मनोरञ्जन

छक्का पञ्जा २ः चुइगमजस्तो

  • फिल्म समीक्षा
- सुशील पौडेल

आश्विन २१, २०७४-फिल्म : छक्का पञ्जा २

निर्देशक : दीपाश्री निरौला

कलाकार : दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, आयुष्मान देशराज जोशी, स्वरूपपुरूष ढकाल, राजाराम पौडेल, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, सन्ध्या केसी

२० वर्षीया आकांक्षा (स्वस्तिमा) अस्ट्रेलिया जाने चक्करमा छे । सम्पन्न परिवारकी एक्ली छोरी भए पनि आकांक्षाका लागि आमा उमा (प्रियंका) नै विदेश सपनाको तगारो बनिदिन्छे । आफ्नै बलबुताले जान लागेकी ऊ आईईएलटीएसमा नम्बर कम आएपछि ‘डिपेन्डेन्ट भिसा’ को वैकल्पिक बाटोमा होमिन्छे । नक्कली पतिका रूपमा आईईएलटीएसमा गतिलो नम्बर ल्याएको प्रज्वल (स्वरूप) भेटिन्छ । प्रज्वल पनि पैसा नभएर अस्ट्रेलिया जान सकिरहेको हुँदैन । दुवैको स्वार्थ मिल्छ । तर त्यसपछि घटनाक्रम भने उनीहरू अनुकूल हुँदैनन् र एकपछि अर्को झमेलामा फस्दै जान्छन् । 

प्रदर्शनरत ‘छक्का पञ्जा २’ ले विदेश मोहमा परी डिपेन्डेन्ट (फिल्मको भाषामा भन्दा शैक्षिक विवाह) भिसामा जान खोज्ने युवा पुस्ताको मर्मलाई हास्यरसको चास्नीमा घोलेर दर्शकलाई पस्केको छ । चास्नीको गुलियोमार्फत फिल्मले जति दर्शक रिझाएको छ, तुलनात्मक रूपमा कथाको खुराकले पेट भर्न सकेको छैन । कति केटाकेटीले चक्लेटमा फोहोर लागेको छ भने पनि पुछेर खान्छन्, त्यसैगरी फिल्मलाई फगत हाँसो र मनोरञ्जनको मिठाई ठान्ने दर्शकले ‘छक्का पञ्जा २’ को कथा र पटकथामा देखिने कमजोरीको फोहोर पनि फालेर स्वाद लिन सक्छन् । ती दर्शकले सबा दुई घण्टा जिब्रो फड्कारेर यो फिल्म हेर्न सक्नेछन् । तर फिल्मलाई स्वादभन्दा माथि सोचेर हेर्ने दर्शकका लागि भने ‘छक्का पञ्जा २’ मध्यम हो ।

‘छक्का पञ्जा’ मा वैदेशिक रोजगारीले ग्रामीण समाजमा पारेको असरलाई पस्केको टिमले यतिबेला सहरिया युवायुवतीबीच फस्टाएको विदेशमोहमाथि कटाक्ष गर्न खोजेको छ । प्रज्वलमार्फत् कथावाचन गरिएको फिल्मको पहिलो भाग दर्शक हँसाउनमा केन्द्रित छ । कमेडी जानरामै रेडियो कार्यक्रमदेखि टेलिभिजनमा लामो समय ‘तीतो सत्य’ चलाएका दीपकराजले नै तयार पारेको पटकथा भएकाले ‘छक्का पञ्जा २’ मा पनि त्यसको ठूलो प्रभाव देखिन्छ । उनी दर्शक हँसाउन घटनाक्रममा भन्दा बढी संवादमा भर परेका छन् । द्विअर्थी लाग्ने, अन्त्यानुप्रासवाला संवाद र चुट्किले शैली दर्शक हँसाउने मुख्य हतियार हुन् ।

तर हाँसो, रमाइलोसँगै फिल्मले सिर्जना गरेको संसारमा पनि विचरण गर्न खोज्नेका लागि भने ‘छक्का पञ्जा २’ मा विश्वस्त हुन नसक्ने थुप्रै प्लट फेला पर्नेछ । नन–लिनिअर स्क्रिनप्लेमा टाइम फ्रेमको ख्याल गरिएको छैन भने अदालती प्रक्रियामा विषयगत ज्ञान अभावमा फिल्मको धज्जी उडेको छ । पेसागत चरित्रहरू दोषरहित बन्न सकेका छैनन् ।

कथा स्वघोषित राजा उर्फ भगवान र उमाको गाउँ छँदाको प्रेमदेखि सुरु हुन्छ । प्रहरीमा जागिरे भगवानले उमासँग असफल प्रेम गर्छ । उमा सहर आएर बिहे गरेर छोरी नै २० वर्षको हुँदा पनि भगवान उही रवाफ, उही उमेर र गेटअपमा प्रहरीमै रहेर छोरी पुस्ताको मुद्दामा भिडिरहेको छ । त्यसो त उमाको गेटअपमा पनि समयानुकूल ठूलो बदलाव देखिँदैन । अधिकांश दृश्यहरूको दर्शक हँसाउने ध्येयबाहेक मूलकथामा योगदान देखिँदैन । पहिलो भाग त मूल द्वन्द्वमा नै प्रवेश गर्दैन । फलस्वरूप दोस्रो भागमा कथा उठानदेखि कन्फ्लिक्ट, ट्विस्ट, क्लाइमेक्स सबै एकै ठाउँमा कोचिँदा बोझिलो र दर्शकलाई अलमल पार्ने हुन पुगेको छ । 

शैक्षिक परामर्शदाताको भूमिकामा रहेका मामा (केदार) को चरित्र अतिरञ्जित बन्न पुगेको छ । फिल्मले विद्यमान समाजको यथार्थपरक समस्यामा कथा भन्ने जमर्को त गरेको छ तर त्यसलाई व्यक्त गर्ने पात्र/चरित्र सही छान्न सकेको छैन । परामर्शदाता बौद्धिक कम कमेडी ज्यादा छन् । अझ उनी ठाउँको ठाउँ ‘नाइलनको सारी...’ मा नाचिदिन पनि सक्छन्, नक्कली विवाह गराउनेदेखि कागजपत्र मिलाउनेसम्म आफैं गरिदिन्छन् । यस्तो लाग्छ, उनी आकांक्षालाई अस्ट्रेलिया पठाउनकै लागि मात्रै कन्सल्ट्यान्सी खोलेर बसेका हुन् । 

फिल्मकी मुख्य चरित्र उमा नै वकिल हुन् । फिल्मको मूल द्वन्द्व नै अदालतमा छ । तर फिल्मको सबैभन्दा कमजोर पक्ष पनि अदालती प्रक्रियामै छ । काइदा, कानुन नै लत्याएर फिल्म चलिरहन्छ । न्यायाधीशले नै मुद्दा फैसलाको जिम्मा पुलिसलाई लगाउनु, कठघरामा उभिएको साक्षी मोबाइलमा पत्नीको फोन आयो भनेर बाहिरिनु, मुद्दा पैरवी गरिरहेको वकिल नै साक्षीका लागि लगत्तै कठघरामा उभ्याईनु पेसागत धर्मप्रतिको अन्याय हो । 

फिल्ममा अर्को उदेकलाग्ने दृश्य राखिएको छ, ट्राफिक चेकिङको । मापसे चेकिङ गर्ने ट्राफिकले ट्याक्सीका प्यासेन्जरसहितलाई प्रहरी थानामा पुर्‍याएर केरकार गर्छ, फजुल प्रश्न गर्छ । अर्कोतर्फ, २० लाख रुपैयाँ चन्दा उठाउनकै लागि कुनै युवती अपहरण गर्न प्रहरीको साहारा लिने विद्रोही पक्षको शैली अर्को उदेकलाग्दो पक्ष हो । दर्शकलाई सरप्राइज दिनकै लागि न्युनतम तर्कको पनि गुन्जायस राखिएको छैन । फिल्म हेरिसकेपछि पुन: एकपटक कथा र चरित्र अनि तिनको उद्देश्य र क्रियाकलापबीचको तालमेल खोज्यो भने धेरै घटनाक्रम बाझिन्छन् । खासगरी प्रज्वलले आकांक्षासँग प्रेम गर्नेदेखि विवाह प्रस्ताव गर्ने घटनाक्रम दोषपूर्ण छ ।

फिल्मको निर्देशन नराम्रो छैन । तर दीपाश्रीमा दोस्रो फिल्म आइपुग्दाको निर्देशकीय प्रगतिमा सुस्तता देखिन्छ । अधिकांश पात्र संवादमा बाँचेकाले अभिनय गौण र संवाद सम्प्रेषण हावी लाग्छ । संवादको कुन शब्दमा बढी स्ट्रेस दिने र कुनमा कम भन्ने विषयमा प्रियंका र आयुष्मानले ध्यान दिन सकेको भए राम्रो सुनिन्थ्यो । स्वरूपको डेब्यु काम सन्तोषजनक नै छ । बिनी (वर्षा) पात्र फिल्मका लागि आवश्यक बनाउन सकिएको छैन भने भगवान, पण्डितलगायतका केही पात्र भीड बढाउनकै लागि थोपरिएको भान हुन्छ ।

प्राविधिक पक्षमा सबल देखिएको ‘छक्का पञ्जा २’ चुइगमजस्तै हो । गुलियो आइन्जेल चपाउनुस्, फुलाउनुस् अनि थुक्नुस् । यो न निल्न ठीक छ न त चपाइरहन नै ।

प्रकाशित: आश्विन २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार