फिचर

सन्थाललाई दसैं मेलामा नाच्न भ्याइनभ्याई

- अर्जुन राजवंशी, दमक

आश्विन १३, २०७४-झापाका आदिवासी सन्थाल (सतार) जाति यतिबेला दसैं मेलामा व्यस्त छन् । बडादसैंको सप्तमीदेखि जिल्लाका विभिन्न स्थानमा दसैं मेलाहरु सुरु भएका छन् । तिनै मेलाहरुमा आफ्नो जातीय नृत्य देखाउन सन्थाल समुदायलाई अहिले भ्याइनभ्याई छ । 

विशेषगरि यो समुदायले मेलामा नृत्य प्रदर्शन गरेरै दसैं मनाउने गर्दछन् । पछिल्ला बर्षका दसैं मेलाहरुमा सन्थाल नृत्य विशेष आकर्षण बन्ने गरेको छ । जिल्लाको राजगढ, बैगुनधुरा, गौरादह, तोपगाछी, कोहबरा, कोरोबारी, महाभारा, जलथल, केचना, गरामनीलगायतका स्थानमा सन्थाल समुदायको बसोबास रहेको छ । सप्तमीका दिन धरमपुरको पाराकोपीमा लागेको दसैं मेलासंगै जिल्लामा दसैं मेला सुरु भएको छ । 

‘सन्थाल नाच भएन भने त, दसैं मेलाको रौनकता नै हुदैन’ कमल गाउँपालिका १ की कृष्णकुमारी पौडेलले भनिन,‘सन्थाल नृत्य अरुबेला भन्दा दसैं मेलामा विशेष लाग्छ ।’ उनले सन्थाल नृत्यले नेपाली समाजमा सद्भाव बढाउने काम गर्ने गरेको बताइन् ।

 

सन्थाल समुदायका अगुवा प्रकाश मर्डीले दसैं मेलाहरुमा प्रदर्शन गरिने नृत्यले आफ्नो जातिको संस्कृत संरक्षणमा ठूलो टेवा पुगेको बताए । उनले भने,‘दसैंमा नाच नदेखाउने हो भने, हाम्रो जातिसंगै हाम्रो संस्कृति पनि हराएर जाने खतरा छ । तर, दसैं मेलामा सन्थाल नृत्यको माग र आकर्षणले हामीलाई हाम्रो संस्कृतिप्रति थप हौसला पुगेको छ ।’ 

सन्थाल जातिले दसैं मेलामा तीन किसिमको नाच देखाउने गर्दछन् । दसैं नाच, रिन्चे नाच र लाग्डे नाच । एक समूहमा २५ देखि एक सयसम्म नर्तक सहभागी हुन्छन् । लामो बाँसमा मयूरको प्वाँख बाँधिएको आलम अगाडी उभिएर नृत्य गर्ने चलन रहेको प्रकाश मर्डीले बताए । मर्डीले तुम्दा, तामाक, करताल, दारामजस्ता बाजा बजाउँदै दसैं मेलामा नाच्ने चलन रहेको बताए । पछिल्लो समय मेला आयोजक समितिहरुले राख्ने गरेको नगद पुरस्कारहरुले नृत्यका लागि आफूहरुलाई थप प्रोत्सहान गर्ने गरेको मर्डीले बताए । पूर्णिमासम्म जिल्लाका दर्जनौं स्थानमा दसैं मेला लाग्ने गर्दछ । 

  

प्रकाशित: आश्विन १३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार