खेलकुद

रियलको जितमा रोनाल्डो नायक, केन पनि चम्किए

- कान्तिपुर संवाददाता , म्याड्रिड

भाद्र २९, २०७४-फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सुखद् सुरुआत गरेको छ । 

रियलले बुधबार साइप्रसको च्याम्पियन एपोएल निकोसियालाई ३-० ले हरायो । घरेलु लिगमा निलम्बनका कारण विश्राममा रहेका रोनाल्डोले खेलको १२ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको सुरुआतमा एपोएलका डिफेन्डरले ह्यान्डबल गरेपछि रियलले पेनाल्टी पायो । पेनाल्टीमा रोनाल्डोले कुनै गल्ती गरेनन् । कप्तान सर्जियो रामोसले तेस्रो गोल गर्दै रियलको जित पक्का गरे ।

यसै गरी समूहको अर्को खेलमा इङलिस टोली टोटेनहम हट्स्परले बोरुसिया डर्टमुण्डलाई ३-१ ले पराजित गर्‍यो । वेम्बली मैदानमा भएको खेलमा जर्मन टोली खेलको चौथो मिनेटमै पछाडि पर्‍यो । दक्षिण कोरियाका फरवार्ड ह्युङ मिन सनले स्पर्सलाई अग्रता दिलाए । 

तर, यसै सिजन क्लबमा भित्रिएका यार्मालेन्कोले गोल गर्दै डर्टमुण्डलाई बराबरीमा ल्याए । त्यसको केही मिनेटमै इङ्ल्यान्डका फरवार्ड ह्यारी केनले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई पुन: अगाडि बढाउन सफल रहे । दोस्रो हाफमा केनले अर्को गोल थपेपछि टोटेनहमले ३ अंक हात पार्‍यो।

प्रकाशित: भाद्र २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार