ब्लग

अमेरिका अनुभव : भोगेका र देखेका राम्रा कुराहरु

- नवीन रायमाझी, काठमाडौं

भाद्र २७, २०७४-पंक्तिकार अमेरिका सम्बन्धी ज्ञाता होइन । तर, यो देशमा बसोबास गरिरहेको कारण, कुनै आफैले भोगेर र कुनै अरुले भोगेको देखेर केहि अनुभवहरु प्राप्त गर्नुलाई अन्यथा लिने छैन भन्ने मेरो आशा छ । 

भौतिक बिकासको कुरा गर्दा, अमेरिका हाम्रो देश भन्दा कता हो कता छ भने साथै बौद्धिक र मानसिक रुपमा पनि यिनीहरु हामीभन्दा निकै अगाडी छन् । कानुन कडा भएकाले सबै सभ्य भएका हुन् वा सबै सभ्य भएकाले कानुनको पालना गरेका हुन् यो बहसको बिषय हुन् सक्छ । यो प्रसंगलाई जसले जसरी बुझ्दा पनि भयो । मेरो बिचारमा भने कानुन कडा भएको र त्यो कानुनको पालना पनि हुने कारणले मान्छेहरु जबर्जस्ती सभ्य र असल भएका हुन् । जो बास्तवमै सभ्य र असल छन्, उनीहरुलाई कानुन हुनु र नहुनुको कुनै मतलव हुँदैन । यहाँ पनि रक्सि पिएर र फुटपाथमा उभिएको मान्छेलाई सडकको पानी छ्यापिने गरि गाडी चलाउने, महिलालाई जिस्काउने वा यौन दुर्व्यबहार गर्ने, पसलमा गएर सामान चोर्ने, राती वा सुनसान समयमा मान्छेलाई लुटने जस्ता क्रियाकलाप गर्ने मान्छेहरु नभएका होइनन् । तर, यिनीहरु प्रहरीको फन्दामा परे भने जिन्दगी नै बर्बाद हुने गरी सजायको भागी हुनुपर्छ । धेरै प्रसंगहरुसंग सामन्जस्यता राख्न नसके पनि यो देशको केही प्रकरणहरु मलाई ह्रदयदेखि नै मन पर्यो, त्यसलाई उल्लेख गर्ने प्रयास गरेको छु ।

पहिलो, कानुनको दृष्टिमा यहाँ सबै बराबर छन् अर्थात कानुनले निषेध गरेको कुरा गर्यो भने ति सबैले सजायको भागी हुनुपर्छ, चाहे त्यो सर्वसाधारण होस् वा कुनै हेबीवेट । केही वर्ष पहिले तत्कालिन राष्ट्रपति जर्ज बुसको छोरी बारमा आधा घण्टा बढी बसेको कारण एक रात प्रहरीले थुनेको समाचार आएको थियो । रातको १२ बजे अनिबार्य बन्द हुनुपर्ने बारमा कलेजका बिधार्थीहरु जबर्जस्ती बस्न खोजेपछि बार मालिकले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर ति सबै बिधार्थीलाई पक्राउ गर्दा त्यो समुहमा राष्ट्रपति बुसकी छोरी पनि थिइन् । हाम्रो देशमा प्रचलित कानुनको बर्खिलाप गरेपनि राष्ट्रपतिको छोरीलाई पक्राउ गर्ने हिम्मत सायद प्रहरी महानिरीक्षकको पनि हुँदैन भने सामान्य प्रहरीको के कुरा गर्नु ? नेपालमा त्यस्तो घटना भएको भए राष्ट्रपतिको छोरीलाई आधा घण्टा बढी बस्न नदिएको आरोपमा बार मालिक नै जेल पर्न सक्थे । 

दोश्रो, यो देशको सर्बोच्च कार्यकारी पद राष्ट्रपति एउटै व्यक्तिले दुई कार्यकाल भन्दा बढी चुनाब लड्न पाउँदैन । आफ्नो कार्यकाल पुरा भएपछि उ आफ्नो पहिले कै पेशामा फर्किन्छ अर्थात उ पहिले वकिल थियो भने वकालत नै गर्छ । कुनैपनि क्षेत्रमा लाग्ने व्यक्तिले त्यो क्षेत्रको उच्चतम् पदमा पुग्ने आकांक्षा राख्नु अन्यथा होइन । राजनीतिमा लाग्नेले प्रधानमन्त्री हुने सपना देख्नु राम्रो कुरा हो । प्रमुख बिषय भनेको एउटा मान्छेले मात्र कहिलेसम्म पद लिरहने त्यसको भने सिमा हुनुपर्छ भन्ने हो । हाम्रो देशमा करिव दश बर्षमा व्यवस्था परिवर्तन हुन्छ । तर, पदमा पुग्ने करिव ९० प्रतिशत मान्छे उही हुन्छन् । अनि कसरी परिवर्तन सम्भव हुन्छ ? पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म उही मान्छेहरु नै छन्, भोट दिने व्यक्तिहरु कता–कता पुगुन्जेलसम्म चुनाव लड्नेहरु उनीहरु नै हुन्छन् । 

तेश्रो, कुनैपनि काम वा जागिर सुरु गर्दा त्यो व्यक्तिको बिगत हेर्ने प्रचलन छ यहाँ । जसलाई "ब्याक ग्राउण्ड चेक" भनिन्छ । यदि कुनै व्यक्तिले एकपटक कुनै गल्ति गरेको छ भने जिन्दगी भरी उन्मुक्ति पाउँदैन । एउटा सानो गल्तिले गर्दा राष्ट्रपतिको उम्मेदवार हुन रोकिएका घटनाहरु पनि नभएका होइनन् । त्यसैकारण यहाँका मान्छेहरु कानुनसँग डराउँछन् । हाम्रो देशमा बैंक ठगि गरेर जेल परेको मान्छेले जेलबाट छुटेर फेरी ब्याङ्किङ क्षेत्रमै जगजगी गरेर बसेको पनि छ । साथै सर्बोच्च अदालतले भ्रष्टाचारको अभियोगमा जेल सजाय तोकेको व्यक्ति जेल मुक्त हुँदा जति दिन जेल बसेको थियो त्यति नै किलोको माला लगाएर बिजयी जुलुस गरेको पनि देखिएकै हो ।

चौथो, यहाँ केटाकेटीहरुलाई छोएर र मुसारेर माया गर्ने चलन छैन । यो चलन मलाई अत्यन्तै राम्रो लाग्यो । एक त गाला मुसार्ने र टाउको सुम्सुम्याउने गर्दा बच्चाहरुलाई झर्को लाग्न सक्छ भने कतिले त माया गर्ने बहानामा आफ्नो यौन कुण्ठा पोख्ने कुकर्म पनि गर्छन्, गरेका पनि छन् । माया गर्ने बहानामा बाल यौन दुर्ब्यवहार भएका घटनाहरु समय–समयमा बाहिर आउँछन् । तर, त्यी आरोपित हरुलाई के सजाय हुन्छ त्यो सायद कसैलाई पनि थाहा छैन । पंक्तिकारको घर नजिक करिव दश बर्ष पहिले एक चालिस बर्षीय ब्यक्तिले छ बर्षीय बालिकालाई चकलेट दिने बहानामा बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । तर, त्यो ब्यक्ति एक हप्ता मै जेल मुक्त भयो । कसरी र किन मुक्त भए ? त्यो मलाई जानकारी छैन । तर, उ आजसम्म पनि समाजमा टाउको उठाएर हिडिरहेको छ । यस्तै घटना यदी अमेरिकामा भएको भए त्यसले यति ठुलो सजाय पाउने थियो कि त्यसको दुर्गति भएको देखेर वा सुनेर अरु मान्छेहरुपनि दुरुत्साहित हुने थिए । 

र अन्तमा, यहाँका मान्छेले जनावरहरुप्रति दर्शाएको माया पनि मलाई अति नै राम्रो लाग्छ । हामीले आफुलाई जति कमलो मनको भने पनि कुकुरलाई पिट्ने, चरा मार्ने जस्ता कर्महरु गर्ने गर्छौ । मैले यहाँ कुकुरलाई लात्तिले वा ढुङ्गा ले हानेर बोल्न नसक्ने प्राणीलाई दु:ख दिएको देखेको छैन न त कुनै बालकले गुलेली लिएर चरा मार्दै हिडेको देखेको छु । हामी हरेक दशैंमा पशुबली रोक्नु पर्यो भनेर कोकोहोलो मच्चाउने काम गर्छौं । तर, मासु खान भने छाड्दैनौ । यदी मासु खाना नछाड्ने हो भने पशुबली दिने काम भइरहन्छ । यस्तो निरर्थक होहल्लाको कुनै मतलब छैन । मैले यहाँ कुनै मान्छेले कुखुरा वा भेडा मार्नु हुँदैन भनेर होहल्ला गरेको र कालो कपडा लगाएर सडकको बीचमा बसेर बिरोध गरेको देखेको वा सुनेको छैन । 

मैले देखेको र भोगेको भन्दापनि अरु धेरै राम्रा बिषयहरु पनि होलान् । यदी कसैलाई जानकारी छ भने विचार तथा अनुभव आदानप्रदान गर्न अनुरोध छ । साथै सल्लाह, सुझाब तथा प्रतिक्रियाको पनि आशा गरेको छु । 

@naviinr

प्रकाशित: भाद्र २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार