फिचर

मूल्य–मान्यताका प्रतीक : रामनारायण मिश्र

  • व्यक्तित्व विशेष : २५० वर्षका २५
- चन्द्रकिशोर
छोटो तर मूल्यवान् जीवन बाँचेका रामनारायण मिश्र भुइँमान्छेसँग जोडिएका नेता थिए । उनलाई आफ्नो देशको अस्मिताको गहिरो पहिचान थियो । लोकतन्त्र, जनअधिकार, लोक सेवा उनको प्रमुख अभीष्ट थियो ।

आश्विन १२, २०७४-रामनारायण मिश्रलाई आस्थाको प्रतीक मान्नेहरूको ठूलो जमात छ । उनको जीवनकहानी, उनका विचार, उनका जीवनमूल्यलाई हेरेका, बुझेका र सुनेकाहरूमा उनीप्रति दह्रिलो आस्था विकसित हुन्छ र आन्तरिक ऊर्जा प्राप्त हुन्छ । उनले आफ्नो जीवनमा जति संघर्ष गरे र जेजति सफलता प्राप्त गरे, त्यसले नेपाली जनमानसमा संघर्षप्रति आस्था जगाउँछ । उनलाई राजनीति विरासतमा मिलेको थिएन, न उनका सामु कुनै राजमार्ग नै थियो, जसमा हिँडेर उनी सफलताको शिखरसम्म पुग्न सक्थे । उनी आफैंले आफ्नो बाटो खोजेका थिए र रोजेका थिए । गोरेटोदेखि लोकमार्गसम्मको उनको यात्राले वास्तविक लोकतन्त्रप्रतिको हाम्रो आस्थालाई टेवा दिन्छ । उनी नेपाली लोकतान्त्रिक संघर्षका उपलब्धि थिए, जसले आफ्नो संघर्ष र योग्यताद्वारा लोकतन्त्रलाई प्रमाणित गरे । उनी व्यवहार र विचारद्वारा एउटा यस्तो दर्पण बन्न गए जसमा नेपालको सामान्य नागरिकले पनि देश र जनताप्रति सेवाभाव राख्दा आफूलाई पाउने गर्छ । 

आस्थाका मूर्ति

नेपाली लोकतन्त्रमा आस्थाका धरोहरहरू विस्मृत हुँदै गएका छन् । राजनीतिप्रति जनआस्था क्षीण हुँदै गएको छ । यस परिस्थितिमा हामी आफैँले त्यस्ता संघर्षशील योद्धाहरूको खोजी गर्नुपरेको छ, जसले राजनीतिमा मूल्य र मान्यतासँग कहिल्यै सम्झौता गरेनन्, जसले राजनीतिलाई व्यक्तिगत लाभ आर्जन गर्ने अवसरका रूपमा लिएनन्, जसले राजनीतिमा आफ्ना नातेदारहरूलाई फाइदा बटुल्ने मौका दिएनन् अनि जो सधैं बृहत् नेपाली जनता र लोकतन्त्रका निम्ति प्रतिबद्ध रहे र यिनै मूल्यहरूका साथ अहर्निश बाँचिरहे । राणा शासनविरुद्धको संघर्षमा अनेक महान् नेताहरू भए । २००७ सालको परिवर्तनपछि राष्ट्र निर्माणमा अनेक सपूतहरूको महत्त्वपूर्ण योगदान छ । रामनारायण मिश्र तिनैमध्येका अग्रणी सपूत हुन् । 

रामनारायण मिश्र मानवीय गरिमालाई सम्मान गर्ने सबभन्दा उपयुक्त व्यवस्था लोकतान्त्रिक शासन व्यवस्थालाई मान्थे । कुनै पनि संस्था तब निष्प्रभावी हुन जान्छ या त्यसको दुष्प्रभाव पर्न जान्छ, जब त्यसले आन्तरिक मूल्यको रक्षा गर्न सक्दैन । अरूको सम्मान, सेवाभाव, त्याग, सहनशीलता, बसुधैव कुटुम्बकंको भावना, संयमित आचरण आदि यस्ता गुण हुन् जसमा लोकतन्त्रको आत्मा अवलम्बित हुन्छ । लोकतान्त्रिक गुणलाई आफूभित्र बढीभन्दा बढी विकसित गर्नु र तथा अरूका भित्र पनि विकसित गर्नमा सहयोग गर्नु प्रत्येक नागरिकको परम कर्तव्य हो भन्ने मान्यता राख्थे मिश्र । उनलाई नैतिक र चारित्रिक मूल्यप्रति गहिरो विश्वास थियो । राजनीतिमा मूल्यमान्यताको कुनै अर्थ रहेन भन्नेहरूका मिश्रको जीवन सुन्दर उदाहरण हो । उनले राजनीतिमा कहिल्यै हानथापलाई प्राथमिकता दिएनन्, नैतिक मूल्यका निम्ति सबै प्रतिबद्ध रहे । उनको व्यवहार विनम्र र सादा तथा वाणी कोमल र मीठो थियो, जसका पछाडि एउटा आन्तरिक शक्ति थियो । संकटपूर्ण समयमा पनि उनीद्वारा गरिएका निर्णयहरू अचम्मित पार्ने खालका हुन्थे । उनले जस्तो साहस, विवेक र नम्रतापूर्वक राजनीतिक अगुवाइ गरे, त्यो अहिलेको पुस्ताका निम्ति साँच्चै अनुकरणीय छ । 

कुशल प्रयोगकर्ता

कोही मान्छे केवल चिन्तक हुन्छ, तर राम्रो प्रशासक बन्न पाउँदैन । कोही योग्य हुन्छ, तर सक्षम हुँदैन । तर अपवादस्वरूप केही मान्छे यस्ता पनि हुन्छन्, जो कुशल संगठनकर्ता, चिन्तक तथा व्यवस्थापक पनि हुन्छन् । मिश्रले आफू आबद्ध नेपाली कांग्रेसमा प्राप्त गरेका अवसर हुन् वा पहिलो जननिर्वाचित सरकारमा प्राप्त गरेको मौका, दुवै समयमा उनले आफ्नो उपस्थितिलाई स्मरणीय बनाएका छन् । 

एउटा कुशल र योग्य सांसदका रूपमा पनि उनको भूमिका स्मरणयोग्य छ । संसद्मा उनले दिएका भाषणबाट उनको योग्यता झल्किन्छ । जति सूक्ष्मता उनका संसदीय भाषणहरूमा हुन्थ्यो, त्यत्तिकै स्पष्टता र दृढता उनका सार्वजनिक भाषणहरूमा पनि रहन्थ्यो । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा महोत्तरीबाट विजयी भएका उनलाई संसदीय गरिमाको प्रतिरूपभन्दा अतिशयोक्ति नहोला । कार्यकर्ताहरूसँग उनको सार्‍है राम्रो सम्बन्ध थियो । उनलाई किसानहरूको त मित्र नै भनिन्थ्यो । गाउँहरूको विकासका लागि खेतीमा सुधार र सामुदायिक सद्भावलाई पनि उनी आवश्यक ठान्थे । मूल रूपमा उनी मानवतावादका पक्षधर थिए । 

राष्ट्रहित प्रथम

अठारमहिने कार्यकालका आधारमा कुनै मन्त्रीको समग्र मूल्यांकन सम्भव छैन । तर त्यति छोटो अवधिभित्र पनि मिश्रको अग्रसरतामा व्यापार तथा पारवहन सन्धि भयो । तत्कालीन सोभियत संघको सहयोगमा नेपालको औद्योगीकरणलाई नयाँ आयाम दिने गरी वीरगन्जमा चिनी कारखाना, जनकपुरमा चुरोट कारखानालगायतको स्थापना भयो । जनकपुर चुरोट कारखाना स्थापना गर्न उनले आफ्नै पार्टीभित्र ठूलो संघर्ष गर्नुपर्‍यो । पदबाट राजीनामासम्म गर्नुपरेको थियो । वरिष्ठ कांग्रेसी नेता सूर्यप्रसाद उपाध्यायका शब्दमा— तत्कालीन समयमा श्री ३ जुद्धपछि लगनसाथ उद्योग विस्तार गर्ने ध्यानमा मिश्र निमग्न थिए । उनी इलम र उद्योगलाई बढाउँदै नेपाललाई आत्मनिर्भर बनाउन चाहन्थे । 

उनी उद्योग तथा वाणिज्यमन्त्री भएका बेला नेपाल राष्ट्र बैंकका गभर्नर रहेका हिमालयशमशेर राणाले उनको स्मृतिग्रन्थमा लेखेका छन्, ‘सन् १९६० मा हस्ताक्षर गरिएको नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धिका लागि भएको दुईपक्षीय वार्तामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको वरिष्ठ सदस्यको भूमिका मैले निर्वाह गर्नुपरेको थियो । मन्त्री रामनारायण मिश्र र अर्थमन्त्री सुवर्णशमशेरले परामर्श गरी तयार गरेको नेपाल सरकारतर्फको अवधारणा र मागहरू मैले दृढताका साथ वार्तामा प्रस्तुत गरेको थिएँ । उता, भारततर्फका वार्ताकारहरूको आफ्नै अडान रहेको थियो । दुई दिनको वार्ताको अन्त्यसम्ममा दुवैतर्फवाट लचकता देखाइएन र नेपाल सरकारबाट आयोजित रात्रिभोजमा केही उच्च नेपाली पदाधिकारीहरूले मेरो अडानका कारण सन्धि नहुने भो भन्ने गाइँगुइँ चलेको मेरो कानमा पर्‍यो । यत्तिकैमा रामनारायणजी मछेउ आइपुग्नुभयो । मलाई लाग्यो— उहाँले मेरो अडानबारे गुनासो गर्नुहुनेछ । तर उहाँले भन्नुभयो— हिमालयजी, तपाईंको अडानप्रति मेरो पूर्ण समर्थन छ । भोलिपल्ट बिहान वार्ता पुन: चल्दा भारतीय प्रतिनिधिमण्डलले हाम्रोतर्फका सबैजसो माग मान्दै सन्धिमा हस्ताक्षर गर्‍यो । सन् १९६० मा हस्ताक्षर गरिएको यो सन्धि नेपालको हितमा कोसेढुंगा साबित भयो ।’ भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलगायत अग्ला नेताहरूसँग मिश्रको व्यक्तिगत सम्बन्ध थियो । तर पनि उनले नेपाल सरकारको मन्त्रीको हैसियतले आफ्नो पक्षमा अडान राखे र सन्देश दिए— समय सन्दर्भमा छिमेकी भारतका नेताहरूसँगको व्यक्तिगत सम्बन्ध र राष्ट्रिय हित दुई फरक कुरा हुन् । 

बीपी कोइरालाले आफ्नो ‘आत्मवृत्तान्त’ र ‘जेल जर्नल’ मा पटक–पटक मिश्रका बारेमा आदरका साथ उल्लेख गरेका छन् । मिश्र मन्त्री भएका बेला उनको कार्यकक्षमा बीपी अकस्मात् पुगिदिन्थे । बीपीकै शब्दमा (आत्मवृत्तान्त, पृ. २१९)— ‘रामनारायण मिश्र कुनै फाइल हेरेर बसिरहेका हुन्थे । म फ्याट्ट पुगिदिन्थेँ । अनि म सोधिदिन्थेँ, ‘कुन फाइल हेरिरहेका छौ ?’ त्यसले गर्दा एउटा घनिष्ठता कायम थियो । 

मधेस र देशहित

मिश्र मधेसमा मधेसीकै प्रतिनिधित्व हुनुपर्ने जहिल्यै दृढ रहे । बीपीले ‘आत्मवृत्तान्त’ (पृ. २०४) मा उल्लेख गरेअनुसार, २०१५ सालको निर्वाचनमा मधेसको कुनै क्षेत्रमा उम्मेदवारीको सन्दर्भमा मिश्रले उनलाई भनेका थिए, ‘धेरै बलियो विरोधीसँग मुकाबिला गर्नुपरेकाले यहाँ तराईको मान्छेलाई नै उठाउनुपर्छ ।’ मधेसबाट मधेसीको प्रतिनिधित्वको अडान उनमा त्यही बेला देखिएको प्रमाण हो यो । उनको त्यतिखेरको अडानका बारेमा कांग्रेसका नेता एवं चिन्तक प्रदीप गिरिले मिश्रको स्मृतिग्रन्थमा लेखेका छन्, ‘कांग्रेस एउटा वर्ग र जातिविशेषको पार्टी हुँदै गएको छ भनेर गणेशमान सिंह बेलैमा चिल्लाउनुभएको थियो । ... कुनै समय कांग्रेस मधेसको एक राजनीतिक शक्ति थियो । मधेसी अस्मिताका खण्डित कुरा गर्ने मानिस त्यति बेला पनि थिए । असन्तोष र उत्पीडनको कुरा त्यति बेला पनि हुन्थ्यो । कांग्रेसले त्यसको उपेक्षा गरेको थिएन ।’ 

मिश्रको सार्वजनिक जीवन ‘लोक सेवक संघ’ बाट सुरु भएको थियो । लोक सेवक संघलाई पछि नेपाली कांग्रेसमा विलय गरिएको थियो । यस संस्थाले महात्मा गान्धीबाट प्रभावित भएर समाजसुधारका कामहरू प्रारम्भ गरेको थियो । यस संस्थाले छुवाछुत निवारण, अग्निपीडितहरूको सहायता, चर्खा प्रचार, सफाइ अभियान, प्रार्थना सभा आदिका माध्यमले जनजागरण कार्यक्रम चलाएको थियो । सामाजिक चेतना फैलाउनमा यस संस्थाले शान्त भूमिका खेल्न थालेपछि तत्कालीन राणा सरकारले मिश्रलाई पक्राउ गरी संघलाई प्रतिबन्धित गर्‍यो । राणाविरोधी आन्दोलनमा सक्रिय हुन उनलाई यसले पनि अभिप्रेरित गर्‍यो । 

सम्पन्न परिवारमा हुर्किएका मिश्रले भुइँमान्छेसँग जोडिन समाजसुधारका कामहरू अगाडि बढाएका थिए । ग्राम सफाइ र प्रार्थना सभाबाट सुरु भएको उनको सार्वजनिक जीवन नेपाली कांग्रेसको सहमहामन्त्री हुँदै बीपी मन्त्रिपरिषद्को मन्त्रीसम्म पुग्यो । 

अहर्निश संघर्ष

राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूलाई जेल हाल्दा मिश्र पनि सँगै थिए । जेलमा कठोर यातना सहनुपरे पनि उनले कहिल्यै सम्झौता गरेनन् । उनी भन्ने गर्थे, ‘सर दिया पर शर नहीँ दिया ।’ अर्थात्, ‘बरु म आफ्नो टाउको (सर) कटाउन तयार छु, तर स्वाभिमान (शर) सुम्पिन तयार छैन । म मर्न तयार छु तर आत्मसमर्पण गर्न तयार छैन ।’ 

मिश्रको स्मृतिग्रन्थमै वरिष्ठ राजनीतिज्ञ रामहरि जोशीले पनि उनलाई सादर स्मरण गरेका छन्, सन्दर्भ गणेशमान सिंहसँगको हो— बरफ बागमा थुनिएका उनीहरू बेलुका आपसमा गफसफ गर्न थाले । बीपीलाई अन्तै राखिएको थियो । एक जनाले सोध्यो— अब के होला ? कसैले जवाफ दियो— तत्काल त्यस्तो केही होलाजस्तो लाग्दैन मलाई । त्यसपछि कुरा चल्यो जेलमा को कति दिन टिक्ला भनेर । यो सुनेर मेरो गल्ती भनूँ वा के भनूँ, मैले प्वाक्क भनिहालेँ— धेरै दिन त कति जना टिक्लान् र ? जस्तै भनूँ, सूर्यनाथ दासजी कति दिन टिक्लान् ? ज्यादा से ज्यादा एक हप्ता वा दस दिन । रामनारायणजी खुब टिके पन्ध्र–बीस दिन । यति मैले के भनेको थिएँ, रामनारायणजीले अलि आवेशमा आएर भने— क्या बात करते हैँ गणेशमानजी ? किसी को आप इस तरह अपमानित नहीँ कर सकते हैँ । हम सर देंगे, शर नही देंगे, समझे ?’ वातावरण अलि गम्भीर हुन पुग्यो । ... ... 

मिश्र जेलमै गम्भीर रूपमा बिरामी भए र उनलाई उपचारका लागि मुक्त गरियो । आखिर क्यान्सरले ग्रस्त उनी लामो समय बाँच्न सकेनन्, २०२४ पुस ६ गते उनी बिदा भए । जीवनको उत्तराद्र्धसम्म लोकतन्त्र, जनअधिकार, लोक सेवा उनको प्रमुख अभीष्ट थियो । उनको जनाधार पनि त्यत्तिकै थियो । उनी आम जनताका माझ त्यत्तिकै लोकप्रिय थिए । जनकपुरको शवयात्रामा पञ्चायती प्रशासनको वक्रदृष्टिका बाबजुद हजारौं मानिस सहभागी रहे । शवयात्रामा पञ्चायतविरुद्धको नाराबाजीले पनि उनीप्रतिको लोकभरोसालाई देखाउँछ । गणेशमान सिंहले जेलवाट छुटेपछि उनको समाधिमा पुगे फूलमाला चढाई श्रद्धाञ्जलि दिएका थिए । 

सच्चा श्रद्धाञ्जलि

रामनारायण मिश्रको जन्म महोत्तरीको पिपरा गाउँमा १९७९ जेठ २३ गते भएको थियो । छोटो तर मूल्यवान् जीवन बाँचेका उनी आजका राजनीतिकर्मीहरूका निम्ति पथप्रदर्शक नै हुन् । उनी गाउँसँग जोडिएका नेता थिए । उनलाई आफ्नो देशको अस्मिताको गहिरो पहिचान थियो, यो उनको व्यवहार र चिन्तनमा लगातार व्यक्त पनि हँुदै रह्यो । उनी नेपाली कांग्रेसका मात्र थिएनन् । नेपाल सद्भावना पार्टीले २०४७ पुसको आफ्नो मुखपत्रमा उनलाई सहिद भनेर सम्झना गर्‍यो । उच्च ध्येय बोकेका राजनीतिकर्मी दलभन्दा अग्ला र जनजनका प्रिय हुन्छन् । लोकतन्त्रका लागि प्राण उत्सर्ग गरेका मिश्रको शहादत खेर गएन । आखिर नेपालमा अहिले लोकतान्त्रिक गणतन्त्र आइपुगेको छ । तर उनको अन्तिम इच्छा लोकतान्त्रिक समाजको स्थापना, समावेशी राज्य संरचना, सन्तुलित विकास र सामाजिक सदभावका कार्यभारहरू अझै अधुरै छन् । जुन दिन यी काम पूरा गर्न सबै संकल्परत हुनेछन्, त्यो नै उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।

प्रकाशित: आश्विन १२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार