देश

‘साना नेताले सुनेनन्, ठूला आउनुपर्‍यो’

- रवीन्द्र उप्रेती, महोत्तरी

भाद्र ३०, २०७४-थारू–दनुवार समुदायको बाहुल्य रहेको गौशाला नगरपालिका–७ जमुनिया अहिले दैनिकजसो स्थानीय तह चुनावका उम्मेदवारको ताँती लाग्छ । उनीहरू अनेक आश्वासन दिँदै भोट माग्छन् । तर, स्थानीय बासिन्दा यसपालि विगतमा जसरी उम्मेदवारसँग माग राखिरहेका छैनन् । आफ्ना भोटले जितेपछि नेताहरू नाकमुखै देखाउन नआउने प्रवृत्ति भोगिरहेका उनीहरूलाई यसपालि पनि स्वच्छ नियतका नेता पाइएला भन्ने विश्वासै छैन ।

तर, दलका केन्द्रीय शीर्ष नेतालाई नै भेटेर माग राख्न पाएचाहिँ केही हुन्थ्यो कि भन्ने लाग्छ उनीहरूलाई । त्यसैले शीर्षनेताहरू आआफ्ना उम्मेदवारलाई सघाउन मधेस झरेको सुनेका उनीहरू आफ्ना 

बस्तीमा पनि आइदिऊन् भन्ने चाहन्छन् । ‘यही त मौका हो, जनताले ठूला नेता चिन्ने र उहाँहरूले गाउँबस्ती र जनतासँग परिचित हुने,’ रुद्रनारायण चौधरीले भने । 

पुन:संरचनाअघि फूलकहा–८ र ९ वडा रहेको जमुनिया सर्लाहीसँग जोडिएको पश्चिमी गाउँ हो । यहाँ थारु, दनुवार, कुर्मी, मुसहर, चमार गरी २ सय परिवारको बसोबास छ । हजार जनाभन्दा बढी मतदाता छन् । 

स्थानीय अमला दासका अनुसार भोट माग्न आउनेले गाउँका समस्याबारे कुनै चासो देखाएका छैनन् । ‘ग्वारग्वार्ती आउँछन्, यो र त्यो छापमा भोट दिनुपर्‍यो भन्छन्, जान्छन्,’ उनले भनिन्, ‘कसैले केटाकेटीलाई चुनाव चिह्न छापिएको भेस्ट र टोपी पनि बाँड्छन्, कोही चाहिँ आफूले जिते यो र त्यो गरिदिउँला भनेर फुर्ती लाउँछन् ।’

जमुनिया जिल्लाकै बढी धान उत्पादन हुने गाउँमध्येको हो । अगुवा रुद्रनारायण चौधरीका अनुसार यहाँ ३ सय बिघा धानखेत छ । पूर्व रुपनी र पश्चिम ढुलनजस्ता स्थानीय खोलाको सिँचाइले भदौरे र मंसिरे गरी वर्षको २ बाली धान फल्छ । जमिन उर्वर भए पनि गरिबी चरम छ । दलितहरू छाक टार्नकै लागि भारतको पन्जाब र हरियाणामा मजदुरी गर्न बाध्य छन् । त्यही यथार्थ चित्रण गर्ने एउटा उखानै प्रचलित छ यहाँ– ‘पन्जाबको भारु, जमुनियाको थारू, गहिरी टोलको दारू ।’ 

भारतबाट कमाएर ल्याएको पैसा युवाले छिमेकी गाउँ गहिरी टोलमा आयातित मदिरा सेवन गरेर सिध्याउँछन् । भारु सकिएपछि फेरि भारतका सहरमा पलायन हुन्छन् । युवाले मदिराको लत नत्यागेसम्म राज्यले पैसाको खोलो नै बगाए पनि गरिबी नहट्ने रुद्रनारायणको बुझाइ छ । अर्का स्थानीय लक्ष्मण चौधरीका अनसार जमुनियाको मात्र नभई यहाँको बजारमा मदिरा सेवन गर्न सर्लाहीका गाउँबाट समेत आउन थालेका छन् । 

४८ वर्षीय विल्टु रामले अशिक्षा र अज्ञानताका कारण यहाँको दलित समुदायले राज्यले दिएका सुविधा पनि उपभोग गर्न नपाएको बताए । कतिपयको जन्म र बिहे दर्ता हुन सकेको छैन । नागरिकता हुने ज्येष्ठ नागरिक पनि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहेको उनको भनाइ छ । गाउँमा बालविवाह अझै व्याप्त छ । 

स्थानीयको अर्को समस्या हो– गाउँको आधारभूत विधालयमा पढाइ नहुनु । स्वास्थ्यचौकी पनि छैन । ‘अब ठूला नेतालाई सुनाउन पाए हाम्रा समस्या समाधान हुन्थे कि ?’ चौधरीले भने, ‘स्थानीय नेताले गर्न सक्ने भए त अहिले यसो भन्नुपर्ने अवस्थै आउँदैनथ्यो नि ।’ 

प्रकाशित: भाद्र ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार