फिचर

लाहुरे डाक्टर

- गणेश राई, काठमाडौं

आश्विन २०, २०७४-नेपाली जनमानसमा लाहुरे भनेका अनपढ हुन्छन् भन्ने धारणा छ । तर त्यो धारणाले कोल्टे फेरेको धेरै भइसकेको छ, चर्चा भने काम हुन्छ । नेपालको राजनीतिक आन्दोलनहरूमा सक्रिय भूमिका निभाएकाहरू लाहुर गए । अर्काको देशमा भाडाको सिपाही बन्न हुन्न भन्दै विरोध गर्ने ठिटाहरू पनि अन्तत: लाहुरे बने । सैनिक जीवनमा माथिल्लो दर्जा हासिल गरेनन् । तर मनभित्र पढ्ने धोको पालेकाहरू पनि थिए केही । तिनले उच्च शिक्षासँगै विद्यावारिधि (पीएचडी) उपाधिसमेत हासिल गरेका छन् । उनीहरूको नाम अक्सफोर्ड, क्याम्ब्रिजलगायतका युनिभर्सिटीको अनुसन्धाता सूचीमा दर्ज भएको छ । विषयविज्ञका रूपमा बेलायतमै कार्यरत पनि छन् केही । ब्रिटिस गोर्खा सैनिकमा कार्यरतर सैनिक पेसालाई बीचैमा छाडेर शिक्षालाई अघि बढाउनेहरूसमेत बढेका छन् । 

अन्तर्राष्ट्रिय सम्बन्धविज्ञ

डा. प्रेम आले अन्तर्राष्ट्रिय सम्बन्धविज्ञका रूपमा चिनिन्छन् । उनले भर्खरै मात्र (सन् २०१७) मा अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट विद्यावारिधि उपाधि धारण गरेका छन् । ‘नेपालको सार्वभौमसत्तालाई ठूला मुलुकले पारेको असर’ शीर्षकमा शोध गरेका हुन् । उनी त्यही विश्वविद्यालयको एसिस्टेन्ट रिसर्चर छन् । उनी बेलायतकै डिफेनस कलेज अफ कम्युनिकेसन सिस्टममा सहप्राध्यापक छन् । सन् १९८६ मा भर्ती भएर २०१६ मा अवकाश लिए । यसबीचमा उनले युनिभर्सिटी अफ लन्डनबाट ‘राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयमा बीएस्सी अनर्स गरेका थिए । त्यस्तै, बेलायतकै क्रानफिल्ड युनिभर्सिटीबाट ‘अन्तर्राष्ट्रिय सुरक्षा’ विषयमा एमएस्सी गरेका थिए । उनी एनआरएन यूकेका उपाध्यक्ष निर्वाचित भएका छन् । पेसाले उनी ब्रिटिस गोर्खा सैनिकका अवकाशप्राप्त मेजर हुन् । उनको स्कुले जीवन स्याङ्जाको जनज्योति माविबाट आरम्भ भएको हो । बसोबास चितवनमा रहेको छ । पृथ्वीनारायण क्याम्पस पोखराबाट आईएस्सी उत्तीर्ण गरेपछि इलेक्ट्रोनिक्स इन्जिनियरको सपना बुन्दै गर्दा भर्ती हुन पुगे । ‘बुवाको करले भर्ती हुनुपर्‍यो,’ सामाजिक सेवामा लागिपरेका उनी भन्छन्, ‘ज्यान युकेमा छ, दिल नेपालमै छ । नेपालका गरिब र असहायका निम्ति केही गर्नुपर्छ भन्ने लागेको छ ।’ उनी चिल्ड्रेन फर चिल्ड्रेन नेपाल नामक संस्थाका ट्रस्टी हुन् । उक्त संस्थामार्फत धादिङ र पोखरामा काम गर्दै आएको उनले सुनाए । 

नेपालको शिक्षाका विज्ञ

लाहुरे चन्द्र लक्सम्बा अहिले अक्सफोर्ड विश्वविद्यालयका एक अनुसन्धाताको परिचय बोकेका छन् । उनी बेलायतवासी नेपालीमाझ डा. चन्द्र लक्सम्बाका रूपमा परिचित छन् । सन् २००५ मा युनिभर्सिटी अफ सर्रेबाट ‘नेपालको शिक्षा प्रणाली तथा जीवनपर्यन्त सिकाइ’ विषयमा विद्यावारिधि हासिल गरेपछि दायर फाँटिलो बनेको हो । ‘नेपालमा आरक्षण होइन, हरेक समाजलाई सक्षम तुल्याउन तलबाटै जग बसाएर प्रतिस्पर्धा गराउन जरुरी छ,’ उनी भन्छन् । 

लक्सम्बा अक्सफोर्डमै ‘भोकेसनल लर्निङ एक्सपर्ट’ का रूपमा कार्यरत छन् । उनी सेन्टर फर नेपाल स्टडिज यूकेका कार्यकारी निर्देशक हुन् । त्यसै संस्थामार्फत अनुसन्धान कार्य जारी राखेका छन् । बेलायतमा बसोबास गर्ने नेपालीको जनगणना गरेका छन् । सन् २००७ देखि २००९ मा गरिएको जनगणनाले ७२ हजार १ सय ७३ नेपाली रहेको देखाएको छ । जसमध्ये ६८.५ प्रतिशत ब्रिटिस गोर्खा परिवार छन् । उनले आधारभूत मानव अधिकार, स्वाभिमानपूर्वक बाँच्ने आधार (धर्म, कर्म, रीतिथिति) जस्ता विषय केलाएको जनाए । यो तथ्यांकले बेलायतका नीतिमा प्रभाव पारेको लक्सम्बाको दाबी छ । सन् २०११ मा गरिएको अनौपचारिक जनगणनाले बेलायतमा १ लाख ५ हजार नेपाली रहेको प्रक्षेपण गरिएको छ । यसैगरी, डा. लक्सम्बा ब्रिटिस गोर्खाहरूको इतिवृत्तिबारे समेत जानकार हुन् । उनले ‘नेपाली डायस्पोरा र सामाजिक परिचालन, गोर्खाहरूको समानता मुद्दाको मावनशास्त्र’ विषयमा अनुसन्धान गरेका छन् ।

 

फिल्ममै विद्यावारिधि

सोलुखुम्बु सल्यानका मुलीवीर राई यतिखेर बेलायतको किङस्टन युनिभर्सिटीमा विद्यावारिधिको अन्तिम शोधमा व्यस्त छन् । उनको रुचि हो– फिल्म । शोधको शीर्षक ‘दि वे अफ गोर्खाज् थ्रु फिल्म स्टडिज’ रहेको छ ।

बीएड दोस्रो वर्षमा पढ्दै गर्दा सन् १९९३ मा भर्ती लागे । पल्टनघर छिरेपछि पढ्ने धोको साँचेरै अघि बढिरहेका छन् । अहिलेसम्म पल्टनमै छन् । उनको खाँटी परिचय भने ब्रिटिस लाहुरे नै हो । यदि लाहुरे नभइदिएको भए सायदै विद्यावारिधि उपाधि पहिल्याउने थिए । नयाँ विषयमा केही गर्ने सोचाइले फिल्म रोजेको उनी सुनाउँछन् । जसले गर्दा ब्याचलर्स र मास्टर्स दुवै तहको पढाइ फिल्म केन्द्रित गरे । 

उनको शब्दमा सिनेमा भनेको सामाजिक घटना, परिघटनालाई प्रोजेक्सन गरेर डिजिटल र एनालग गरी प्रस्तुत गरिने विधि हो । यो ऐतिहासिक पनि हुन्छ । विगत, वर्तमान र भविष्यको कल्पना प्रक्षेपण गरिन्छ । यो विज्ञान पनि हो । ‘फिल्म सबैभन्दा सशक्त माध्यम हो, पहिलो र दोस्रो विश्वयुद्धबारे धेरै फिल्म बनेका छन्,’ उनले भने, ‘तर विश्व थर्काउने ब्रिटिस गोर्खा सैनिकबारेमा विदेशीले खासै फिल्म बनाएका छैनन् । केही डकुमेन्ट्री बनेका छन् ।’ छ वर्षअघि नेपालमै केसाङ छेतेनको निर्देशनमा ‘हु वान्टस् टु बी अ गोर्खा’ पनि पहिलो फिल्म भएको उनी जनाउँछन् । त्यसअघि तुलसी घिमिरेले निर्माण गरेको ‘लाहुरे’ चलचित्रले केही हदमा समेटिएको उनको ठम्याइ छ । बीबीसीले गोर्खालीलाई समेटेर केही डकुमेन्ट्री बनाएको छ । मुलीवीर राई आफ्नो शोधले नेपालको फिल्मी क्षेत्रको दायरालाई फराकिलो पार्न सघाउ पुर्‍याउने दाबी गर्छन् । उनी नेपाली साहित्यका आख्यानकार पनि हुन् । उनका ‘बिसाइत’, ‘छाल’, ‘हरियो पर्खाल’ र मृत सहर’ गरी चार उपन्यास कृति प्रकाशित छन् । 

वातावरणविद् हितान

विजय हितान मगर निवृत्त ब्रिटिस गोर्खा हुन् । नेपालमा आईएस्सीसम्मको अध्ययनपछि बेलायत भर्ती लागेका थिए । ओपन युनिभर्सिटी अफ हङकङबाट बीएस्सी गरे । त्यसपछि हितानले लन्डनको युनिभर्सिटी अफ ग्रिनविचबाट एमएस्सी गरेपछि थप बाटो खोलेका हुन् । अहिले बेलायत सरकार मातहतको वातावरण निकायमा वातावरणविज्ञका रूपमा कार्यरत छन् । सन् २००८ मा शोधकार्य गरेलगत्तै यो अवसर पाएका हुन् ।

नेपालको सन्दर्भमा उनको योजना छ । ‘नेपालको वातावरणीय विकासमा केही काम गर्ने सोच बनाएको छु,’ नेपाल र बेलायतबीचको दुई सय वर्षदेखिको सम्बन्ध निरन्तर रहेको उल्लेख गर्दै उनले भने, ‘सहर बजारको फोहोरमैला कसरी व्यवस्थापन गर्ने र आर्थिक उन्नतिसँग जोड्ने भन्ने खाका बनाएको छु ।’ त्यसनिम्ति बेलायतस्थित दूतावास, गैरआवासीय नेपाली संघ र नेपाल सरकारको संयुक्त सहकार्य रहन सक्ने उनले जनाए । 

उनी साहित्यकार पनि हुन् । उनको ‘बिछोडअघिको रात’ र ‘बाग्मती ब्लुज’ कविता संग्रह, ‘थकित पृथ्वी’ कथा संग्रह र ‘इको उत्सर्जन’ निबन्ध संग्रह प्रकाशित छन् । वातावरण साहित्य तथा संरक्षण उनको रुचि हो ।

प्रकाशित: आश्विन २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार