समाचार

सुस्ताको झोलुंगे पुल निर्माण २ वर्षमा २ प्रतिशत काम

- नारायण शर्मा, नवलपरासी

भाद्र २८, २०७४-नवलपरासीको सुस्तामा २२ करोड ८० लाखको लागतमा निर्माण सुरु भएको झोलुंगे पुल २ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन ।

जिल्लाको पक्लिहवास्थित नारायणी नदीवारिबाट पारिको सुस्ता जोडने झोलुंगे पुल निर्माणको जिम्मा पाएको ठेकेदार केभी एन्ड पशुपति कन्स्ट्रक्सन कम्पनीको लापरबाहीले पुलनिर्माणको काम अघि नबढेको हो । तीन वर्षभित्र निर्माण सक्न पर्ने ठेकेदाले ठेक्का पाएको २ वर्ष बितिसक्दा २ प्रतिशत पनि काम हुन सकेको छैन । 

सीमापारिको सुस्ता जोड्न १५७१ मिटर लम्बाई र १.७ मिटर फराकिलो झोलुंगे पुल नेपालकै तेस्रो लामो पुल हो । नेपालको सबभन्दा लामो झोलुङ्गे पुल महाकाली नदी पार गर्ने दोधारा चाँदनी हो, जसको लम्बाई १ हजार ४ सय ५२.९६ मिटर छ । 

 

२ वर्षअघि पुल निमार्णका लागि १० क्विन्टल फलामे छड, ६ वटा फलामे पाता र एउटा पुरानो जेनेरेटर ल्याएर छोडेपछि ठेकेदार वेपत्ता भएको त्यहाँका सांसद् देवकरणप्रसाद जयसवाल (सन्तु)ले जानकारी दिए । उनले कामको जिम्मा लिएको ठेकेदारले काम पनि अघि नबढाउने र सम्पर्कमा पनि नआएका कारण निर्माण कार्य अलपत्र परेको बताए । २०७५ असोजमा निमार्ण सम्पन्न गरिसक्नुपर्ने पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको उनको भनाइ छ ।

नारायणी नदी पारिपट्टि रहेको सुस्ता पुग्न स्थानीयहरु डुंगा तर्नपर्ने बाध्यता रहेको छ । पुलनिर्माण हुने जानकारी पाएपछि खुसी भएका सुस्तेलीहरु ठेकेदारले काम नगर्दा निराश भएका छन् । पुल निर्माणको थोरै सामान खसालेपछि ठेकेदार बेपत्ता भयो स्थानीय उमा गिरी भन्छन्, 'ताकेता गनुपर्ने झोलुंगे पुलका सरोकारवालामा पटक पटक लिखित जानकारी पठाउँदा पनि बेवास्ता भएको छ ।'

 

नारायणी नदी पारिको भारतीय भूमिसँग जोडिएको सुस्तेली नेपाली भूभागमा आउजाउ गर्न हिउँद, बर्खा सधैं डुंगा तर्नुपर्ने बाध्यता छ । भूभाग हुँदै सुस्ता जानका लागि उनीहरु घुमाउरो र लामो बाटो तय गरेर भारतीय भूभाग हुँदै जान पर्छ । नत्र हिउँद वर्षा डुंगा तर्नूबाहेक विकल्प छैन । 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार