साहित्य/विविध

पुस्तक अंश : एेश्वर्यसँगै परीक्षा

- चीजकुमार श्रेष्ठ, काठमाडौं
संस्कृतको किताबमा भएको एउटा कथा परीक्षामा नेपालीमा लेख्नुपर्ने थियो । ऐश्वर्यले त्यो कथा धेरैजसो बिर्सिएकी रहिछन् । उनले मलाई कथा भन्न भनिन् । मलाई त डर लाग्यो, कतै गार्डले समाउँछ कि ? मलाई परीक्षाबाटै निकाल्दिन्छ कि ?

भाद्र २६, २०७४-रानी ऐश्वर्यसँग एउटा संयोग पर्‍यो । त्यतिबेला उनको वीरेन्द्रसँग विवाह भएको थिएन । मैले स्नातक प्राइभेट पढेको हुँ । एकपटक स्नातकको जाँच दिन काठमाडौं आएको थिएँ । शान्ति विद्यागृह लैनचौरमा सेन्टर पर्‍यो । एउटा बेन्चमा दुईजना परीक्षार्थी हुन्थे । मेरो बेन्चको अर्को छेउमा एश्वर्य परिन् । मेरो विचारमा उनले पनि प्राइभेट नै दिएकी थिइन् । 

जाँच दिन जाँदा ऐश्वर्यलाई पुर्‍याउन, लिन नै गाडी आउने । जुन दिन जुन विषयको परीक्षा हो त्यसको शिक्षक पनि गाडीमा सँगै आउने । रानी नभएकी भए पनि ऐश्वर्यलाई सबैले चिन्थे । राणाकी छोरी, त्यो शान छँदै थियो । राम्री पनि ।

त्यो बेला संस्कृत अनिवार्य थियो । ५० नम्बरको संस्कृतको जाँच स्नातकमा पनि हुन्थ्यो । संस्कृतको किताबमा भएको एउटा कथा परीक्षामा नेपालीमा लेख्नुपर्ने थियो । ऐश्वर्यले त्यो कथा धेरैजसो बिर्सिएकी रहिछन् । उनले मलाई कथा भन्न भनिन् । तपाईं आफूले लेख्दाखेरी मलाई पनि भन्नुस् भनिन् । मलाई त डर लाग्यो, कतै गार्डले समाउँछ कि ? मलाई परीक्षाबाटै निकाल्दिन्छ कि ?

 

‘डराउनु पर्दैन,’ उनले भनिन्, ‘यो अगाडि राखेको गार्ड हाम्रै मान्छे हो, केही गर्दैन तपाईं भन्नुस् ।’

 

अनि मैले बिस्तारै भनें । उनले सुनिएन, अलि ठूलो स्वरमा भन्नुस् भनिन् । अनि मैले ठूलो स्वरमै भट्याएँ । पूरै कक्षाले त्यो कथा सुन्यो र उत्तर पुस्तिकामा सार्‍यो । मैले सबैलाई ‘डिक्टेक्ट’ गराएजस्तो भयो । म भनिरहेको छु, सबैले सारिरहेका छन् । तर गार्ड केही गर्दैन । सुनेर बस्छ । मलाई अचम्म लाग्यो । बरु बाहिरबाट कोही आउन लाग्यो भने खोकेजस्तो गरेर रोक्ने संकेत दिन्छ । मान्छे अन्यत्रै गएपछि ल अब भन्नुस् भन्छ । 

त्यसपछि स्नातकको दीक्षान्त समारोहमा फेरि उनीसँग भेट भयो । त्यहाँ हेलो भन्नेबाहेक खासै कुरा भएन । 

 

उनी रानी भइसकेपछि सोसल वेलफेयर कमिटीका बैठकहरूमा फेरि भेट भयो । यसको अन्तिम बैठकमा चाहिँ म थिइनँ । कता विदेश गएको बेला थियो । त्यो बेला प्रजातन्त्र आइसकेको थियो । ऐश्वर्यको निकै विरोध भएको थियो । एनजीओ आईएनजीओमा उनको ठाडो हस्तक्षेप भयो भनेर सबले विरोध गरेछन् । ‘मैले त्यसरी आफ्नो स्वार्थ लिएर काम गरेको होइन । मलाई जुन दोष आयो त्यो उद्देश्यले काम गरेको होइन’ भनेर उनी बैठकमा रोएकी थिइन् रे । 

प्रजातन्त्र आएपछि शासनमा राजा रानीको भूमिका घट्यो । उनीहरू सार्वजनिक कार्यक्रममा उपस्थित हुने क्रम र दरबारकै भेटघाट पनि घट्यो । त्यसपछि मेरो खासै भेटघाट भएन । त्यसको केही वर्षपछि २०५८ सालमा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै नास भयो । आफ्ना तीन छोराछोरीसहित राजा रानी दुवैको निधन भयो ।

 

बन्दीपुरमा गणेशमान गोठालो 

गणेशमान कस्तो नेता हुनुहुन्थ्यो, नेपालको प्रजातन्त्रका लागि उहाँले कति संघर्ष गुर्नभयो भन्ने कुरा मैल भनिरहनु पर्दैन । यो नेपालको आधुनिक इतिहासको एउटा हिस्सा हो । उहाँले वामपन्थीसँग पनि मिलेर जाने भन्ने समझदारी नदेखाउनुभएको भए २०४६ सालको आन्दोलन सफल हुन्थेन होला र नेपालमा प्रजातन्त्रको पुनर्बहाली हुन्थेन होला । २०१७ सालमा खोसिएको प्रजातन्त्र फिर्ता ल्याउन उहाँले ३० वर्षे पञ्चायतविरुद्ध ठूलो आन्दोलन गर्नुभयो । योभन्दा ठूलो आन्दोलन र संघर्ष उहाँले राणा शासन ढालेर पहिलोपटक प्रजातन्त्र ल्याउनका लागि पनि गर्नुभएको थियो । २००७ सालभन्दा अगाडि उहाँलाई भद्रगोल जेलमा राखिएको थियो । उहाँलाई फाँसीको सजाय सुनाइसकेका थिए । अब त पक्कै फाँसी दिन्छ भन्ने भएपछि उहाँले जेलबाट भाग्ने रणनीति बनाउनुभएछ । त्यो समयमा म त सानै थिएँ । पछि अरूले भनेको सुनेको हुँ । 

 

मैले सुनेअनुसार उहाँले एउटा भरपर्दो सूत्र मिलाएर जेलभित्रै एउटा डोरी मगाउनुभएछ । ठूलो पाले पहरा रहने जेलबाट भाग्न गाह्रो थियो । पहरेदार रातभरि जेल घुमीघुमी रेकी गर्थे । जतिबेला पाले जेलको अर्कोपट्टि पुग्थ्यो । त्यतिबेला डोरीको सहाराले पर्खाल चढेर अर्कोपट्टि झर्नुपथ्र्यो । रातिको अँध्यारोमा कसैले नदेख्नेगरी उहाँले डोरी माथि फाल्ने अभ्यास गर्नुभएछ । र, सुरक्षाकर्मी अर्कोपट्टि पुगेको बेला डोरी माथि अड्काएर पर्खाल त उक्लिनुभएछ तर अर्कोपट्टि झर्नुपर्‍यो । त्यहाँ तल के छ उहाँलाई केही थाहा छैन । हेरौं भने रातिको अँध्यारोमा केही देखिँदैन । तैपनि छिटोछिटो डोरी तल झारेर त्यही डोरी समाउँदै झर्नुभएछ । तल झर्दै जाँदा जमिन नआइपुग्दै डोरी सिध्दिएछ । अब के गर्ने ? सायद १२–१५ फिट माथि नै उहाँ डोरीमा झुन्डिनुभएको थियो । ढिलो गरे सुरक्षाकर्मी आइपुग्थ्यो । उसले देखे सोझै गोली हान्थ्यो । त्यही डोरी समाएर माथि गए फेरि निस्किने यस्तो मौका नमिल्न सक्थ्यो । 

 

उहाँले सोच्नुभएछ, फेरि जेलमा गएँ भनें त फाँसी हुन्छ नै । बरु, हाम्फालें भने मरे त मरिहालियो, बाँचियो भने त बाँचियो । भित्र पक्का मरिन्छ, बाहिर बाँच्न पनि सकिन्छ । त्यसपछि आँखा चिम्लिएर डोरी छोड्नुभएछ । तल जमिनमा दुइटा कुरा रहेछन् । एउटा सिस्नोघारी, अर्को फुटेका सिसाका टुक्राहरू । उहाँ त्यसैमाथि खस्नुभयो । जीउभरि सिसाका टुक्रा गडेछन् । घाउ भएछ । 

 

घाउ भए पनि त्यही बसेर त भएन । उहाँ विष्णुमतीको तीरैतीर घिस्रिँदै बालाजु पुग्नुभएछ । त्यतिन्जेलमा गणेशमान जेलबाट भागे भन्ने कुरा प्रहरीले थाहा पाइहाल्यो । अनि त, सहरभरि उहाँको खोजी हुन थाल्यो । प्रहरीहरू सहरभरि यताउता दौडिएको उहाँले थाहा पाउनुभयो । हरेक नाका बन्द हुन थाले । अब लुक्ने कसरी ?

 

जेलबाट भागेको मान्छे, पहिले नै फाँसी सुनाइसकिएको, भेट्टाए भने त मार्छन् नै । कहाँ लुक्ने त भन्दा उहाँले एउटा जुक्ति लगाउनुभएछ । बालाजुमा एक जना सेनाको जर्नेलको घर रहेछ । घरमा जर्नेल थिएनन् । गणेशमान त्यही घरभित्र छिर्नुभएछ र जर्नेलकी श्रीमतीलाई ‘हजुर म माथि गाउँको मान्छे हुँ, भीरबाट लडेर यस्तो भयो । कति दिनदेखि केही खान पाएको छैन’ भन्नुभएछ ।  जर्नेलकी श्रीमती दयालु रहिछन् । उहाँलाई खानेकुराहरू ल्याएर दिइछन् । पानी, चिया र चिउरा खाएर एक छिन यो घरमै बस्नुभएछ । बालाजुका सबै घरमा प्रहरीले खानतलास गरिरहेका रहेछन् । यो घरबाहिर पनि प्रहरी आइपुगेछन् । एउटाले भनेछ— यहाँ पनि हेरौं । 

 

अर्कोले भनेछ— सेनाको जर्नेलको घरमा हामी सिपाहीले कसरी तलासी लिनु । हुँदैन, जाउँm भनेर फर्किएछन् । जर्नेलको घरमा खानतलासी हुन्न भन्ने थाहा भएर नै गणेशमान यो घरमा छिर्नुभएको थियो । यसरी जुक्ति लगाएर उहाँ प्रहरीबाट जोगिनुभयो । प्रहरीहरू गइसकेपछि जर्नेलकी श्रमतीलाई सत्य बताइदिनुभएछ । ‘बाहिर प्रहरीले खोजिरहेको, जेलबाट भागेको गणेशमान भन्ने म नै हुँ । तपाईंले मेरो ज्यान बचाइदिनुभयो । यस्तो अप्ठेरो परेको बेला मद्दत गर्नुभयो, धन्यवाद’ भनेर त्यहाँबाट हिँड्नुभएछ । 

पछि २०१२ सालमा म काठमाडौं पढ्न जुन बाटो आएँ, त्यही बाटो गणेशमान बन्दीपुर पुग्नुभएको रहेछ ।

 

बन्दीपुर पुगेर गणेशमान बालमुकुन्द पियाको घरमा तीन दिन गोठालो बस्नुभएछ । उनको घर टुँडीखेल जाने बाटोनेर थियो । त्यहाँ बस्दा गणेशमानले घाँस पनि काट्नुभएको थियो अरे । 

तीन दिन बसेपछि अलि थकाइ मरेछ । खाना पनि मजाले खान पाएपछि अलि फुर्ती आएछ । त्यसपछि जेल तोडेर भागेको गणेशमान मै हुँ, म यहाँ आएको कुरा कसैलाई नभन्नुहोला भनेर भारत जान्छु भनेर हिँड्नुभएको रहेछ । बन्दीपुरबाट चितवन झरेर माडी र ठोरी हुँदै गणेशमान भारत छिर्नुभएछ ।  त्यसको केही समयमा नै नेपालमा प्रजातन्त्रको आन्दोलन चर्कियो र राणाशासन ढल्यो । 

 

जनताको अधिकारका लागि आफ्नो ज्यानको कुनै परवाह नगर्ने, एकदमै साहसी र हक्की नेता गणेशमान हुनुहुन्थ्यो । पछि व्यक्तिगत रूपमा भेटघाट हुँदा मैले एकदमै साधारण, कुनै लोभलालच नभएको नेताका रूपमा उहाँलाई पाएँ । २०४६ सालको जनआन्दोलन सफल भएपछि त्यो आन्दोलनका सर्वोच्च कमान्डर गणेशमानलाई राजा वीरेन्द्रले दरबारमा बोलाएर प्रधानमन्त्री बन्न आग्रह गरे । तर, उहाँले प्रधानमन्त्री बन्नका लागि मभन्दा लायक छन् भनेर कृष्णप्रसाद भट्टराईलाई अघि सार्नुभयो । अहिले भए कुनचाहिँ नेपालीले आफ्नो हातमा आएको प्रधानमन्त्री पद कसले पो अर्काको पोल्टामा हाल्थ्यो होला र ?

 (आइतबार सार्वजनिक भएको  ष्ठको पुस्तक  ‘घुमीफिरी बन्दीपुर’ को अंश ।)

प्रकाशित: भाद्र २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार