स्थानीय निर्वाचन २०७४

बस्ती छाडेर प्रचारमा

- रवीन्द्र उप्रेती, महोत्तरी

भाद्र २८, २०७४-चारकोसे झाडीनजिकको तारेचौरी गाउँ सोमबार बिहान सुनसान देखिन्थ्यो । न दलका झन्डा टाँगिएका थिए न त पोस्टर पम्प्लेट । घर, सडक सबैतिर चकमन्न थियो ।

लामो समयपछि ४२ वर्षीय खुवबहादुर आले देखिए । ‘चुनाव लागेदेखि यस्तै हो । गाउँमा खोज्दा मानिस पाइँदैन, सबैजसो प्रचारमा भिडेका छन्,’ उनले भने । गाउँमा जनजाति समुदायका ५६ परिवारको बसोबास छ । चुनावमा गाउँकै उम्मेदवार प्रत्याशी भएपछि सबै मिलेर भोट माग्दै छन् । आलेका अनुसार वडाध्यक्ष उम्मेदवार चित्रबहादुर जर्घाका लागि घरधन्दा छाडेर सबै गाउँका महिला/पुरुष घरदैलोमा व्यस्त छन् । 

अपराह्न खाना खाने बेला भएकाले प्रचारमा पुगेकाहरू क्रमिक रूपमा घर फर्के । उनीहरूसँगै साइकलमा खाली बोरा बोकेका भारतीय तरकारी व्यापारी पनि देखिए । परबल खेती यहाँका स्थानीयको आम्दानीको प्रमुख स्रोत हो । कतिपयले प्रचारमा हिँड्नुअघि बिहानै टिपेर राखेको परबल ब्यापारीलाई बेच्न थाले । 

गाउँमा शिक्षा, स्वास्थ्य, सिँचाइ, रोजगारी अभावलगायत अनेकौं समस्या छन् । जितेर गएका उम्मेदवार फर्केरै नआउने प्रवृत्ति दोहोरिँदा विकासले गति लिन सकेको छैन । गाउँकै मान्छे जनप्रतिनिधि बनिदिए बस्तीको मुहार फेर्न सकिन्थ्यो कि भनी सबै मिलेर जर्घालाई चुनावमा उठाएको स्थानीयले बताए । पुन:संरचनापछि लक्ष्मिनिया गाविसबाट गौशाला नगरपालिका–११ बनेको तारेचौरीमा करिब २ सय मत छ ।

त्यसमध्ये पनि ४० जना जति रोजगारीका लागि खाडी मुलुक गएका छन् । किसान छविलाल वलंपाकीका अनुसार सबैभन्दा ठूलो समस्या नै बेरोजगारी हो । यसपालि कृषि उत्पादनमा पनि ह्रास आएको उनको भनाइ छ । ‘गाउँमा सिँचाइको व्यवस्था भए हातमुख जोर्ने समस्या टार्न बिदेसिनुपर्ने थिएन,’ बलंपाकीले भने । उमेरले ७० नाघेकी विष्णुमाया पूर्वछाने गाउँको कृषि प्रणालीमा आएको परिवर्तनकी साक्षी हुन् । ‘३० वर्षअघिसम्म धान, गहुँ, कोदो र मकैलगायत अन्नबाली राम्रो उत्पादन हुन्थ्यो । हातमुख जोर्न समस्या थिएन,’ उनले भनिन्, ‘तर जंगल मासिने क्रमसँगै वर्षा कम हुन थाल्यो । समस्या बढ्दै गयो ।’ 

भद्रीमाया आले त्यसपछि बिस्तारै अन्न उत्पादन हुनै छाडेको स्मरण गर्छिन् । समस्या टार्न गाउँले कौडीको मूल्यमा जग्गा बेच्न बाध्य भए ।  विकल्पमा पछि उखु र परबल खेती हुन थालेपछि केही सहज भयो । ‘उखु र परबलको खेती सुरु हुने बेलासम्म बिघा जोत्ने यहाँका किसानको हैसियत कट्ठामा झरिसकेको थियो,’ उनले सुनाइन्, ‘हुनेखाने गाउँ गरिब बन्न पुग्यो ।’ 

जग्गा सुख्खा भएकाले आवश्यक चिस्यान अभावमा उखु र परबल पनि मिहिनेतअनुसार उत्पादन नहुने बलंपाकीले बताए । ‘यसपटक हाम्रो माग पहिले सिँचाइ देऊ, अनि भोट लिऊ भन्ने छ,’ उनले भने, ‘हाललाई त्यति मात्र भइदिए गरिबी कम हँुदै जाने थियो ।’ 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार