फिचर

बालबालिकाका प्रिय मुनाल

- सजना बराल
वासुदेवले रेडियो नेपालमा ३१ वर्ष काम गरे । तर जति सुने पनि श्रोता अघाएनन् । असोज १२ अर्थात् अष्टमीका दिन भक्तपुर क्यान्सर अस्पतालमा उपचार क्रममा उनको निधन भयो ।

आश्विन २१, २०७४-रेडियो नेपालको कोठा नम्बर– ६ । नारायण गोपाल, नातिकाजी, मधु क्षत्री, वासुदेव मुनाल लगायत संगीतकर्मी भेला भएको दिन । मुनाललाई कसैले भन्यो, ‘ट्रयाजिक होइन, रोमान्टिक गीत गाउनुस् ।’ नातिकाजीले थपे, ‘हो, आज स्टुडियो पनि खाली छ ।’ मुनाल जोसिए । तत्काल गीत लेख्न थालिगए । 

आधा घन्टामै ‘लिरिक्स’ तयार भयो । उनैले संगीत भरे । नारायण गोपालहरूले मनपराएपछि रेकर्डिङ पनि भइगयो । जोशैजोशमा रचेको गीत जोशिलै पाराले चर्चित भयो । आज त कालजयीको सूचीमा पर्छ– 

पानी खाने निहुँले तिम्रो घरमा आउँला

मौका मिले रानीवनमा घुम्न जाउँला...

यसलाई पछि मुनालपुत्र मोहितले रिमिक्स गरेका थिए । वासुदेवले यस्ता थुप्रै गीत रचेका छन्, गाएका छन् । ‘तिम्रो घर चाँचरी...’, ‘हाय मेरी मलमल जुनकिरी...’, ‘भए पनि ठिकै नभए पनि ठिकै...’ लगायत गीत सबैले सुनेकै छ । 

गायक पाण्डव सुनुवारसँग उनले ५/६ वटा गीत गाए । तीमध्ये ‘सक्यौ नानी सक्यौ नानी...’, ‘सिरु न पाते खुकुरी मेरो...’, ‘झमझम इस्टकोट...’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी...’ जस्ता गीत चर्चित छन् । उनीहरू दुई ‘बेस्ट फ्रेन्ड’ थिए, एक जमानाका हिट सांगीतिक जोडी पनि ।

पाण्डव बितेको एक दशक बढी भइसक्यो । उनकै अनन्य मित्र वासुदेव असोज १२ अर्थात् अष्टमीका दिन परकलोक भए । उनी जान चाहिरहेका थिएनन् । बाँच्नका लागि सरकारको सहयोगको पर्खाइमा थिए । तर घाँटीको क्यान्सरले सरकारको बाटो हेरेन । भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको निधन भयो । 

प्यारा प्यारा भाइबहिनी...

मुनाल गायकभन्दा बढी रेडियोकर्मी थिए । आफ्नो बेग्लै प्रस्तुति शैलीका कारण उद्घोषकका रूपमा बहुतै नाम कमाए उनले । पाण्डव मुनाललाई जिस्काउँथे कहिलेकाहीँ, ‘के बाल कार्यक्रम चलाइरा’को वासे ?’ मुनाल भन्थे, ‘बच्चाबच्चीको माया पाएको छस् गोरे ?’

वासुदेवले रेडियो नेपालमा ३१ वर्ष काम गरे । त्यो अवधिभर उनले एउटै वाक्य कतिचोटी दोहोर्‍याए, गन्ती छैन । तर जति सुने पनि स्रोता अघाएनन् । उनलाई सुनेर हुर्किएकाहरू अहिले पनि भन्छन्, ‘आओ मेरा प्यारा–प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ । लौ त, अब सुरु गरौं, आजको बाल कार्यक्रम...।’ 

सन्ध्याकालीन बाल कार्यक्रम चलाउनुअघि नै वासुदेव बच्चाबच्चीप्रति अनुरागी थिए । भाइबहिनी धेरै भइदिनाले उनले केटाकेटीलाई माया गर्न जाने । तिनलाई हँसाउने, फकाउने, भुलाउने, झुलाउने उपाय थाहा थियो । बाल तथा युवा क्लबमा आबद्ध भइसकेका हुनाले पनि उनी यो विधालाई लिएर निकै ‘कन्फिडेन्ट’ थिए । 

उनको ‘बाल कार्यक्रम’मा तत्कालीन युवराज दीपेन्द्र शाह, युवराज्ञी श्रुति शाह, कवि हरिभक्त कटुवाल, गायक प्रदीप बमजन, कलाकार दीपकराज गिरी, मनोज गजुरेल, अभिनेतृ शर्मिला मल्ल, गायिका आस्था राउत आदिले भाग लिएका थिए । उनीहरू सिंहदरबारस्थित स्टुडियोमा आएर गीत गाउँथे । छोराछोरीका प्रिय मान्छेलाई राजा वीरेन्द्रले पनि मनपराएका थिए । 

नेपाली रेडियो मिडियामा बाल विधा स्थापित गराउने श्रेय मुनाललाई दिन सकिन्छ । हुन त उनीअघि नै किरण खरेलहरूले बाल कार्यक्रम चलाइसकेका थिए । तर मुनाल आएपछि कुरा अर्कै भयो । रेडियो नेपाल बाहिर केटाकेटीको भिड लाग्न थाल्यो । स्टुडियोमा तिनले पठाएका कथा, कविता, निबन्धहरू ओइरिए । बच्चाबच्चीसँगै वयस्कहरू समेत उनका प्रशंसक बने । 

जीवनको उत्तरार्धमा कान्तिपुरसँग गफिएका मुनाल भन्थे, ‘त्यो बेला अरू विकल्प नभएर होला, मेरो कार्यक्रमको महत्त्व धेरै थियो । अहिले एकको बदला १० वटा कार्यक्रम छन् । धेरै भएपछि महत्त्व घट्नु स्वाभाविक हो ।’ उनी स्वयम्चाहिँ जीवनको अन्तिम पलसम्म रेडियोकै समिपमा थिए । गीत/कविता रच्न छोडेका थिएनन् ।

नातिकाजीको निम्तो

२००६ सालमा कोइराला परिवारमा जन्मिएका थिए, वासुदेव । उनको स्थायी ठेगाना चौडण्डीगढी, उदयपुर भए पनि विराटनगरमा हुर्किए । बच्चाबेलादेखि नै हार्मोनियम बजाउँथे । गायनमा शोख थियो । उनलाई सुन्न मान्छेहरू झुम्मिन्थे । 

२०२२ सालमा ‘मुनाल मनोरञ्जनालय तथा पुस्तकालय’ युवा क्लब नखोलुन्जेल उनी ठूलो भएर गायक नै बन्न चाहिरहेका थिए । क्लबमा रहेर बालबालिका तथा युवाको पक्षमा काम थालेपछि उनको सोच फेरियो । थर पनि उनले कोइराला हटाएर मुनाल लेख्न थाले ।

त्यसको ७ वर्षपछि राजधानी आए, नातिकाजीको निम्तोमा । रेडियो नेपालमा जागिर लगाइदिने भन्दै नातिकाजीले त्यो बेलाका रेडियो निर्देशक रामराजा पौडेलसँग भेट्टाए । पौडेलले प्रधानमन्त्रीको सिफारिस चाहिने बताए । वासुदेव तुफानको भाँती हुर्ररिँदै प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालकहाँ पुगे । त्यो बेला प्रधानमन्त्री भेट्न सजिलै थियो । 

‘बाख्रा झर्‍यो भिरैभिर, भैंसी झर्‍यो खोला...’ बोलको गीत सुनाएपछि प्रधानमन्त्रीले तत्काल जागिर दिलाएको कुरा मुनालको सम्झनामा ताजा थियो । ‘यही गीत सुनेर नातिकाजीले मलाई काठमाडौं बोलाउनुभएको थियो’, उनी भन्थे, ‘रेडियोमा जागिर सुरु भएपछि उहाँको संगीतमा अरू गीतहरू पनि गाउन पाएँ ।’ २०३० सालमा उनी देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएका थिए ।

नेपाली चाचा चौधरी

वासुदेवले एकताका स्कुल पढाए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनलाई ‘राम्रो’ जागिरको प्रस्ताव आएको रहेछ । ‘युनिसेफबाट पनि अफर आएको थियो’, वासुदेवका छोरा मोहितले भने, ‘उहाँले मान्नु भएन । बाल कार्यक्रम नै ठिक छ भन्नुभयो ।’ उनी रेडियो नेपाललाई मन्दिर मान्थे । त्यसकै शरणमा रहन चाहे ।

तर जिन्दगी सधंै एकनास भएन । २०६४ सालमा उनलाई मस्तिष्कघात भयो । २० दिन त कोमामै रहे । पैसा धेरै चाहियो । साथीभाइ, शुभचिन्तकको भरथेगले अलि पुगेन । रेडियो नेपालबाट उपदान लिए । पेन्सन पाउने बाटै बिलायो । ‘बाँच्नका लागि अनेक गर्नुपर्‍यो’, क्यान्सर भएको थाहा पाएपछि उनले रुँदै भनेका थिए, ‘सरकारले हेरिदिए हुन्थ्यो मलाई ।’

वासुदेवमा हास्य चेत राम्रो थियो । उनी बिरामी छँदा पनि ठट्टा गरिरहन्थे । भारतका प्रख्यात कमिक क्यारेक्टर चाचा चौधरीबाट प्रभावित थिए । ‘मलाई नेपाली चाचा चौधरी बन्ने रहर छ’, ज्ञानेश्वरस्थित निवासमा भेटिएका बेला उनले भनेका थिए, ‘केटाकेटीलाई हँसाउन, खुसी बनाउन चाहन्छु । एउटा बाल बगैँचा बनाउने धोको छ ।’

६८ वर्षको उमेरमा उनी पुस्तक लेखिरहेका थिए । दिनको न्यूनतम १ घन्टा लेखनलाई छुट्याएका थिए । ‘सुनकेस्रा’ बाल पत्रिका निकालेका उनले ‘हाम्रा शत्रु’, ‘पिपी गर्छ बाजा’, ‘घैंटोमा घाम’, ‘हराएको हात’ जस्ता बाल किताब प्रकाशन गरेका छन् । बाल गीतकारी पुरस्कार थाप्ने उनी पहिलो व्यक्ति हुन् । 

प्रकाशित: आश्विन २१, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार