फिचर

उद्योगका पायोनियर

  • व्यक्तित्व विशेष : २५० वर्षका २५
- गोकर्ण अवस्थी
राजस्थान मूलघर भएर बंगलादेशमा जन्मेका रामलालले कर्मथलो नेपाल बनाए । पाँच हजार रुपैयाँ साथमा लिएर नेपालमा सुरु गरेका रामलालको व्यावसायिक विरासतमा अहिले करिब दर्जन उद्योग सञ्चालनमा छन् ।

आश्विन ११, २०७४-बिक्रम संवत् १९९१ मा तत्कालीन श्री ३ जुद्धशमशेरको टोली नेपालको पूर्वी क्षेत्रको भ्रमण (दौडाहा) थियो । उनी हालको सुनसरीमा एक क्याम्पमा बसेका थिए । त्यहाँ एक दिन उनलाई विभिन्न आकर्षक सामग्रीसँगै फलफूल, काजु–किसमिस, कागजी बदाम, खजुर आदिसहितको उपहार–भेट प्राप्त भयो । 

मुलुकको पूरै शासनसत्ता हातमा लिएर बसेका शक्तिशाली जुद्धशमशेर उक्त उपहार देखेर चकित परे, उनले ल्याउने व्यक्तिलाई भित्र बोलाउन लगाए । उनको बोलावटमा मात्रिकाप्रसाद कोइराला, दुर्गानिधि लोहनीसंगै एक जना व्यवसायी पनि पसे, जो थिए रामलाल गोल्छा । 

उक्त भेटघाटै नेपालमा औद्योगीकरणको जग बसाल्ने कोसेढुंगा बन्यो । जुट व्यापारमा जमिसकेका गोल्छा नेपालमै प्रशोधन र जुटका वस्तु उत्पादन गर्ने उद्योग खोल्न चाहन्थे । त्यसका लागि श्री ३ मा जाहेरी गर्नुपथ्र्यो । उनका छोरा हुलासचन्दद्वारा लिखित ‘रामलाल गोल्छाको जीवनी’ अनुसार राम्ररी नेपाली बोल्न नआउने भएकाले उनले कोइराला र लोहनीलाई सँगै जान आग्रह गरेका थिए । 

पछि मुलुकको प्रधानमन्त्रीसमेत बनेका मातृका विराटनगर र मुलुककै राजनीतिमा निकै ठूलो छाप छाडेका कृष्णप्रसाद कोइरालाका छोरा थिए । लोहनी पूर्व क्षेत्रका डिट्ठा थिए । र विराटनगरका किसानबाट जुट किनेर भारत निर्यात गरी निकै पैसा र इज्जत कमाएका रामलाल गोल्छाको यी दुवैसँग घनिष्ठ मित्रता थियो । 

उद्योग नै खोल्ने योजना गोल्छाको थियो । उनलाई आडभरोसा भने उनले निर्यात गर्ने भारतीय उद्योगका मालिक राधाकिसन चमडियाको थियो । चमडिया र गोल्छा दुवै लगानी गर्न तयार भए तर नेपालमा कम्पनीसम्बन्धी कानुन नै थिएन । दौडाहाका क्रममा जुद्धशमशेरले पनि सीधै अनुमति नदिएर मोहनशमशेरसँग कुरा गर्नू र काठमाडौं आउनू भनी आदश दिए । 

मोहनशमशेरसँगको छलफलपछि ५१ प्रतिशत नेपाली र ४९ प्रतिशत भारतीय लगानीकर्ताको सेयर रहने गरी उद्योग खोल्ने तय भयो । गोल्छासहितको टोली फेरि काठमाडौं आयो । उद्योग खोल्न बिन्तीपत्र श्री ३ मा चढाएपछि तयारी थाल्ने र कम्पनी कानुन बनाउने प्रक्रिया सुरु भएको गोल्छाको जीवनीमा उल्लेख छ । 

विराटनगर फर्केर गोल्छाले २५ बिघा जमिन उद्योगका लागि खोजे । उक्त जग्गा कृष्णप्रसाद कोइराला, नारायणप्रसाद कोइराला, लीलाप्रसाद लोहनी र हुलासचन्द गोल्छाको नाममा किनिएको थियो । हुलास रामलाल गोल्छाका कान्छा छोरा थिए । त्यस बेला विदेशीहरू सम्मिलित कम्पनीले आफ्नो नाममा जग्गा किन्न पाउन्नथे । हुलासले स्मृतिग्रन्थमा लेखेका छन, ‘पहिले बुवाले घडेरी किन्दा पनि नेपालमा जन्मेको जन्मसिद्ध नागरिकका हैसियतले मेरो नाममा पास गर्नुभएको थियो ।’

त्यही जग्गामा पछि उद्योग बन्यो । जसमा भारतीय उद्योगपति राधाकिसन चमडियाले पनि लगानी गरेका थिए । त्यो उद्योगको नाम विराटनगर जुट मिल्स राखियो । र त्यो नै मुलुकको पहिलो उद्योगका रूपमा अहिले पनि इतिहासमा पढाइन्छ । यसरी नेपालको पहिलो उद्योग स्थापना गर्न योगदान पुर्‍याएकाले गत वर्ष उद्योग वाणिज्य महासंघ स्थापनाको ५० औं वार्षिकोत्सवका उपलक्ष्यमा रामलाल गोल्छालाई मरणोप्रान्त सम्मान पनि गरेको थियो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि उनीबारे सम्झने क्रममा भनेका छन्, ‘इन्डस्ट्रिलाइजेसनको बीउ उहाँले नै रोपेकाले ठूलो श्रद्धा छ ।’ 

रामलाल गोल्छा २३ वर्षको हुँदा नेपाल आएका थिए । मारवाडीहरूको नेपाल प्रवेश उनीभन्दा धेरै पहिलेदेखि नै हुन थालिसकेको थियो । तर उनीहरू व्यापार र खेतीपातीमै बढी संलग्न रहे । गोल्छा पनि धेरै ठाउँमा हन्डर खाएपछि व्यापारकै लागि नेपाल आएका थिए । उनी बिक्रम सवत् १९७८ मा मात्रै नेपाल भित्रिएका थिए । तर उनले बसाएको जगमा गोल्छा अर्गनाइजेसनले सय वर्षभन्दा कममै निकै प्रगति गरेको छ । 

रामलालको जीवनीअनुसार उनी ७ दिदीबहिनीपछि जन्मिएका हुन् । उनका बुवा तनसुखदास गोल्छा भारतको राजस्थानको रतनगढबाट बसाइ सरेर आसाम हुँदै सुन्दरगन्ज जुन अहिले बंगलादेशमा पर्छ, त्यहाँ पुगेका थिए । तर उनका ७ वटी छोरी मात्रै जन्मिए । पछि रुणेचा भन्ने राजस्थानकै एक ठाउँमा बस्ने पीर बाबा रामदेवको शरणमा गएर रामलालका बुवा–आमाले पुत्रलाभका लागि पूजाअर्चना बिन्ती गरेको हुलासचन्दले आफ्नो बुवाको जीवनीमा लेखेका छन् । 

त्यसपछि तनसुखदास ६५ वर्षको हुँदा १९५५ सालमा रामलालको जन्म भएको थियो । रामदेव बावाको कृपाले त्यो उमेरमा पुत्र (लाल) प्राप्त भएकाले उनको नाम रामलाल राखिएको थियो । रामलालको जन्म हाल बंगलादेशमा पर्ने नबावगन्जमा भएको थियो । ७ वर्षको उमेरमा स्थानीय बंगालीभाषी विद्यालय भर्ना भएका रामलालले पछि राजस्थानको रतनगढमै पढे । 

उनका बुवाले लुटपाट हूलदंगाका कारण नबावगन्जको कारोबार छाडेर सुन्दरपुर आउनुपर्‍यो । रामलाल पनि रतनगढबाट फर्के र पढाइ पनि छुट्यो । जुटको व्यापारमा लागे । तर त्यो पनि त्यतिसारो चल्न सकेन । १३ वर्षको उमेरमा व्यापार थाले पनि टिक्न सकेन । 

विवाहपछि बोझ थपियो तर आम्दानी भएन । रामलालले कलकत्ता गएर केही वर्ष काम पनि गरे । काममा कमाइ र इज्जत दुवै नभएपछि उनी आफ्नी एक जना दिदीको घर फारबिसगन्ज पुगे, जुन विराटनगरको सीमा क्षेत्र हो । त्यहाँ केही वर्ष व्यापार गरे पनि प्रतिफल आएन । 

थोरै खर्च र थोरै आम्दानीले चल्ने ठाउँ खोज्दै नेपाल छिरेका रामलालका दरसन्तानले यहाँ पैसा र इज्जत दुवै कमाए । ‘हजुरबुवाले उता सुरुमा आएर बसेको घरमा हरेक वर्षजसो हामीलाई लानुहुन्थ्यो,’ उनका नाति महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सम्झिन्छन्, ‘र उहाँले गरेको दु:खबारे बताएर हामीलाई मिहिनेत गर्न प्रेरित गर्नुहुन्थ्यो ।’ 

केही वर्ष देवानगन्जमा बसेर उनी विराटनगर बसाइ सरे । जहाँ व्यापार विस्तारसँगै उनमा नेपाली राजनीतिप्रति पनि रुचि बढ्न थाल्यो । विशेषगरी कोइराला परिवारसँगको निकटताले उनलाई राजनीतिमा सक्रिय बनायो । 

‘उहाँका बारेमा नलेखिएको तर मलाई सुनाउनुभएको एउटा रोचक घटना म बताउन चाहन्छु,’ हालैको एक भेटमा शेखरले आफ्ना हजुरबुवाका बारेमा सुनाए, ‘२००७ सालमा राजा त्रिभुवन भारत निर्वासनमा गए । हजुरबुवालाई राजा नभएको देश भएन भनेर फर्काएर ल्याउने चाहना भयो । एक जना साथीसहित उहाँ राजालाई सम्झाउन दिल्ली पुग्नुभयो । राजालाई स्वदेश फर्किन भन्दा अप्रत्याशित जवाफ आएको हजुरबुवाले सुनाउनुहुन्थ्यो । हजुरबुवाका अनुसार राजाले अब मेरो जवाहरलाल नेहरूसँग कुरा भइसक्यो, नेपाल अब भारतमा विलय हुन्छ र मलाई विशेष स्थान दिइनेछ भनेका रहेछन् । राजाको त्यो कुरा सुनेर हजुरबुवा चिन्तित हुनुभयो र विराटनगर फर्किनुभयो । त्यसपछि उहाँको झुकाव विश्वेश्वरप्रसाद कोइरालाप्रति बढी देखियो ।’ 

गोल्छाको जीवनीलाई आधार मान्ने हो भने उनी क्रान्तिकारी स्वभावका देखिन्छन् । दलितले छोएको पानी खाएको आरोपमा गोल्छाले मुण्डन गरेर ५ रुपैयाँको गौदान गर्नुपरेको उनको जीवनीमा उल्लेख छ । जैन धर्मावलम्बी गोल्छाले विराटनगरमै उक्त सजाय भोगेका थिए । 

उनीसँग संगत गरेका विराटनगरका एक जना व्यवसायी फूलकुमार लालवानीका अनुसार गोल्छा धेरै धैर्यवान थिए । जीवनमा धेरै आरोह–अवरोह भए पनि रामलाल नडगमगाएको उनको जीवनी नियाल्दा देखिन्छ पनि । ‘एकपटक उहाँको जुट गोदाममा ठूलो आगलागी भयो,’ लालवानी सम्झिन्छन्, ‘उनका छोराहरू आत्तिए तर उनले सम्झाए ।’

 

आफ्नो पहलमा स्थापना भएको विराटनगर जुट मिल पछि सरकारीकरण भएपछि रामलाल अर्को उद्योग खोल्नतिर लागे । यसले पनि उनी सधैं लागिरहने व्यक्तिका रूपमा चिनिन्छन् । रघुपति जुट मिल्स विराटनगर–जोगवनी सीमामा छ । शेखरका अनुसार रघुपति र अर्को एक जुट मिल्समा गरी करिब १४ हजार जना अहिले पनि काम गर्छन् । यी दुई मिल्स र अन्य उद्योगसमेत गरेर करिब १६ हजारले गोल्छा अर्गनाइजेसनमा काम गर्ने गरेको शेखर बताउँछन् । 

रघुपति जुट मिल्स र अन्य केही कारोबार स्थापित गरेपछि रामलाल गोल्छा अलि स्वतन्त्र भएका थिए । पछि उनका छोरा हंसराज गोल्छाले धेरै व्यवसाय सम्हाले । लगत्तै कान्छा छोरा हुलासचन्द पनि व्यवसायमा आए । 

त्यसपछि रामलाल एकपटक घुमफिर गर्न कलकत्ता गए । साथीहरूको आग्रहपछि उनी पानीजाहाज चढेर लन्डन पुगेपछि मात्रै घरमा टेलिग्राम आएको शेखर सम्झन्छन् । ‘दुई महिनासम्म कुनै खबर नहुँदा बुवाहरू आत्तिएको सुनाउनुहुन्थ्यो,’ शेखरले भने । 

पैसा कमाउँदै गएपछि रामलाल निकै सोखका साथ बस्ने गरेको शेखर सम्झिन्छन् । विराटनगरमा बाटो थिएन । तर रामलालले त्यति बेला नै फोर्डको एउटा गाडी भित्र्याएका रहेछन् । शेखरका अनुसार उक्त गाडी तराई क्षेत्रमा सम्भवत: पहिलो हो । गाडी त ल्याए तर चलाउने बाटो थिएन । पेट्रोलपम्प थिएन । बाटोको उनले उपाय लगाएछन् । गोल्छाको बस्ने घर र अफिस (गद्यी) सम्मको दूरी बढीमा सय मिटर थियो । रामलालले त्यो बीचमा बाटो बनाएछन् । ‘हजुरबुवा त्यही सय मिटर ड्राइभरसहित हरेक दिन गाडीमा यात्रा गर्नुहुन्थ्यो रे,’ शेखर सुनाउँछन्, ‘पेट्रोलचाहिँ कलकत्ताबाट ल्याउनुपथ्र्यो । पेट्रोल ल्याउन एक जनालाई जागिर नै दिइएको थियो ।’ 

विराटनगरकै अर्का व्यवसायी एवं सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड पनि रामलाल गोल्छालाई हंसमुख भनेर सम्झिन्छन्, ‘दाइहरूले सुनाएअनुसार रामलालजी सधैं गम्भीर रहने राजा महेन्द्रसँग पनि हँसीमजाक गरेर रमाउन सक्नुहुन्थ्यो ।’ 

श्रीमती बितेको ३० वर्ष जीवित रहे पनि उनले अर्को विवाह गरेनन् । ६ फिट र एक सय २० किलोसम्म वजन भएका रामलालले सुरु गरेको व्यवसाय उनका सन्ततिले अझ अगाडि बढाए । उनकै जीवनकालमा जुटसँगै खाद्यान्न, मेटल, चिनी, कपडालगायतका उद्योग र व्यापार विस्तार भइसकेको थियो । उनको मृत्यु २०४० मंसिरमा भयो । 

राजस्थान मूलघर भएर बंगलादेशमा जन्मेका रामलालले कर्मथलो नेपाल बनाए । उनकै आग्रहअनुसार अन्तिम संस्कार पनि विराटनगरमै गरिएको उनलाई चिन्नेहरू बताउँछन् । उनले विसं १९८७ मा सुरु गरेको हंसराज हनुमानमल नामको प्रतिष्ठान अहिले गोल्छा अर्गनाइजेसन भएको छ । पाँच हजार रुपैयाँ साथमा लिएर नेपालमा व्यवसाय सुरु गरेका रामलालको व्यावसायिक विरासतमा अहिले करिब दर्जन उद्योग सञ्चालनमा छन् । त्यति नै व्यापारिक (ट्रेडिङ) फर्म चलिरहेका छन् । अहिले उनका ९ जना नाति र तिनका परिवारले उद्योग व्यापार सम्हालिरहेका छन् । 

प्रकाशित: आश्विन ११, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार