मनोरञ्जन

‘क्लिनिकल रिसर्चर’ सुन्दरी

- कान्तिपुर संवाददाता , लन्डन

आश्विन १९, २०७४-पेशाले ‘क्लिनिकल रिसर्चर’ हुन् उनी । प्यारेक्सेल इन्टरनेशनल कम्पनीमा जागिरे सिर्जना गुरुङको परिचय अचेल थपिएको छ । जनमानस उनलाई मिस युके नेपाल-०१७ सिर्जना गुरुङबाट बढी चिन्छन्। ‘उपाधि जित्छु भन्ने पटक्कै थिएन’, छुट्टीका बेला साउथ हयारो लन्डनमा भेटिएकी सिर्जनाले सुनाइन्, ‘टाइटल जित्छु भन्दा पनि यो प्रतिष्पर्धा हो, हारजित भइहाल्छ भन्ने लागेको थियो । मेरो लागि सहभागिता नै जिते बराबर थियो किनकी यसका लागि साहस चाहिन्थ्यो र यसबाट मैले धेरै कुरा सिकेकी थिएँ ।’ 

मिस नेपाल २००२ माल्भिका सुब्बा कोरियोग्राफर भएकाले फिनाले अघि पनि उनको लेक्चर, ‘पर्सनालिटी डेभलप्मेन्ट’ प्रशिक्षण ज्यादै उपयोगी भएर यसैमा खुशी रहेको सिर्जनाले बताइन् । 

भाद्र अन्तिम साता अन्य ७ प्रतिस्पर्धीलाई उछिनेर उनले उपाधि जितिन् । त्यसयता जिम्मेवारी झन् थपिएको छ उनमाथि । ‘मैले धेरै गर्नुपर्छ भन्ने भएको छ’, उनले योजना सुनाइन्, ‘एक वर्षमा बेलायतका नेपाली युवालाई एकीकृत गर्ने मेरो योजना छ । बेलायतबस्ने युवाले नेपालीपन भुल्ने क्रम बढेकालेम उनीहरुलाई एकीकृत गर्न चाहन्छु ।वृद्धवृद्धा युकेमा एक्लो महशुस गर्नुहुन्छ, उहांहरुलाई अंग्रेजी भाषा आउंदैन । रमाइलो गर्न मन लाग्दो हो, हामी साथमा छौं है भन्ने देखाउन चाहन्छु म ।’

सिर्जनाले यही नोभेम्बरभित्र ‘ब्युटी विथ द परपोज’ नामक च्यारिटी इभेन्ट गर्ने योजना बनाइरहेकी छन् । उपाधि जितेसंगै साथीभाइ, आफन्तजन र समाजले हेर्ने दृष्टिकोण सकारात्मक पाएकी छन् उनले । त्यस्तो 

सकारात्मक र रचनात्मक प्रतिक्रियाले अगाडि बढ्न सहज हुने विश्वास उनलाई छ ।

सन् २०१० बाट सुरु मिस युके नेपाल प्रतिष्पर्धा प्रारम्भदेखि नै हेरिराख्थिन् सिर्जना । तर, पहिले पढाइ प्राथमिकतामा राखेर कलेज, युनिभर्सिटी सकिएपछि उनी ब्युटी पेजेन्टतिर लागेकी हुन् । ठूलो दिदी चन्द्रा गुरुङ मिस नेपाल २००५ को फाइनलिष्ट र सानो दिदी तिर्सना गुरुङ मिस टिन २००५ । यो क्षेत्र ग्ल्यामरस मात्र होइन, समाजमा राम्रो काम गर्न प्रेरित गर्ने एउटा अस्त्र पनि हो भन्ने दिदीहरुकै प्रेरणाले यता रुची बढेको उनले सुनाइन् । 

ब्युटी पेजेन्ट बेला बेला आलोचनाको घेरामा रहन्छ । बाहिर सरसर्ती हेर्दा यो देह प्रदर्शन बाहेक केही होइन जस्तो ठान्नेहरु अधिक छन् । तर, सिर्जनाको बुझाइ अलिक फरक छ । 

‘झकिझकाउ फाइनल राउण्ड पुग्दा मानिसको नजरमा यो क्षेत्र ग्ल्यामरस लागे पनि प्रशिक्षण अवधिभर प्रतियोगीले कसरी बोल्ने, कसरी समाजसँग घुलमिल हुने भन्ने थाहा पाउँछन् । समाजलाई कसरी राम्रो कुरा दिन सकिन्छ थाहा हुन्छ । त्यसकारण यो आफैंमा नराम्रो क्षेत्र होइन,' उनको बुझाइ छ ।

लन्डन ब्रुनेल युनिभर्सिटीबाट बायो मेडिकल साइन्समा ग्र्याजुएशन गरेकी सिर्जना बिगतमा सर्ट मूभी र म्यूजिक भिडियोमा अभिनय गरिसकेकाले क्यामेरा फेस गर्न झन् मज्जा लाग्ने बताउँछिन् । राम्रो अफर आए फिल्ममा पनि खेल्ने उनको चाहना छ ।

पोखराको निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल नजिक स्थायी घर भएकी उनी दश वर्ष छँदा ब्रुनाइ गइन् । बाबु ब्रिटिश आर्मीको जिआरइमा सेवारत थिए । कक्षा ३ सकेर ब्रुनाइ गएकी सिर्जना साढे तीन वर्ष त्यहाँ बसेर सन् २००६ मा युके आइन् । 

लाहुरे परिवारमा जन्मिन पाएकामा भाग्यमानी ठान्छिन् उनी । ‘बुबा, दाई, अंकल सबैजना लाहुरे पृष्ठभूमिका । यही कारण हामी युकेमा आउन पायौं’, उनले भनिन्, ‘म यो अवसरलाई यहाँ राम्रोसँग सदुपयोग गर्न चाहन्छु ।’

लामो समयदेखि बेलायतमै रहेकी उनलाई प्रेम र सेक्स एक अर्काबीच विश्वासमा हुनुपर्छ जस्तो लाग्छ । बेलायतस्थित कयौं नेपाली युवा कुलततिर लागेका खबर सुन्दा उनी दु:खी हुन्छिन् । ‘परिवारबीच कम्युनिकेशन अत्यावश्यक छ,' उनको सुझाव छ, ‘आमा बाबुलाई आफ्नो बच्चाले के गर्दैछन् थाहा हुनुपर्छ । किनभने परिवारबाट टाढिंदै जांदा गलत बाटो हिंड्ने सम्भावना अधिक रहन्छ ।’

५ फिट ७ इञ्च उचाईं भएकी स्पोर्टी पर्सन सिर्जना फिटनेशमा खुबै ध्यान दिन्छिन् । जागिर सकेर प्रत्येक साँझ जिम जाने उनको रुटिन छ । लङजम्प, बास्केटबल, योगा, स्वीमिङ खेलबाहेक युट्यूबमा रमाइरहन्छिन् सिर्जना । फुर्सदमा मानिसका प्रेरणादायी अन्तरवार्ता हेर्न मन लाग्दो रहेछ ।

भविष्यमा क्लिनिकल रिसर्चमै अगाडि बढ्ने सोच उनको छ । मिस युके नेपाललाई बृहत रुपमा अगाडि बढाउने र नेपाली समुदायको हितका लागि सहकार्य गर्ने योजना पनि सिर्जनाले सुनाइन् । नेपालतिर गएर सामाजिक काम गर्ने सोच पनि उनको छ ।

प्रकाशित: आश्विन १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार