विचार/विश्‍लेषण

नेपालको वाम एकताबारे दिल्ली दृष्टि (टिप्पणी)

  • मोदीको नेपाल भ्रमण तत्काललाई टरेको बुझाई
- कमलदेव भट्टराई, काठमाडौं

आश्विन २०, २०७४-नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालकावीचमा तत्कालका लागि चुनावी गठवन्धन र कालान्तरमा पार्टी एकता गर्ने गरी मंगलवार भएको सहमतिको बारेमा दिल्लीको दृष्ट्रिकोण विस्तारै मुखरित हुँदैछ ।

उक्त राजनीतिक घट्नाक्रमलाई दिल्लीले 'सरप्राइज' को रुपमा नलिएपनि उसका लागि यो त्यति सहज र प्रिय घट्नाक्रम भने पक्कै होइन । जानकारहरुका अनुसार एमाले र माओवादीवीचमा बढ्दो सामिप्यता जुनसुकै बेला पनि चुनावी एकताको रुपमा प्रकट हुने तथा त्यसले वर्तमान गठबन्धन नै संकटमा पर्ने सक्ने विश्लेषण दिल्लीमा केही समययता व्याप्त थियो ।

तर त्यसलाई रोक्नका लागि पहिलेको जस्तो हस्तक्षेप गर्ने तथा खुला रुपमा नै आउन सक्ने अबस्थामा यसपटक भारतीय अधिकारीहरु थिएनन् । उसले विभिन्न च्यानलमार्फत गठबन्धनमा नजानका लागि माओवादी केन्द्रका अध्यक्षलाई आग्रह गरेपनि पहिला पहिला जस्तो दवाव भने दिएनन् । 

यसको पछाडीको कारण थियो– यसले नेपालमा झन भारतविरोधी भावना वढाउँछ र केही नर्मल भएको दुईपक्षीय सम्वन्ध फेरी तिक्तताको दिशातर्फ उन्मुख हुन्छ भन्ने बुझाई । नेपालमा संविधान जारी भएपछि लगाइएको नाकावन्दी गल्ती नै थियो भन्ने निष्कर्षमा भारतको राजनीतिक नेतृत्व पुगेको देखिन्छ ।

त्यसैले पनि नेपालको आन्तरिक राजनीतिमा पहिलेको जस्तो खुला र दवावमूलक नीति अवलम्वन नगर्ने राजनीतिक नेतृत्वको सोचाई पाइन्छ । तर, काँग्रेस र माओवादीको गठवन्धन संसद र प्रदेशको चुनावसम्म र त्यसपछि बन्ने सरकारसम्म निरन्तर रहोस् भन्ने भारतको चाहना थियो । त्यसैले एमाले र माओवादी एलायन्सलाई दिल्लीले सहज रुपमा लिएको छैन भन्ने वुझ्न धेरै सोचिरहन पर्दैन ।

तर यसको अर्को पाटो पनि रहेको छ, खासगरी दिल्लीको राजनीतिक तहमा वारम्वार छलफल हुने गर्दछ कि चुनावमा सबैभन्दा ठूलो राजनीतिक दल बनेर आएको  एमालेलाई सरकार बाहिर राख्ने ढंगले पनि अगाडी बढनुहुन्न । तर, यति चाँडै पुष्पकमल दाहाल र केपी ओलीको मिलन होला भन्ने दिल्लीलाई नलागेको विश्लेषकहरु बताउछन् । 

एकथरी राजनीतिज्ञको भनाईमा–वर्तमान गठवन्धनले निरन्तरता पाए राम्रो । तर विगतको तिक्ततालाई बिर्सेर एमालेसंगको सम्वन्धलाई पनि अगाडी बढाउन आवश्यक छ । यद्यपी एमाले र माओवादीको गठवन्धनले निर्वाचन पश्चात सरकार निर्माण गरेको खण्डमा नेपालमा चिनियाँ प्रभाव झनै बढ्ने बुझाई दिल्लीको रहेको छ ।

सो गठवन्धनपछि भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय र भारतका विदेशमन्त्री सुष्मा स्वराजबीचमा भएको भेटघाटमा समेत यस विषयमा कुराकानी भएको थियो । दिल्लीस्थित नेपाली दुतावासका एक अधिकारीका अनुसार स्वराजले वाम गठवन्धन र यसले राष्ट्रिय राजनीतिमा पार्ने असरका सम्वन्धमा जिज्ञासा राखेकी थिइन् । ‘यो गठवन्धनको वारेमा उहाँको सामान्य जिज्ञासा मात्र थियो,’  ति अधिकारीले भने । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रोको उद्घाटन तथा जनकपुर तथा लुम्विनीको भ्रमणको लागि दुई सातापछि नेपालमा भ्रमणमा आउने तयारी समेत भईरहेको छ । तर दुई वामपन्थी दलहरुको चुनावी एकता र त्यसले सरकारमा पर्न सक्ने असरका कारण त्यो भ्रमण समेत प्रभावित हुने अबस्था देखिएको छ । तत्कालका लागि भ्रमणको सम्भावना लगभग सकिएको अधिकारीहरुको बुझाई छ ।

वाम एकताको वारेमा भारतीय संचारमाध्यममा प्रसारित भएका केही सामाग्रीहरु समेत भारतको दृष्ट्रिकोण वुझ्न सहयोगी छन् । केही भारतीय संचार माध्यमले स्पष्ट रुपमा वाम एकतामा चीनको हात रहेको औल्याउन थालेका छन् भने विश्लेषकहरुको धारणा पनि उस्तै छ । 

दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा नेपालमा आकस्मिक रुपमा भएको वाम एकताले अर्को तहको राजनीतिक अस्थिरता ल्याउन सक्ने उल्लेख गरेको छ । सो एकतासंगै दिल्ली चिन्तित हुनुपर्ने कारण रहेको समेत उल्लेख गरिएको छ । सो पत्रिकाले रेड कार्ड इन नेपाल शिर्षकमा विहीवार सम्पादकीय लेखेको छ ।

  

सम्पादकीयमा भनिएको छ – चिनियाँ प्रभावका कारण नै विभिन्न कम्युनिष्ट तप्कालाई एक अर्कासंग नजिक ल्याएको शंका गरिएको छ । सो एलायन्सको डोमिनेन्ट दल नेकपा एमाले वेइजिङसंग नजिक रहेको मानिन्छ । सम्पादकीयमा एलायन्स बनाउन अपनाइएको गोपनीयताले नेपालको प्रजातान्त्रिक प्रक्रियालाई राम्रो नगर्नेसमेत उल्लेख छ । उसले प्रस्तावित कम्युनिष्ट दलहरुको एकतामा खुलापन नभएको र विश्वसनीयता नभएको समेत उल्लेख गरिएको छ ।

दिल्लीमा रहेका नेपाल मामिलका जानकारहरुले भने नेपालको नीतिको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदी काफी दुविधामा रहेको बताउने गरेका छन् । विशेषगरी कर्मचारीतन्त्र र उनीहरुसंग नजिक रहेका नेपाल मामिलाका जानकार नेपालको बारेमा मोदी सरकारको कुनै विकल्प नभएको दावी गर्दछन् ।

यतिवेला दिल्लीमा नयाँ शक्ति पार्टी नेपाल र यसका अध्यक्ष बावुराम भट्टराईको बारेमा चर्चा भईरहेको छ । दिल्लीका राजनीतिज्ञ, मिडिया तथा बुद्धिजिवीहरुको एउटै वुझाई थियो –बावुराम भारतसंग निकट छन् । तर भारतसंग निकट रहेका भट्टराई किन सो गठवन्धनमा सहभागी भए भन्ने व्यापक भन्ने प्रश्न सर्वत्र छ । 

प्रकाशित: आश्विन २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार