फिचर

जंगबहादुरको अवदान

  • व्यक्तित्व विशेष : २५० वर्षका २५
- ज्ञानमणि नेपाल

आश्विन ७, २०७४-रणबहादुर शाहकी कान्छी ल्याइते कान्तवती सुवर्णप्रभाका जेठा छोरालाई हटाएर आफ्नो शिशु छोरालाई राजा बनाउन सफल भइन् । तर तिनै रानी मरेपछि भताभुंगे जोगी राजा रणबहादुरले लथालिङ्गे चाला गर्दागर्दै आफू पनि सिद्धिए, भीमसेन थापालाई सबै भाइभारदार सिध्याएर सर्वशक्तिमान् शासक हुने अवसर पनि दिए । त्यस्तै जङ्गबहादुरलाई उच्च पदमा पुर्‍याउन चाहने र तिनै जेठालाई थुनी वा निकाली आफ्ना छोरालाई राजा बनाउन चाहने राज्यलक्ष्मी सहायक बनिन् ।

रणबहादुर शाह, भीमसेन थापा र जङ्गबहादुर राणाका कामकारबाहीले गर्दा शाहराजाहरू अधिकारविहीन बनी डेढ सय वर्षसम्म नजरबन्दमा बस्नुपर्‍यो । राज्याधिकार पाएपछि राजा महेन्द्रलाई के सनक चढ्यो, कसले के लाइदियो, तिनै लथालिङ्गे राजा रणबहादुरलाई उजिल्याउन र सर्वनाशी काजी भीमसेन थापाको प्रशंसा गर्न, प्रशस्ति गाउन र विभूति बनाउन मन लाग्यो अनि उनले दरबारिया इतिहासकार चित्तरञ्जन नेपालीलाई यस काम लगाए । अनि साँच्चै देशका सपूत, वीर, विभूति बहादुर शाहलाई पनि देशविरोधी, राजद्रोही देखाइयो । विदेशीले भीमसेन थापाको प्रशंसा गर्नुमा तिनको स्वार्थ हो । रणबहादुरले ‘म मरे देश डुब्ने छैन, भीमसेन मर्‍यो भने देश डुब्नेछ’ भने भन्ने कुरा साँचो होइन । तीन दशकअघि मरेको मान्छेले त्यसरी भन्यो भनेर पछि लालमोहरमा लेख्दैमा हुन्छ र ? जङ्गबहादुर र चन्द्रशमशेरले ‘हामी वजीरमध्ये ठूलो वजीर भीमसेन थापा हुन् आदि प्रशंसावाक्य भने’ भन्ने कुरा पनि सत्य होइन र धेरैपहिले मैले यी सबै प्रशंसावाक्य असत्य हुन् भनी लेखेको थिएँ । अहिले चन्द्रशमशेरको संवाद, जङ्गबहादुरको लेखाइ पढ्दा पनि ती प्रशंसावाक्य असत्य रहेछन् भन्ने छर्लङ्ग हुन्छ । चन्द्रशमशेरले ‘भीमसेन थापाले सुगौली सन्धि गरेर ठूलो भूल गरे, उनको त्यो चूक सय वर्षपछि पनि हामीलाई सच्याउन हम्मेहम्मे परिरहेछ’ भनेका छन् । 

जङ्गबहादुरले आफ्नै हस्ताक्षरमा लेखेका छन्— ‘भीमसेन थापाले बडाबडा हस्ती मारेर जनतारूपी भेडाहरूमा बाघ छोडिदिए, जनताको रगत चुुसाए वा शोषण गराए । त्यसैले उनलाई भगवान्ले सहेनन् ।’ अर्थात्, उनले सेरिएर बिजोगले मर्नुपर्‍यो । अझ राजा राजेन्द्रलाई पनि छेड हानेका छन्— ‘उनले आफ्ना र पराईलाई चिनेनन्, धेरै भारदार मारे, पछि मुखमा भन्किएका झिंगा धपाएर जीवनभर बस्नुपर्‍यो ।’ आफूलाई पनि दाँजेका छन्— ‘मैले पनि सय जना भारदार मारें, जनतालाई खुस पारें, बाघलाई खोरमा थुनेर राखें, जनतामा (रगत चुस्ने) बाघ छाडिनँ, त्यसैले मलाई ईश्वरले सहे र सहिरहेका छन् ।’ 

सत्तामा पुगेपछि जंगबहादुरले पहिलोपल्ट आफैंलाई खट्किरहेको कुरो सुधार्ने काम गरे । उनी कुँवरहरूलाई तीनडोरे जनै लाउने तल्लो दर्जाका खसछेत्री भनेर ठकुरीहरू भातभान्सामा चलाउँदैनथे, बिहा गर्न छोरी दिँदैनथे । यसलाई सच्याउन उनले भारतको भरतपुरमा आफ्ना मानिस पठाई त्यहाँको अभिलेखमा ‘महाराणाप्रतापका सन्तानमा एक जना नेपालमा गए’ भन्ने लेखाएर ल्याए र तिनैका सन्तान आफूहरू ‘श्रीमद्राजकुमार कुमारात्मज राणाजी हौं’ भन्ने प्रशस्ति बनाए । जङ्गबहादुर त्यसपछि उनी राणा बने । झर्रा क्षत्री ठकुरीको छोरीहरूसँग बिहा गर्न थाले, आफ्ना बालक छोराको बिहा महाराजाधिराजका शाहज्यादीहरूसँग गराए । आफ्नो बिहा पनि चौतरियाकी बहिनी हिरण्यगर्भकुमारीसँग गरे । उनकी मुख्य महारानी यिनै भइन् ।

जङ्गबहादुर बहुतै महत्त्वाकांक्षी राजनीतिक खेलाडी, अति चतुर, स्वाभाविक प्रतिभाशाली, साहसी राजनीतिज्ञ पनि थिए । सबै कुरामा आफूलाई अग्रणी भूमिकामा उभ्याउन चाहने, आँटेको काम पुर्‍याईकन छाड्ने हुँदा नै उनी सुबेदारबाट प्राइममिनिस्टर र श्री ३ महाराजसम्म हुन पुगे । खस कुँवरबाट झर्रा क्षत्री ठकुरीसमान राणाजी बने । उनलाई अझै अर्को कुरा खट्केको थियो । भीमसेन थापा पछिल्लो कालमा अंग्रेजको शक्ति परीक्षणका लागि बेलायत जाने सुरमा थिए । यहाँको आन्तरिक परिस्थ्तििले गर्दा आफू नगई भतिजो माथवरसिंहको नेतृत्वमा आठसदस्यीय टोलीलाई बिदा गरे । त्यस टोलीमा कान्छो सदस्य जङ्गबहादुर पनि थिए । कलकत्ता पुगेपछि त्यहाँका अंग्रेज अधिकारीले बेलायतमा राजकीय सम्मान नहुने, साधारण यात्रीको रूपमा जानुपर्छ भनेपछि यो टोली फर्केर आएको थियो । यस कुराले आफ्नो पनि नेपालको पनि अपमान भएको जंगबहादुरलाई लागिरहेको थियो । 

जङ्गबहादुर राणाले प्राइममिनिस्टर भएपछि पहिले आफू राजकीय सम्मानसाथ अंग्रेजको मुलुकमा जाने संकल्प गरेका थिए । सोहीअनुसार उनी राजाका प्रतिनिधिको रूपमा १९ तोपको सलामी लिँदै राजकीय सम्मानका साथ बेलायत गए, त्यहाँ पनि उनी कोहीभन्दा कम भएनन् । हिन्दु राष्ट्रका राजकीय प्रतिनिधिको रूपमा बेलायत जाने उनी नै पहिलो व्यक्ति थिए । बेलायतमा तीन महिना र फ्रान्समा चालीस दिन बस्दा उनले आफ्नो र आफ्ना देशको सानमान राखे । 

जङ्गबहादुरको स्वजीवनपक्ष जे भए पनि राजनीतिक पक्ष, शासन पक्ष सराहनीय छ । त्यस्ता–त्यस्ता हत्याकाण्डमा पनि उनी सफलै भए । उनमा शत्रु नलागेका होइनन्, तर कुनै सफल भएनन् । उनी बाँचुन्जेल शत्रु लागिरहे । एउटै पनि सफल भएनन् । उनी आफैं सफल भइरहे । 

परराष्ट्र नीतिमा पनि आफ्नो बलबुता, बुद्धिले उनी सफलै भए । दैनिक शासनमा पनि जनता रिझाउने धेरै काम गरे । पृथ्वीनारायण शाहले बाह्र हजार स्थिति बन्दोबस्त बाँध्ने उद्देश्य लिए पनि उनले भ्याएका थिएनन् । अड्डैपिच्छे धर्मशास्त्र जान्ने पण्डित नियुक्त गरी न्यायनिसाफ दिलाउनू भनेर गए । नायब बहादुर शाहले अब धर्मशास्त्रले मात्र व्यवहार चल्दैन भनेर ऐनकानुन बनाउन लगाएका थिए । तर काम गर्न नपाउँदै उनी सत्तालोलुप अन्यायी राजाद्वारा मारिए । उजीरसिंह थापाले केही नियमका धारा लेख्न लगाएका थिए, ती पनि अपूरै रहे, लागू पनि भए कि भएनन् । धेरैजसो मुखकै कानुन थियो, हुकुमले चल्ने हुँदा हुकुमी शासन भन्ने गरिन्थ्यो । अर्को ज्यानको बदला ज्यानै लिने सजाय गरिन्थ्यो, एउटा बिराउने शाखा पिराउने चलन थियो । जारी गर्नेलाई जारीखतबापत ज्यानै मारिदिने चलन थियो । एक चोटि जङ्गबहादुरकहाँ एक जना मान्छेले आएर ‘मेरी स्वास्नी लाने जारलाई मैले काट्नमार्न सकिनँ, काटिदिनुपर्‍यो सरकार’ भनेर उजुर गरेछ । उनले आफ्नो एउटा मान्छेलाई ‘जाजा, यसको जारलाई काटेर आइज’ भनेर अह्राए । ऊ दौडियो । त्यहीं बस्ने अर्को मान्छे आएर ‘यसकी स्वास्नी त फुँडी पो थिई’ भनेर सुनायो, त्यसलाई फर्काउन अर्को मान्छे पठाउँदा त त्यहाँ उसले जारलाई काटिसकेछ । त्यस बेला यस्तै निसाफ चल्थ्यो । लिखित नियमकानुन नहुँदा हुने पनि यस्तै हो । 

जङ्गबहादुरको कपाल खाने एउटा घटना मैले पहिले गुरुबाटै सुनेको थिएँ । जंगबहादुर बेलायतमा महारानी भिक्टोरियासँग बग्गीमा बसेर कतै गइरहेका थिए । फुटपाथमा मान्छे दोहोरीलत्त हिँडिरहेका थिए । अचानक एउटा मान्छेले बुर्लुक्क उफ्रेर बग्गीमा चढी रानीका गालामा चड्याम्म चड्काएछ र तुरुन्तै दौडी पनि हालेछ । जङ्गबहादुर तत्कालै तरबार खैंचेर उठे, त्यसलाई काट्न भनेर । रानीले उनलाई समातिन् । जङ्गबहाुदरको मनमा कुरा खेलिरह्यो, त्यो मान्छे कहिले काटिन्छ भनेर । अदालतले दुई महिना थुन्ने आदेश दिएछ । जङ्गबहादुरले पछि रानीसँग असन्तोष पोखेछन् । रानीले भनिछन्, ‘हाम्रोमा तपाईंकोमा जस्तो हुँदैन । नियमकानुनमा जे छ, त्यही अनुसार हुन्छ ।’ उनी छक्क परेछन् ।

बेलायतमा ऐनकानुन, पुस्तकालय, संग्रहालय, विद्यालय, विश्वविद्यालय देखाउँछौं भन्दा पनि जङ्गबहाुदरले ख्वायस देखाएनन् । उनी सैनिक ब्यारेक, शस्त्रागार कारखाना हेरेर चित्त बुझाए । फ्रान्सको विश्व विजय गर्ने शक्ति छ भन्ने सुनेका उनले एक लाख सैनिकको मार्चपास हेर्ने इच्छा जाहेर गरे ।

बेलायत भ्रमणपछि जङ्गबहादुरमा पढ्नुपर्छ भन्ने भावचाहिँ राम्रै गरी जाग्यो । उनले दरबारमा स्कुल खोले, तर आफ्ना छोरा–भतिजाहरूलाई मात्र पढाउन । जनताका लागि स्कुल खोलिदिएका भए ठूलो महत्त्व हुन्थ्यो । पछि उनका भाइ रणोद्दीपले आफ्ना सन्तान नभएरै होला, धर्म कमाउन जनताका लागि संस्कृत पाठशाला/स्कुल खोलिदिए ।

जङ्गबहादुरले १९०८ सालदेखि धेरै धर्मशास्त्री, पण्डित र भाइभारदारलाई मुलुकी ऐनको तर्जुमा गराउन खटाए । अनि दस सालमा राजाद्वारा घोषित गराइयो । पृथ्वीनारायण शाहद्वारा आँटेको, बहादुर शाह र उजीरसिंह थापाहरूबाट थालेको मुलुकी ऐनले साकार रूप लियो । त्यही ऐनले नेपालको कानुनी इतिहासमा अलिअलि संशोधनसहित १६४ वर्षसम्म धान्यो । 

परराष्ट्र नीति सम्बन्धमा कुरा गर्दा, भीमसेन थापाले गरेको सुगौली सन्धिमा जेसुकै लेखिएको भए पनि जंगबहादुरले आफ्नो समयमा सार्वभौम स्वतन्त्र नेपाल राष्ट्रलाई कुनै किसिमको आँच आउन दिएनन् । नेपालमा बसेका अंग्रेज रेजिडेन्टलाई देशमा खुला घुम्न दिएनन् । जंगबहादुरले मित्रताको सौहार्द देखाएर अनेक जुक्ति लगाई देश भ्रमण गर्ने उनको ढिपी बन्द गराए । 

भिक्टोरिया महारानीले ‘हाम्रा मान्छे तपाईंको देश जाँदा बाटो नभएर मान्छेकै बुईमा बोकिएर जान्छन् रे, म हाम्रो रेल्वे कम्पनीलाई भनिदिन्छु, उसले पूर्वपश्चिम रेलमार्ग बनाइदिन्छ’ भनेर ढिपी गर्दा उनले अड्चन लाए । अंग्रेज नेपालमा पस्छन् भनेर स्वीकृति दिएनन् । दिएका भए त्यसै बेला पूर्वपश्चिम रेलमार्ग बन्ने थियो । 

भोटले व्यापार र साँधसीमामा बखेडा निकाल्दा जंगबहादुरले सो साम्य पार्न युद्ध छेडे । नेपालको विजय भएपछि १९१२ सालमा थापाथली सन्धि भयो । भोटमा नेपालीको नि:शुल्क व्यापार सुचारु भयो । बर्सेनि भोटले नेपाललाई दस हजार सित्र्तो तिर्दै रह्यो ।

१९१४ सालमा भारतमा अंग्रेजविरुद्ध सिपाही विद्रोह भयो । यसमा दिल्लीका बादशाह, लखनउका नबाव, अरू राजारजौटा विद्रोहमा सामेल भए, तिनले सहयोगका लागि जंगबहादुरलाई लेखेको लेख्यै गरे । जङ्गबहादुर बाटो हेरिरहेका थिए । अंग्रेजसँग लड्ने मौका यही हो भनेर धेरै भाइभारदारले भारतीयलाई सहायता दिनुपर्छ भनेर सल्लाह दिए । उनले कसैको सुुनेनन् । जब भारतीयहरूले अंग्रेजलाई आच्छु–आच्छु पारे, त्यसपछि उसले गोर्खाली सम्झियो । अंग्रेज बहादुरले जङ्गबहादुरलाई सहायताका लागि अनुरोध गर्‍यो । अनि जङ्गबहादुर गोर्खाली फौज लिएर गई उत्तरप्रदेशको विद्रोह शान्त पार्दै लखनउ विजय गरे, लखनउ लुट चल्यो । 

भारतीयलाई सहायता नगरी अंग्रेजको सहायता गर्ने भनेर धेरै अंग्रेजविरोधीहरूले जङ्गबहादुरलाई ‘फिरंगीको कुत्ता’, ‘अंग्रेजको सर्भेन्ट’ सम्म भनेर निन्दा गरे । उनले त्यसको परवाह गरेनन्, किनभने अघि भीमसेन थापाले वाणीनिधिद्वारा एउटा लामै आह्वानपत्र लेखाएर ‘सबै राजारजौटा, बादशाह, नवाब एक हौं र हाम्रो शत्रु फिरङ्गीसँग जाइलागौं’ भनेकै थिए । गोर्खाली, पन्जाबी, मराठा आदि सबै शक्ति मिलेर पहिल्यै होसीजासी गरेका भए, सुखद परिणाम आउँथ्यो, त्यो गरेनन् । पछि रणजङ्ग पाँडेले त बर्मादेखि अफगानिस्तानसम्मका सबै शक्तिलाई संगठित गराएर एकै दिन एकै साइत अंग्रेजविरुद्ध अभियान चलाऔँ पनि भनेका थिए । सबै मिलेका पनि थिए । ठीक ऐनमौकामा ग्वालियरका राजा जनकोजी सिन्धेले अंग्रेजसँग मिलेर यस संघटनको पोल खोलिदिए । सारा नेपाली दूतहरू पक्राउ परे । नेपालका राजाले सुगौली सन्धिलाई अझ खम्बीर पारी अंग्रेजसँग सम्झौता गर्नुपर्‍यो । यो इतिहास जङ्गबहादुरले सुनेका थिए, बुझेका थिए । अंग्रेजको शक्ति उहीँ गएर परखेर आएका थिए । यस कारण उनले ती भारतीय अविश्वसनीय शक्तितिर नलागी अंग्रेजको सहायता गरेका थिए । लखनउको नवाबले त नेपाल–अंग्रेज युद्धमा अंग्रेजलाई दुई करोड रुपैयाँ दिएर सहायता नै गरेको थियो । त्यसबापत ‘जहाँको दुवाली त्यहींको चपरी’ भनेजस्तै उसैको धनले नेपाल जितेको अंग्रेजले त्यही नेपाली भूभागको अंश नवाबलाई दिएको थियो । त्यस कारण पनि जंगबहादुरले लखनउ लुट गराएका थिए । जे भए पनि उनले अंग्रेजलाई रिझाएरै नयाँ मुलुक आर्जिए । उनी नभएका भए नेपालले बाँकी, बर्दिया, कैलाली र कञ्चनपुर नपाउन सक्थ्यो । शानमान राखी भोटलाई जितेर नेपाल सपार्ने उनै हुन् ।

जङ्गबहादुरको सबभन्दा ठूलो देन आफ्ना देशको धनबल, जनबल विदेश लान नदिनु नै हो । उनले आफ्नो धन विदेश लगेनन्, अरूलाई लान पनि दिएनन् । ऐन नै बनाएर रोके । ‘विदेशमा लगेर राखेको धन चिरस्थायी हुन्न, विदेशमा धर्मगुठी पनि पछिपरन्तु पराधीन हुन्छ’ भनी उदाहरण प्रमाणै दिएर रोकेका थिए । 

ब्रिटिस सरकार नेपाली नौजवानलाई भर्ना गरेर गोर्खा रेजिमेन्टलाई विस्तार गरी ठूलो शक्ति बन्न चाहन्थ्यो, तर त्यो कुरा जंगबहादुरले ठाडै अस्वीकार गरे । जुनसुकै बेला भेट हुँदा पनि बेलायती रेजिडेन्टले उनीसँग यो कुरा उठाउँथे । तर उनी ‘स्थापनाकालदेखि गोर्खा रेजिमेन्टमा नेपाली जवान लगी राख्नुभएकै छ’ भनेर टार्थे । अंग्रेजका ठूला अफिसरहरू पनि भेट–मुलाकातमा रिक्रुटको सम्झौता गर्न चाहन्थे । उनी भन्थे, ‘सम्झौता किन गर्नुपर्‍यो ? लगिराख्नुभएकै छ, लानुहोस् । खुसीराजीले जाने जाँदै छन् ।’ ज्यादै ढिपी आउन थालेपछि उनले ठाडै भनिदिए, ‘सम्झौता गरेर चाहिँ म लान दिन्नँ, किनभने गोर्खाली तपाईंहरूदेखि नाखुस छन्, बापवैरी बन्छन् । तसर्थ तपाईंहरूलाई मेरा मान्छेले अनिष्ट गरिदिए भने त्यसको जिम्मेवारी मेरो हुन्छ । त्यसैले सम्झौता चाहिँ गर्दिनँ, आफ्ना खुसीले जान्छन् भने जाऊन्, लानुहोस् ।’ यता सिमानामा रहेका सुब्बाहरूलाई चाहिँ ‘यताबाट हिन्दुस्तान जाने नेपालीलाई सोध्नू, बुझ्नू, तीर्थ गर्न जानेलाई छोडिदिनू, जागिर/रिक्रुटमा जानेलाई फकाईफुल्याई फर्काउनू, जबरजस्ती गरेर जान लाग्यो भने तम्बी हाली हाम्रा हजुरमा दाखिल गर्न पठाउनू’ भन्ने कठोर आदेश दिए । यो उनको अंग्रेजलाई पनि नचिढयाउने, आफ्नो कामकुरो पनि बनाइराख्ने रणनीति थियो । आफ्ना धनबल, जनबल कुनै पनि देशको राष्ट्र–राष्ट्रियता बलियो बनाइराख्ने कडी हुन् भन्ने उनले बुझेका थिए । उनीपछि नेपालको धन विदेशी बैंकमा राख्न थालियो, अनवरत । देशको अहिलेका अवस्थाबाट पनि थाहा हुन्छ, जंगबहादुर कति सही थिए भनेर । 

यसबाट के पुष्टि हुन्छ भने, देश र देशवासी भनेर मरिमेट्ने, राष्ट्र–राष्ट्रियताको जगेर्नालाई मात्रै आफ्नो कामकर्तव्य ठान्ने अघिल्लो शताब्दीका परम आयु नबाँचेका, बाँच्न नपाएका पृथ्वीनारायण शाह र बहादुर शाह नै हुन् । पछिल्लो शताब्दीमा सम्झनलायक, अलिकति भए पनि देश बचाउने, समृद्ध, अक्षुण्ण, स्वतन्त्र राख्ने स्थिति बाँध्ने भनेका जङ्गबहादुर नै हुन् । 

प्रकाशित: आश्विन ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार