फोटोफिचर

घुम्न जाने होइन त मनाङ ? [फोटोफिचर]

  • साहसिक यात्रा रुचाउनेलाई गन्तव्य मनाङ
- भीम घिमिरे, आश गुरुङ, मनाङ

आश्विन १५, २०७४-सडक मार्ग सहज भएसँगै गत वर्ष धेरै आन्तरिक पर्यटक मुस्ताङ पुगे । हिमाल पारिका दुइ जिल्लामध्येको मुस्ताङको भौगोलिक विविधताबारे धेरैले थाहा पाए । अब अर्को जिल्ला मनाङको यात्रा गर्दा कस्तो होला ? 

मनाङको यात्रा मुस्ताङजस्तो सहज छैन । यतिबेला जान्छु भन्नेहरू सडकमार्गको जोखिमपूर्ण यात्रा रुचाउनेमध्येका पर्छन् । मनाङमा हुम्डे एयरपोर्ट छ तर, सञ्चालनमा छैन । जाने बाटो एउटैमात्र छ । एउटै ढुंगा जस्तो पहाड खोपेर भीरको बाटो जान खोज्नु साहसिक यात्रा रुचाउनेका लागि अनौठो अनुभव दिलाउने प्रकारको छ ।  

मनाङमा हेर्ने हिमाल, हिमाली हावापानी, वातावरण, हिमाली वन्यजन्तु र मनमोहक वातावरण हो ।  दन्त लहरझैं फैलिएका हिमाल । स्थानीय रहनसहन । मर्स्याङ्दी नदीको सुसाई । चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकका साथी हुन् । विमानचालक त्रिपल पी. गुरुङ मनाङमा चार प्रकारको भौगोलिक अवस्था भएको बताउँछन् । स्थानीय तहको नयाँ संरचनामा पनि यो जिल्ला चार तहमै बाँडिएको छ । माथिल्लो क्षेत्रका सात गाविसलाई जोडेर नेस्याङ, सदरमुकाम रहेको बीचको भाग चामे, तल्लो भेगका तीन गाविस समेटिएर नासोङ । नार र फू उपत्यका गरि नारफू गाउँपालिका नामाकरण गरिएको छ । ‘तल्लो क्षेत्रबाहेक अन्त धान, मकै, कोदो केही हुँदैन । आलु र फापर फलाएर यहाँका बासिन्दा बस्छन्,’ उनले भने, ‘पर्यटन व्यवसायले नै यहाँको जनजीवन धानिरहेको छ ।’

डा. हर्क गुरुङ यहाँका हिमालका पछाडि के छन् ? मर्स्याङ्दी नदिको बहाव किन गड्बडाइरहेको छ भन्ने खोज्न हिँडिरहन्थे । यात्रामा रहँदा स्थानीय गाउँमा मोटर ल्याइदिन उनलाई आग्रह गर्थे । उनी पर्यटक ल्याउनुपर्नेमा जोड दिन्थे । स्याउ, आलु, फापर, करु र जौ फलाउन हौस्याउँथे । 

याकचौंरी, च्यांग्रा, भेडा पालेमा जीवन उकासिने बताउँथे । खेतीपाती र पशुपालन गरेर पर्यटन प्रवर्द्धन गर्न र मोटर बाटो खुलेपछि बाँकी उपभोग्य वस्तुलाई शहर पुर्‍याउने योजना बनाउन उनी आग्रह गर्थे । २०६६ सालतिर म्यार्दीभीर कोप्दै गर्दा तत्कालीन जिविस मनाङका पूर्व सभापति कप्ली गुरुङलाई मनाङमा मोटर पुग्ला जस्तो लागेको थिएन । ‘अहिले मर्स्याङ्दीको तिरैतिर, म्यार्दीको भिरैभीर मोटर दौडिँदा आनन्द लाग्छ,’ उनले भने, ‘विकास त हेर्दाहेर्दै पो आउँदो रहेछ ।’ उनका अनुसार डा. हर्कले भनेजस्तो पर्यटक मोटर चढेर मनाङ आइसके । रैथाने उत्पादन पनि हिमालबाट तराई झर्दैछ । 

कसरी पुग्ने, कहाँ बास बस्ने

पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेदेखि उत्तरतर्फ लमजुङको बेंसीसहरसम्म ४२  किमी कालोपत्रे सडक छ । बेंसीसहरदेखि मनाङ सदरमुकाम चामे ६५ किमी र चामेदेखि खाङसार ३१ किमी दूरि छ । गाडी पुगेको तल्लो क्षेत्रमा पाँच वर्ष र माथिल्लो क्षेत्रमा तीन वर्ष भएको छ । चामेदेखि माथिल्लो क्षेत्र भारी मात्रामा हिमपात हुँदाबाहेक बाह्रै महिना बाटो खुल्ला हुने सवारीचालक होमप्रसाद गुरुङ बताउँछन् । जीपमा डुम्रेदेखि बेंसीसहर सवा घण्टा, बेंसीसहरदेखि चामे सात घण्टा र चामेदेखि मनाङगाउँ अढाइमा पुगिन्छ । मनाङगाउँदेखि खाङसार आधा घण्टामै पुग्न सकिन्छ । मनाङ गाउँ चक्रीय अन्नपूर्ण पदमार्गको गन्तब्य हो भने खाङसार चर्चित हिमताल तिलिचो ताल (४९,१९ मिटर) जाने बाटो हो । बाटामा खाना खाने र बस्ने ठाउँ प्रशस्तै छन् । 

पदयात्रीका लागि चक्रीय अन्नपूर्ण निकै रोमाञ्चकारी पदमार्ग हो । २१ दिनको पदयात्रालाई मोटर चलेपछि धेरै पर्यटक एक सातादेखि १० दिनमै यात्रा टुंग्याउँछन् । यात्रा काठमाडौंदेखि सुरु भएर पोखरा पुगेर टुंगिन्छ । कतिपय बेंसीसहरबाट मनाङसम्म हिँडेर यात्रा गर्न रुचाउँछन् । 

पहिलो दिन काठमाडौंदेखि बेंसीसहर (८ सय मि.) । दोस्रो दिन बेंसीसहरदेखि बाहुनडाँडा (१२७० मि.), तेस्रोदेखि बाहुनडाँडादेखि च्याम्चे (१४१० मि.), चौथो दिन च्याम्चेदेखि बगरछाप (२१६०), पाँचौ दिन बगरछापदेखि चामे (२७१० मि.), छैटौं दिन चामेदेखि पिसाङ (३२१० मि.), सातौं दिन पिसाङदेखि मनाङ (३५२० मि.) । आठौं दिन हाइ अल्टिच्युट भएको क्षेत्र पुगिने भएकाले पदयात्री मनाङमा एकदिन थकाइ मार्ने गर्छन् । 

नाङबाट लेदर (४२५० मि.), नवौं दिन लेदरदेखि थोराङफेदी (४४०० मि.), दसौं दिन थोराङफेदीदेखि मुक्तिनाथ (३८०० मि.), ११ औं दिन मुक्तिनाथदेखि मार्फा (२६६५ मि.), १२ औं दिन मार्फादेखि घाँसा (२००० मि.), १३ औं दिन घाँसादेखि तातोपानी (११८० मि.) साथै तातोपानीबाट घोरोपानी हुँदै दुइ दिन लगाएर पोखरा वा तातोपानीबाट म्याग्दी हुँदै एकैदिनमा पोखरा आउन सकिन्छ । थोराङफेदीबाट मुक्तिनाथको बाटोमा संसारकै अग्लो हिमाली भञ्ज्याङ थोराङ्ला (५४१६ मि.) उचाई पार गरिन्छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले २०५३ ताका मनाङमा कार्यक्षेत्र विस्तार गर्दा बाटोघाटो र खानाबस्नका लागि पर्यटक रुमलिन्थे । विसं २०६१ मा मनाङ युवा समाजले मनाङ गन्तव्य अभियान सञ्चालन गरेको थियो । ‘यसले पर्यटकलाई खानबस्न अलि सजिलो भयो,’ समाजका अभियन्ता त्रिपल पीले भने, ‘चित्रकला यात्रा र प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्यो ।’ गन्तब्य मनाङ २०१० तामझामका साथ वर्षैभरि मनाइयो । पर्यटन ब्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार त्यसले बढी मात्रामा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्यो । 

‘बेसीशहरबाट उत्तरीक्षेत्रको बाहुनडाँडा, घेर्मु, ताघ्रिङ पुग्नेबित्तिकै छुट्टै अनुभव हुन्छ,’ थानचोकका पर्यटन व्यवसायी बिन घलेले भन्छन्, ‘तिमाङको डाँडा उक्लेवित्तिकै देखिने सेता हिमालले स्वर्ग पुगेको आभाष दिलाउँछ । त्यतिबेलासम्म मनास्लुलाई दायाँ पारिसकेका हुन्छौं ।’ पथप्रदर्शक युवराज अधिकारीका अनुसार हिमालमा सूर्योदय हेर्नलाई मनाङका सबै भूभाग उपयुक्त मानिन्छ । उनका अनुसार मनाङका प्राकृतिक सम्पदाहरु ‘भर्जिन ल्याण्ड’ का रुपमा छन् । तिलिचो ताल (४,९१९ मी) संसारकै सबैभन्दा उचाइमा छ । लमजुङ, अन्नपूर्ण, मनास्लु, जुलु लगायतका हिमश्रंखलाहरु आँखैको सामुन्ने देख्न सकिन्छ । चारैतिर हिमालले घेरिएका उपत्यका छन् । ताल, गुम्बा, बुद्धमन्त्र कुँदिएका ढुंगा, माटोको छानाका घर, घरैपिच्छे लुङदार, स्थानीय रहनसहनले मनै प्रफुल्ल बनाउँछ । संसारकै अग्लो हिमाली भञ्ज्याङ थोराङला पास (५,४१६ मी. उचाई) पनि यहीँ छ । 

थोराङ्ला चढ्न पर्यटक विशेष रुची राख्छन् । ‘यहाँ पुगेपछि पर्यटक प्रकृति देखेर खुसीका आँसु झार्छन् । भञ्ज्याङ चढ्न सफल भएकोमा साथीभाइसँग खुसी साटासाट गर्छन्,’ उनले भने । फेदमा ब्लु शीप (जंगली भेडा) हेर्न पाइन्छ । नार र फूमा कस्तुरी र नाउर भेटिन्छन् । जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ ।

हिउँ पग्लिएर बनेको पहाड हेरेर पर्यटक लोभिन्छन् । हिमाल हेरेपछि दंग पर्छन् । वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरु प्रकृतिमा हराउँछन् । ‘कोही थोराङ चढ्छन् । कोही यहीँ १/२ महिना बस्छन्,’ पर्यटनव्यसायी विनोद गुरूङले भने, ‘अनेकन खालका पर्यटक आउँछन् । उनीहरु जीवन र प्रकृतिलाई बुझ्छन् र फर्कन्छन् ।’ धेरैले प्रकृति, जनजीवन र रहनसहनलाई शोध र अनुसन्धानको विषय बनाएका छन् । 

स्थानीय साङ्दो लामाका अनुसार मनाङ पदयात्रीका लागि आकर्षणको केन्द्र हो । यहाँ प्रकृतिको भण्डार छ । सदाबहार देखिने हिमाल, खोलानाला र प्रकृतिले आधुनिकतालाई चुनौति दिएको छ । ‘हिमालसम्म मोटर गुडेपछि विश्वको १० उत्कृष्ट पदमार्गबाट हट्यो,’ उनले भने, ‘मोटर आएपनि बिग्रिएको केही छैन । जे छन्, यसको प्रचारप्रसार अझै हुन सकेको छैन ।’ 

मोटरबाटोको स्तरोन्नतिका लागि वर्षैसाल डिभिजन सडक कार्यालय नं. १, दमौलीले लगानी बढाइरहेको छ । बेसीशहर–मनाङ सडकको ट्रयाक नेपाली सेनाले खोलेको हो । सुरुमा जीपमात्रै चलाउने भनेर खोलिएको बाटो धेरै ठाउँ बिस्तार गर्न नसकिने प्रकारको छ । ‘यो वर्ष २० करोडको बजेट छ,’ डिभिजन प्रमुख भानु जोशीले भने, ‘बाटो दुइटा गाडी ओहोरदोहोर गर्ने खालको होइन । तर, हामी दुइटा गाडी आम्नेसाम्ने हुँदा एकअर्कालाई साइड दिएर जानसक्ने ठाउँ बनाइरहेका छौं ।’ उनका अनुसार मनाङको सडक कालोपत्रे गर्ने प्रकारको छैन । स्तरोन्नति गर्दा सडकलाई पक्की ढलानको भने बनाउन सकिन्छ । ‘त्यसका लागि अर्बौंको बजेट लाग्छ,’ उनले भने, ‘राज्यले अहिले गरेको लगानीमा धेरै अप्ठ्यारा २६ वटा घुम्तीमा छोटो छोटो ढलान बनाउने कामको ठेक्का लागेको छ ।’ आगामी वर्षसम्म मनाङ जाने बाटो धेरै सहज हुने उनले बताए ।

गत साता मनाङ पुगेको संसदको विकास समितिको टोलीले सडक स्तरोन्नति ४ नम्बर प्रदेशका लागि मात्रै नभएर मुलुककै पर्यटकनका लागि महत्वपूर्ण भन्दै बजेट थप्नेमा बल दिने आश्वासन स्थानीयलाई दियो । ‘बजेट धेरै लाग्छ भनेर आत्तिनुको साटो सडक स्तरोन्नतिपछि राज्यले लिनसक्ने लाभको पाटो पनि केलाउनु जरुरी देखियो,’ समिति सभापति रवीन्द्र अधिकारीले भने, ‘कोरलाबाट पोखरा, तनहुँबाट कावासोती जोडिएपछि बेसीसहरबाट मनाङको बाटो पनि बनाउनु जरुरी छ ।’  

यात्राको मौसम

त्यसो त मनाङमा पदयात्रा बाहै्र महिना गर्नेहरू पनि भेटिन्छन् । पर्यटकीय मौसम भने मार्च, अप्रिल, मे साथै सेप्टेम्बर, अक्टुबर र नोभेम्बर गरि दुई सिजनमा हुन्छ । मनाङ जान बस चल्दैन । लमजुङको बेसीशहरबाट जीपमा पुग्न सकिन्छ । पदयात्रीहरू अधिकांश लमजुङ सिमानादेखि नै हिँडेर उक्लन्छन् ।

 ‘यहाँको प्राकृतिक सम्पदा, संस्कृति र रहनसहनबारे अझै पनि प्रचारप्रसार जरुरी छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाले भने । एक्यापको पर्यटक चेकजाँच केन्द्र धारापानीका अनुसार सन् २०१६ मा २२ हजार १ सय ८ जना विदेशी पर्यटकले चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा गरेका छन् । ‘अन्तरिक पर्यटकको आगमन पछिल्लो समय बढेको छ । यसको रेकर्ड भने राखिएको छैन,’ उनले भने । उनका अनुसार मनाङको वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा एक्यापले सहयोग गर्दै आएको छ । 

२ हजार २ सय ४६ वर्ग किमी क्षेत्रफलको मनाङमा जनगणना २०६८ ले ६ हजार ५ सय ३८ जनसंख्या रहेको देखाएको छ । । गोरखाको सामागाउँ हुँदै लार्के पास भएर मनाङ आउने बाटो छ । कास्कीको ताङतिङ र सिक्लेस गाउँको जंगल हुँदै थुर्जु, डाँफेओडार भएर मनाङको तिमाङ निस्कने बाटो पनि छ । मुस्ताङको मुक्तिनाथ हुँदै थोराङ्पास भएर वा जोमसोमबाट तिलिचो हुँदै पनि मनाङ आउन सकिन्छ ।

 

प्रकाशित: आश्विन १५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार