विचार/विश्‍लेषण

अस्पताल जानुस्, पकाएर खानुस्

  • भ्वाइस अफ दि भ्वाइसलेस
- अखण्ड भण्डारी
सरकारी अस्पतालमा सबैलाई नसके पनि निश्चित मापदण्डका गर्भवतीका लागि ‘मदर्स वेटिङ रुम’ को सुविधा दिलाउन गाह्रो छैन ।

भाद्र २८, २०७४-मोफसलका कुनै जिल्लामा प्रसूतिमा जटिलता आउँछ भन्ने चिन्ताले हुने–सक्नेहरू राजधानी धाउँछन् । राजधानीका सुविधाजनक एवं महँगा अस्पतालहरूमा पनि भर नलाग्नेहरू ओखलढुंगा पुगे हुन्छ । ओखलढुंगा सामुदायिक अस्पतालले त्यसभन्दा गतिलो सेवा–सुविधा नि:शुल्क दिनेछ ।

नपत्याए आउनुस्, एकछिन त्यसभित्रै छिरौं । केहीअघि म त्यसको ‘मदर्स वेटिङ रुम’ (आमाको प्रतीक्षा कक्ष) मा पुग्दा नजिकैको भान्सामा ४ युवा हस्याङफस्याङ गर्दै खाना बनाइरहेका थिए । अस्पतालका निर्देशक टुकबहादुर श्रीमलले भने, ‘यो प्रसूति हुनुअघि विशेष हेरचाह गर्न बनाइएको वार्ड हो । खाना पकाउने भाइहरू तिनीहरूकै श्रीमान् हुन् ।’

म काठमाडौंका प्रसूति सेवा दिने अस्पतालतर्फै फर्कें । यहाँ डाक्टरले प्रसूतिका लागि तोकेको मिति नजिकिएपछि सम्बन्धित महिलालाई आफन्तले घरमै सकेको हेरचाह गर्छन् । कुनै जटिलता आए अस्पताल पुर्‍याउँछन् । नत्र व्यथा लागेपछि एम्बुलेन्स खोजेर वा अन्य साधनबाट दौडाउँछन् । पैसा लिने निजी अस्पतालमा ‘खर्चिला प्रयोग’ सुरु हुन्छन् । सित्तैमा सेवा दिनुपर्ने सरकारीले वास्तै गर्दैनन् । भोगेका महिलाहरू सुनाउँछन्– अधिकांश डाक्टर र नर्सको व्यवहार रूखो हुन्छ । झर्कोफर्को गर्छन् । सेवा लिन होइन, सजाय भोग्न अस्पताल पुगेको अनुभूति बटुलेर उनीहरू घर फर्किन हतारिन्छन् । अस्पतालले ‘डिस्चार्ज’ लेखिदिँदा ठूलो राहत ठान्छन् । 

ओखलढुंगा अस्पतालले प्रसूतिका लागि तोकिएको मितिभन्दा कम्तीमा दुई साताअघि अनिवार्य अस्पतालमै आउन ‘काउन्सिलिङ’ गर्दो रहेछ । त्यसरी आउने क्रम बढ्दै गएको छ । अलि जटिल प्रकृतिका समस्या भएका कतिपय त ४ महिनासम्म बसेका उदाहरणसमेत रहेछन् । त्यस दिनबाट प्रसूति भएर फिर्ता नजाउन्जेलको खाने–बस्ने सम्पूर्ण जिम्मा अस्पतालले लिँदो रहेछ । त्यो पनि महिलाको मात्र होइन, कुरुवाको समेत । र, त्यसैका लागि व्यवस्था गरिएको रहेछ– ‘मदर्स वेटिङ रुम ।’ यो केवल प्रसूतिको समय कुर्नुपर्नेका लागि हो । यसका लागि दुई तल्लामा ४ वटा ठूला–ठूला कोठा छुट्याइएको छ । 

पच्चीस जना र त्यति नै कुरुवाको क्षमता रहेको वार्डमा हामी पुगेको दिन २० जोडी थिए । तीमध्ये अधिकांश दुई साताभन्दा लामो समयदेखि बसेका थिए । उक्त वार्डमा ठूला आकारका बेड राखिएका छन्, जसमा दुई जना सजिलो गरी सुत्न सकियोस् । ‘गर्भवतीको स्याहार गर्नुपर्ने भएकाले कुरुवा पनि सँगै सुत्नुपर्ने हुन्छ,’ श्रीमलले भने, ‘त्यसका लागि ठूला बेड राखिएको हो ।’

अर्को अनुकरणीय कुरा– अस्पतालले सकेसम्म कुरुवामा पतिलाई नै ल्याउन भन्दो रहेछ । विदेश रहेका केहीबाहेक अधिकांश (अस्पतालको तथ्यांकअनुसार ८० प्रतिशत) पति नै आउने गरेको पाइयो । तिनलाई प्रसूति अघि र पछि जिम्मेवारी र भूमिका के–के हुन्छन् भन्ने चिकित्सकहरूले सिकाउँदा रहेछन् । श्रीमतीको स्याहार गर्ने, औषधी लेखिएको छ भने समयमा खुवाउने, खाना बनाउनेजस्ता दायित्व श्रीमान्का हुन् । ‘प्रसूतिअघि हातखुट्टा कटकटी दुख्छ । यो अत्यन्त संवेदनशील समय हो । त्यसैले पत्निका हात–गोडा मालिस गरिदिने, तेल लगाइदिनेजस्ता काम लोग्नेकै हो भनेर हामी सम्झाउँछौं । त्यो प्राय:ले गर्छन् पनि’, उनले सुनाए, ‘यसबाट पारिवारिक सद्भाव विकास होस् भन्ने पनि हाम्रो ध्येय हो ।’

खाना पकाउन पति–समुदायले सल्लाहमा पालो लगाउँछन् । कसले मीठो पकाउने भन्ने प्रतिस्पर्धा हुन्छ । अस्पतालले पोषणलाई ध्यान दिएर दाल, गेडागुडी, सागसब्जी र फलफूललाई अनिवार्य गरेको छ । कुन छाकमा के तरकारी पकाउने वा अन्य के–के सामान चाहिन्छन् भनेर उनीहरूले नै सूची बनाउँछन् । अस्पताल प्रशासनले हरेक दिन ताजा किनेर ल्याइदिन्छ । चिल्लो, पिरो र मसलेदार खानामा रोक लगाइएको छ । त्यसबाहेक गर्भवतीलाई पोषण पुगोस् भनेर दूध, मांसाहारीलाई मासु–अन्डा आदि तालिका मिलाएर खुवाउने गरिन्छ । 

अस्पतालको तथ्यांकअनुसार २०७३/७४ मा ओखलढुंगा र अन्य जिल्लाबाट आएका एक हजार एक सय २६ जनाले प्रसूति सेवा लिए । तीमध्ये ४ सय ४१ जोडी कम्तीमा दुई साता अस्पतालमा बसे । प्रसूतीका क्रममा अस्पतालमा एक जनाको पनि मृत्यु भएन । सबै आमा–शिशुको स्वास्थ्य राम्रो रह्यो । 

वर्षौंदेखि यो नि:शुल्क चल्दै आएको थियो । केही महिनादेखि एउटा प्रावधान राखिएको छ– जति दिन, साता वा महिना बसे पनि सक्ने/इच्छा हुनेले ११ सय रुपैयाँ दिन सक्नुहुनेछ भनेर अस्पतालले जानकारी गराउँदो रहेछ । अधिकांशले दिंदा पनि रहेछन् । ‘यो बाध्यकारी व्यवस्था होइन तर सानो दायित्व लगाइदिएको हो’, अस्पताल प्रशासन इन्चार्ज बुद्ध श्रेष्ठले भने, ‘प्राय:ले खुसी मनले दिनुहुन्छ ।’ 

यो युनाइटेड मिसन टु नेपालले खोलेको मिसन अस्पताल हो । नेपाल सरकारलाई हस्तान्तरण हुने क्रममा रहेको यसको नाम बदलेर ओखलढुंगा सामुदायिक अस्पताल राखिएको छ । व्यवस्थापकीय कुशलताबाट अत्यधिक सेवा दिन सकिन्छ भन्ने यो उदाहरण हो । यही कार्यक्रमको प्रभावकारिता देखेर सहयोग गर्नेहरूका बलमा यो चलेको छ । वर्षमा ४ सय ४१ जोडी अर्थात् ८ सय ८२ जनालाई छाकको ५० रुपैयाँकै दरले दुई साता खुवाउँदा खानामा कम्तीमा १२ लाख ३४ हजार रुपैयाँ खर्च भयो । स्वास्थ्य मन्त्रालयसँग अथाह बजेट र ‘प्रोजेक्ट’ छन् । अन्य सरकारी अस्पतालमा, सबैलाई नसके पनि निश्चित मापदण्डका गर्भवतीका लागि यो सुविधा दिलाउने हो भने गाह्रो छैन । 

हामी प्राय: निराशाका कुरा गर्छौं । आशा गर्ने ठाउँ पनि छन् भन्ने ओखलढुंगा अस्पतालको ‘मदर्स वेटिङ रुम’ हो । विकट पहाडमा सरकारी सहयोगबिनै कसरी यसले नमुनायोग्य यत्रो सेवा दिएको छ भन्नेबाट अरूले पनि सिक्नुपर्छ । 

 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार