फिचर

छोरीको कर्म : काम सकेपछि स्कूल

- मेनुका ढुंगाना, अछाम

भाद्र २६, २०७४-एकै खर्क दुई बौरानी जेठी छुइ जान्या हो ।

छोरी भइ जन्मनु भन्दा गर्भ तुइ जान्या हो ।।

छोरी भएर जन्मेकै कारण दु:ख पाएकाहरुले अझै पनि मेलापात, घाँस दाउरा, पानी पँधेरो, खेतबारी जाँदा यस्तै मार्मिक देउडा गीत गाउँछन् । महिनावारी हुँदा टाढाको छाउपडी गोठमा जानुपर्ने बाध्यता, छोरीले जन्मेदेखि नै पराई घर जाने भनेर हरेक कुरामा गरिने भेदभाव, शिक्षाबाट वञ्चित, छोरीलाई काम गर्ने मेसिन सम्झिने गरेकै कारण गाउँभरका छोरीहरु जमघट भएर यस्तै मार्मिक देउडा गीत गाउँदै दु:ख साटासाट गर्छन् । 

गोरुगोठालो जाँदा नै किन नहोस् अथवा महिनावारी भएर सबै छोरीहरु एउटै गोठमा बसेर यस्तै देउडा दोहोरी गाएर रात बिताउने गर्दछन् ।

 

केही वर्ष पहिले छोरीलाई विद्यालय पठाउने, लेखपढ गर्न नदिने चलन थियो भने अहिले विद्यालय पठाउनुपर्छ भन्ने मानसिकता सबैमा बढेको छ । यही परिवेशमा हुर्केका छोरीहरुलाई आफ्नो अधिकार के के हो भन्ने थाहा छैन । चेतना फैलिएसँगै छोरीलाई विद्यालयमा पठाउने गरेपनि नियमित नपठाउने हुनाले साक्षर मात्र बन्ने गरेका छन् ।

छोरीलाई विद्यालय पठाउनु पर्छ भन्ने अभिभावकले छोरालाई बोर्डिङ पढाउनु पर्छ भन्ने बुझ्यो । कारण, छोरालाई छोरीको भन्द बढी महत्व दिनु पर्छ भन्ने सोचाइको हाबी हुँदा यस्तो हुन पुग्यो ।

यस्तै समाजमा हुर्किएकी साविकको जनालीबण्डालीकी ११ वर्षीया चन्द्रा भण्डारी विहानै उठेर घाँस दाउरा ल्याएपछि मात्र स्कुल जान पाउँछिन् । सानै उमेरमा उनले पाएको पारिवारिक जिम्मेवारी हो यो । आफू छोरी भएकाले सबै काम आफैँले गर्नुपर्ने मात्र उनले बुझेकी छन् । ‘दाइ काठमाडौँमा पढ्छन । घरमा आमालाई सघाउनु पर्छ । विहान घाँस, दाउरा ल्याएपछि मात्रै मैले स्कुल जान पाउँछु’, उनले भनिन् , ‘म जस्ता धेरै साथीहरु बिहानभरी घरको काम गरेर मात्रै स्कुल जान पाएका छौँ ।’

२ कक्षा पास गरेर ३ कक्षा पुगेकी चन्द्राको पढाई सामान्य छ । उनी औसत विद्यार्थीका रुपमा तीन कक्षमा पुगिन् । आफु पढ्ने स्कूलमा प्रथम, द्धितिय, तृतीय सबै केटाहरुमात्र हुने गरेको उनले बताइन् ।

सोही ठाउँकी १७ वर्षकी धिर्जा भण्डारी अहिले मालिका आधारभुत प्राथामिक विद्यालयमा ५ कक्षामा पढ्छिन् । कक्षामा सबैले उनलाई दिदी भन्छन् । पढाइ पनि उनको समान्य छ । आफूभन्दा ३ वर्ष कान्छो भाइ सोही स्कुलको ७ कक्षामा पढ्छन् । भाइ ७ कक्षामा पढ्ने, दिदी ५ कक्षामा पढ्ने भनेर साथीहरुले जिस्काउँदा उनलाइ नमज्जा लाग्छ । तर, पनि उनी चन्द्राले जस्तै सबै काम गरेर सकेसम्म विद्यालय नियमित जान्छिन् ।

    

 ‘भाइलाई स्कुल पठाए । उतिखेर म पनि जान्छु भन्दा बुवा, आमा सबैले तिमी छोरी मान्छे स्कुल जानु पर्दैन भने’,  सुनाइन्, ‘गाउँमा विद्यालय भर्ना अभियान सुरु भएपछि २ वर्ष अगाडि मलाई सिधै ३ कक्षामा भर्ना गरिएको हो ।’

उनले तीन कक्षामै पुगेर क, ख सिकेकी हुन् । ‘मैले ३ कक्षामा क,ख सिकेकी हुँ । छोरी भएकै कारण समयमा स्कुल जान पाइएन’, उनले पीडा सुनाइन्, ‘घरको काम छोरीले गर्नैपर्छ । अझै पनि सबै घरको काम सकेर मात्र स्कुल आउँछु ।’

यस्तै रामारोशन गाउँपालिकाकी अस्मिता रोकाया पनि पहिले कामलाई प्राथामिकता दिन्छिन् । उनी औपचारिकता निभाउन स्कुल जाने गर्छिन् । छोरी भएर जन्मेपछि काम गर्नैपयो’,  उनले भनिन्, ‘आमा, भाउजू, बज्यैले सिकेको काम छोरीले पनि गर्नैपर्छ भन्ने चलन छ । जे समाजमा चलन छ त्यसलाइ मान्नै पर्यो ।’

कुनै छोरीले घरमा बिहान अनिवार्य काम गरेर विद्यालय जान पाएका छन् भने कसैले त रात दिन काम गर्दा पनि अझै विद्यालय जान पाएका छैनन् । सदरमुकाम मंगलसैनमा यस्ता छोरी धेरै भेटिन्छन् । विषेश गरी दलित समुदायका छोरीहरु अझै पनि विद्यालयको पहुँचसम्म पुग्न सकेका छैनन् । मंगलसैन नगरपालिका–५ की पवन विक सधैं घरको काम र खेतीबारीमामा व्यस्त देखिन्छिन् । उनका बुवा आमा दाजु बम्मै (भारत) मा काम गर्छन् । घरमा पवन र उनकी दिदी सीता मात्र थिए । दिदी सिताले १७ वर्षको उमेरमा बिहे गरिन् । अहिले घरको सबै काम सीता एक्लैले गर्छिन् ।

‘गाई, भैंसी, एक हल गोरु र सातवटा बाख्रा छन् । तिनैलाई घाँसपात, स्याउला सोतर गर्दै दिन बित्छ, अहिले एक्लैछु’, उनले भनिन् ,‘सकी नसकी काम गरिरहेकी छु । स्कुल जान्छु भन्दा घरबाट दिएनन् । अब यसैगरी जिन्दगी चलाउनुछ ।’

स्थानीय तहको निर्वाचनताका गाउँमा मत माग्न जाने महिला नेताहरुले छोरीलाइ अनिवार्य १२ कक्षासम्म शिक्षा, महिनावारी भएको बेला सुरक्षित बस्ने व्यवस्था, दलित महिलाका समस्यालाई चुनावी एजेण्डा बनाउने गरेका थिए । 

‘शिक्षा र रोजगारीले मात्र महिला हिंसा कम हुन्छ’  रामारोशन गाउँपालिकाकी उपप्रमुख सरस्वती रावलले भनिन्, ‘ छोरीलाइ विद्यालय भर्ना गर्ने तर नियमित विद्यालय जान नदिने अभिभावकलाई विषेश कक्षाको व्यवस्था नै गर्छु । ’ 

मंगलसैन नगरपालिकाकि उपप्रमुख सरीता उपाध्यायले महिला आत्मनिर्भर र आर्थिक रुपमा सशक्त भए महिला हिंसा कम हुने भएकाले त्यसको लागि आफ्ले यथासिघ्र पहल गर्ने बताइन् । ‘ महिलाहरु अभाव, दबाव र प्रभावबाछ ग्रस्त हुनु पर्ने दु:खद अवस्था अझै रहेको छ ’ उनले भनिन्, 'यसको अन्त्यको लागि छोरीमा लगानी गराउने विषेश भुमिका निर्वाह गर्छु ।’

जिल्ला शिक्षा कार्यालयका अनुसार विद्यालय बाहिर रहेका ३.४ प्रतिशत विद्यार्थीलाई चालु शैक्षिक सत्रमा विद्यालय भर्ना गरिने छ । विद्यालयमा छात्र भन्दा छात्राको संख्या धेरै छ । तर छात्राहरु पढाइमा कमजोर हुने र छात्रहरु अधिकांश विद्यालयमा अग्रस्थानमा आउने जिल्ला शिक्षा अधिकारी झंकर विष्टले बताए ।

 ‘विद्यालय भर्ना गरेपनि छात्राहरुले घरको काम गर्न र पढाई भन्दा कामलाई प्राथामिकता दिने गर्छन्’,  जिल्ला शिक्षा अधिकारी विष्टले भने, ‘उनीहरु विद्यालय नियमित जानै पाउँदैनन् । राज्यले छात्राहरुलाई विशेष लगानी गरे पनि अभिभावले छोरीलाई हेर्ने दृष्टिकोणमा फरक आएको छैन । जसकारण छात्राहरु पढाइमा कमजोर हुन्छन् ।’

प्रकाशित: भाद्र २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार