फिचर

सहरको सान-कुमारी

  • सहरलाई समृद्ध बनाउन भौतिक पूर्वाधार, उद्योग–व्यापार र आधुनिक चालचलनको मात्र होइन संस्कृतिको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । सांस्कृतिक सहर काठमाडौंलाई जीवन दिने त्यस्तै संस्कृतिमध्ये एक हो– कुमारी प्रथा ।
- हिमेश
नयाँ कुमारी तृष्णा हुने तय भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसक्षम ‘ग्वयेदाँ’ राख्ने कार्यक्रम भएको थियो । यसअघि यस्तो कार्यक्रम दरबारमा हुन्थ्यो ।

आश्विन २१, २०७४-जीवनमा एकपल्ट देख्न पाइने अवसरजस्तै थियो, कुमारी फेरिने घटना । यसअघि वसन्तपुरको लाय्कु कुमारी परिवर्तन हुँदा कसैले थाहा पाउँदैन थिए । इन्द्रजात्रा अथवा यस्तै अर्को कुनै ठूलो अवसरमा नयाँ कुमारी देखियो भने सर्वसाधारणको प्रतिक्रिया हुन्थ्यो, ‘ओहो, कुमारी त फेरिएछ । नयाँ कुमारी को हो त ?’ तर यसपल्ट त्यस्तो केही भएन । ठूलै प्रचारप्रसारबीच नयाँ कुमारीमा तृष्णा शाक्य (बायाँ तस्बिर) ले मतिना शाक्य (दायाँ तस्बिर) लाई प्रतिष्ठापन गरिन् । 

तय थियो, अष्टमीको दिन कुमारी फेरिनेछ, किनभने यो नै सुरुदेखि चल्दै आएको परम्परा हो । अब हुने नयाँ कुमारी को हुन् त ? एक प्रकारले नयाँ कुमारीबारे गुपचुप राख्ने प्रयास यसपल्ट पनि भएको थियो नै । कुमारीबारे यस्तो भन्नु हुन्न, यस्तो गर्नु हुन्न, यस्ता धेरै मान्यता स्थापित गर्ने प्रयास गरिएको हुन्छ । नयाँ कुमारी तृष्णा हुने तय भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसक्षम ‘ग्वयेदाँ’ राख्ने कार्यक्रम भएको थियो । यसअघि यस्तो कार्यक्रम दरबारमा हुन्थ्यो । 

‘ग्वयेदाँ’ मा पात्रोमाथि अक्षता र सुपारी राखेर चढाइन्छ । त्यो पक्कापक्की भयो भनेर दिइने जनाउजस्तै हो । त्यस अवसरमा तृष्णालाई राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिसँग परिचय पनि गराइएको थियो । यसपछि मात्र तृष्णाको नाम आधिकारिक रूपमा बाहिर निस्केको हो । उनी रहिछन्, काठमाडौं ओमबहालको विश्वकर्म महाविहारकी कुलपुत्री । तृष्णा साढे तीन वर्षकी छन् । उनले यसैपल्टदेखि मात्र स्कुलमा जान सुरु गरेकी हुन् । 

उनी विजय शाक्य र सिर्जना शाक्यकी छोरी हुन् । तृष्णाका एक भाइ पनि छन्, त्यो पनि जुम्ल्याहा । धेरैले थाहा पाएसम्म यो आपैंmमा नयाँ संयोग हो । अष्टमीको दिन तिनै भाइ पनि कुमारी घरमा भेटिए । के कस्तो हुँदै छ भनेर बुझ्न र हेर्न उनी आपैंm खुबै उत्सुक थिए । पछि थाहा पाइयो, तृष्णाले कुमारी हुन घर छाड्दा सबैभन्दा भावुक हुने यिनै भाइ थिए । खुबै रोएका थिए उनी । आफ्नी जुम्ल्याहा दिदीले घर छोड्दा उनलाई दु:ख लाग्नु स्वाभाविक पनि थियो । 

नवमीको दिन कुमारी घरमा कुमारीले टीका लगाइने परम्परा छ । नयाँ कुमारीको हातबाट टीका थाप्न यसपल्ट वसन्तपुरमा राम्रै हूल थियो । तृष्णा भने आसनमै बस्न मानिरहेकी थिइनन् । खुबै चुलबुल गरिरहेकी थिइन् । आसनमा बस्न धेरैपल्ट अनुरोध पनि गरियो, तर उनी कहिले कसैको काखमा बस्थिन् भने कहिले कसैको । बोतलको दूध खाइरहेकी थिइन्, एक अवसरमा । धेरै श्रद्धालु देखेपछि धेरै बेर लाज पनि मानिन्, पुलुकपुलुक सबैलाई हेर्थिन् । 

सायद केही दिनमा उनी त्यहाँको परम्परामा अभ्यस्त हुनेछिन् । यता अष्टमीको दिन मतिनाको इटुंबहालस्थित घरमा खुबै चहलपहल थियो । नौ वर्षपछि मतिना आफ्नो घर फर्कन लागेकी थिइन् । यस्तोमा परिवारका सबै सदस्यलाई खुसी नहोस् पनि किन ? मतिना अहिले १२ वर्षकी भइन् । तीन वर्षको उमेरमा कुमारी भएकी थिइन् । ०६५ को दसैंताका मतिनाको घरमा पनि ठूलै छलफल चलेको थियो, आफ्नी कान्छी छोरीलाई कुमारी बनाउने विषयलाई लिएर । 

बुवा प्रतापमान शाक्यले कान्छी छोरीको नाम राखेका थिए, मतिना । नेपाल भाषामा यसको अर्थ हुने गर्छ, प्रेम, माया, प्रीति, प्यार । त्यति बेला मतिना नर्सरीमा भर्ना मात्र भएकी थिइन् । पछि शाक्य परिवारले निर्णय गर्‍यो, आफ्नो संस्कृतिको धरोहर कायम राख्न मतिनालाई कुमारी बनाउने । त्यसो त कुमारीका पनि एक दर्जनभन्दा बढी प्रथा छन् । त्यसमध्ये केही लोप भइसके । जति छन्, त्यसमध्ये पनि वसन्तपुरकी कुमारी मुख्य मानिन्छ, यसकै बढी महत्त्व छ ।

अष्टमीको दिन दिउँसो १२ बजेर २ मिनेटको दिन साइत निकालेर अहिलेको कुमारीलाई बिदाइ गरेर नयाँलाई भित्र्याइएको थियो । यी दुवै कार्यक्रम राजकीय सम्मानपूर्वक गरिए । कुमारी परिवर्तन हुने साइतमा मतिनाले कुमारी घरको मूलढोकामा एक पाइला बाहिर राखिन् भने ठीक त्यही बेला तृष्णाले एक पाइला भित्र राखिन् । घरबाट बाहिर निस्केर खटमा राखेयता मतिनाले कुमारी घरतिर एकपल्ट फर्केर हेरिन् । सायद उनको आँखा रसाएको थियो कि ? मतिनालाई बिदाइ गर्दा कुमारी घरमा जति छन्, सबै उत्तिकै भावुक बने । धेरै रोए पनि । 

यता प्रतापमान आपैंm पनि प्राज्ञिक व्यक्ति हुन्, भाषा संस्कृतिप्रति अनुराग राख्ने । उनी लिपि विशेषज्ञ हुन् । नेपालमा चलनचल्तीमा रहेका कम्तीमा १२ लिपिका ज्ञाता हुन् । त्यसमा नेपालको गौरव रञ्जना लिपि पनि पर्छ । अहिले उनी कुमारी अधिकारकर्मीजस्तै भएका छन् । र, कुमारीबारे विशेषज्ञ पनि । सबैभन्दा ठूलो उनी प्रो–कुमारी भएका छन् । ‘हाम्रो आफ्नो मौलिक र विशेष परम्परालाई हामी आपैंmले जीवन्त राख्ने प्रयास नगरे कसले गर्ने त ?’ अहिले उनी भन्छन् । 

उनीजस्ता प्रगतिशील मान्छेले पनि किन आफ्ना छोरीलाई कुमारी बनाए भनेर आरोप लगाउने पनि धेरै निस्के । आफ्नै छोरी कुमारी भएकाले पनि त्यसका लागि उनले धेरै गरे भन्ने पनि उत्तिकै छन् । तर उनलाई अचेल त्यसको मतलब छैन । भन्छन्, ‘कुमारीको बुवा भएर त यत्तिको गर्न पाएको हो ।’ उनको प्रयासमा कुमारी प्रथामा धेरै सुधार भए, यसका लागि उनलाई श्रेय जान्नैपर्छ । वर्तमान कुमारीलाई नियमित राम्रै आयको स्रोत उनकै प्रयासमा भएको थियो । 

कुमारीको राम्रो शिक्षादीक्षाका लागि उनले नै प्रयास गरे । अनि कुमारी भइसकेका सबैलाई फेरि नियमित आयको स्रोतको व्यवस्था गर्न पनि उनी नै लागे । ‘अझै धेरै गर्न बाँकी,’ उनी भन्छन्, ‘कसैलाई यस्तो गरे अथवा गरेनन् भनेर आरोप लगाएर मात्र पनि हुन्न । सबै मिलेर अगाडि बढ्नुपर्छ । कुमारी प्रथा नेपालकै विशिष्ट परम्परा हो । यसलाई जीवन्त राख्नैपर्छ र त्यसैले यसमा सुधार आवश्यक भएको हो ।’ त्यसैले त आफ्नी छोरी कुमारी घरमा लिन जाँदा आफूले चिने–जानेका सबैलाई बोलाउने प्रयास गरे । 

यसअघि यस्तो कहाँ हुन्थ्यो र ? निकै धुमधामले छोरीलाई घरमा भित्र्याए, उनले । सुरुका दिनमा लागेको थियो, नौ वर्ष परिवारबाट अलग भएर बसेकी छोरीलाई घरमा अभ्यस्त हुन गाह्रो हुनेछ । उनलाई यसबारे चिन्ता पनि थियो । तर त्यस्तो केही भएन । घर फर्केयता केही रात उनी आफ्ना पाँच दिदीबहिनीसँगै सुतिन् । सबैसँग खेलिन्, हाँसिन् र मज्जा गरिन् । अब मतिना चाँडै बेल विवाह र गुफा राख्ने परम्पराबाट पनि गुज्रिने छिन् । 

अनि चाँडै स्कुल पनि जानेछिन् । कुमारी घरमा छँदा उनलाई ग्रिनपिस को–एडका शिक्षिकाहरू वसन्तपुरमै पुगेर पढाउने काम गर्थे । मतिना घर फर्कने दिन त्यही स्कुलका विद्यार्थी र शिक्षक–शिक्षिकाहरू ब्यानर लिएर संगीतको धुन बजाउँदै कुमारी घरसम्म पुगेका थिए । अहिले स्कुल मतिनाको आगमनको व्यग्र प्रतीक्षामा छ । कुमारी घरबाट निस्केको चार दिनयता मतिनाले सामान्य लुगा पनि लगाउन सुरु गरिसकेकी छन्, अनि परिवारसँग बाहिर घुम्न पनि निस्किसकेकी छन् । 

कुमारीलाई कोही महालक्ष्मी त कोही वज्रदेवीको प्रतीक मान्छन् । यस्तै कोही तलेजु भवानीको प्रतीक । मल्ल राजा जयप्रकाशले यो कुमारी प्रथा चलाएको मानिन्छ । अहिले वसन्तपुरमा रहेको कुमारी घर नेपाल संवत् ८७७ तिर बनेको हो । त्यसअगाडि सायद हनुमानढोकामै कुमारीलाई बस्ने व्यवस्था थियो । जयप्रकाश मल्लदेखि अहिलेसम्म लगातार एकपछि अर्को कुमारी बन्दै आएका छन् । अनुमान छ, मतिना सम्भवत: ४४ औं राजकीय कुमारी हुन सक्छिन्, तृष्णा ४५ औं । 

जो कोहीले कुमारी कहाँ हुन पाउँछन् र ? शाक्य कुलकी हुनुपर्‍यो । आमा र बुवा दुवैमा तीन पुस्तासम्म हेरिन्छ । कुल ठीक छ कि छैन, त्यो पनि जाँच्ने काम हुन्छ । पहिले–पहिले कुमारी हुनेको चिना राजाको चिनासँग मिल्नुपथ्र्यो । अहिले त राजा रहेनन्, त्यसैले मतिनाको चिना देशको ग्रहदशासँग मिलाइएको थियो । सबै मिलेपछि अन्तत: मतिना बनिन्, गणतन्त्र नेपालको पहिलो कुमारी । 

कुमारी फेरिएकै अवसरमा सामाजिक सञ्जालतिर यसको विरोधमा केही आवाज पनि सुनिए । यस्तो विरोध अहिले होइन, पहिले पनि सुनिएको थियो । ‘यसलाई नकारात्मक पनि नमानौं । यसलै कुमारी प्रथा सुधार्न मद्दत मिलेको छ,’ अहिले प्रतापमान भन्छन् । उनकै भाषामा मतिना कुमारी हुनुअगाडिसम्म यो प्रथा एकप्रकारले संकटमा थियो । डर थियो, कतै त्यो लोप हुने त होइन । आफ्नी छोरी कुमारी भएपछि प्रण गरे, यो प्रथालाई कायम राख्न केही दिगो काम गर्नुपर्छ । आफ्नो स्वार्थ मात्र हेरिने छैन । यसका लागि उनले पछिल्लो नौ वर्ष लगातार काम गरे । 

संस्कृतविद् रमेशमान पिया पनि भन्छन्— कुमारी प्रथामा सबै थोक राम्रो छ भन्ने पनि होइन । मुख्य विषय यसमा लगातार सुधार आवश्यक छ । सबैभन्दा ठूलो कुमारी प्रथा जीवन्त रहनुपर्छ । अन्त्यमा फेरि कुमारीसँग जोडिएको जनश्रुतिको कथा दोहोर्‍याउनु ठीक हुन्छ । कुमारीको दैत्यसँग माया बसेको हुन्छ । पछि यस्तो स्थिति आउँछ, कुमारीले आफ्नो प्रेमी दैत्य र देशबीच एउटा रोज्नुपर्ने हुन्छ । कुमारीले देश रोज्छिन् । दैत्यको हत्या गर्छिन् । आफ्नो प्रेमीलाई रोजेको भए, देश रहने थिएन । यो उनको मायाको हत्या पनि त थियो । तर यही नै राष्ट्रियता हो, धेरै अर्थमा । 

twitter : @himeshratna

प्रकाशित: आश्विन २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार