विश्व

बङ्गलादेश जाने क्रममा रोहिङ्गा समुदायका १०० जनाको मृत्यु

- रासस/एएफपी, कोक्स बजार (बङ्गलादेश)

भाद्र २८, २०७४-म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ । गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो । सो विवादका कारण रोहिङ्गाले देश छोडेका छन् । उनीहरु छिमेकी देश बङ्गलादेशमा पुगेर शरणार्थीको रुपमा रहेका छन् । 

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीबाट उनीहरु पार गर्ने क्रममा यसरी ज्यान जाने गरेको छ । त्यस समयदेखि आजसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन । ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका पनि परेका छन् । तर सङ्ख्या भने स्पष्ट छैन । 

म्यानमारको रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा व्यापक विवाद सुरु भएको छ । राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् । विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन् । 

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि तीन लाख पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ । 

उनीहरुले नदी तर्ने क्रममा माछामार्ने र कमसल खालको डुंगा प्रयोग गर्ने गरेका कारण पनि यस्तो दुर्घटना भएको हो । सानो डुंगामा धेरै जना बस्ने गर्नाले डुंगा डुब्ने र धेरै व्यक्ति त्यसैका कारण डुब्ने गरेका छन् ।

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार