विचार/विश्‍लेषण

त्यो रातो रङ

- राजन काफ्ले
लैनसिंह वाङ्देलका नाममा पुरस्कार स्थापना गर्दै उहाँको योगदानलाई चिरस्थायी बनाउने काम गरेर शान्त राईहरूले ‘गुरु दक्षिणा’ चढाइरहेका थिए ।

आश्विन ७, २०७४-बाटोभरि रगत छ । पत्रकारहरूको क्यामेरा त्यता फर्केका छन् । प्रहरीहरू आफ्नो सञ्चारबाट हतारोमा सूचना आदान–प्रदान गर्दैछन् । यहाँ त ठूलै घटना घटेजस्तो छ भनेर वातावरण आतंकित र अन्योलपूर्ण छ । के हो त ? २०६२–६३ को आन्दोलन सेलाउला जस्तो छ । सहरमा कफर््यु तोडेर कलाकारहरूले विरोधस्वरूप बाटोमा जताततै रातो रङ पोख्ने कार्यक्रम अन्तर्गत ललितपुरमा भएको घटना हो यो । र त्यो भेगमा यसको नेतृत्वकर्ता थिए— शान्त राई ।

परिवर्तनका सबै ठूला–साना आन्दोलनमा शान्तको सक्रिय सहभागिता रह्यो । २०३६ सालको आन्दोलनमा सक्रिय सहभागी रही पुलिस यातना र हिरासत भोगेका राई ०४६ को आन्दोलनसम्म आइपुग्दा अझ प्रखर भएर देखिए । ६२–६३ लाई सम्भँmदै कलाकार किरण मानन्धर भन्नुहुन्छ, ‘म त आन्दोलनबारे त्यति जानकार होइन, शान्तले नै मलाई अगुवा बनाएर आन्दोलनमा लैजानुभएको थियो, ललितकला लोकतान्त्रिक अभियानको संयोजक बनाएर । सम्पूर्ण कलाकारले सघाउनुभयो । म बोल्न त्यति जान्ने होइन, उहाँले नै बोल्न हौस्याउनुभयो । उहाँको कार्यालय (कृषि विकास बैंक) लाई सेल्टरका रूपमा प्रयोग गरियो । त्यहींको सुविधा लिएर विज्ञप्ति निकाल्ने, सूचना आदान–प्रदान गर्ने गरियो । त्यो क्षण अहिले स्मृतिमा सिनेमाजस्तै आइरहेको छ ।’

नेपाल कलाकार समाज र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा हामीले सँगसँगै काम गर्‍यौं । त्यसबेलाका तितामिठा पलहरू मनमा थुप्रै छन् । मौका–अवसरमा अभिव्यक्त पनि गर्नेछु । तर अहिले असल मित्र र सहकर्मीका रूपमा शान्तलाई स्मरण गरिरहेको छु ।

२०३३ सालमा ललितकला अध्ययन गर्न पुगेका शान्त संगीतका विद्यार्थी हुन् भन्ने कमैलाई थाहा छ । संगीत र चित्रप्रतिको दोहोरो लगावमाझ संगीतपट्टि नभएर चित्रकारका रूपमा शान्तले अलग परिचय बनाए । यसमा मूर्धन्य कलाकार लैनसिंह वाङ्देलको ठूलो भूमिका छ । वाङ्देलको ५० वर्षे कला यात्राको प्रदर्शनीमा सघाउनु शान्तको सिर्जनकर्मको प्रवेशद्वार नै थियो ।

त्यो प्रदर्शनीको प्रभाव र संगतले शान्तको जीवनमा अर्को मोड ल्याइदियो । त्यसपछिका दिनमा निरन्तर वाङ्देलको निगरानी र अध्यापनमाझ राईको कलाकारिता माभिँmदै र परिष्कृत हुँदै गयो । २०४९ सालमा वाङ्देल सरकै सक्रियतामा उहाँको संगतमा रहेका जिज्ञासु नयाँ पुस्तालाई संगठित गरिदिनुभयो । शंकरनाथ रिमालको अध्यक्षतामा शान्त, हरि, नरेश, जीवन, रत्नकाजी र टार्जन सम्मिलित न्यु आर्ट सर्कल बनेपछि यो समूहले संस्थागत रूप पायो । यसै मेसोमा यो समूहले कलर रिभुलोसन नामक प्रदर्शनी लिएर आयो । काममा केही पृथक्ता महसुस गर्न सकिन्थ्यो । जसमा वाङ्देल सरको ‘स्कूलिङ’ ताजा हरक पाइन्थ्यो । हाल पनि त्यो स्कुलिङबाट आएको दुवै पुस्तामा त्यसको प्रभावबाट निस्किन नसकेको धङधङी पाइन्छ । यसबाट शान्त अछुतो हुने कुरो भएन, तर प्रयासरत भने सधैं ररिरहे । 

वाङ्देल सरद्वारा प्रशिक्षित अघिल्लो पुस्ता जसलाई कर्ण मास्केहरूले प्रतिनिधित्व गर्नुहुन्थ्यो । दोस्रो पुस्तामा भने अगुवाइ शान्तले गरेका थिए । जुन मिलेर ‘सोसाइटी अफ मोडर्न नेप्लिज आर्टिष्ट (सोमा)’ को जन्म भयो । यसको संस्थापक सदस्य शान्तले थुप्रै प्रदर्शनी नेपाल र नेपाल बाहिर गराउन सफल भए । आधुनिक सोचमा काम गर्ने विदेशी कलाकारका कामलाई नेपालमा प्रदर्शन गराउनमा पनि शान्तको महत्त्वपूर्ण योगदान छ । यसका माध्यमबाट दक्षिण एसियाका कलाकारमा शान्त राईको राम्रो चिनजान र उठबस रह्यो । वाङ्देल सरको नाममा सोमाले पुरस्कार स्थापना गर्दै उहाँको योगदानलाई चिरस्थायी बनाउने कामसमेत गरेको छ । राज्यले केही नगरेको अवस्थामा वाङ्देल सरलाई नयाँ पुस्तामा परिचित गराएर शान्त राईहरूले गुरु दक्षिणा चढाइरहेका थिए भन्दा अतिस्योक्ति नहोला । वाटर कलर सोसाइटी स्थापना गरेर नेपालमा वाटर–कलर माध्यममा सक्रिय कलाकारहरूलाई पनि रंग माध्यमका कामलाई आम दर्शकमाझ प्रदर्शनीमार्फत चिनाउने काममा सोसाइटी र राईको महत्त्वपूर्ण भूमिका छ ।

संयोग नै भनौं– शान्त धेरै कला संस्थाहरूको संस्थापक हुन् । इन्द्रेणी सांस्कृतिक समाजका संस्थापक मध्येका एक राई, त्यहाँको केही मतभेदपछि एमाले सम्बद्ध ललितकला मञ्चका संस्थापक संयोजकसमेत हुन् । वाम आन्दोलन र नेपालको परिवर्तनका जुनसुकै आन्दोलन उठाउन गीत–संगीतको प्रमुख भूमिका छ । त्यसमा राईको आफ्नै स्थान छ । चर्चित गीति नाटक ‘सिम्मा’का प्रमुख कलाकारहरूको भूमिकामा रहेर काम गरेका राई पछिसम्म पनि साथीभाइमाझ त्यसको आनन्द लिन चुक्दैन थिए । ललितकला मञ्चमा रहेर सबैलाई गोलबन्द गर्दै स्तरीय र अविस्मरणीय प्रदर्शनीय र कार्यशाला आयोजना गर्न उनले भ्याए ।

दुर्गाकुमारी तथा हर्कवीर राईका आठ सन्तानमध्ये कान्छा शान्तकुमार राई खोलागाउँ, जोगमाई इलाममा २०१८ साल भदौमा जन्मिएका हुन् । छोराछोरी शिक्षित हुनुपर्छ भन्ने आमा–बाको मान्यता रहेकै कारण पैसाको अभाव हुँदाहुँदै पनि कक्षा आठदेखि शान्तले काठमाडौंमै अध्ययन गर्ने अवसर पाए । स्कुल सहपाठी मूर्तिकार लय मैनाली राईसँगको स्कुले जीवन खुब रमाइलो बितेको स्मरण गर्नुहुन्छ । जीवन संगिनी कला र छोरा सुरजका साथ ललितपुरको भैंसेपाटीमा बसाइ रहेको राईले कलाकार पदमा रहेर ३० वर्ष कृषि विकास बैंकमा सेवा गर्नुभयो । ‘कलाकारितालाई निरन्तरता दिँदै कला गतिविधिमा सक्रिय रहन नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) को कार्यकारी सदस्य भई काम गर्दै हुनुहुन्थ्यो । नेपाली कला र कलाकारको संग्रह बनाउने शान्तको इच्छा थियो र त्यसको लागि वातावरण बनाउँदै गर्दा दु:खद घटना भयो,’ परिषदका सहकर्मी स्वस्ती राजभण्डारीले बताउनुभयो । 

जागिरे व्यस्तताबाट समय निकालेर काम गर्न त्यति सजिलो छैन । त्यसमाथि विभिन्न संघ–संस्थाको संलग्नता । त्यसका बाबजुद पनि शान्तले हामीलाई राम्रा कृतिहरू छाडेर गएका छन् । नारी पात्रको सघन उपस्थिति रहने शान्तको अझ सबल पक्ष रंग संयोजनमा रहेको लय र मिठास हो । महिला पात्रका माध्यमबाट दुख:, कुण्ठालाई क्यानभासमा सम्प्रेषण गर्दागर्दै पनि रंग संयोजनमार्फत दर्शकलाई अन्तै मोड्न सफल सर्जक हुन्, उनी । ती नारी पात्र शान्त हुर्केको परिवेशका साक्षीजस्ता पनि लाग्थे । उनका कृतिका बारेमा पछि त्यसका विज्ञहरूले भन्दै, लेख्दै जानुहोला । स्वभाव र प्रवृत्तिका असल–खराब पक्षका बारेमा पनि चर्चा होला । हुन्छ–हुन्नमा ठोस निर्णय नलिने, चाम्रो भएर विषय–वस्तुलाई अल्झाउने जस्ता सानातिना मानवीय कमजोरी बाहेक वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीका शब्दमा ‘सबैलाई मिलाएर लान सक्ने र मृदुभाषीको विशेषता शान्त राईका सबल पक्ष हुन् ।’ 

rajan.kaphle@gmail.com

प्रकाशित: आश्विन ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार