समाचार

कमलु सदाका गाउँले भन्छन्, ‘भोट मात्रै माग्छन्, हाम्रा मर्का कसैले बुझ्दैनन्’

- कुलचन्द्र न्यौपाने/अवधेशकुमार झा, सप्तरी (कोइलाडी)

भाद्र २८, २०७४-छोरा कमलु सदाको शोकमा आमा विमली झोक्राइरहेकी थिइन् । कमलुका बाबु फुदनको आङमा कपडै थिएन । भर्खरै बिक्री गरेको गाई पुर्‍याउन साहुकोमा गएको जेठो छोरा फर्किसकेको थिएन ।

महिना दिनअघि कमलुको काल बनेर आएको बाढीको त्रासदी पूरै मुसहर बस्तीमा अझै छाएको थियो । घरका आधाउधी भित्ता पानीले डुबेका थिए । भएको अनाज र लत्ताकपडा सबै बाढीले बगाए । अधिकांश बालबालिकाका आङमा कपडै थिएन । केही गर्मीका कारण त कति नभएरै नांगै देखिन्थे ।

बाढीबाट नहरकिनार बसेका अधिकांश मुसहर घरमै फर्किएका छन् । अझै केही त्यहीं रात काटिरहेका छन् । साउन अन्तिम साताको बाढीले यो बस्ती जलाम्मे बनेको थियो । डुबेकै घर मर्मत गरी बस्न थालेकी कमलुकी आमाले भनिन्, ‘अहिले यही चिसोमा बस्ने, खाने हो ।’

कमलुको मृत्यु हुँदा बाबु फुदन घरमा थिएनन् । उनी मजदुरी गर्छन् । त्यसैका लागि त्यसबेला धरानमै थिए । फुदनलाई ८ वर्षीय छोरा कमलुको मृत्युको खबर भाइ शंकरले फोनबाटै सुनाएका थिए । १० दिनअघि मात्रै कमलुलाई काखमा लिएका फुदनलाई अझै त्यो घटना पत्याउन गाह्रो छ । खबर सुन्नेबित्तिकै विक्षिप्त बने । तत्कालै आउन सकेनन् । जताततै बाढी थियो । राजमार्गमा गाडी चलेका थिएनन् । ‘पानीमा डुबुल्की मार्दै हिँडेरै भोलिपल्ट घरमा आएँ,’ उनले सुनाए, ‘अन्तिम बेला पनि मैले छोरालाई देख्न पाइनँ ।’ उनका भाइ शंकरले कमलुलाई समाधिस्थ गर्ने जमिन पनि पाएनन् । शवलाई नदीमा सेलाएर अन्त्येष्टि गरे । मुसहर बस्तीमा कसैको मृत्यु भए कोसीको भँगालोमा खाडल खनेर समाधिस्थ गर्ने परम्परा छ । तर, त्यतिबेला पानीले सबै डुबेको थियो ।

फोटो पत्रकार नरेन्द्र श्रेष्ठले कमलुलाई अन्त्येष्टि गरेको त्यही फोटो सनसनी बन्यो । त्यसैका कारण कमलुका परिवारलाई देश, विदेशबाट समेत राहत पठाउने र भेट्न आउने क्रम अझै जारी छ । छोराको फोटो छापिएको पत्रिकामा नदेखे पनि राहत दिन आउनेहरूले मोबाइलमा देखाउने गरेको आमा विमलीले सुनाइन् ।

घरभित्र बाढी नपसुन्जेल उनीहरू यही घरमा बस्दै थिए । बाहिर जमिन डुबाउँदै थियो । कमलु पानीको खाल्डोमा पर्‍यो । ‘त्यसैको चिसो गढेछ क्यारे, बिरामी भयो । सुत्ने ठाउँ पनि चिसो भयो । ओढ्ने ओछ्याउने पनि राम्रो थिएन,’ उनले भनिन्, ‘उपचारका लागि सथनी अस्पतालमा लग्यौं । सक्दैनौं भन्दै धरान लैजान भन्यो । लैजान सक्ने अवस्था भएन । बाटैमा उसको ज्यान गयो ।’

सरकार र अन्य व्यक्तिबाट आएको राहत ४ लाख रुपैयाँ फुदन परिवारले बैंकमा जम्मा गरेको छ । त्यही जम्मा भएको पैसाभित्र उनीहरूको जिन्दगीको सबैभन्दा ठूलो सपना छ । ‘बाढीले डुबान नहुने ठाउँमा सानो जग्गा लिन्छु र घर बनाएर बस्ने विचार छ,’ विमलीले सुनाइन्, ‘एउटा छोरा छ । त्यसैको मुख हेरेर बाँच्नु त छँदै छ ।’

यो बस्तीमा मुसहरका ८३ परिवार छन् । सबैको एउटै पेसा मजदुरी गर्ने हो । मजदुरी नगरे पेटमा अन्न पस्दैन ।  बाढीले घरबास बगाएपछि उनीहरूलाई सरकारले २५ केजी चामल, दालसहितको प्याकेज दिएको थियो । त्यसैका भरमा उनीहरू छन् । त्यसमा पनि नागरिकता नहुने करिब २५ परिवारले राहत नपाएको उनीहरूको गुनासो छ । नपाउने परिवारलाई पाउने परिवारबाटै सहयोग भएको छ । 

‘आखिर सबै जनतै हुन् । राहतमा पनि किन यस्तो भेदभाव हो ?’ सर्वदेवी सदा भन्छिन्, ‘सरकारले दिएको राहत सकिनै लाग्यो, कसरी यी छोराछोरी पाल्ने ?’ बाढीको त्रास अझै छ । छोराछोरी छाडेर बाहिर हिँड्न सकेका छैनन् ।

प्राय: कसैसँग एक टुक्रा जमिन छैन । बस्तीमा बिजुली पनि छैन । सर्पको डर उत्तिकै । बाढी रोकिए पनि पानी संग्लिएको छैन । त्यही धमिलो पानीले तिर्खा मेटाएका छन् । यसबाट केटाकेटी र बूढाबूढी बिरामी परेका छन् ।

बाढीले यो बस्ती तंग्रिन पाएको छैन । तर, भोट माग्न हस्याङफस्याङ गर्दै आउने उम्मेदवारको ताँती उस्तै छ । बस्तीको पीरमर्का भन्दा पनि मीठो ललिपप सबैले सकेजति देखाएकै छन् । उनीहरू भने मत माग्न आउनेसँग बाढीले नसताउने स्थानमा बसाइँ सारिदिन आग्रह गर्छन् । यस्तै तत्काल आङ ढाक्ने कपडा, खाने अन्नको माग गर्छन् । भड्किलो चुनावी प्रचारमा जुटेका पार्टीका नेता कार्यकर्तालाई उनीहरूको आग्रह र संवेदनाले अझै छोएको छैन ।

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार