साहित्य/विविध

छन्दमा अनुराग

- रामरञ्जन पौडेल

भाद्र २६, २०७४-नेपाली साहित्यमा गोपालप्रसाद रिमालको आगमन अगाडि कविता छन्दमा मात्रै लेखिनुपर्छ भन्ने मान्यता बलियो थियो । रिमालका अतिरिक्त बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, मोहन कोइरालाजस्ता मूर्धन्य कविले पनि गद्य कविताको युगलाई स्वागत गरे । त्यसपछिका कविहरूले नेपाली साहित्यमा गद्य कविताको वहार नै ल्याए । वर्तमानमा आइपुग्दा गद्य सरल भएर पनि अपेक्षित सरस हुन नसकेको विषयले यदाकता प्रवेश पाउने गरेको छ । साहित्यका तीन अर्थ, अभिधा, लक्षणा र व्यञ्जना । तीमध्ये तेस्रोले जति कवितालाई गहन बनाउँछ त्यति अघिल्ला दुई अर्थले गर्न नसक्ने साहित्यानुरागी सबैमा स्वीकार गरिएको विषय हो । व्यञ्जना अर्थात ध्वन्यात्मक अर्थ गद्यमाभन्दा बढी पद्यमा मीठासपूर्ण बन्छ भन्ने मान्यता बलियो बन्दै गएको छ ।

कवि सुवानन्द दासबाट प्रारम्भ भएको नेपाली कविता साहित्यको इतिहासमा भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरेजस्ता थुप्रै अग्रज साहित्यकारले छन्द विधालाई उत्कर्षमा पुर्‍याए । अझै नवातिनव कवि व्यक्तित्वका नवीन सिर्जनाले यस विद्यालाई उचाइको यात्रामा लैजाने प्रयत्न गरिरहेकै छन् । कवि देवी नेपाल छन्द कविता अभियान लिएर देश दौडाहामा छन् । फरक विधाका फरक परिचय, नेपाल प्रज्ञाप्रतिष्ठानले छन्दविधालाई पनि प्रश्रय दिँदै प्रकाशनमा ल्याएको छ, छन्दको छाहारी । डा. बमबहादुर थापा जितालीको मिहिनेत यसमा देखिन्छ ।

‘जहाँ छन् बुद्धका आँखा...’ जस्ता लोकप्रिय गीतका रचनाकार जितालीद्वारा लेखिएको यस कृतिमा नेपाली कवितामा प्राचीन कालदेखि वर्तमानसम्म प्रयुक्त २ सय १७ शास्त्रीय छन्दको नाम, गण, मात्रा, यति, गति, लक्षण र उदाहरण प्रस्तुत गरिएको छ । पुस्तकमा संस्कृतका विविध शास्त्रीय छन्दलाई नेपाली कवितामा भित्र्याउने कविहरूको प्राप्त अभिलेख पनि उल्लेख गरिएको छ । छन्द बचाउ आन्दोलनदेखि छन्दको महत्त्व प्रचार–प्रसारसम्म संलग्न संस्था र व्यक्तित्वको नाम दिएर लेखकले छन्दको यात्रालाई सक्दो न्याय दिने प्रयत्न गरेका छन् । ऐतिहासिक परम्परामा देखिएका शास्त्रीय र लोक छन्दका नवीन प्रतिभाप्रति पनि लेखक सहानुभूति प्रकट गर्छन् । 

एकाक्षरी श्री छन्ददेखि छब्बीस अक्षरका उत्कृति छन्दसम्मका उदाहरण कृतिमा पाइन्छन् । समवृत्त र अर्धसमवृत्त छन्दको उदाहरणले छन्दको विविधातालाई प्रस्ट्याएका छन् । विसमवृत्त छन्द नेपाली साहित्यमा प्रयोग भएको नपाइए पनि लेखकले त्यसको प्रयोग हुनसक्ने सम्भावनालाई भने नकारेका छैनन् । 

छन्दको इतिहास लेखन यात्रामा पूर्व समालोचकहरूले प्रस्तुत गरेजस्तै स्थापित कविका कविता मात्रै यस कृतिमा नभएर नवीन कविका उदाहरणले नयाँ पुस्तालाई ऊर्जा थप्ने काम पनि समालोचक जितालीले गरेका छन् । यति हुँदाहँुदै पनि यो कृति कुनै कवि विशेषप्रति अलि बढी नै अनुरक्त भएको हो कि भन्ने भान पनि पाठकमा पर्न सक्ने सम्भावना पनि बलियो छ ।

प्रकाशित: भाद्र २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार