विचार/विश्‍लेषण

शास्त्रमा पनि लैंगिक भेदभाव

- भारती पोखरेल

भाद्र २७, २०७४-सोह्र श्राद्ध भन्नु पितृपक्ष नै हो । यो पितृपक्षमा आफ्ना दिवङ्गत पितृहरूको स्मरण गर्दै उनीहरूप्रति श्रद्धा सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ । यो श्राद्ध गर्ने परम्परा हाम्रो समाजमा पौराणिक कालदेखि नै चलिआएको हो । यसको उल्लेख रामायण, महाभारतमा पनि गरिएको पाइन्छ । पितृपक्ष भन्नुमा नै लैङ्गिक भेदभाव देखिएको छ । यसलाई पितृपक्ष नभनेर मातृपक्ष भनी नामकरण किन गर्न सकिएन ? सनातन धर्मशास्त्रहरूले सन्तानप्रति पिताभन्दा बढी अधिकार माताको हुन्छ भनी उल्लेख गरेको छ भने त्यसै धर्मशास्त्रले लैङ्गिक भेदभाव पनि प्रशस्तै गरेको छ । साँच्चिकै भन्नुपर्दा श्राद्ध होस्, नागरिकताको सवाल, सम्पत्तिको अधिकार लगायत अन्य कुरामा आमाभन्दा बढी बुबालाई नै अर्थात् पुरुषलाई नै महत्त्व दिएको छ ।

पितृपक्षका सोह्र श्राद्ध १६ दिनसम्म गरिने श्राद्धमा आमाको नामबाट श्राद्ध गरिँदैन । जुन घरमा पिता जीवितै छन् भने त्यो घरमा सोह्र श्राद्धको श्राद्ध गरिँदैन । यसबाट नै प्रस्ट हुन्छ, हाम्रो धर्मशास्त्रले महिलालाई कति अन्याय गरेको छ भन्ने कुरा । कुनै सन्तानले यो १६ श्राद्धमा आमाको श्राद्ध गर्नै चाहेमा सोह्र दिनमा एकदिन छ । त्यो मातृनवमी त्यसमा पनि पिण्ड दान गर्नु हुँदैन, सिदामात्र गर्नु भनी शास्त्रमा उल्लेख गरिएको छ । यसरी हेर्दा महिलाले जिउँदो हुँदा पनि दयामै बाँच्नुपर्ने, मृत्युपर्यन्त पनि शास्त्रले छुट्याइदिएको दया, नियम, कानुनमै बाँच्नुपर्ने । भनिन्छ, मरिसकेपछि आत्मा न नारी हुन्छ न पुरुष, केवल आत्मा । यदि आत्मामात्र हुन्छ भने त्यो आत्माको भेदभाव किन त ? श्राद्ध कर्मलाई पुण्य कर्म मानिन्छ, यो सत्य पनि हो । पुण्य कर्म गर्ने अधिकार पुरुष या छोरालाई मात्र किन ? भन्ने प्रश्नको जवाफमा ‘छोरी विवाह गरी अर्काको गोत्रमा जाने र माइतीको अधिकार उनमा छोराभन्दा कम रहनुका साथै एउटै व्यक्तिलाई हाम्रो धर्मशास्त्रले द्वय अधिकार नदिएको र जसले अंश खान्छ, उसैले श्राद्ध गर्नुपर्छ’ भनी उल्लेख गर्छन्, पण्डितहरू ।

धर्म, परम्परा, समाज, राष्ट्र, परिवारबाट महिला अझ पनि प्रताडित छन् । हाम्रा धर्मशास्त्रहरू महिलाको मनोवैज्ञानिक, शारीरिक शोषण गर्ने आधार हुन् । यसै धर्मशास्त्रको आधार बनाएर महिलाले गायत्री मन्त्र नजप्नु, शालिग्राम भगवान्लाई नछुनु भन्ने पनि उल्लेख थियो । तर आज गायत्री मन्त्र खुलेआम सबैले जप्छन् । के यसो गर्दा सूर्य, चन्द्र उदाएका छैनन् र ? हामी जे कर्म गर्छाैं, त्यो श्रद्धाका साथ गर्नु नै ठूलो धर्म हुनेछ । छोरा जेजस्तो होस्, जिउँदो हुँदा आमाबुबालाई लगेर वृद्धाश्रममा किन नराखोस्, मरेपछि त्यही छोराले पिण्ड–पानी दिएपछि पितृमोक्ष हुन्छन् भन्ने भ्रम हामीले कहिलेसम्म पाल्ने ? जुन सन्तानले जिउँदो हुँदा घृणा गर्छ भने उसैले पिण्ड दिँदा मोक्ष पाउँछन् भन्ने के प्रमाण ? सिर्फ हामी विश्वासको आधारमा हाम्रो धर्म–संस्कृतिलाई डोर्‍याइरहेका छौं । लैङ्गिक भेदभाव गरिरहेका छौं । सनातन धर्मले शुभकार्य संस्कारहरूमा छोरा (पुरुष) को उपस्थितिलाई बढी प्राथमिकता दिएको भेटिन्छ । त्यसैले श्राद्ध गर्ने अधिकार छोरालाई दिएको हो । श्राद्ध पक्षको वैज्ञानिक आधार र ज्योतिषशास्त्रकै अनुसार मनुष्य मृत्युपश्चात् उसको शरीर पञ्चतत्त्वमा विलिन हुनपुग्छ भने आत्मा परमात्मामा लिन हुन्छ । यो नै सनातन धर्मको भारतीय दर्शन सिद्धान्त पनि हो । सनातन धर्मको दार्शनिक चिन्तन परम्परा प्राचीन छ, तर पनि हामीबीच एउटा प्रश्न भने आउँछ, मृत्युपछि मनुष्य कहाँ जान्छ ? यसको वैज्ञानिक आधार यही हो भन्न कसैले सकेको छैन । सबैले आ–आफ्नै तर्क पेस गरेका छन् ।

श्राद्ध पक्षको आधार ग्रहको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । ग्रहको मानव जीवनको आधार पृथ्वी हो भने देव सृष्टिको मूल आधार सूर्य ग्रह हो भने पितृपक्षको चन्द्रग्रह । यसैले भनिन्छ, ‘यह पिडेतत् ब्रह्माण्डे’ चन्द्र ग्रहमा प्राण छ भने सूर्यमा आत्मा । मृत्युपर्यन्त पितृप्राण चन्द्र ग्रहसँग सम्बन्ध राख्छ । चन्द्रमा ऊध्र्वमार्गबाट प्रेतपिण्डसँग सम्बन्ध रहन्छ । यसैले भौतिक पिण्डदानबाट निश्चय नै पितृ तार्न सकिन्छ भनी हामी श्राद्ध कर्म गर्छाैं । यो कुरा हरिवंश पुराणलगायत अन्य धर्मग्रन्थमा उल्लेख गरिएको छ । सोह्र श्राद्धमा गर्ने श्राद्धलाई महालय भनिन्छ भने मृत्युकै तिथिमा गर्नेलाई एकोतिष्ट ।

शास्त्रमा तीन ऋण देखाएको छ– देवऋण, पितृऋण र ऋणीऋण यी ऋणमध्ये महत्त्वपूर्ण ऋण भनेकै पितृऋण हो । असोज कृष्ण प्रतिपदादेखि औंसीसम्म ब्रह्माण्डको ऊर्जा र त्यही ऊर्जाको साथमा पितृप्राण पृथ्वीमा व्याप्त रहन्छ भनी कात्यायन स्मृतिमा उल्लेख गरिएको छ ।

श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अथ्र्याए पनि इङ्गित गर्न खोजेको अर्थ एउटै हो । पितृहरूलाई श्रद्धाका साथ तनमन, वचन, कर्मले शुद्ध भई कृतज्ञता व्यक्त गर्नु नै हो । यो सोह्र श्राद्धमा आफ्ना सात पुस्तालाई तर्पण दिइन्छ । हाम्रो एक वर्ष पितृहरूको एक दिन हुन्छ भनी भनिएको छ । श्राद्धमा ब्राह्मण भोजन गराएमा पुण्य प्राप्त हुन्छ भनी मानिएको छ ।

हाम्रा धर्मशास्त्र पुराणमा महिलालाई दोस्रो दर्जाकै रूपमा अंकित गरेको देखिन्छ । यही श्राद्ध कर्ममै पनि । तर आजका महिलाहरूले यस्ता रुढीवादी परम्परालाई तोड्दै मृत्यु संस्कारदेखि श्राद्धसम्म गर्न थालेका छन् । तर यसरी गरेको मृत्यु संस्कार श्राद्धबाट पितृ खुसी र मोक्ष हुँदैन भन्ने पनि हाम्रो धर्मशास्त्र र धर्मका ठेकेदारहरूको भनाइ रहेको छ । नारी पुज्यनीय छ भने समाजको कर्मकाण्डमा प्रथम स्थान किन दिइएन ? यो गर्नु हुन्छ/हुँदैन भनी किन बन्देज लगाइयो ? किन पितृपक्षलाई मातृपक्ष भन्न सकिएन ? सायद यो प्रश्नको उत्तर नारी सृष्टि कालदेखि नै अनुत्तरित रहेको छ ।

प्रकाशित: भाद्र २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार