समाचार

कांग्रेसको प्रस्ताव : समानुपातिक सांसद् र स्थानीय चुनावमा पराजित उम्मेदवारले टिकट नपाउने

- कुलचन्द्र न्यौपाने, काठमाडौं

आश्विन २०, २०७४-कांग्रेसले समानुपातिक तर्फबाट सांसद् बनेकालाई पुन: त्यही सुविधा नदिने गरी उम्मेदवार छनोटको मापदण्ड तय गर्ने भएको छ ।

स्थानीय तहको चुनावमा प्रमुख/उपप्रमुखबाट पराजित उम्मेदवारले पनि प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्न नपाउने प्रस्ताव शुक्रबार बिहानदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ल्याइएको छ । महामन्त्री शशांक कोइरालाले बैठकमा राखेको प्रस्ताव पारित भएमा समानुपातिकबाट सुविधा लिएकाहरुले अब प्रत्यक्षमा चुनाव लड्नुपर्ने छ भने स्थानीय तह निर्वाचनमा पराजित उम्मेदवारले यसपटक कुनै पनि तहमा उम्मेदवार बन्न पाउने छैनन् ।

स्थानीय तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार, तिनका प्रस्तावक तथा समर्थक र अन्तर्घात गरी कारबाहीको माग भएकाहरुलाई पनि उम्मेदवार नबनाइने भएको छ । बैठकमा महामन्त्री कोइरालाले समानुपातिकतर्फका उम्मेदवारको सूची २५ गते नै टुंग्याउने प्रस्ताव समेत केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेका छन् ।

राष्ट्रिय एकता र लोकतान्त्रिक प्रकृयालाई अवरुद्ध गर्ने गरी एमाले नेतृत्वमा कम्युनिष्ट गठबन्धन निर्माण भएको भन्दै कांग्रेसले त्यसका विरुद्ध जुध्नका लागि लोकतान्त्रिक गठबन्धन निर्माणको प्रस्ताव समेत बैठकमा राखेको छ । यद्यपि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयानुसार लोकतान्त्रिक गठबन्धनको पहल भने अघि बढाइसकेको छ । त्यही निर्णयलाई अनुमोदन गराउन कांग्रेसले केन्द्रीय कार्यसमितिमा पनि लोकतान्त्रिक गठबन्धन निर्माणको प्रस्ताव ल्याएको हो । 

त्यसअघि पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धन निर्माणका लागि पार्टीले पहल गरिरहेको संक्षिप्त भनाइ राखेका थिए । उनले उम्मेदवार छनोटका लागि छिट्टै पार्टीको संसदीय समिति बनाउन लागेको जानकारी पनि दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट गठबन्धनले संघीय गणतान्त्रत्मक व्यवस्थामाथि नै संकट ल्याउने काम गरेको बताए । उनले सत्ता गठबन्धनमै रहेर प्रतिपक्षसँग माओवादी केन्द्रले गरेको गठबन्धनलाई ‘धोकाधडी’को संज्ञा दिए ।

बैठकमा लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने गरी चुनावी तालमेलका लागि सहमति जुटाउन गठित कार्यदलका सदस्य पूर्णबहादुर खड्काले चुनाव जित्न सक्नेलाई ६ दलको सामूहिक उम्मेदवार बनाउने गरी छलफल अघि बढेको जानकारी गराएका थिए । कार्यदलमा कांग्रेस नेता विमलेन्द्र निधिलाई संयोजक तोकिएको जानकारी समेत खड्काले बैठकमा गराएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले तत्काल लोकतान्त्रिक गठबन्धनलाई औपचारिकता दिएर चुनावी माहोलमा पार्टी एक ढिक्काका साथ होमिनु पर्ने बताए । उनले पार्टीभित्रको आन्तरिक झै-झगडा अन्त्य गरेर चुनावमा जानुपर्ने बताए । केन्द्रीय सदस्य एनपी साउद र गगन थापाले लोकतान्त्रिक गठबन्धन निर्माण किन गर्ने भन्नेबारेमा पार्टीले स्पष्ट दृष्टिकोण ल्याउनु पर्ने बताए । थापाले भने,‘हामीले कम्युनिष्ट गठबन्धनलाई कसरी हेर्ने र लोकतान्त्रिक गठबन्धन किन आवश्यक पऱ्यो ? त्यसको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्छ’तापाले भने,‘लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने विषयमा सैद्धान्तिक जग निर्माण गर्न आवश्यक छ ।’बिहान सुरु भएको बैठक व्यवस्थापिका संसद् भएका कारण दिउँसो स्थगित गरिएको थियो । उम्मेदवार छनोट र लोकतान्त्रिक गठबन्धन निर्माणका लागि अपरान्ह ४ बजे पुन: बैठक बस्दैछ । 

प्रकाशित: आश्विन २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार