ब्लग

हामी स्वार्थीमात्र होइन, परपीडक, लोभी र कायर पनि

- नवीन रायमाझी, काठमाडौं

आश्विन १८, २०७४-केही समय पहिले मित्र राजेन्द्र पराजुलीले यसै स्तम्भमा एउटा ब्लग लेखेका थिए, "हामी कति स्वार्थी !" शिर्षकमा  । उक्त ब्लगमा पराजुलीजीले हामी उस्तै बिषय र घटनालाई आफुलाई पर्दा एउटा रुपले र आफुलाई नपर्दा अर्को रुपले व्याख्या गर्ने तरिकालाई बढो सुन्दर तरिकाले बर्णन गरेका थिए । उनको उक्त आलेखको कुराप्रति सतप्रतिसत सहमत हुँदै हामी स्वार्थी मात्र होइन, परपीडक, लोभी र कायर पनि हौ भन्न चाहन्छु ।

कुरा पंक्तिकार कलेज पढ्दाको हो, आफुलाई पूर्व धरानको हुँ भन्ने एउटा ब्यक्ति बढो सुन्दर लुगा लगाएर आउथ्यो, उसको सेतो पारदर्शी कमिजको खल्तीमा एकपट्टि पाँच सय र अर्को पट्टिको खल्तीमा हजार रुपियाँ को नोट को बिट्टा हुन्थ्यो, हुन्थ्यो वा हुन्थेन त्यो उसैलाई थाहा होला तर बाहिरबाट त्यस्तै देखिन्थ्यो । हामी दस, बीस रुपियाँको मुख देख्न पनि महाभारत हुने समयमा त्यति धेरै पैसा बोकेर कलेज आउने मान्छे देखेर जिल्ल परिन्थ्यो । बढो मिजासिलो स्वभाव भएको उ हामीलाई भेट्ने बितिकै दिल खोलेर पैसा खर्च गर्थ्यो । एक रुपियाँ  कपको चिया पिउन हम्मे हुने हामीलाई उ टयाक्सीमा राखेर पाँच तारे होटलमा लगेर खाजा खुवाउथ्यो । करिव छ महिनाको सङ्गत पछि उसले मसँग चार लाख रुपियाँ सापट माग्यो । मसँग त्यो बेला त्यति रकम सापट दिन सक्ने हैसियत थिएन र मैले उसलाई दिन सकिन । उसले यति मधुर तरिकाले माग्थ्यो कि उसलाई नाईं भन्न सक्ने सायद नै कोहि हुन्थे, उसले पहिले आफु माथि पैसा खर्च गरेको देखेर पनि मान्छेहरु उसलाई सहजै विश्वास गर्थे । एक दिन उ अचानक गायब भयो, दुई तीन महिनासम्म त कसैले उसको बारेमा मुख खोलेनन्  । तर जब छ सात महिनासम्म पनि उसले मुख देखाएन त्यसपछि थाहा भयो उसले को कोसँग के केमात्र ठगेको रहेछ भन्ने कुरा, क्यामरा देखि जुत्तासम्म र ब्याट्म्याण्टिन रयाकेटदेखि झोलासम्म, पैसाको त कुरै नगरौं, कति हो कति । म भने आफुसँग पैसा नै नभएर जोगिएको थिएँ, होइन भने म पनि फस्ठें । मैले पैसा दिन नसकेकोमा उसले मेरो बारेमा अरुलाई भन्थ्यो रे, "कस्तो गरीब रहेछ, छाला काट्दा पनि सुको नझर्ने ।", अब पाठकहरुले नै भन्नुस् कि म पैसा नहुने गलत कि उ अरुलाई ठग्न खोज्ने गलत ?

ज्यान मार्ने उद्योग र लागु पदार्थको अबैध ओसारपसार जस्ता जघन्य अपराधदेखि गुन्डागर्दी जस्ता अपराधमा पटक पटक प्रहरीको फन्दामा परेर अनेकौ पटक जेल सजाय पाएको एउटा व्यक्तिको फेसबुक पेजमा यो आलेख तयार पार्ने बेलासम्म ५५ हजार भन्दा बढी ब्यक्तिहरुले लाइक गरिसकेका छन् । मेरो बिचारमा यी सबै लाइक गर्ने व्यक्तिहरु उक्त अपराधीको काम र जीवन शैलीसँग प्रभावित भएका ब्यक्तिहरु हुन्, अब आफै सोच्नुस् हाम्रो समाज कुन दिशा तिर लम्किरहेको छ ? समाज बिरोधी क्रियाकलापमा संलग्न हुने त्यस्तो व्यक्तिलाई समाजले बहिष्कार गर्नुपर्नेमा उसलाई बढावा दिने काम गर्नु भनेको उल्टो चाला होइन ? अमेरिकालगायतको देशमा त्यस्तो क्रियाकलाप गर्ने ब्यक्तिलाइ कानुनले यसरी बाँधेर राखेको हुन्छ कि उसले आफ्नो इच्छाले कतै जान वा आउन पाउँदैन । हाम्रो देसमा भने जसले बढी गैरकानुनी काम गर्छ वा नियम कानुन तोड्छ त्यो ब्यक्ति नै "हिरो" साबित हुन्छ । 

मेरो छिमेकमा एउटी महिला थिइन्, जसको अहिले मृत्यु भइसकेको छ । उनको काम भनेको दिनभरी घर घरमा पस्ने र भएका कुरालाई बढाएर र हुँदै नभएका कुरालाई ठ्याक्कै हो जस्तो गरेर एउटालाई अर्कोसँग लडाउने र भिडाउने उनको दिन चर्या थियो । टोल भरिका छोरी–बुहारीहरुको काल्पनिक प्रेम प्रसंग र उनीहरुको अनैतिक सम्बन्ध को कोसँग छ त्यो सबै रेकर्ड उनीसँग हुन्थ्यो । यसरी व्यक्तिको चरित्र हत्या गरेर अरुलाई निशुल्क तथा घटिया मनोरन्जन गर्ने ब्यक्तिलाई कुन रुपमा हेर्नुपर्ला त्यो बौद्धिक पाठक वर्ग कै जिम्मामा छोड्न चाहन्छु । उनको अर्को ठुलो प्रतिभा भनेको कसैको छोरा वा छोरीको विवाहको कुरा चल्यो भने सम्बन्धित स्थानमा गएर त्यो अगाडी बढ्न लागेको कुरालाई भाँड्नु हुन्थ्यो, अब यस्तो बानी कुनै मानसिक रोग होला जस्तो मेरो बुझाइ छ । 

पंक्तिकारको एउटा परिचित जापान गएको थियो, जापानमा हड्डी घोटेर कमाएको पैसा उ आफ्नो दाइलाई पठाउथ्यो । गैरकानुनी रुपमा बसेको उसलाई प्रहरीले पक्राउ गरेर नेपाल फर्काइ दियो । करिब १२ बर्षपछि नेपाल फर्केर दाइसँग पैसाको हिसाब किताब सोध्दा त्यो पैसा सबै मैले व्यापारमा लगाएको थिएँ, ब्यापार पनि डुब्यो र त्यो पैसा पनि डुब्यो भनेर एक पैसा पनि फिर्ता दिएन । त्यस्तै अर्को प्रसंग, आफ्नो घरपट्टीको लाखौं रुपियाँ ठगेर नेपाली सिनेमाको नायक र निर्माता भएका एक व्यक्ति ठुला ठुला कुरा गरेर आजकल पत्रपत्रिका र टेलिभिजन च्यानलहरुमा अन्तरबार्ता दिइरहेका हुन्छन् । भारतीय सेनामा कार्यरत सैनिकको मृत्यु भएपछि ति सैनिककी निरक्षर श्रीमती (घरपट्टी) लाई झुक्काएर सबै पैसा हड्पने उक्त सिनेमाका नायकको घरपट्टीको अवस्था अहिले खाए भोलि के खाउ भन्ने छ । मलाई अनौठो लागेको के भने यो दुवै प्रसंगमा कसैले पनि पीडितको पक्ष लिएन, ठिक्क भयो बडो फुर्ति गर्थ्यो अहिले देख्यो भन्ने शैलीमा सबै पीडककै पछाडी लागेका छन् । मेरो बिचारमा त यसको ठिक उल्टो हुनु पर्थ्यो र सामाजिक दबाब दिएर पनि पीडितलाई न्याय दिन सहयोग गर्नु  पर्थ्यो ।

यि माथी उल्लेखित प्रतिनिधि घटनाहरुलाई लिएर मैले हामी परपीडक, लोभी र कायर भनेको हुँ, यसमा म पनि कुनै अपबाद होइन किनकि म पनि यसै समाजको सदस्य हुँ र कतै न कतै म पनि यि प्रसँगहरुमा जोडिएको छु । भलै अप्रत्यक्ष रुपमै किन नहोस । यो आलेख पढेपछि केही व्यक्तिहरुले मलाई नकारात्मक सोचले लेखेको पनि भन्ने छन् र सबै उस्तै हुँदैन भन्ने छन् । यो कुरा सहि हो कि यी प्रसंगहरुले हाम्रो समाजको शतप्रतिशत प्रतिनिधित्व गर्दैन र यो संसारमा कुनैपनि कुरा शतप्रतिशत सहि वा गलत हुँदैन । प्रबुद्ध पाठकहरुको स्वच्छ आलोचनालाई सधैको जस्तो आत्मसात गर्दै बिरोध को निम्ती बिरोध गर्ने मानसिक रोगीहरुको लागि यो आलेख तयार गरेको होइन भन्ने जानकारी गराउन चाहन्छु ।

प्रकाशित: आश्विन १८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार