फिचर

नेपाली ‘राष्ट्र’ का निर्माता

  • व्यक्तित्व विशेष : २५० वर्षका २५
  • नेपाली भाषाबिना नेपालको, नेपाली जातिको, नेपालीहरूबीच सञ्चार गर्न सक्ने माध्यमको आज कल्पना पनि गर्न सकिंदैन । अरू त अरू, यसको विरोधै गर्न पनि यही भाषा चाहिन्छ । नेपाली भाषाले यो शक्ति भानुभक्तकै कारण पाएको हो ।
- शरच्चन्द्र वस्ती

आश्विन ८, २०७४-नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहकै समकक्षमा कसैको योगदान छ भने उनी हुन्— भानुभक्त आचार्य । अझ भन्ने हो भने, पृथ्वीनारायणले भौगोलिक रूपमा नेपालीहरूको एउटा ‘देश’ निर्माण गरे, जो त्यसपछि फैलिंदै–खुम्चिंदै अहिलेको अवस्थामा छ । र, भानुभक्तले नेपालीहरूको साझा मनोविज्ञान बनाए, जसले नेपाली ‘राष्ट्र’ निर्माण गरेको छ, जो निरन्तर फैलिंदै–झांगिंदै गएको छ । नेपालभित्र मात्र होइन, नेपालबाहिर विश्वका अधिकतर मुलुक र सबै महादेशमा ।

भाषामार्फत निर्मित त्यो ‘राष्ट्र’ मा भाषा मात्र होइन, नेपाली सभ्यता, संस्कृति, धर्म, परम्परा, जातीयता, भ्रातृत्वभाव, साझा परिचय र समान नियतिबोध पनि समेटिएको छ, जसको समष्टि हो— नेपाली हुनुको गौरवबोध तथा एकात्मभाव । अनेकन् झञ्झावातका बावजूद आज नेपाली राष्ट्रियता जति प्रखर र सुदृढ बनेको छ, नेपाली भाषा एवं साहित्य जसरी विकसित भएको छ, त्यसको आधारभूमि तिनै भानुभक्त र उनको रामायणले निर्माण गरेको हो । यसनिम्ति उनीप्रति जति कृतज्ञता व्यक्त गरे पनि कम हुन्छ । 

आजभन्दा डेढ सय वर्षअघि यस लोकबाट बिदा भइसकेका भानुभक्त आचार्यले कसै गरी यी कुरा सुन्दा हुन् त देब्रे हातको चोरऔंलोले घोप्टे जुँगा कन्याउँदै मुस्कुराउँदा हुन् : ‘कस्तो बात गर्‍या हो कुन्नि यो ? मैले त यस्ता कौनै कुरा सोच्याकै थिइनँ । आफूलाई आनन्द आउन्या भएर कविता लेख्याँ । लोकको कल्याण होस् भनेर रामायण भाषामा उल्था गर्‍याँ । यत्ति गर्‍याको त हो । आज पनि संझँदा आफूलाई क्या सन्तोष लाग्छ !’

हो त नि ! उनले गरेकै त्यत्ति हुन् । कविले आफ्नै आनन्दका लागि साहित्य रच्छ । तुलसीदासले त्यसैलाई ‘स्वान्त:सुखाय’ भनेका छन् । र, लोकको हितसँग जोडिएको रचना नै ‘साहित्य’ हो । ‘लोक्को गरौं हित् भनी’ नारदले भन्दा बढी भानुभक्तले नै भनेका हुन् । नारदले त हित होइन, ‘अनुग्रह’ को चाहना राखेको देखिन्छ— मूल संस्कृत पल्टाई हेर्दा ।

तर, लोकको कल्याण र आनन्दप्राप्तिका लागि उनले जे गरे, त्यो असामान्य र अद्भुत थियो । त्यसलाई परिभाषित गर्न ‘दैवी प्रेरणा’ शब्दमै पुग्नुपर्छ । किनभने, संस्कृतज्ञ ब्राह्मण कुलमा जन्मेका र संस्कृतको राम्रो ज्ञान भएका उनीजस्ता विचक्षण व्यक्ति त्यस जमानामा खस कुरामा कविता लेख्ने जस्तो ‘तुच्छ’ काममा समर्पित हुँदैनथे । ‘विद्वान्’ हरू संस्कृतमा लेख्नेलाई मात्र उच्च ठान्थे, नेपालीमा लेख्नु तिनका दृष्टिमा तल पर्नु, निन्दित हुनु, अयोग्य ठहरिनु हुन्थ्यो । सिद्धार्थ गौतमका लागि शुद्धोदनले दरबारमा निर्माण गरिदिए जस्तो नितान्त प्रतिकूल थियो वातावरण । तर सिद्धार्थझैं यी हाम्रा आदिकवि पनि अव्याख्येय अन्त:प्रेरणावश त्यो घेराबन्दी तोडेर लोककल्याणको साधनामा तल्लीन भए, जसको सम्बोधि नेपाली रामायणका रूपमा घटित भयो । ‘अलौकिक’ थियो त्यो प्राप्ति, जसले आज पनि हाम्रो चेतनालाई मलजल गरिरहेको छ । 

‘अलौकिक’ किनभने, नेपाली लोकमा यस्तो घटना पहिलोपल्ट भएको थियो, जसको कल्पना त्यसअघि नेपालीले गरेका थिएनन् । हुन त नेपाली भाषा यो भूखण्ड ‘नेपाल’ नाममा एकीकृत हुनुभन्दा धेरै अघिदेखि नै यहाँका जनताको भाषा थियो र नेपालीमा कविता नलेखिएका पनि होइनन् । तर यो सब एकातिर कामचलाउ वा लहडबाजी जस्तो मात्र र अर्कातिर विद्वान्हरूको हेयदृष्टिका कारण हीनताबोधसँग जोडिएको विषय थियो । नेपालीमा जे लेखिन्छ त्यो दोस्रो दर्जाको मात्र हुन सक्छ भन्ने आम मनोविज्ञान छाएको थियो नेपाली समाजमा । भानुभक्तको रामायणले यस स्थितिलाई हठात् उल्टाइदियो । त्यसले नेपाली भाषाको लालित्य, सौन्दर्य, अभिव्यञ्जकता र विशिष्ट सामथ्र्यलाई अत्यन्त सशक्तताका साथ उद्घाटित गर्‍यो । अकल्पनीय रचनात्मक विस्फोट थियो त्यो, जसले नेपाली भाषालाई एकाएक पहिलो दर्जामा उकाल्यो । यसले नेपाली जातिमा नेपाली भाषाप्रति अपूर्व गौरवभावको सूत्रपात मात्र गरेन, त्यसको प्रयोक्ता र स्वामी भएको गर्व पनि प्रदान गर्‍यो । 

अलौकिकताकै अर्को पाटो थियो— सिंगो रामायण नेपाली लोकमा अवतरित हुनु । हुन त विश्वका अनेकौं देशलाई शताब्दियौंदेखि प्रभावित गर्दै आएको रामायणको कथा नेपालीले पनि त्यसै बेलादेखि सुन्दै–सुनाउँदै नआएका होइनन् र त्यसको आदर्शबाट अनुप्राणित नभएका पनि होइनन्, तर रामायण आम नेपालीका लागि आकाशको फलजस्तो थियो, किनभने संस्कृतमा तिनको पहुँच थिएन । थोरबहुत संस्कृत पढेकाहरूले रामायण भनेर जे सुनाउँछन् अथवा ‘भाषा’ मा टुक्राटाक्री जे लेख्छन्, त्यसैमा चित्त बुझाएर, मन सानो पारेर, खुम्चिएर बस्नुपथ्र्यो । यस्तो अवस्थामा भानुभक्तको रामायण उनीहरूका सामु पहिलोपल्ट एउटा त्यस्तो श्रद्धेय आदिग्रन्थका रूपमा अवतरित भएको थियो, जो उनीहरूकै भाषामा थियो— जसलाई पढ्न र बुझ्न कुनै पण्डितको मुख ताक्नुपर्दैनथ्यो । पितृपुर्खादेखि आदर्श मानिदै आएका आस्था, मर्यादा, नैतिकता, जीवनोद्देश्य र जीवनशैलीको स्रोतग्रन्थ उनीहरूको पहुँचमा आएको थियो । यस्तो ग्रन्थ, जो धर्म, दर्शन, नीति, ज्ञान, विज्ञता, लोकव्यवहार, शिक्षा, मनोरञ्जन सबैको सर्वमान्य आधिकारिक स्रोत थियो । त्यसैले यो नेपाली मात्रका लागि ‘आफ्नो’ धर्मशास्त्र, नीतिशास्त्र, व्यवहारशास्त्र, पुराण, गीता, वेद— सबै थोक बन्न पुग्यो । ठूलो आत्मविश्वास भरिदियो यसले नेपाली जनमानसमा । 

सुनमा सुगन्ध भनेझैं भानुभक्तको प्रतिभा र सामथ्र्यले यसलाई अनूदितभन्दा बढी मौलिक कृति बनाइदिएको थियो, जसका प्रत्येक घटना, प्रसंग र कथनोपकथनमा नेपाली ढब यसरी छाएको थियो— नेपालीहरूले आफूलाई सम्पूर्णत: त्यसमा गाँसिएको अनुभूति गरे । त्यो बिहान नुहाएर भक्तिपूर्वक पाठ गरिन्थ्यो, दिउँसो रमाएर पढिन्थ्यो, राति घरपरिवार र छरछिमेकलाई लय हालेर सुनाइन्थ्यो । बिहामा प्रतिस्पर्धासाथ सिलोक हालिन्थ्यो, चाडपर्व, मेलापात, भन्ज्याङ–चौतारीमा र घाँस, दाउरा, गोठालो गर्दा स्वाद मानेर घन्काइन्थ्यो । सही–गलत निक्र्योल गर्न त्यसका पंक्ति उद्धृत गरिन्थ्यो, मानवीय व्यवहारको विश्लेषण गर्न श्लोकांश प्रस्तुत गरिन्थ्यो अनि आफू पुलकित हुँदै र अरूलाई पनि पुलकित पार्दै सभा–समारोहमा श्लोक सुनाइन्थ्यो । मोतीराम भट्टले छपाएर प्रकाशित गर्नुअघि नै नेपाली समाजको आत्मामा छापिइसकेको थियो त्यो । पुस्तकाकारमा मुद्रित भएपछि देशभित्र र बाहिरका पनि सबैजसो नेपालीका घरको इज्जत, गरिमा र आत्मीय वस्तु बन्न पुग्यो । 

भाषा यसको सबैभन्दा ठूलो शक्ति थियो । र, त्यसको सबैभन्दा ठूलो कारण थियो— भानुभक्तले आफूलाई भाषाभन्दा माथि ठानेनन्, प्रचलित भाषालाई शिरोपर गरे । आजभोलिका अहंकारान्ध ‘विद्वान्’ हरूले जस्तो मै जान्ने हुँ भनेर, सरल बनाउँछु भनेर भाषालाई जबर्जस्ती घिच्याएनन्, बिगारेनन्, भत्काएनन्, आफूलाई भाषाभन्दा माथि ठान्ने मूर्खता गरेनन् । लोकव्यवहारमा भिजेको भाषा स्वत: सरल हुन्छ, त्यही सर्वस्वीकार्य हुन्छ र भाषाको प्राणशक्ति त्यहीं निहित हुन्छ भन्ने उनलाई थाहा थियो । जनसाधारणको त्यही भाषा उनले प्रेमपूर्वक प्रयोग गरे, जसले सबैलाई आह्लादित बनायो । ‘सञ्चार’ का दृष्टिले अन्धकारमय त्यस युगमा तनहुँको एउटा बाहुनचरीले प्रयोग गरेको, स्थानीय लवजको भाषालाई सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मका, देशबाहिरका र लाहुर गएकाहरूसमेत सारा नेपालीले सहजतासाथ स्वीकार्नु, प्रेम गर्नु, त्यसमा रमाउनु र आत्मीयता महसूस गर्नुको कारण यही थियो । भाषिक एकीकरणलाई मात्र यसले बल पुर्‍याएन, नेपालीहरूबीचको एकात्मकता र भ्रातृत्वभावलाई समेत सबल बनायो । 

यिनै कारणले नेपाली ‘राष्ट्र’ को निर्माण हुन पुग्यो, जो समयक्रममा निरन्तर सशक्त र सुदृढ बन्दै आएको छ । नेपाली समाजलाई जोड्ने अन्य जुइना खुकुलिंदै, खुकुल्याइँदै गएको यो बेला पनि भानुभक्तले भाषामार्फत निर्माण गरिदिएको एकताको सूत्र आजसम्म पटक्कै कमजोर भएको छैन । आज नेपालबाहिर विश्वका विभिन्न मुलुकमा मात्र चालीस लाख नेपाली छन् । तिनको रोजगारी, आर्थिक गतिविधि वा उन्नतिको माध्यम यो भाषा होइन । तैपनि सर्वत्र नेपाली लेखन र पत्रकारिता उत्साहसाथ अघि बढिरहेको छ, किनभने यो नेपालीको मन आनन्दित हुने भाषा बन्न पुगेको छ । विश्वभर छरिएका नेपालीहरू कुरा त थुप्रै भाषामा गर्दा होलान् तर मनको बह साटासाट गर्न नेपाली भाषा नै चाहिन्छ । अरू त अरू, यसको विरोधै गर्न पनि यही भाषा चाहिन्छ । नेपाली भाषाबिना नेपालको, नेपाली जातिको, नेपालीहरूबीच सञ्चारको, कोमलतम अन्तर्भाव पोख्न सक्ने माध्यमको आज कल्पना पनि गर्न सकिंदैन । नेपाली भाषाले यो शक्ति भानुभक्तकै कारण पाएको हो । दुर्भाग्यवश, यसलाई कमजोर पार्न केही समययता सुनियोजित प्रहार हुन थालेको छ, त्यो पनि तिनीहरूबाटै— जसले यसको सुरक्षा र संरक्षणका लागि काम गर्नुपर्ने हो । आजको आवश्यकता त्यस्ता प्रहारबाट नेपाली भाषालाई बचाउनु हो, यत्ति गर्न सके यो भाषा झन्झन् झरिलो र दर्बिलो हुँदै जानेछ । यत्ति गर्न सके नेपाली समाजलाई कसैले, कहिल्यै छिन्नभिन्न र निस्तेज पार्न सक्नेछैन । 

यही मेसोमा थप दुई कुरा :

(क) भानुभक्तका बारेमा ठूलठूला कुरा गर्ने वा आफूलाई उम्दा साहित्यकार ठान्ने धेरैले उनको रामायण एकपल्ट पनि आद्योपान्त नपढेको मैले पाएको छु । उनीहरूलाई करजोरी अनुरोध गर्न चाहन्छु : अलिकति फुर्सत निकालेर, शान्त मनस्थितिमा, कम्तीमा एकपल्ट पूरै रामायण पढ्नोस् र यसमा डुब्ने प्रयास गरिहेर्नोस् त ! आजका विचार वा विम्ब फरक होलान् तर शब्द–चयनमा, ठेट नेपालीपनमा, भाषाको प्रवाहमा, स्वाभाविक विम्बविधानमा, घटना र परिस्थितिको चित्रमय प्रस्तुतिमा अनि पाठकको दिमागमा घन ठोक्नुको सट्टा उसको मन छुन र विषयवस्तुमा डुबाएर उसलाई रोमाञ्चित गराउन भानुभक्तलाई आज पनि बेजोडा पाउनुहुनेछ । नेपाली भाषा र नेपाली समाजको मर्म र गहिराइमा अनायास प्रवेश गर्ने उनको क्षमताबाट गद्गद् बन्नुहुनेछ । मानिसको मुखमा चट्ट झुन्डिने छरिता–धारिला नेपाली वाक्य (वनलाइनर) कसरी बन्न सक्छन् भन्ने ‘आइडिया’ आविष्कार गर्नुहुनेछ । जीवनका विभिन्न परिस्थिति र सन्दर्भलाई सटीक अभिव्यक्ति दिने र बारम्बार दोहोर्‍याउन सकिने सयौं कालजयी पंक्ति फेला पार्नुहुनेछ । त्यस बेला, डेढ शताब्दीभन्दा अघि भानुभक्तले प्रयोग गरेको तेजिलो एवं मर्मस्पर्शी स्वाभाविक भाषाको तुलनामा आज हामीले लेख्ने–पढ्ने गरेको भाषा बोधो एवं अस्वाभाविक प्रतीत भयो र त्यो स्तरमा उक्लिन अरू डेढ सय वर्ष लाग्ने तपाईंले ठान्नुभयो भने म पटक्कै आश्चर्य मान्नेछैन । 

(ख) नेपाली पत्रकारहरूको ध्यान केमा आकर्षित हुनु जरुरी छ भने भानुभक्त नेपाली आमसञ्चारको पहिलो र सशक्त विम्ब पनि हुन् । ‘जनतालाई सान्दर्भिक (व्यापक अर्थमा) विषयमा सुसूचित गरी सही निर्णय लिन सक्षम बनाउने’ आमसञ्चारको आधारभूत उद्देश्य उनको रामायणमा चरितार्थ हुन्छ । त्यो काम उनले सबै जात, वर्ग, धर्म, क्षेत्र, समुदाय र शैक्षिक परिवेशका मानिस अर्थात् आम जनताले बुझ्ने भाषामा गरेका त छँदै छन्, त्यसले जनमतलाई दिशानिर्देश गर्ने र तदनुरूप व्यवहारतर्फ आकर्षित गर्ने सामथ्र्य पनि प्रदर्शित गरेको छ । उनले आफू जानकार देखिन होइन, विषयवस्तु प्रस्तुत गर्न काम गरेका छन् । उनको कृतिले सञ्चारका मुख्य कार्य (सूचना, शिक्षा, अभिप्रेरणा र मनोरञ्जन दिनु) मात्र होइन, एबीसी (तथ्यपरकता, सन्तुलन र विश्वसनीयता) को मापदण्ड पनि पूरा गर्छ । उनले स्पष्टत: ‘सामाजिक उत्तरदायित्वको सिद्धान्त’ अँगालेका छन्, जुन पत्रकारिताको सर्वोत्कृष्ट सिद्धान्त मानिन्छ । यसरी हेर्दा आमसञ्चारको नेपाली भाष्य भानुभक्तलाई मियो बनाएर रच्न सकिने देखिन्छ । 

अन्त्यमा,

सत्य हो— यो सबै सोचेर, योजना बनाएर गरिएको काम थिएन । एउटै पुस्तकले यत्रो काम गर्न सक्छ भनेर सोच्न सकिने कुरै होइन । भानुभक्तले पनि ‘यस्ता कौनै कुरा सोच्याकै थिएनन् ।’ तर हुन गयो । किनभने, उनको उद्देश्य पवित्र थियो । लोकहितबाहेक कुनै प्रयोजन थिएन । आनन्दप्राप्तिबाहेक कुनै अभिलाषा थिएन । सीमित उद्देश्यले परिणामलाई सीमित पार्छ— यस्तो परिणाम दिनै सक्तैन । 

नेपाली साहित्यका अतुलनीय प्रतिभा महाकवि देवकोटा भानुभक्तमाथि लालमोहर लगाउँछन् : ‘साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबैभन्दा बढी तीव्र भएर बस्छ । मेरा निम्ति उनी नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष हुन् ।’ (लक्ष्मी निबन्ध संग्रह) 

नेपाली साहित्य हाम्रै ऐना हो । त्यसैले उनी हामी सबैका सर्वश्रेष्ठ पुरुष हुन् । नेपाली ‘राष्ट्र’ निर्माण गर्ने र हामी सबैको मनमुटुमा सदाका लागि एकात्मभाव प्रवाहित गर्ने व्यक्ति ‘सर्वश्रेष्ठ पुरुष’ नभएर के हुन्छ त ?

प्रकाशित: आश्विन ८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार