ब्लग

पशुबलिको विरोध गर्नेले मासु नखाने की?

- नवीन रायमाझी, काठमाडौं

आश्विन १०, २०७४-सामाजिक सञ्जालमा पोखिएका शुभकामनाका शब्दहरुले दशैं आएको थाहा पाइयो । तर मलाई यो चाड खासै मन पर्दैन । केटाकेटी हुँदा लामो स्कुल बिदा, नयाँ नयाँ लुगा लगाउने र दक्षिणाको रुपमा सुका-मोहर पाइने कारणले मन परेपनि ठुलो भएपछि खासै रस बसेन । मलाई टिका लगाएर दिएको आशिर्बाद लाग्छ भन्ने कुरामा पनि विश्वास छैन । बैदिक कालमा सबै आफ्नो मर्यादामा बस्ने कारणले आशिर्बाद लाग्थ्यो होला । अहिले मन भरी लोभ र पाप बोकेर मुखले मात्र मिठो बोल्ने युगमा त्यस्ता आशिर्बाद एक रत्ति पनि लाग्दैन भन्ने मेरो बुझाइ छ, अब अरुलाई के लाग्छ र लाग्दैन त्यो मेरो समस्या भएन । 

हामी केटाकेटी हुँदा दशैंको सबैभन्दा प्रमुख आकर्षण नयाँ लुगा लगाउने हुन्थ्यो । बुवाले इन्द्रचोकको भित्रपट्टि रहेको हनुमान साहुको पसलबाट पुरै थान कपडा किनेर ल्याएपछि त्यो कपडाले भ्याएसम्म त्यसैबाट सिलाउने गरिन्थ्यो । आमाको चोलोदेखि आफ्नो कमिजसम्म र तकियाको खोलदेखि दिदीको फ्रक सम्म । लुगा सिलाउनेले तोकिएको समयमा "डेलिभरी" नदिने कारणले त्यो लुगा लिन कमसेकम पनि तीन चार पटक जानु पर्थ्यो । जुन दिन सिलाएको लुगा लिएर घर आइन्थ्यो त्यो दिन नयाँ लुगा लाउन नपाउने डर गएर मन आनन्दित हुन्थ्यो, शायद त्यसैलाई भनिन्छ स्वर्गीय आनन्द । त्यो सिलाएको लुगा जहिले पनि बेढंगको हुन्थ्यो, कि त चाहिने भन्दा निकै ठुलो (हिपहप स्टाइल) वा चाहिने भन्दा निकै सानो (टाइट फ़िटिङ्ग), जे होस् त्यस्तै लुगा लगाउन पाउँदा पनि मन खुशीले उडेर आकाशमा पुग्थ्यो ।

अर्को आकर्षण चङ्गा उडाउन पाउनुको थियो । मनोरन्जनको धेरै साधन उपलब्ध नभएको र पंक्तिकार जस्तो निर्धन परिवारको केटाकेटीलाई दशैंको समयमा चङ्गा मनोरन्जनको प्रमुख साधन हुन्थ्यो । चङ्गा उडाउने धागोमा माजा लगाउने र सुकाउने अलग्गै समारोह हुन्थ्यो । एउटा काटिएको चङ्गा लुटन ज्यानको समेत पर्वाह नगरेर दौडेको मलाई अहिले पनि अचम्म लाग्छ । हिलै हिलो भएको धान खेतमा सोच विचार नगरेर झ्याम्म हाम फालेको अहिले सोच्दा पनि आङ्ग सिरिङ्ग गर्छ । तर त्यो बेला पटक्कै डर लाग्थेन । अहिले त्यस्तो ठाउँमा त्यसरी सायद जान सकिन्न जस्तो लाग्छ ।

त्यस्तै धेरैलाई दशैंमा मासु खाने आकर्षण पनि ठुलै हुन्थ्यो । मलाई भने बच्चै देखि मासुमा त्यति रुचि नभएकोले मासु खान रमाइलो त लाग्थेन । तर करकापले भए पनि खाइथ्यो, त्यो बेला कति मान्छेले त दशैंमा मात्र मासु खान पाउथे । मलाई भने घरमा त्यो बेला अरु तरकारी नपाक्ने कारणले दिक्क लाग्थ्यो ।

व्यक्तिगत रुपमा मलाई दशैंको सबैभन्दा ठुलो आकर्षण घर घरमा टिका लगाउन जाने हुन्थ्यो । सत्य बोल्ने हो भने टिका लगाएर आशिर्बाद लिने भन्दा पनि दक्षिणाको रुपमा पाइने सुका-मोहरको आकर्षण बढि हुन्थ्यो । आजकाल जस्तो पकेट मनि भनेर पैसा दिने चलन थिएन वा पंक्तिकारको घरमा चलन नभएको हो । त्यो समयमा हाम्रो हातमा पैसा पर्ने भनेको नै त्यही दशैंको दक्षिणा मात्र हो र त्यसैले बर्ष दिन भरिको अभिष्ट पुरा गर्नु पर्थ्यो ।

आजको दिनमा यो साँस्कृतिक पर्व धेरैको लागि एउटा बोझ बनेर उभिएको छ । अझ सिमित आयस्रोत भएकाहरुको लागि त यो चाड आउदै नआए पनि हुन्थ्यो जस्तो भएको छ । यो चाडको जुन मुल्य र मर्यादा थियो त्यो लगभग समाप्त भएर धनीहरुको लागि आडम्बर देखाउने सुबर्ण मौका र गरिवहरुको लागि अनावश्यक बोझ भएको र त्यसले सामाजिक अन्तर पनि क्रमश फराकिलो बनाउदै लगेको छ । 

केहि बर्षयता देखि स्वघोषित अधिकारकर्मी हरुले पशुबलि गर्नु हुँदैन भनेर एउटा अभियानको थालनी गरेका छन्, मेरो बिचारमा यो अभियानको कुनै तार्किक अर्थ भने छैन । यदि पशुबलिको भित्रैदेखि बिरोध गर्ने हो भने मासु खाने बानी नै त्याग गर्नु पर्यो । पंक्तिकारलाई खसी बोका काटेको नै मन नपरेर मासु खान मन नलागेको हो । पकाएको मासु खाने तर पशुलाई मार्नु हुँदैन भनेर कराउनुको कुनै अर्थ छैन, सायद यो कुरा मैले मात्र नबुझेको हो कि ?

अन्तमा, चाड पर्व भनेको रमाइलोको लागि भएको कारणले आफ्नो गच्छे अनुसार मनाउने गर्दा उचित हुन्छ होला जस्तो लाग्छ । अरुको अगाडी फुर्ति लगाउन नक्कली तामझाम गर्दा "आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई" नहोस भन्ने मेरो कामना छ । सम्पूर्ण पाठक वर्गमा दशैंको हार्दिक शुभकामना । 

प्रकाशित: आश्विन १०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार