विचार/विश्‍लेषण

वाम एकता र कांग्रेस

- किशोर नेपाल
वामपन्थी एकताको अहिलेको अभियान सम्पूर्ण हिसाबले कांग्रेसको शक्ति खोस्ने व्यूह रचना पनि बनेको छ ।

आश्विन २०, २०७४-नेपाली समाजमा मंगलबारलाई कडा मानिन्छ । भनिन्छ, मंगलबार जे पनि शुभ–काम हुन्छ, त्यसको परिणति निकै कडा हुन्छ । गत मंगलबार नेपालका दुई ठूला मानिने वाम राजनीतिक शक्ति नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल माओवादी केन्द्र तथा संविधान लागू हुने बित्तिकै माओवादीबाट अलग्गिएका डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता स्थापित भएको छ । तर यो एकतासँंगै राजनीतिक संकट पनि जोरिएर आएको छ । राजनीतिक विकासक्रममा ‘मंगलबारे एकता’को प्रमुख सूत्रधार मानिएको माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक राजनीतिक प्रक्रियाको पुरै उल्लंघन गरेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सत्ता गठबन्धन क्रियाशील रहेका बेला, गठबन्धनलाई यथावत राखेर उनी नयाँ चुनावी गठबन्धनमा प्रवेश गरेका छन् । यो सर्वथा अनैतिक सवाल हो । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई कसरी हेरेका छन् ? त्यो उनको विवेकको विषय हो । प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसका नेताहरूलाई प्रचण्डले चुनावसम्म गठबन्धन कायम रहनेमा आश्वस्त गराएको समाचार आएको छ । यो सत्य हो भने प्रचण्डको यो आश्वासनले नेपाली कांग्रेसजस्तो राजनीतिक दलको पुरै अपमान गरेको छ । 

यो अवस्थामा प्रधानमन्त्री देउवाले या त सम्मानपूर्वक राजीनामा गरेर निर्वाचन अभियानमा लाग्नुपर्छ । होइन, उनका लागि सरकार छाड्नु कठिन छ भने माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेर अगाडि बढ्नुपर्छ । सरकारसँग गठबन्धनमा रहेको प्रमुख वामपन्थी पार्टी प्रतिपक्षका रूपमा रहेको अर्को प्रमुख प्रतिपक्षी पार्टीसँंग चुनावी वा संगठनात्मक, जुनसुकै एकतामा गए पनि त्यो सरकारको नेतृत्व लिने पार्टीका लागि प्रत्युत्पादक नै हुन्छ । प्रचण्डले वामपन्थी एकताको प्रस्ताव गर्दा सरकार छाडेका भए त्यसले उनको राजनीतिक कद बढाउने थियो । उनी त्यसको प्रतिकूल भूमिकामा ओर्लिएका छन् । अर्कोतिर सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसले सरकारको नेतृत्व छाडेर वैकल्पिक शक्तिको निर्माणमा लाग्नुपथ्र्यो । यी दुवै काम नभएको अवस्थामा शंका बढेर गएको छ ।

सरकारमा नबसेसम्म चुनावमा उठ्न नसकिने मानसिकताले थिचिएका छन्, नेपाली नेताहरू । यो अवस्थामा प्रचण्ड सरकारबाट बाहिर निस्किन नचाहनु अस्वाभाविक नहोला । तर सरकार ढल्ने डरले कांग्रेसले माओवादीलाई सरकारबाट ननिकाल्ने हो भने देउवाले जुन सरकारको नेतृत्व गरेका छन्, त्यही सरकारको प्रयोग उनले नेतृत्व गरेको पार्टीका विरुद्ध हुनेछ । यो विकट अवस्थामा पर्नुभन्दा पहिले नै कांग्रेस यसबाट बाहिरिनु उचित हुनेछ । कांग्रेसले जतिसुकै राम्रो काम गरेको भए पनि जनमत उसको पक्षमा आउने समय यो होइन । त्यसमाथि कांग्रेसले जनताको पक्षमा त्यस्तो विजोडा काम केही गरेको छैन, जसलाई सम्झेर जनता कांग्रेसका पक्षमा सडकमा ओर्लियोस् । त्यसमाथि घटनाक्रमले दैनिक राजनीतिमा त्यति सरोकार पनि राख्दैन ।

नेपालको वाम राजनीतिमा पार्टी एकता र विभाजन कुनै नौलो उपक्रम होइन । नेपालका वामपन्थी पार्टीहरूबीच एकता संँगसँंगै विभाजन पनि सुरु हुने गरेको छ । सुरुमा सिंगो–सग्लो जन्मिएको नेपाल कम्युनिस्ट पार्टीको नामका अगाडि र पछाडि स्थापना कालदेखि जोडिएका अनेकौं सर्ग र विसर्गले नै यो सत्यको उद्घाटन गरिहालेका छन् । यसो भन्दाभन्दै पनि मंगलबारको त्रि–दलीय वाम एकताको आधार भने केही दह्रो देखिएको छ । यो वाम एकताले नेपालका वामपन्थी शक्तिलाई राजा महेन्द्रद्वारा संसदीय व्यवस्था अपहरित भएपछिको राष्ट्रवादी राजनीतिक धरातलमा उभ्याएको छ । त्यो धरातल र अहिलेको राष्ट्रवादी धरातलबीच खासै अन्तर छैन । त्यतिखेरको चीन राजनीतिक रूपले शक्तिशाली थियो । दुर्भाग्यवश, यो अचेलको जस्तो आर्थिक रूपले सम्पन्न थिएन । आर्थिक शक्तिको प्रयोगद्वारा ठूला परिवर्तन गराउन सक्ने तहमा छ ।

भारतको सुस्त सहयोग, उपेक्षापूर्ण व्यवहार र रित्तो आश्वासनबाट उक्ताएका नेपाली नेताहरू चिनियाँ समृद्धिबाट अत्यन्त आकर्षित भएका छन् । कसैगरी चीनले त्यो समृद्धिको एकै छिटोमात्र पनि नेपालतिर छरिदिए भने नेपालको उन्नति भइहाल्नेछ भन्ने चिन्तन हरेक तहका नेपाली नेताले गरेका छन् । तर यो चिन्तन कुनै आधारमा टिकेको देखिँदैन । चीन र भारतका सिमानामा बेला–बेला विवाद चर्किए पनि ती विवादहरू हामीले सोचेको जस्तो ‘हानाहान’को अवस्थामा पुग्दैनन् । ती दुवै देश विशाल छन् र आर्थिक र व्यापारिक हिसाबले एकअर्काका सहयोगी बन्न चाहन्छन् । नजिकको छिमेकी नेपालमा रेल दौडाउने रहर राखेको छ, चीनले । तर उसका लागि नेपालमा रेल कुदाउन चाहिने बाटो नै साँघुरो छ । जुन दिनसम्म चिनियाँ रेल नेपाल हुँदै भारतका ठूला सहरमा पुग्ने बाटो फराकिलो बन्दैन, त्यस दिनसम्म नेपालमा चिनियाँ रेल कुद्दैन । यो तथ्य एमाले र माकेका अध्यक्षले पक्कै बुझेको हुनुपर्छ ।

शक्ति र सत्ताको चरम सुखभोग गर्न नपाएका दुई कम्युनिस्ट नेता एमाले अध्यक्ष ओली र माके अध्यक्ष दाहाल तथा उहिल्यै सत्ताविना केही गर्न सकिन्न भन्ने निष्कर्षमा पुगेका भट्टराईले यतिखेरको निसाना चुनावलाई बनाएका छन् । स्थुल रूपमा यसलाई दुई प्रमुख कम्युनिस्ट पार्टी बीचको सांगठनिक एकता भनिए पनि अहिलेका लागि यो चुनावी तालमेल मात्र हो । यसले एमाले पार्टीको मौलिक चरित्र नै सखाप हुने हो कि भनेर तर्सिएका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफ्नो फेसबुक पोष्टमा एमालेका बौद्धिक नेता प्रदीप नेपालले बुधबार लेखेका छन्, ‘नआत्तिनुस्, अहिलेको एकता सूर्य चिन्ह अर्थात् चुनावका लागि हो । पार्टी एकता हुँदैन । चुनावी एकता प्राकृतिक हो । यस्तो काम हामीले २०४८ सालको संसदीय चुनावमा पनि गरेका थियौं ।’ 

ठिक यही कुरा माओवादी केन्द्रका हकमा पनि लागू हुन्छ । एमालेसंँग मेलजोलको अहिलेको प्रयासमा प्रचण्डको अन्तरात्माको स्वरमा अरू कैयौं स्वर मिसिएका छन् । उनका लागि अहिलेको यो एकता सुविधामात्रै नभएर बाध्यता पनि हो भन्ने जान्न त्यति धेरै मिहेनत गर्नु पर्दैन । उनले एकताको नाउँमा चर्को दाउको जुवा खेलेका छन् । जुवाको खेल सोचेको टुंगोमा पुग्दा फाइदामात्र नहुन सक्छ । प्रचण्डको ‘बडी ल्याङवेज’ उनको शक्ति र कमजोरी दुवै हो । अहिलेको वाम राजनीति बुझ्न उनको बडी ल्याङवेज बुझ्नु आवश्यक छ ।

आउँदो प्रादेशिक र संसदीय निर्वाचनमा यो गठबन्धनले दुई तिहाइ मतसहित विजय प्राप्त गर्न सक्यो भने यो एकताको सार्थकता पक्कै स्थापित हुनेछ । त्यतिखेर पार्टी एकतामा भन्दा पनि केन्द्र र प्रादेशिक सरकार प्रमुख, मन्त्री र अन्य महत्त्वपूर्ण राजनीतिक पदका लागि नेतृत्वबीच हुने प्रतिस्पर्धा निश्चय पनि कटु हुनेछ । प्रादेशिक र संघीय प्रतिस्पर्धाको भुमरीबाट कुनै पार्टी पनि उम्किन सक्दैन । किनभने अहिले जो–जो उम्मेदवार सूर्य चिन्हको छहारीमा रहनेछन्, तिनीहरूको स्थिति सूर्य चिन्हको छहारीमा नरहेकाहरूको भन्दा अलग हुनेछ ।

दुई ठूला वामपन्थी दलको सांगठनिक वा चुनावी एकताले राजनीतिक बजार गरम भएको यो अवस्थामा साना आकारका वामपन्थी पसल कति बन्द हुनेछन्, त्यो भन्नु सहज छैन । बजार सिद्धान्तको मुख्य कुरो आकर्षण हो । ठूला डिपार्टमेन्टल स्टोरले आकर्षित गर्न नसके साना पसलहरूको महत्त्व ह्वात्तै बढ्छ । तर नेपाली बजारमा वामपन्थीहरूको मात्रै वर्चस्व छैन । यहाँको बजारमा एउटा स्टोर कांग्रेसको पनि छ, जो अहिलेसम्म राम्रै चलेको छ । वामपन्थी एकताको अहिलेको अभियान सम्पूर्ण हिसाबले कांग्रेसको शक्ति खोस्ने व्यूह रचना पनि बनेको छ । शेरबहादुर र शशांक कोइरालाको वृत्तमा रहेका कार्यकर्ताहरूले यो कुरा बुझ्नसके निश्चय पनि अहिलेको कथित राजनीतिक ध्रुवीकरणको राप र तापबाट कांग्रेस जोगिनेछ । 

प्रकाशित: आश्विन २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार