विचार/विश्‍लेषण

जितिया : मातृत्व सम्मानको पर्व

- धीरेन्द्र प्रेमर्षि
जितिया पर्वले मानवीयता, समानता, प्रकृति, पर्यावरण आदि संरक्षण तथा प्रवद्र्धन गर्ने परम्परालाई आधारभूमि प्रदान गर्दै आएको छ ।

भाद्र २८, २०७४-मिथिलामा आमजनका लागि प्रयोग हुने शब्द हो– लोकवेद । वेदलाई मार्गदर्शक मानिए पनि लोकलाई सर्वाधिक महत्त्व दिइने मैथिल परम्पराबाटै निस्किएको शब्द हुनुपर्छ, यो लोकवेद । मिथिलाका अनेक धार्मिक/आध्यात्मिक गतिविधि शास्त्रसँगै जोडिएका हुन्छन्, तर लोकहितका अनेक सन्दर्भलाई आजको परिप्रेक्ष्यमा समेत प्रासंगिक हुनेगरी ती गतिविधिले डोर्‍याउँदै आएका छन् । अत्यन्त नियम–निष्ठापूर्वक कठोर उपवासका साथ आमाहरूले जितिया पर्व मनाउँछन् ।

भगवान जिमुतवाहनले सन्तानको रक्षा एवं कल्याण गर्छन् भन्ने मान्यताका साथ यो पर्व मनाइन्छ । तर यसले लोकसँग जोडिएर जे–जस्ता पक्षलाई संरक्षण, सम्बद्र्धन र सम्मान दिने गरेको छ, ती कुराले समस्त समाज तथा लोककै कल्याणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको वा पुर्‍याउन सक्ने सुनिश्चित छ । सिंगो समाज र परिवेशकै कल्याण भयो भने समाजकै धरातलमा टेकेको परिवार वा सन्तानको रक्षा एवं समृद्धि नहुने कुरै रहेन । 

हिन्दु पर्वहरूमध्ये विरलै यस्तो पर्व होला, जसमा नियम–निष्ठामा मनग्ये ध्यान पुर्‍याउने गरिए पनि छोइछिटो मानिने वा अपवित्र कहलिने खाद्यवस्तु समेत खानु पर्वको विधान अन्तर्गत नै अनिवार्य पारिएको होस् । झन्डै दुई दिनको पूर्णत: निराहार, निर्जला व्रतको सुरुआत माछा खाएर गर्ने कुरा सामान्य हिन्दु पण्डितहरूले थाहा पाए नाकै खुम्च्याउँछन् होला । तर मिथिलामा जितिया पर्वको सुरुआत माछा खाएरै गरिन्छ । जितिया पर्वको उपवास बस्ने दिनको अघिल्लो दिनलाई नै ‘माछ–मरुआ’ भन्ने गरिन्छ । यसरी सामान्यतया शरीरलाई आवश्यक हुने सम्पूर्ण प्राय: पोषकतत्त्व र आफ्नो परिवेशमा उत्पादन हुने सबैजसो खाद्यपदार्थको उपभोगलाई प्राथमिकता दिने कुरालाई मिथिलाले आफ्नो सांस्कृतिक संविधानमै सुनिश्चित गरेको छ । उसै पनि मिथिला भनेकै प्राकृतिक नदी–नाला र तलाउ तथा कृत्रिम पोखरीहरूसमेत यथेष्ट मात्रामा भएको क्षेत्र हो । यस्तो क्षेत्रमा उत्पादन हुने एक प्रमुख खाद्यवस्तु माछा हो ।

माछा खानु विभिन्न धार्मिक मान्यताको नाममा निषिद्ध मानिए पनि लोकवेदको मैथिल शैलीले त्यसलाई सहज पार्दै उपयोगी बनाएको छ । माछा मात्र नभएर विगतमा प्राय: कमजोर आर्थिक हैसियत भएकाहरूको आहारा मानिँदै आएको मरुआ अर्थात् कोदोको उपभोगलाई पनि माछासँगै अनिवार्य बनाइएको छ । अन्य कतिपय परिप्रेक्ष्यमा कोदोलाई ‘कदन्न’ वा ‘कुअन्न’ भनेर हेला गरिन्छ । तर यस पर्वले रत्नगर्भा धर्तीमा कर्मका महादेवहरूले श्रम–सिञ्चन गरेर फलाएका सबै कुरा प्रसादमय हुन्छन् भन्ने सन्देश दिएर यस्ता खाद्यवस्तुको महिमामण्डन गरेको छ । पूजा गरिने वस्तुहरूमा समेत सर्वथा फरक किसिमका सामग्री, घिरौंलाको पात, घिरौंलाको फूल, तोरीको तेल, खरी (पिना) आदि प्रयोग हुने गर्छ । अरू बेला सामान्यतया यी सामग्रीलाई अशुद्धकै कोटीमा राख्ने गरिन्छ । यसबारे शास्त्रीय पक्षले बोलेको खासै पाइँदैन । तर आफ्नो स्थान, क्षेत्र, परिवेशका उत्पादन तथा साधनहरूलाई विविध ठाउँमा उपयोग गरेर तिनलाई समुचित स्थान र सम्मान दिने निहितार्थ यस्ता परिपाटीको रहेको सहजै अनुमान लगाउन सकिन्छ । 

प्रकृति र पर्यावरणका विविध पक्षसँग गहिरो साइनो राख्ने मिथिलाका चाडपर्वहरूको वैशिष्ट्यलाई जितिया पर्वले पनि उत्तिकै दह्रोसँग निरन्तरता दिएको छ । माथि भनिएका खाद्यवस्तुले कृषिका लागि भूउपयोगको विविधीकरणलाई सम्बोधन गर्ने एउटा पाटोलाई मुखरित गरेकै छन् । जितियाका लागि व्रतालुहरूले पूजा–सामग्रीका रूपमा सातथरी फलफूल वा खाद्यपदार्थ चढाउने गर्छन् । यसमा नरिवल, काँक्रा, भिजाएर ढड्याइएको केराउ लगायतका सामग्री हुन्छन् । यी सामग्री राखेर भरिने डालोमा बाँसको पात, केराको पात, जिम्हरको पात, मान (पान होइन) को पात आदि सातथरी वनस्पतिका पात राख्ने गरिन्छन् । यसले 

आफ्नो वरपर भएका वानस्पतिक सम्पदाहरूको संरक्षण तथा टेवालाई बल पुर्‍याइरहेको हुन्छ । 

व्रतालुहरूले माछ–मरुआका दिन सामान्यतया तेल, पिना, घिरौंलाका फूल आदि चढाउनुभन्दा अघि पोखरीमा स्नान गर्ने चलन छ । उपवास गरी पर्वको मुख्य दिन साँझपख गरिने जिमुतवाहनको पूजा पनि पोखरीकै डिलमा गर्ने गरिन्छ । पछिल्लो समयमा चाडपर्वहरूले कर्मकाण्डी स्वरूप ग्रहण गर्दै गएपछि घरको आँगनमै पोखरीजस्तो आकृति बनाएर त्यसमा ‘पाकडी’ (प्राय: काब्रो) को हाँगा राखेर माटाको स्याल र चिल बनाई पूजा गर्ने गरिन्छ । जितियाको पूजामा आउने यी विविध वनस्पति, जीवजन्तु तथा पोखरी आदिको प्रसंगले हाम्रो इकोसिस्टमलाई मिथिलावासीले सदियौंदेखि कायम राख्न आफ्ना चाडवाड मार्फतसमेत योगदान गर्दै आएको स्पष्ट हुन्छ । 

लोककल्याणका यावत पक्षहरूलाई सांस्कृतिक आवरणमा सरंक्षण दिँदै आएको मिथिला समाजका हरेक जातिमा यो पर्व मनाउने गरिन्छ । यहाँ मिथिला भन्नाले प्राचीन मिथिलाको सीमाभित्र पर्ने भूभागलाई बुझ्नुपर्छ । पछिल्ला समयमा राजनीतिकजन्य कारणले यस नामलाई सबैले सहजै स्वीकार नगरिरहेको अवस्था देखिए पनि बृहत् विष्णु पुराणको मिथिला महात्म्य खण्डमा मिथिला भनेर वर्णित पूर्वमा कोशी (प्राचीन कोशी), पश्चिममा गण्डक, उत्तरमा हिमालय र दक्षिणमा गंगा बीचको भूभागमा मिथिलाका यावत रैथाने संस्कृति जीवन्त रहेको अहिले पनि देख्न सकिन्छ । तर त्यसै मिथिला क्षेत्रको थारू लगायतका जनजाति समुदायमा भने जितिया पर्व धार्मिक अनुष्ठान र सांस्कृतिक पर्वका रूपमा मात्र सीमित नरहेर विशिष्ट उत्सवका रूपमा मनाउने गरिन्छ । यसमा पुजिने जिमुतवाहनलाई लोकभाषामा जितमहान पनि भन्न थालिएको छ भने जीवित पुत्रीका व्रत कालान्तरमा जितिया नामले प्रसिद्ध भएको छ । 

जितिया पर्वले सँगालेको सांस्कृतिक वैशिष्ट्यमध्ये एउटा प्रक्रिया भने समस्त पुरुषप्रधान समाजमै पनि समानता प्रबद्र्धन गर्ने एक विशिष्ट पाटोका रूपमा देखिएको छ । पितृपक्ष चलिरहेको सन्दर्भमा कान्तिपुरको भदौ २७ गतेको अंकमा भारती पोखरेलको ‘शास्त्रमा पनि लैंगिक भेदभाव’ भन्ने शीर्षक लेखले कोट्याएको घाउमा थोरै मलम लाउने काम मिथिलाको यसै जितियाले गर्ने गरेको जानकारी समानतावादीहरूका लागि प्रसन्नतादायक हुनसक्छ । पितृपक्षमा पितृलाई मात्र श्रद्धा गरिने सर्वविदित छ । तर जितिया पर्वमा भने मातृपक्षलाई पनि श्रद्धा–सम्मान गर्ने सांस्कृतिक परिपाटी मिथिलाले जोगाएर राखेको छ । माछ–मरुआको दिन जितियाको व्रत बस्ने महिलाले आफ्ना दिवंगत सासूका साथै दिवंगत आमा तथा अन्य पूज्य महिलाप्रति श्रद्धास्वरूप ‘पितराइन’ ख्वाउने गर्छन् । मिथिलाको व्यापक सांस्कृतिक फलकमा फैलिएको जितिया पर्वले ठूलठूला सन्देश जानसक्ने समाजका ससाना पक्षलाई मसिनो पाराले उठाउँदै मानवीयता, समानता, प्रकृति, पर्यावरण आदिलाई संरक्षण तथा प्रबद्र्धन गर्ने गतिलो परम्परालाई आधारभूमि प्रदान गर्दै आएको छ । यसको जगमा टेकेर मात्र पनि हामीले विविध क्षेत्रमा आफूलाई युगानुरूप अगाडि बढाउन सक्छौं । 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार