका आनन्द लिन फरक सिनेफिलहरूलाई फरक थिएटरहरूमा गोलबद्ध गर्न जरुरी छ । त्यसो गर्दा सिनेमाको प्रचार प्रसार, हलवाला र वितरकहरूको प्रभावबाट मुक्त भएर आफ्ना फरक सिनेमाहरू फरक दर्शकहरूमाझ सीधै पुग्ने संस्कारको विकास हुन पुग्छ । बजारिया कमोडिटी जसरी सिनेमालाई बेच्नुपर्ने बाध्यताबाट पनि सिनेमा मुक्त हुन सक्छ । कम बजेटमा नै बन्न सक्ने सदावहार सिनेमाहरूले आफ्नो लगानी उठाउन धेरै पापड बेलिरहनुपर्ने छैन र निरन्तर सिनेमा बन्न सक्ने संस्कृतिको विकास हुन सक्छ । युरोपतिर चर्चित बनेका सिनेमा थेग र रिभैबल थिएटरहरूलाई दृष्टान्त लिन सकिन्छ ।

त्योभन्दा महत्त्वपूर्ण कुरा राज्यका नीति निर्माणका ठेक्का बोकेर बसेका निकायलाई सिनेमा कलाको महत्ता बुझ्न जरुरी छ । बजारिया माल र सांस्कृतिक चेतनामा डुबेका सिनेमाको बीचको भेद जान्न जरुरी छ । सिनेमाको माध्यमले राष्ट्रिय हार्मोनीलाई समृद्ध पार्न कसरी सक्छ र अन्तर्राष्ट्रिय मञ्चहरूमा देशको परिचय बोकेर कसरी यात्रा गर्न सक्छ, त्यसको महत्त्व बुझ्न जरुरी छ । 

देशभित्रै फरक वैकल्पिक सिनेमा संस्कृतिको जग बस्न सक्यो भने विदेशीका आँखाहरू हाम्रो सिनेमा संस्कृतिमा पर्नेछन् । जसरी जापानका कुरोसवा, ओजु र मिजुगुचीहरूका सिनेमाहरू संसार घुमे उसरी नै हामीहरू पनि अन्तर्राष्ट्रिय मञ्चहरू घुम्न सक्नेछौं । अन्तर्राष्ट्रिय महोत्सवहरूका आँखा लाग्ने आसले सिनेमा बनाउनुपर्ने बिचरो नियतिबाट नयाँ पुस्ता मुक्त हुन सक्नेछ । 

सबैभन्दा महत्त्वपूर्ण कुरा, सिनेमाका सर्जकहरू नै जन्मनु छ । सूत्रहरू, प्रभावका भारीहरूबाट मुक्त भित्री चैतन्यले जागेको र सिनेमा संस्कृतिसँग जीवन जोडिरहेका केही सर्जकहरू जसले सिनेमा भन्ने माध्यमलाई गम्भीर कला–साधनाको माध्यमको रूपमा ग्रहण गरोस् । 

भौतिकताको लेपनले निलेको हाम्रो बोधो मनोविज्ञानले नयाँ पुस्तालाई कला चेतना वाहियात डिस्कोर्स भनेर सिकाउँदै छ किनकि यताबाट मनग्गे आम्दानी हुँदैन ।

 

तैपनि आफ्ना अभिव्यक्तिका माध्यमहरू खोज्दै केही हूल सिनेमाका विद्यार्थीहरू कतै साँघुरा कक्षाहरूमा, चियापसलका अँध्यारा बेन्चहरूमा अथवा नगरबसका अन्तिम सिटहरूमा सबैतिर सिनेमा चैतन्यका सपनाहरू बाँडिरहँदा, लाग्छ अब छिट्टै हाम्रो देशमा सिनेमाको नवलहर आउँदै छ ।

प्रकाशित: आश्विन २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार