विचार/विश्‍लेषण

चरम उपभोगको प्रभाव

- उषा थपलिया
आफ्नो उपभोग प्रवृत्तिलाई परिवर्तन गरेर देशको व्यापार घाटा न्यूनीकरणमा योगदान गर्नुपर्छ ।

भाद्र २८, २०७४-आर्थिक वर्ष २०७३/०७४ को औसत उपभोक्ता मूल्यवृद्धि दर ४ दसमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकले केही अघि सार्वजनिक गर्‍यो । जसलाई १२ वर्ष यताकै न्यून मूल्यवृद्धिका रूपमा बैंकले विश्लेषण गरेको छ । उक्त तथ्यांक सन्तोषजनक देखिए पनि आम नागरिकले भने त्यही बमोजिम मूल्यवृद्धि कम भएको अनुभूति गर्न पाएनन् । सिंगो एकल प्रणालीमा आबद्ध हुन नसकेको बजार अनि बिक्रेताको लहड बमोजिम पसलैपिच्छे वस्तुको आफूखुसी फरक–फरक मूल्य निर्धारण नै यसको प्रमुख कारण थियो ।

त्यसैले दैनन्दिन उपभोग्य वस्तु खरिदमा ढाड सेकिएको अनुभूतिका साथ वर्ष गुजारेका उपभोक्ताले राष्ट्र बैंकको उक्त सकारात्मक तथ्यांकप्रति आश्चर्यभाव प्रकट गर्नु अनौठो भएन । व्यापार व्यवसायका लागि सरकारले तय गरेका नीति नियमको पालना तथा उपभोक्तामुखी बजार कायम गर्नु व्यवसायीको दायित्वभित्र पर्ने कुरा हो । तर यसबेगर मनमौजी रूपले थोरै वस्तुबाट अधिक लाभ हासिल गर्न उद्यत हुने व्यापारी यस क्रममा जति दोषी देखिन्छन्, बजारलाई नियमित र व्यवस्थित गर्ने जिम्मेवारी पाएका नियमनकारी निकायको बेवास्तापन अझ बढी जिम्मेवार पक्कै छ । यससँंगै व्यापारीले भनेजति मूल्य आँखा चिम्लेर तिर्ने आदत भएका सम्पन्न उपभोक्ताको प्रवृत्तिले पनि बजारलाई अस्वस्थ बनाएको छ । सम्पन्न वर्गमा रहेका व्यक्तिहरूको हैसियत र पैसा खर्च गर्नसक्ने प्रवृत्तिकै कारण बजार भाउ अकासिँदा त्यसको चोटिलो असर न्यून आर्थिक वर्गका उपभोक्तामाथि बज्रिरहेको छ । 

पाएसम्म महँगो मूल्यमा सामान बेच्ने अदृश्य परिपाटीलाई त अधिकांश व्यापारीले दिनहँु अभ्यास गरिरहेकै हुन्छन्, अन्य केही सामान्य बहाना भेटियो भने दृश्य रूपमै उपभोग्य वस्तुको मूल्य चुलीमा पुर्‍याउनसमेत कुनै कसर बाँकी राखिएको हँुदैन । साउन अन्त्यमा तराईमा आएको बाढीको प्रकोप लगत्तै राजधानीमा तरकारीको भाउ थोक मूल्यमै २ सय २७ प्रतिशतसम्मले बढ्यो भने खुद्रा मूल्यको स्वच्छन्दता त झन् धेरै हावी भयो । राजधानी वरपरका पहाडी जिल्लाबाट कालीमाटीमा आयात हुने तरकारीको हिस्सा अधिक हुने गरेको र बाढी प्रभावित जिल्लाबाट केवल १० प्रतिशतमात्र तरकारी भित्रिने गरेको सम्बद्ध निकायहरू नै बताउँछन् । यसर्थ तराईको बाढीलाई नै कारण बनाई त्यत्रो मूल्यवृद्धि स्वाभाविक छँदै थिएन । तर यी सबै कुरा जान्दाजान्दै पनि आपूर्ति मन्त्रालय मातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र कालीमाटी तरकारी तथा फलफूल बजार विकास समिति लगायतका नियामक निकायहरू चरम मूल्यवृद्धि रोक्न प्रभावकारी हुन सकेनन्, तरकारी र फलफूलको मूल्य अझै निरन्तर बढिरहेकै छ । 

विभिन्न कारणले बजारमा वस्तु अभाव र परिस्थिति असहज बेला–बेला भैरहन्छ । त्यस्तो बेला जतिसक्दो धेरै सामान खरिद गरेर व्यक्तिगत भण्डारणमा लाग्ने सम्पन्न वर्गको चरम उपभोगवादी चरित्र सबैसामु स्पष्ट हँुदै आएको छ । भारतीय नाकाबन्दीको असहज स्थिति होस् या भूकम्पपछिको अभावग्रस्त अवस्था, दुवैमा यी प्रवृत्ति देखिएकै हुन् । आपूर्तिको तुलनामा माग बढ्न थालेपछि मूल्यवृद्धि स्वाभाविक हुन्छ नै । अझ व्यक्तिगत भण्डारणका लागि ठूलो परिमाणमा वस्तु खरिद हुनथालेपछि बजारमा वस्तुको अभाव छिटै देखापर्न थाल्छ र यसले मूल्यवृद्धिलाई झन् चरम चुलीमा पुर्‍याउँछ । यसको प्रत्यक्ष मारमा सबैभन्दा बढी ती वर्गहरू पर्छन्, जसले हरेक दिन कमाएर त्यो दिनको गर्जो टार्नुपर्छ । केही वर्षदेखि हुनेखाने वर्गमा दरिएका व्यक्ति तथा समुदायको वस्तु र सेवा उपभोगको स्थिति निक्कै बढेको छ ।

देशभित्र जेजस्तो असहज परिस्थिति उत्पन्न भए पनि आफ्नो उपभोग प्रवृत्तिमा सम्झौता गर्न उनीहरू तयार देखिँदैनन् । सामान्यभन्दा केही अभावग्रस्त अवस्थामा ती वर्गको उपभोग चरित्र अझ उच्च तहतिर जाने गरेको देखिँदै आएको छ । जस्तो– सामान्य कारणले बजारमा इन्धन आपूर्तिमा केही समस्या हुने संकेत देखिनासाथ महिनौंलाई पुग्ने इन्धन भण्डारणका लागि दौड सुरु हुन्छ । यसले बजारमा साँच्चिकैको अभाव सिर्जना गराउँछ । त्यस्तै बाढी, पहिरो या अरू कुनै समस्याले गर्दा खाद्यान्न ढुवानीमा कमी आउनासाथ दाल, चामल, नुन, तेल लगायतका खाद्य सामग्री किनेर थुपार्ने क्रम हवात्तै बढेसंँगै बजार रित्तिन्छ । यसबाट दिनभरिको कमाइबाट मात्र साँझको छाक टार्ने हैसियत भएको वर्ग दोहोरो चेपुवामा पर्ने गर्छ । एक त सामान पाउनै मुस्किल, पाइहाले पनि चर्को मूल्यको सामना । 

नागरिकले देशको उत्पादकत्व तह र आफ्नो उपभोग प्रवृत्तिबीच सन्तुलन मिलाएको खण्डमा देशलाई ज्यादा परनिर्भर हुनबाट जोगाउन सकिन्छ । तर उत्पादन र उपभोगबीच त्यही सन्तुलन कायम हुन नसक्दा नेपालले अन्य देशसँंगको व्यापारमा वर्षेनि घाटा बेहोर्दै आएको छ । निर्यातको तुलनामा आयात बढ्दै गएपछि व्यापार घाटा हुने गर्छ । अझ दु:खको कुरा त के हो भने हरेक वर्ष घाटा प्रतिशत अझ बढ्दै गएको छ । आ.व. २०७३/०७४ को व्यापार घाटा ९ खर्ब १७ अर्ब रुपैयाँ रहेको तथ्यांक राष्ट्र बैंकद्वारा सार्वजनिक भैसकेको छ । अघिल्लो वर्षको तुलनामा ३० दसमलव ४ प्रतिशतले बढेको घाटा कि निर्यात वृद्धि कि उपभोग कटौती नगरी सन्तुलनमा आउन सक्दैन । तर ७३ अर्ब ५ करोड बराबरको निर्यात अनि ९ खर्ब ९० अर्ब ११ करोड बराबरको आयात बीचको ठूलो असन्तुलनलाई तत्काल निर्यात अभिवृद्धि गरेरै सन्तुलित बनाउन सम्भव देखिँदैन । सन्तुलन मात्र कायम गरेर पुग्ने देखिन्न, समृद्ध देश निर्माणका लागि नेपालले अन्य देशसँंगको व्यापारमा नाफा गर्नुपर्ने बाध्यतासमेत छ । निर्वाहमुखीबाट समेत तल झर्दै गएको नेपालको कृषि प्रणालीले निर्यातमुखी अवस्थामा उक्लन धेरै कुरामा सुधार ल्याउन जरुरी देखिन्छ । निर्यातमा ठूलो फड्को आजको भोलि हुने होइन, बरु नेपालीले आफ्नो उपभोग प्रवृत्तिलाई नै परिवर्तन गरेर देशको व्यापार घाटालाई न्यूनीकरणमा योगदान दिनुपर्छ । 

आफ्नै देशका उत्पादित सामग्रीको उपभोग वृद्धि गरेर आयातित सामग्रीलाई क्रमश: विस्थापित गर्न सकिन्छ । कर्णालीबाट पछिल्लो दुई वर्षमा खरिद गरिएका अर्गानिक गेडागुडी र अनाज खाद्य संस्थानको गोदाममा थन्किएर रहेको स्वयं खाद्य संस्थानले नै सार्वजनिक गरिसकेको छ । हामी भने यिनै सामग्री उपभोगका लागि आफ्नो पैसा अन्य देशलाई खन्याइरहेका छौं । खाद्य संस्थानमै सामान खरिद गर्नपुग्ने उपभोक्ता ज्यादै न्यून अनि आफैंले बजार पुर्‍याएर बेच्न संस्थानभित्र संरचनाको अभाव हुनु नै सामग्री थन्किनुको मुख्य समस्या हो । तर सरकारी स्वामित्वकै नेसनल ट्ेरडिङ, साल्ट ट्रेडिङजस्ता धेरैतिर संरचना भएका निकायको समन्वयमा ती सामग्री उपभोक्तासमक्ष पुर्‍याउन पहल नगर्नु सरकारको ठूलो कमजोरी हो । त्यस्तै ढुवानी समस्याका कारण नेपालका हिमाली भेगका स्याउहरू बजारसम्म ल्याउन नसकी कुहिन्छन् । बजारमा आइपुगे पनि उपभोक्ताको ध्यान विभिन्न विधि पुर्‍याएर चम्काइएका कास्मिरी, फुजीतिर बढी जाने गर्छ ।

मूल्यलाई वास्ता नगरी गुणस्तरीय सामान खोज्ने उपभोक्ताको संख्या नेपालमा दिनानुदिन बढ्दो छ । तर गुणस्तर खोज्ने क्रममा गलत प्रक्रियाबाट स्वस्थ देखाइएका अस्वस्थकर सामग्रीको जालोमा हामी पँmसिरहेका छौं । हाम्रो भ्रमपूर्ण उपभोग शैलीले निर्यातलाई अझ बढी प्रबद्र्धन गरेको छ । समृद्ध नेपाल निर्माणको क्रममा हरेक नेपालीले थप्ने इँटा भनेकै सानातिना कुरामा सावधानी पुर्‍याएरै हो । 

प्रकाशित: भाद्र २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार