विचार/विश्‍लेषण

पूर्वीय सनातन परम्परामा नारी

- साधना प्रतीक्षा
हाम्रो सनातन परम्परामा रहेका विरोधाभास बीचबाट नारीको स्थान र अस्तित्व खोज्नु आवश्यक भएको छ ।

आश्विन ९, २०७४-नारीवाद पश्चिमको उपज हुनाले नारी अस्तित्वको खोजीलाई पनि पश्चिमी भूमिकै देन मानेर हामी आफ्नो पछौटेपनको जिम्मेवार पूर्वीय धर्म–संस्कृति तथा त्यसबाट प्रेरित जीवन पद्धतिलाई मान्दै आइरहेका छौँ । हामीकहाँ एकातिर समाजमा प्रचलित कुप्रथा, लैङ्गिक विभेद अनि नारीप्रतिका नकारात्मक धारणालाई परम्परा र संस्कृतिका नाममा निरन्तरता दिइरहने पितृसत्तात्मक प्रवृत्ति छ भने अर्कातिर नारीको दमित अवस्था र नियतिलाई धर्मसंस्कृति र परम्पराको उपज मान्ने तर ती धर्मसंस्कृति र परम्पराको मूलसम्म पुग्न नचाहने प्रवृत्ति पनि सक्रिय देखिन्छ । 

आफूलाई अग्रगामी विचारधाराका मान्नेहरूले मनुस्मृति, गरुड पुराण, स्वस्थानी व्रतकथा आदिजस्ता ग्रन्थहरूका आधारमा पूर्वीय सनातन परम्पराले नारीलाई तल्लो दर्जामा राखेको, पाप र धर्मको त्रास र आसमा उनीहरूमाथि दमन गरेको विचार व्यक्त गरेको देखिन्छ । यस्तो विचार पूर्णत: असत्य छैन भने पूर्णत: सत्य पनि देखिँदैन । किनभने ती विचार हाम्रो सनातन परम्पराको मूलसम्म पुगेर व्यक्त गरिएका नभएर त्यसको व्याख्या र प्रयोगका भरमा अभिव्यक्त भएको देखिन्छ । हाम्रो सनातन परम्परा तथा त्यसद्वारा निर्मित संस्कृतिप्रतिको भ्रम निवारण गरी यसप्रति बढिरहेको अनास्था न्यूनीकरणका लागि सनातन बौद्धिक वर्ग जागरुक हुने बेला आएको छ ।

यथार्थमा धर्म भनेको त्यही हो, जसलाई धारण गरिन्छ । आगोको धर्म जलाउनु हो, त्यसले यही विशेषता धारण गरेको छ । पानीको धर्म शीतलता हो, जसलाई त्यसले धारण गरेको छ । मानवको धर्म सदाचार र सत्कर्म हो, हामीले त्यो विशेषता धारण गरेर आएका छौँ ! तर हामी आफ्नो धर्मबाट विमुख हुँदै गैरहेका छौँ । हामीले सदाचार र सत्कर्म बिर्संदै गयौँ । स्वार्थको मोहमा आफ्नो धर्म बिर्सने हामी त्यसको दोष भने धर्मलाई नै दिन्छौं । पूर्वीय समाज तथा परम्पराका नारीको पराधीनता र दयनीय अवस्था तथा उनीहरूले झेल्ने सामाजिक–सांस्कृतिक उत्पीडनका सन्दर्भमा पनि यही प्रवृत्ति देखिन्छ । पुरुष तथा पुरुष निर्मित संस्कृतिबाट नारीमाथि हुने जति पनि शोषण–उत्पीडन छन्, तिनको दोष हाम्रो सनातन परम्परामाथि थोपरिने गरिन्छ । 

मनुले नारीलाई यसो भनेका छन्, अमूक ग्रन्थमा नारीलाई यसरी प्रस्तुत गरिएको छ, अमूक पुस्तकमा यस्ता सन्दर्भहरू छन् आदिजस्ता उदाहरण प्रस्तुत गर्दै सनातन परम्पराले नारीप्रति नकारात्मक धारणा राखेको हुँदा यसलाई त्याग्नुपर्ने जिकिर हाल बढिरहेको देखिन्छ । यथार्थमा कमजोरी हाम्रो सनातन सांस्कृतिक परम्परामा नभएर त्यसको परिभाषा, व्याख्या तथा धारण गर्ने तरिकामा देखिएको छ । समाजको शक्तिकेन्द्रमा जो हुन्छ, सामाजिक–सांस्कृतिक मूल्य–मान्यता पनि उसैको अनुकूल बनाइएका हुन्छन् । समाज विकासका क्रममा शक्तिकेन्द्रमा पुरुष रहेर नारीलाई आफ्नो अधीनमा राख्दै जानाले सामाजिक–सांस्कृतिक मूल्य–मान्यता पनि पुरुष अनुकूल बनाइएका हुन् । धार्मिक ग्रन्थ, आख्यान, मिथक, सन्दर्भ आदि पनि पुरुषहरूले नै निर्माण गरेका कारण ती नारीका लागि प्रतिकूल बन्न पुगे । पाप र धर्मका अनेक प्रावधान नारीकै लागि बनाइए, जसका माध्यमबाट उसलाई पुरुषको स्वैच्छिक दासी बनाउन सकियोस् । त्यसैले दोष हाम्रो सनातन धर्म–संस्कृतिमा नभएर पितृसत्ता र त्यसले निर्माण गरेको विभेदकारी संस्कृतिमा छ ।

हिन्दु सनातन परम्परामा रहेको शक्तिपूजाको प्रसङ्ग नारी श्रेष्ठता र सर्वोच्चताको अनुपम उदाहरण होइन र ? यस परम्पराले शक्ति, वैभव तथा विद्याजस्ता तीनवटै महत्तम स्थानमा त्रिदेवी अर्थात् महाकाली, महालक्ष्मी तथा महासरस्वतीलाई स्थापित गराएकोबाट नारी सर्वोच्चताको प्रतिविम्बन हुन्छ । यसैगरी शिवको अर्धनारीश्वर स्वरुप अर्थात् प्रकृति र पुरुषको बराबरी अंशबाट पूर्ण ईश्वर बनेको हुन्छ भन्ने प्रसङ्ग पनि उत्तिकै मननयोग्य देखिन्छ । शक्ति अर्थात् नारीबिना शिव अर्थात् पुरुष अपूर्ण हुन्छ भन्ने आशयका साथ शिवले ‘शक्तिबिना शिव केवल शव हो’ भनेका पौराणिक प्रसङ्गहरू पनि पाइन्छन्, जसप्रति हाम्रो ध्यान गएको देखिँदैन । नारीलाई पुरुषको अर्धाङ्ग वा बामाङ्ग भनिएको प्रसङ्ग पनि मननयोग्य देखिन्छ । किनभने पुरुषको बायाँ भाग नारी अर्थात् कोमलताको प्रतीक हुने हुनाले हृदय अर्थात् मुटु पनि बायाँतिर नै हुन्छ । मुटु बिनाको शरीर अर्थात् नारी बिनाको पुरुष पूर्ण नहुने यथार्थलाई आँखा चिम्लेर हामी पुरुषबिना नारी अपूर्ण हुन्छे भन्ने एकतर्फी व्याख्या र त्यसको आलोचना–प्रत्यालोचनामा अल्झिरहेका छौँ । 

यस सम्बन्धमा भगवान शिव तथा उनका परमभक्त भृङ्गी ऋषिको प्रसङ्ग पनि सान्दर्भिक देखिन्छ । आफ्नो भक्तिदेखि प्रसन्न भएर शिवले बोलाउँदा आल्हादित हुँदै कैलाश पुगेका ऋषिले पार्वतीको वेवास्ता गरी आफूले पुरुषलाई मात्र आराध्य मानेको अभिव्यक्ति दिँदै पहिलो दण्डवत शिवलाई मात्र गर्ने दृढ इच्छा प्रकट गर्छन् । शिवको दर्शन पाएपछि उनको परिक्रमा गर्ने इच्छा राख्दा शिवले स्वीकार गरी पार्वतीलाई पनि साथमा बोलाएपछि ऋषिले ‘म पूर्ण पुरुष शिवको परिक्रमा गर्न चाहन्छु, नारीको होइन’ भन्छन् । तब शिवले आफू पूर्ण पुरुष नभएर अर्धनारी भएको यथार्थ बताउँदै अर्धनारीश्वर स्वरुपको दर्शन गराउँछन् । यस्तो सत्य स्वीकार गर्न तयार नभएका ऋषिले पूर्ण पुरुषको मात्र परिक्रमाको अडान र प्रयास गरेर हारेपछि मात्र सम्पूर्ण जगत प्रकृति र पुरुषको बराबरी अस्तित्वबाट निर्मित भएको र ईश्वरको अन्तिम सत्य शिव–शक्ति अर्थात् अर्धनारीश्वर भएको यथार्थ मनन गर्छन् । 

एकातिर नारीप्रति यस्तो महिमा देखिन्छ भने अर्कातिर नारीलाई होच्याएर विपत्को जड, नरकको द्वार, प्रताडनाको अधिकारी आदि भनेका प्रसङ्गहरू पनि पाइन्छन् । आदिशक्तिका रूपमा पुजिएकी देवीलाई देवताको पाउ दाबिरहेकी दासीका रूपमा पनि प्रस्तुत गरिएको पाइन्छ । शक्ति पूजाको प्रसङ्गमा पनि कहीँ देवीलाई देवताहरूले रचना गरेर आºना शस्त्र र शक्ति दिएर दानव संहारको प्रयोजन सिद्ध गरेको वर्णन पाइन्छ । कहीँ उनलाई आदिशक्तिकै रूपमा प्रस्तुत गरिएको छ । देवताहरूमाथि विजय प्राप्त गरेका दानवले देवीहरूलाई अबलाको संज्ञा दिएर अबला नारीको स्थान पुरुषको चरण र सेवा–मनोरञ्जन हो भन्दै पार्वतीमाथि कुदृष्टि राखेपछि पार्वती महाकालीका रूपमा प्रकट भएर ‘नारी अबला होइन, शक्ति हो, महाकाली हरेक नारीभित्र लुकेको शक्ति हो, त्यसैले नारीलाई अबला ठानेर अपमान गर्नेलाई बाँच्ने अधिकार छैन’ भन्दै अपराजयी मानिएका सार दैत्यको अन्त्य गरेको प्रसङ्ग पनि पाइन्छ । शक्तिस्वरुपा देवी आदिशक्ति हुन् भने कसरी उनलाई देवता (पुरुष) द्वारा आफ्नो प्रयोजन सिद्ध गर्न रचिएको मान्ने ?

यस्ता धेरै विरोधाभाषहरू छन्, हाम्रो सनातन परम्परामा । त्यसैले अब यस्ता विरोधाभाष बीचबाट नारीको स्थान र अस्तित्व खोज्नु आवश्यक भएको छ । हिन्दु संस्कृतिको मूलमा नारी के थिई, अनि पुरुषसत्ताले उसलाई कुन रूपमा प्रस्तुत गर्दै आएको छ भन्ने हाम्रो चासोको विषय बन्नुपर्छ । हामीले पढ्ने–सुन्ने धार्मिक ग्रन्थ, कथा–प्रसङ्गहरू प्राचीन साहित्य र पौराणिक आख्यान हुन् । नारी सन्दर्भमा सर्वाधिक आलोच्य स्वस्थानी व्रतकथा, ऋषिपञ्चमीको कथा आदि त प्राथमिककालीन गद्याख्यान हुन् । कुनै पनि साहित्य लेखक तथा परिवेश निरपेक्ष हुँदैन, त्यसैले समयसँगै आलोचित पनि हुने गर्छ । संस्कृत साहित्यमा कालिदासको काव्य ‘कुमारसम्भव’ पार्वतीको सौन्दर्य वर्णन तथा शिव–पार्वतीका शृङ्गारिक प्रसङ्गका कारण आलोच्य बनेको छ । कुनै समय तथा परिवेशमा कोही लेखकले वर्णन गरेकै आधारमा ईश्वरप्रतिको धारणा बनाएर आफ्नो धर्म–संस्कृतिबाट विमुख हुनु शोभनीय देखिँदैन । योग–साधनाका माध्यमबाट मात्र जान्न सकिने ईश्वरको वास्तविकतालाई बेवास्ता गरेर कल्पनाका आधारमा निर्मित स्वरुप, धार्मिक कथा, मिथक आदिलाई आधार बनाएर त्यहाँभित्र नारीको अपमान भएको गुनासो गर्ने हामी वैदिक परम्पराको आधार तथा मूलसम्म पुग्ने प्रयासै गर्दैनौँ ! हामी समयानुकूल धार्मिक–पौराणिक प्रसङ्ग, कथा, मिथक आदिको व्याख्यामा परिमार्जनको आवश्यकतातर्फ पनि सचेत छैनौँ ।

एकजना धार्मिक विद्वानसँग प्रसङ्गवश यस्तै परिमार्जनको प्रस्ताव राख्दा उनले त्यसलाई ठाडै अस्वीकार गरे । उनलाई शिव र शक्ति अर्थात् अर्धनारीश्वरको सत्य स्वीकार्य रहेनछ ! हठयोग तथा हठवादिता दुबै भक्तिमार्गका बाधक मानिन्छन् । पितृसत्ताको यस्तै हठवादिताका कारण आज हाम्रो वैदिक परम्परा, सनातन संस्कृति संकटमा परिरहेको छ । नारी र पुरुषको सहअस्तित्वबाट निर्मित यस संस्कृतिलाई यसका व्याख्याता र प्रयोक्ताहरूले आफू–अनुकूल व्याख्या–अपव्याख्या गर्दै अनेक आख्यान र मिथक निर्माण गरी पुरुष श्रेष्ठता र नारी अधीनस्थतातर्फ डोर्‍याएको हुनाले वर्तमान पुस्तामा यसप्रति वितृष्णा जागेको देखिन्छ । 

पूर्वीय संस्कृतिप्रतिको अनास्थाले पश्चिमी संस्कृतिप्रति मोह बढाइरहेको छ, जुन हाम्रो सांस्कृतिक संरक्षणका सन्दर्भमा प्रत्युत्पादक देखिन्छ । पूर्वीय सनातन परम्परासँग आबद्ध भएर हाम्रा अनेक पर्व–उत्सव मनाइने हुनाले जब हामी आफ्नो धर्म–संस्कृतिबाट विमुख हुन्छौँ, तब त्यससँग सम्बन्धित पर्वहरूमा पनि रमाउन सक्दैनौँ । सांस्कृतिक पहिचानको संरक्षण र त्यसको जीवन्तताका लागि त्यसमा देखिएका कमी–कमजोरीको आलोचना गर्नेमात्र होइन, त्यसको कारणको खोजी पनि गरिनुपर्छ । नारीको वरण स्वतन्त्रता तथा अर्धनारीश्वरसँग सम्बन्धित तीज पर्वलाई दासत्वसँग गाँस्ने अनि ज्ञान र शिक्षाका आधार ऋषिमुनीको सम्मान गर्ने पर्वलाई रजस्वलासँग जोडेर बहिस्कार गर्ने अभियान चलाउनुभन्दा यससँग सम्बन्धित मिथकको पुनव्र्याख्या आवश्यक देखिन्छ । ‘जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता खुसी हुन्छन्’ भन्ने मान्यताको वैदिक परम्परामा रहेको नवरात्रि–नवदुर्गा अनि शक्तिपूजाका सन्दर्भमा नारीको स्थानबारे चर्चा चलाउँदै पछिल्लो समयमा भएका अपव्याख्याको प्रतिवाद गर्नु सान्दर्भिक देखिन्छ ।

pratikshagunjan@gmail.com 

प्रकाशित: आश्विन ९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार