ब्लग

हामी कति स्वार्थी!

- राजेन्द्र पराजुली

भाद्र २६, २०७४-सामाजिक–राजनीतिक दुनियाँ

पाइला राख्ने ठाउँ पनि नभएको बस रोक्नका लागि एक जना अर्धबैँसेले हात दिए । बाह्रबिसेबाट काठमाडौँ जाँदै गरेको उक्त बस रोकिएन । मान्छे राख्ने ठाउँ भैदिएको भए अवश्य रोकिने थियो । ढोकासम्मै यात्रु झुन्डिएका थिए । 

‘आफूलाई बनेपा पुग्न हतार भैसक्यो, गधाले रोकेन त  ! म जसरी पनि चढिहाल्थेँ, रोक्दै रोकेन पो त वाहियात ड्राइभरले,’ अर्धबैँसे भुतभुताइरहे, ‘म एक जना जसरी भए पनि चढिहाल्थेँ नि ।’ काभ्रेपलाञ्चोकको तीनपिप्लेबाट बनेपा जान हतारिएका ती यात्रुजत्तिकै हतारमा थिएँ म पनि कोटेश्वर पुग्न । तर, बस रोकेन । 

केही मिनेटमै अर्को बस आयो । र, घ्याच्च रोकियो तीनपिप्लेको मोडमा । ती अर्धबैँसे चढे, म पनि उनीसँगै चढेँ । बसमा उभिनका निम्ति पर्याप्त ठाउँ थियो, सिट भरिएको भए पनि । उनले कतै सिट खाली छ कि भनेर यताउति नियाले । तर, सबै भरिएको देखेपछि दिक्क मान्दै भित्तोमा अडेस लागेर डन्डी समाती उभिए । 

केही पर केराघारी भन्ने ठाउँमा पुगेर बस पुन: रोकियो र केही यात्रु चढे । अर्धबैँसे फेरि भुतभुताउन थाले, ‘कति पैसा कमाउनुपर्‍या होला यो ड्राइभरलाई, ह्याँ आफूलाई उभिन गाह्रो परिराख्या छ  ! उसलाई भने मान्छे कोच्नैपर्ने  ! फेरि यी मान्छेलाई पनि किन यही बसलाई हात दिनुपर्‍या होला, अर्को आइहाल्थ्यो नि  ! हतार गर्नुपर्ने के नै थियो होला र यी गाउँलेलाई  !’ उनले यिनै वाक्य धेरैपटक दोहोर्‍याइरहे । केराघारीबाट चढेका यात्रुहरूतर्फ धेरैपटक कर्केनजर लगाए । 

यात्रुले खचाखच भएको अघिल्लो बस नरोकिएकोमा क्रुद्ध बनेका ती अर्धबैँसे आफ्नो स्वार्थसिद्ध भइसकेपछि अरूका निम्ति बस रोकिएकोमा चिन्तित थिए । आफूलाई जस्तै अरूलाई पनि छिट्टै कतै पुग्ने हतारो होला भन्ने तिनलाई किञ्चित पनि महसुस थिएन । उभिनका लागि पर्याप्त ठाउँ भएको बस रोकिनु सामान्य कुरो थियो । ती अर्धबैँसेले कति चाँडो बिर्सिएका बस नरोक्दा आफूलाई अप्ठेरो परेको  ! भनेको ठाउँमा बस नरोक्दा आफूलाई जस्तै अरूलाई पनि अप्ठेरो पर्ला भन्ने तथ्यबोध उनमा बिल्कुलै थिएन ।

अर्धबैँसे हाम्रा प्रतिनिधि पात्र हुन् । उनले एउटा स्वार्थी प्रवृत्तिको प्रतिनिधित्व गर्छन् । हामी आफ्ना स्वार्थसिद्ध भइसकेपछि अरूलाई जस्तोसुकै सकस परोस् चासो राख्दैनौँ या यस्तो सोचले भूमिका खेलेको पनि हुनुपर्छ, हामीलाई आफ्नो समस्या संसारकै सबैभन्दा ठूलो समस्या लाग्छ । जसरी आफ्नै घाउ सबैभन्दा बढी दुख्छ । दशकौँअघि आचार्य रजनीशले समाजले पक्रेको परपीडक (स्याडिस्ट) बाटोबारे चिन्ता जनाउँदै भनेका थिए— हामी अरूको दु:खमा आफ्नो सुख देख्छाँैँ, अरूको गुम्नुमा आफ्नो प्राप्ति । अरूको मृत्युमा आफ्नो जीवन देख्छौँ अनि अरूको हारमा आफ्नो जित । अरूको रोदनमा आफ्नो हाँसो । अरूको भत्कनुमा आफ्नो निर्माण । 

थप अर्को प्रसङ्ग । 

मनकामना मन्दिरमा सदाको शनिबारझैँ त्यो शनिबार पनि भीड लागेको थियो । सयभन्दा बढी दर्शनार्थी कहिले माताको दर्शन पाइएला र टाउको ठोकेर याचना गरुँला भन्ने चिन्तामा थिए । हातमा पूजासामानले भरिभराउ थालीको सबैभन्दा माथि नगद राखेर लामबद्ध भक्तजन देख्दा यस्तो लाग्थ्यो— ती ठूलै वरदान माग्ने सुरमा छन् र नै त अविचलित लामबद्ध भएर बसेका छन् । 

टन्टलापुर घामले लामबद्ध भक्तजन आलसतालस थिए । अचानक एउटा युवक फुर्तीसाथ पछाडिबाट सुटुक्क कसैले थाहा नपाउने गरी अगाडि पुग्यो । यताउति चारैतिर उसले आफ्ना चनाखो आँखा पुन: दौडायो र दोस्रोपटक पनि केही मान्छेलाई उछिनेर अघि पुग्यो । मन्दिरको मूलढोकामा पुग्न अब केवल दर्जनजति मान्छे बाँकी थिए । गर्मी त उसलाई पनि उत्तिकै महसुस भएको हुँदो हो, केही बेरअघिसम्म ऊ पनि लल्याकलुलुक थियो । तर, जब ऊ मन्दिरनजिक पुग्यो, उसको अनुहारमा एकाएक कान्ति पैदा भयो । उसलाई कुनै प्रतिस्पर्धा जितेको अनुभूति भएको हुँदो हो । यस्तो लाग्थ्यो, मनकामना माईसँग भक्तहरूलाई दिने आशीर्वाद निकै कम छ, माताले आशीर्वाद खटाएर दिन्छिन्  ! लाइन मिचेरै भए पनि चाँडो दर्शन गर्न नसक्ने हो भने त्यो सकिन्छ  !

मन्दिरको मूलढोकाबाट छिर्न लाग्दा त्यो युवकले यस्सो पछिल्तिर फर्किएर लामबद्ध मान्छेहरूतिर हेर्‍यो । उसले आफ्नो अनुहार एक प्रकारको कपटी मुस्कानले भर्‍यो । सबैलाई आफूले जितेको दम्भ उसको अनुहारमा झल्किएको थियो । लाइन व्यवस्थापन गर्न बसेका प्रहरीले उसलाई भित्र जाने अनुमति दिए, ऊ बडो ठाँटले मन्दिरभित्र पस्यो । थाहा छैन, उसले के वरदान माग्यो मनकामना माईसँग  !

राजनीतिक स्वार्थको त झन् कुरा गरी साध्यै छैन । आफूलाई मन परेको वा आफू संलग्न पार्टीले गरेका सबै निर्णय हामीलाई क्रान्तिकारी र जनमुखी लाग्छ । अझै आफूलाई कतै नियुक्ति दिने पार्टी पर्‍यो भने त कुरै अर्कै हुन्छ  ! पछिल्लो समय नेत्रविक्रम चन्द ‘विप्लव’ नामका एक क्रान्तिकारी ( !) मनुवा हरेक कुरामा नेपाल बन्द घोषणा गर्न थालेका छन् । तिनको बन्दको प्रभाव यति कमजोर छ कि निजी विद्यालयबाहेक अरू कसैले पनि उनलाई टेर्दैन । तिनलाई बन्द जति धेरै गर्न सक्यो उति नै नागरिकको उन्नति हुन्छ भन्ने लाग्दो हो कि  ! विप्लवको बन्दलाई पनि जनताको हितका लागि गरिएको देख्ने आँखा हाम्रै वरिपरि छन् । खै कस्तो स्वार्थ जोडिएको होला यस्तो बन्दको समर्थन गर्नुमा  ! कुनै दिन विप्लव पनि मन्त्री होलान् र आफ्नो कुत्सित मनसाय पूरा होला भन्ने मनुवा पनि यही समाजमा रहेछन् भन्ने बुझ्न गाह्रो छैन । 

केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीद्वारा सञ्चालित ‘साझा सबाल’ मा बोलेको कुरा सामाजिक सञ्जालहरूमा भाइरल नै भयो । देउवा सवालजवाफ गर्ने मामलामा कमजोर छन्, उनी चाँडै आवेगमा आउँछन् भन्ने कुरा धेरैलाई थाहा छ । सवालजवाफ गर्नुपर्ने त्यस्तो कार्यक्रममा मुलुकको कार्यकारी प्रमुख देउवालाई पठाउनुहुन्थ्यो कि हुन्नथ्यो, यसको जवाफ सल्लाहकार नामका उनका आसेपासेले देलान् नै । कार्यक्रममा जे भयो त्यो देशको कार्यकारीको बदनाम हो । हामी सबैको शिर निहुराउने काम भयो । तर, त्यसलाई पनि अनेकथरी कुतर्क गर्दै देउवाको जवाफ उत्कृष्ट थियो भनेर पुष्टि गर्ने निरर्थक प्रयास गर्ने पनि थुप्रै देखा परे । तिनको कुन तह र कस्तो स्वार्थ जोडिएको होला देउवा र उनको पार्टीसँग  ! देउवाको महिमामण्डन गर्ने भजनमण्डलीका स्वार्थी सदस्यले कुनै दिन कतै राजनीतिक नियुक्ति पाएको देख्न–सुन्न अवश्य पाइएला  ! अचम्म त के छ भने, माओवादी केन्द्रका केही राजनीतिकर्मी पनि देउवा जोगाउन लागिपरेका छन् । किन हामी ठीक–बेठीक छुट्याउन पनि नसक्ने अवस्थामा पुगेका हौँला ? के हाम्रो विवेक गुम्दै वा कमजोर हुँदै गएको हो ? हाम्रो निजी स्वार्थले मुलुक र समाजलाई कता डोर्‍याउँदै लगेको छ ? विश्वप्रसिद्ध लेखक जर्ज अरवेलले धेरै वर्षअघि त्यसै भनेका थिएनन्— चारैतिर छलकपट व्याप्त भएको यो जमानामा सत्य बोल्नु एउटा क्रान्तिकारी कार्य हो । निश्चय पनि सत्य बोल्न स्वार्थ त्याग्नुपर्छ । 

संसारभर नै ‘पब्लिक इन्टेलेक्चुअल’ वर्गलाई स्वतन्त्र मानिन्छ । ती कुनै पनि राजनीतिक दलसँग नजिक हुँदैनन् वा तिनले दलको सदस्यता लिएका हुँदैनन्– लिँदैनन् । तिनले दिएका सल्लाह सर्वथा जनहितमा हुने विश्वास गरिन्छ । तर, नेपालमा त्यही वर्गको नै अभाव देखिँदै गएको छ । सानो संख्यामा छ त्यो वर्ग, तर प्राय: मौन रहन मन पराउँछ । तिनको मौनता यति हानिकारक छ कि, तिनले नबोलिदिँदा समाज थप विरूप बन्दै जाने खतरा हुन्छ । राजनीति थप भ्रष्ट, दिशाहीन बन्ने र देश बिस्तारै असफल राष्ट्र बन्ने खतरा बढ्दै जान्छ । सत्य बोल्न यदि कसैले सक्छ भने त्यो पब्लिक इन्टेलेक्चुअलले मात्रै सक्छ । त्यसकारण पनि अब पब्लिक इन्टेलेक्चुअल वर्ग प्रश्न गर्न अग्रसर हुनु जरुरी छ । 

विश्वविद्यालय, प्राज्ञिक थलो, पत्रकारिता, साहित्य कर्म सबै–सबै राजनीतिबाट दूषित बन्दै गएका छन् । हरेक क्षेत्रमा राजनीतिको बाक्लो र कपटी छाया मडारिएको छ । संसारका प्रसिद्ध विश्वविद्यालयबाट विभिन्न डिग्री हासिल गरेका व्यक्ति दशम कक्षा उत्तीर्ण नेताको ढोका ढुकेर कतै नियुक्तिका निम्ति याचना गरिरहेको देखिन्छ । नियुक्ति पाएपछि त्यो प्रबुद्धले त्यही दशम कक्षावाला नेताले सार्वजनिक सभामा जति निकृष्ट कोटीको सम्बोधन गरे पनि महान् भन्न थाल्छ । स्वार्थको यो कस्तो जालो बाक्लिएको हो समाजमा  ! कता लैजाला हाम्रो समाजलाई यो प्रवृत्तिले ? किन मौन छ हाम्रो देशमा सानै भए पनि उपलब्ध पब्लिक इन्टेलेक्चुअल वर्ग ? के त्यो वर्ग पनि बिस्तारै स्वार्थी बन्न थालेको हो ? तिनले पनि कतै नियुक्ति पाइएला कि भन्ने आशा गर्न थालेका हुन् ? त्यस्तै हो भने घोषणा गरिदिए हुन्छ— अब हाम्रो स्वार्थको कुनै उपचार छैन । हामी आफैंभित्र स्वार्थको घना बादल उत्पन्न गरिरहेका छौँ । ढिलोचाँडो उक्त बादलले घनघोर वर्षा गराउँछ र त्यसले दु:खको भेल बगाउनेछ । 

 

साहित्यिक–बौद्धिक दुनियाँ

यतिखेर नेपालमा हजारौँ लेखक क्रियाशील छन् । तिनलाई व्यवस्थापन गर्न सञ्चारमाध्यम तथा साहित्यिक पत्रपत्रिकालाई हम्मे परेको छ । लेखकको सङ्ख्याको तुलनामा पुरस्कार वा सम्मान दिने संस्था र सञ्चारमाध्यम निकै कम छन् । जतिपटक रचना पठाए पनि नछापिने पीडामा थुप्रै लेखक छन् । छापिँदा पनि कुनै प्रतिक्रिया नपाउने लेखक उसैगरी अत्यन्तै धेरै छन् । जसलाई रचना छाप्न मुस्किल परेको छ, तिनलाई आफ्ना रचना नछाप्ने पत्रिका र त्यसका सम्पादक झुर लाग्छ, केही नजान्ने र वाहियात लाग्छ । अनेकतिरबाट भनसुन वा अन्य त्यस्तै प्रभाव अथवा दबाबमा पारेर बल्लतल्ल एउटा रचना छापियो भने तिनका निम्ति उक्त पत्रिका र त्यसका सम्पादक सर्वश्रेष्ठ लाग्न थाल्छ । आफ्नो दिमागमा भएका सारा विशेषण लगाएर सम्पादकको प्रशंसा गर्छ । नछापुन्जेल कमजोर र सबैभन्दा रद्दी लागेको पत्रिका तथा केही नजान्ने सम्पादक रचना छापिएपछि रातारात अब्बल दर्जाको लाग्न थालिहाल्छ  !

साहित्यिक पत्रिका होस् या अन्य माध्यममा आफ्नो रचना निस्केको अङ्क साह्रै स्तरीय लाग्छ प्राय: लेखकलाई । अनि आफ्नो रचना नभएको अङ्क कमजोर या औसत लाग्छ । अझ आफ्नो अन्तरवार्ता नै छापिएको अङ्क जति स्तरीय त अर्को कुनै लाग्दैलाग्दैन । अनेक र अनावश्यक विशेषण जोडेर आफ्नो कृतिको समीक्षा लेखिदिने समीक्षक हामीलाई विश्वस्तरको लाग्छ । क्रिटिकल तर यथार्थ लेखेर कमजोरी केलाइदिने समीक्षक हामीलाई निकृष्ट र बिकाउ लाग्छ, लेख्नै नजान्ने वा साहित्य नबुझ्ने लाग्छ  ! 

पुरस्कार मूल्याङ्कनको हालत त झनै भयावह र स्वार्थले ओतप्रोत छ । आफूबाहेक अन्य लेखकलाई पुरस्कार दिने संस्था सधैँ खराब लाग्छ हामीलाई । पुरस्कार प्रदान गर्ने संस्थामा रहेका अधिकारी बिकाउ हुन्छन्, पुरस्कार विवादित हुन्छ  ! पारदर्शिता हुँदैन, सोर्सफोर्स र चाकरी चाप्लुसी वा भनसुनमा पुरस्कार दिने ठहरिन्छ उक्त संस्था । तर, जब पुरस्कार आफ्नो पोल्टामा पर्छ तब त्यही संस्था स्वतन्त्र, पारदर्शी, लोकप्रिय र जनमुखी हुन पुगिहाल्छ  ! त्यो संस्थाको प्रमुख महान् लाग्न थालिहाल्छ । अक्षरको खेती गर्ने तथा सरस्वतीको उपासक अनि चरित्रवान् र नैतिकवान् भनी सर्वत्र चिनिएका लेखकको स्वार्थ त यो तहसम्मको हुन सक्छ भने सर्वसाधारणको मनोविज्ञान कस्तो होला ? 

पछिल्लो समय बौद्धिकमाथि एउटा आरोप लाग्न थालेको छ । बौद्धिकका अघिल्तिर ‘बिकाउ’ विशेषण लगाउन थालिएको छ । निश्चय पनि सबै बौद्धिक बिकाउ छैनन्, तर जति बिकाउ छैनन् ती दृश्यमै छैनन् । तिनको खोजी कुनै पनि विचारका राजनीतिक दलले गर्न चाहेका छैनन् । त्रिभुवन विश्वविद्यालय वा अन्य कुनै पनि राजनीतिक नियुक्ति गरिने निकायमा दलको झन्डा नबोकी नियुक्ति पाउने अपेक्षा अब कसैले नगरे हुन्छ । सरकारमा सहभागी दलबीच उपकुलपति, रजिस्ट्रार वा डिनजस्ता पदमा विवाद हुन्छ । आफ्ना निकटलाई ठूलो पद दिलाउन नपाउँदा सरकार भङ्गसम्मको कुरा उठ्छ । यो अवस्थामा प्राज्ञिक उन्नतिको कसरी कल्पना गर्न सकिएला  !

वास्तवमा साहित्यकार–पत्रकार, प्राध्यापक ‘पब्लिक इन्टेलेक्चुअल’ बन्नुपर्ने हो । किनकि, रचना सिर्जना गर्न वा समाचार लेख्न कुनै दलको सदस्यता लिनु पर्दैन । यो वर्गलाई जीवन चलाउन कुनै राजनीतिक नियुक्ति लिइराख्नु पनि पर्दैन । राम्रा लेखक–पत्रकार प्राय: स्वतन्त्र जीवन बिताइरहेका हुन्छन् । कुनै दलमै लागेका भए पनि तिनले दलका गलत कामलाई गलत भन्ने हिम्मत गर्छन् । तर, दुर्भाग्य हामीकहाँ लेखक–पत्रकार, प्राध्यापक त राजनीतिक रङमा झनै विभाजित छन् । प्रगतिशील र प्रजातान्त्रिक भनेर तिनले गर्वका साथ आफूलाई कुनै एउटा निश्चित दलको कित्तामा उभ्याएका छन् । अब निक्र्योल गर्न गाह्रो भएन— हामी अधिकांश सर्वसाधारण, साहित्यकार, पत्रकार, प्रबुद्ध वर्ग, राजनीतिकर्मी स्वार्थको डुङ्गा चढेर स्वार्थकै पोखरीमा परिक्रमा लगाइरहेका छौँ । थाहा छैन, त्यो डुङ्गा कुन दिन स्वार्थकै पोखरीमा घोप्टिने हो  ! 

प्रकाशित: भाद्र २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार