ब्लग

विश्व शेर्पा सम्मेलन केका लागि ?

- आङछिरिङ शेर्पा, काठमाडौं

आश्विन ८, २०७४-विश्वमा जहाँसुकै सबैले सजिलै चिन्ने नेपाली समुदाय हो, शेर्पा । नामको पछाडी शेर्पा जोडिएको देखेपछि पर्वतारोहणमा उनीहरुले देखाएको आदम्य सहासको विषय चर्चा हुने गर्दछ । 

कतिपय देशमा नेपालका केही समुदायलाई गोर्खाली भनेर चनिए झैं युरोप, अमेरिकालयायतका देशहरुमा शेर्पाको नामबाटै नेपाल देश सजिलै चिनिएको छ । विश्वमा सद्भावना दूतको रुपमा नेपालको प्रतिनिधित्व गर्ने यो समुदाय अवसरको खोजिमा विभिन्न जिल्ला हुँदै काठमाडौ र अहिले विश्वका धेरै देशहरुमा स्थायी रुपमा बसोबास गरिरहेका छन् । 

बि.सं. २०४० सालतिर काठमाडौंमा शेर्पाहरुको बसोबास पातलो थियो । अहिले काठमाडौंमा निकै बाक्लो बस्ती बसिसकेको छ, शेर्पाहरुको । त्यसो त सन् १९९० पछि विदेश जान थालेको शेर्पाहरुले अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगल, अष्ट्रेलियालगायतका मुलुकहरुमा बस्तीहरु बसाएका छन् । 

नेपालको पूर्वी पहाडका गाउँहरुबाट शहर हुँदै विभिन्न विकसित देशहरुमा फैलिएको शेर्पाहरुले यतिखेर आफ्नो मौलिक भाषा, धर्म र संस्कृतिको कसरी  जर्गेना गर्न सकिएला भनेर सोच्न थालेको छ । तर, परिवर्तित समय अनुसार समाजमा धर्म र संस्कृतिमा विकृतिहरु बढ्न थालेपनि निकै चिन्तित देखिन्छ, यो समुदाय । यस्तै समुदायका सरोकारका बिभिन्न विषयहरुमा छलफल गर्न र समाजमा देखिएका विकृतिहरु हटाउने तर्फ पहल गर्न यही अक्टोबरको ८, ९ र १० तारिखमा काठमाडौंमा प्रथम विश्व शेर्पा सम्मेलनको आयोजना गरिएको छ । 

यो सम्मेलनको आयोजना गर्नका लागि विश्वभरका शेर्पा अगुवाहरुले ८ वर्षदेखि निरन्तर छलफल गरिरहेका थिए । त्यसै छलफल र निरन्तरको तयारी पछि सन् २०१५ को डिसेम्बरमा विश्वको १७ देशको प्रतिनिधिहरुको सहाभागी रहेको स्काइप कन्फेरेन्सबाट विश्व शेर्पा संघ तद्धर्थ समिति गठन गरिएको थियो । समितिले शेर्पाको पहिलो सम्मेलन नेपालमै गर्ने निर्णय गरेपछि शेर्पा संघका अध्यक्ष आङदोर्जी लामाको संयोजकत्व तथा युरोप शेर्पा संघको अध्यक्ष आङ पुला शेर्पाको सहसंयोजकत्वमा विभिन्न देशमा रहेका शेर्पा संघ/संस्थाका अध्यक्षहरु सदस्य रहने गरी विश्व शेर्पा संघ तदर्थ समिति गठन गरिएको थियो । 

तत्कालिन शेर्पा किदुंग अमेरिकाका अध्यक्ष दावा जाङबु शेर्पालाई आर्थिक संयोजक तथा तत्कालिन महासचिव आङ जाङबु शेर्पालाई सदस्य सचिवमा नियुक्ति गरेर सम्मेलनको तयारी सुरु गरिएको थियो । यसै अनुरुप सम्मेलनमा अहिलेसम्म करिब २० देशबाट शेर्पा किदुगहरु तथा अन्य संघ/संस्थाका प्रतिनिधिहरु भाग लिंदै छन् । 

विशेष गरेर शेर्पा समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षणका साथै मौलिक परम्परामा एक रुपता ल्याउने प्रयास यस सम्मेलनले गर्नेछ । बसाई सराईसंगै दिनहुँ आफनो मौलिक भाषा र संस्कृतिहरु विर्संदै गएका शेर्पा समुदायका विश्वभरि छारिएर रहेका शेर्पा प्रतिनिधिहरुको सहाभागिताले शेर्पा समुदायलाई मार्ग निर्देशन गर्ने अपेक्षा राखिएको छ । यो सम्मेलनले भावी पुस्तालाई शेर्पा हुँ भन्ने मौलिक पहिचानको बारेमा ज्ञान दिन थप मद्दत पुग्नेछ । 

यसको साथै मातृभूमि नेपाल र शेर्पा समुदायको सुखदुखमा सवै एक जुट भएर एउटै प्लेटफर्ममार्फत सहयोग गर्नका लागि यो सम्मेलनले महत्वपूर्ण भुमिका खेल्नेछ । यसको साथै विदेशमा बस्नेहरुको संस्था एनआरएनको अन्तराष्ट्रिय सम्मेलनलाई पनि सहयोग गर्नकै लागि सम्मेलन अक्टुबरको पहिलो हप्तामा राखिएको हो । सम्मेलनमा करिब डेट सय जति विदेशबाट र नेपालबाट २ सय गरि करिब ३ सय ५० जनाको प्रतिनिधिहरु रहने छ । नेपालबाट शेर्पा संघ कार्यसमिति, जिल्ला शेर्पा संघका प्रतिनिधिहरु ( २ जना (हरेक जिल्लाबाट), त्यस्तै काठमाडौंमा रहेका शेर्पा संघको भातृ संघ सस्थाहरुबाट ५ जना (हरेक संघ सस्थाहरुबाट), काठमाडौमा रहेका विभिन्न जिल्ला तथा गाउँको किदुगहरुबाट (३ जना (हरेक किदुगहरुबाट) , धर्म गुरुहरु, सञ्चारकर्मीहरु कलाकार र अन्य बिशेष बुद्धिजीविहरु, ब्यवसायीहरुलगायत सहभागी हुनेछन् । 

पहिलो दिन (८ तारिख ) मा लाजिम्पाटस्थित र्‍याडिसन होटलमा प्रधानमन्त्रीबाट उद्घाटन हुने सम्मेलनमा बेलुकी साँस्कृतिक कार्यक्रमसहित रात्रीभोज राखिएको छ । दोश्रो दिन (९ तारिख ) शेर्पा गुम्बा (शेर्पा सेवा केन्द्र) को हलमा विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरिने छ । तेस्रो दिनमा सम्मेलनमा भएकाे छलफलको निर्णयसहितको घोषणा पत्र जारी गर्नुका साथै विश्व शेर्पा संघ गठन हुनेछ ।  

समग्रमा देश–विदेशमा रहेका शेर्पा समुदायका सदस्यहरुले आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षणमा कसरी टेवा पुर्‍याउन सकिन्छ भन्ने बारेमा पनि छलफल गरि अन्तमा घोषणा पत्र जारी गरिने छ । यस पटक शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा लामाको संयोजकत्वमा पहिलो ऐतिहासिक विश्व शेर्पा सम्मेलन आयोजना र दोश्रो काठमाडौंको जोरपाटी नजिकको नारायणटारमा १ रोपनी २ आना दुई पैसा क्षेत्रफल रहेको जग्गामा बनेको ११ हजार वर्गफिट क्षेत्रफलको पक्की घर ४ करोड ६५ लाखमा खरिद गर्ने महत्वपूर्ण कार्य भएको छ ।

प्रकाशित: आश्विन ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार