फिचर

पुग्नैपर्ने ठाउँ

- कान्तिपुर संवाददाता , काठमाडौं
खुम्बु क्षेत्रको सगरमाथा यस्तो गन्तव्य हो, जहाँ जतिपल्ट पुगेर पनि धित नै मर्दैन । यस क्षेत्र संसारका लाखौं मान्छेले जीवनमा “एकपटक जाने छु” भनी बिस–लिस्टमा राख्ने मुख्य गन्तव्य हो ।

आश्विन ७, २०७४-तिमालका दावा लामा ट्रेकिङ गाइड हुन् । झन्डै साढे दुई दशकअघि भरियाका रुपमा यात्रा थालेका उनी स्वदेश अनुभवबारे लेख्छन् :

यात्रारहित जिन्दगी कल्पना गर्न सकिएला ? अहँ असम्भव । मानिसहरू थाहा नपाई पनि घुमघामसँग जोडिएकै हुन्छन् । जस्तो: म काभ्रेको तिमालबाट सिन्धुलीको दुम्जा स्कुलमा आठ कक्षा पढ्दै थिए । दसै–तिहारमा हेलम्बुको पुग्ने मौका पाए । बरालिँदै फ्रेन्चहरूको पदयात्रामा पनि समेल भए । त्यो कुनै योजना थिएन ।

म ११ सन्तानमध्ये जेठो छोरो भएकाले बिदामा बुबाले ‘हिँड म सित’ भनेपछि यात्रामा निस्केको थिएँ । त्यो पदयात्रामा बा भरिया थिए । मलाई पनि बाले सानो भारी बोकाउनुभएको थियो । त्यहींबाट गाउँमा बोकिने भारी र टुरिस्टको भारी जानेको थिएँ ।

जन्मस्थल मेच्छे गाउँमा स्कुल जाने बहानामा कति दिन रोशी खोलामा माछा मारेरै कटाएको थिएँ त कहिले डाँडाहरू डुलिरहेको थिएँ । हेलम्बुको त्यो ट्रेक गरेको पनि २४ वर्ष भयो । मैले एसएलसी दिँदा गाउँका अल्लारेहरू स्वेच्छा वा बाध्यताले छापामार भइसकेका थिए । एक बहिनीको ज्यान बुलेटको लियो । मचाहिँ कलेज पढ्न काठमाडौं छिरें । त्यसैबेला मुस्ताङ पुगेपछि यात्राका किसिम पनि बुझें ।

घुम्नु भनेको चुनौती सामना गर्नुपर्छ । नयाँ परिवेश, अपरिचित मान्छे, भिन्न संस्कृति, खानपान, जीवनशैलीको फरक अनुभव सिकाइकै लागि पनि यात्रा गर्नुपर्छ । प्राकृतिक सौन्दर्यताको प्रत्यक्ष दृश्यावलोकन गर्न र नयाँ र फरकखाले भूगोल देख्न पनि घुम्नैपर्छ । घुमघामले मान्छेको सोचविचारलाई पनि फराकिलो पार्छ । तनावले जेलिएको जिन्दगीलाई पनि फ्रेस बनाउँछ ।

स्कुलमा कहिल्यै राम्रो पढ्न नसकेको मेरा लागि यात्रा त सिकाइको गतिलो माध्यम बन्यो । त्यहीबेला मैले अंग्रेजी भाषा जान्नैपर्ने बुझें । अंग्रेजी पढ्न थालें । कम्प्युटर सिकें । यसका निम्ति मासिक ५० डलर सहयोग पनि जुट्यो । बानेश्वर क्याम्पस पढ्दा मलाई नियमित फी तिर्न पनि मुस्किल थियो । मुस्ताङ जाँदा म जसको भरिया थिएँ, उनैले मलाई २६ महिनासम्म अध्ययन खर्च पठाइदिए । आईए पास गरियो । र, आफ्नो संसार पर्यटन क्षेत्रलाई नै बनाएँ ।

सगरमाथा आधारशिविर कतिपल्ट पुगें भन्ने हेक्का छैन, त्यस्तै ५०–५५ हुनुपर्छ । अन्नपूर्ण, कञ्चनजंघा, मकालु हिमालको बेसक्याम्प पनि पुगेको छु । अन्नपूर्ण राउन्ड, पुनहिल, सगरमाथा हाई–पास, रोल्वालिङ, तिमाल महाभारत ट्ेरल, शैलुङ, शिवपुरी, चितवन लगायतका थुप्रै गन्तव्य भ्याइसकेको छु । यसक्रममा त्यो भरिया केटो गाइड भइसकेको छ । तर स्वदेश घुमाई अझै सकिएको छैन । अब नेपालमा मैले मुगुको रारा र शे–फोक्सुन्डो यात्रा गर्न मात्र बाँकी छ । खुम्बु क्षेत्रको सगरमाथा यस्तो गन्तव्य हो, जहाँ जतिपल्ट पुगेर पनि धित नै मर्दैन । यस क्षेत्र संसारका लाखौं मान्छेले जीवनमा ‘एकपटक जाने छु’ भनी बिस–लिस्टमा राख्ने मुख्य गन्तव्य हो ।

मेरा बा पहिलोपटक भारी बोकेर सगरमाथा आधारशिविर जानु हुँदा कमिज सुरुवाल, चप्पल, ढाकाटोपीमा हुनुहुन्थ्यो रे । अहिले त्यस्तो कहाँ रह्यो र ? 

स्विट्जरल्यान्डमा जस्तो डाइनिङ भएका रिसोर्ट छन् । माइनस ५० डिग्रीसम्म थेग्ने स्लिपिङ ब्याग आइसके । उहिले जस्तो गाइडसँग रेशम फिरिरी गाउन मादल भने हुँदैन । अहिले ब्लुतुथ भएका स्पिकर नबोक्ने भरिया, गाइड छैनन् । उच्च हिमाली भेगको यात्रामा जाँदै गरिने रमाइलो क्षणभरमै सोसल मिडियाबाट सेयर गर्न पाइने भएकाले अहिलेको रमाइलो डिजिटल वल्र्डमा पुगिसक्यो । त्यसैले बिदामा घुम्न निस्कने चलन नेपालमा पनि बढ्दै गएको छ । घुम्नका लागि उपयुक्त अवसर दसैं नै हो ।

पुग्नैपर्ने गन्तव्य

रारा/खप्तड

केही साताको पदयात्रामा जानुपर्ने भए रारा र खप्तड उत्कृष्ट गन्तव्य हुन् । ३/४ हजार मिटर उचाइका धेरै चुचुराहरूसँगै फराकिला मैदान हेर्न सकिन्छ ।

शे–फोक्सुन्डो/माथिल्लो मुस्ताङ

बौद्ध र तिब्बतियन संस्कृतिको बाहुल्यता भएका यस क्षेत्र नदीहरूको मुहान पनि हुन् । धेरै पास (नाका) हरू छन् । अर्को आकर्षण यार्चागुम्बु हो । रिम्पोचे र ठूला धर्मगुरुले यस क्षेत्रमा जन्म लिएका थिए ।

पुनहिल 

छोटो बिदा भएकाहरूका लागि पुनहिल उत्कृष्ट गन्तव्य हो । यही रुटमा घोडेपानी, घान्द्रुक पनि पर्छन् । दुई/तीन दिनमै ३२ सय मिटरको उचाइमा पुग्न सकिन्छ । सनराइज, सनसेटसँगै अन्नपूर्ण र धौलागिरिबीचको कालीगण्डकी खोंचले मोहित बनाउँछ ।

अन्नपूर्ण बेसक्याम्प

चार/पाँच दिनमै ग्लेसियर साइडमा टेक्न पाइन्छ । गुरुङ गाउँहरू हुँदै पुगिने यो थलोको प्राकृतिक सौन्दर्य बिछट्टै छ । ३६० डिग्रीमा हिमालहरू हेर्न सकिन्छ ।

चितवन 

हिमाली भेगमा रुचि नभएकाहरूका लागि नेपालकै पहिलो चितवन राष्ट्रिय निकुञ्जले आकर्षित गर्दछ । यहाँ मनसुन, वनस्पति, जीवजन्तु, चरा, थारू जनजीवनलाई नजिकबाट नियाल्न पाइन्छ ।

अन्नपूर्ण सर्किट

हिमालपारिको गाउँ हेर्ने रुट हो यो । त्यहाँबाट हिमालचुलीहरू दक्षिणतर्फ फर्केका छन् । धर्मगुरुहरूले पनि यहाँ ध्यान गरेका थिए । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल यहीं पर्छ । नेपालमा ट्रेकिङ कल्चर यहींबाट सुरु भएको मानिन्छ ।

शिवपुरी हाइट 

काठमाडौं उपत्यकाबाट केही घण्टाको यात्रापछि उत्तरतर्फ फर्केका हिमाल हेर्न सकिने गन्तव्य । काठमाडौं वरिपरिका डाँडामध्ये मेडिटेसनका लागि सबैभन्दा उचित र अग्लो ठाउँ । बाक्लो जंगल । शान्त वातावरण । 

सगरमाथा बेसक्याम्प

सगरमाथाको शिखरमा पाइला राख्ने पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सफलतापछि यस खुम्बु क्षेत्र विश्वमै चर्चित बन्यो । चुचुरोमा जो पुग्न सक्दैनन्, उसका लागि ५३ सय मिटरको बेसक्याम्प पुग्ने लक्ष्य हुन्छ ।

गोक्यो रि

फोटोग्राफीमा सौखिनहरूका लागि उत्कृष्ट ल्यान्डस्केप हो गोक्यो रि । संसारमा यस्तो ल्यान्डस्केप दुर्लभै भेटिएला । एकै नजरमा सामन्ने सगरमाथा हिमशृंखला हेर्न सकिन्छ ।

कञ्चनजंघा

नेपालको दुर्गम भेगको अनुभव लिन यो रुट बेस्ट डेस्टिनेसन हो । प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण यस क्षेत्र दुर्लभ रेडपान्डाको बासस्थान पनि हो ।

तस्बिरहरु: दावा लामा

प्रकाशित: आश्विन ७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार