ब्लग

शेक्सपियरको जन्मघरमा छिनछिनमै नाटक

- गणेश राई, काठमाडौं

भाद्र २५, २०७४-विश्वभरिका कलमवाजहरुको सपना हुन्छ, शेक्सपियरजस्तै बन्ने । विलियम शेक्सपियर जो छन्, विश्वप्रसिद्ध लेखक । महान् नाटककार । बेलायतको स्टार्टफोर्ड अपन एभनमा उनको जन्मघर रहेको छ । उनको भौतिक आयु सन् १५९७ देखि १६१६ सम्म थियो । यतिखेर यहाँ करिब ६०० शताब्दी अघिको सम्पदाको चर्चा गरिंदैछ । जहाँ जीवन्त सम्पदा आजपर्यन्त रहेको छ । त्यो शताब्दीमा रचिएका शेक्सपियरका अंग्रेजी साहित्य अहिले पनि पढाइन्छ ।

सन् २०१७ को सेप्टेम्बर ४ तारिख बेलायतमा रहेका आफन्त जीवन राई (२११६८७५२, भूपू क्वीन्स गोर्खा सिग्नल) र रेवन राई दम्पतीका साथ लागेर शेक्सपियरको जन्मघर अवलोकन गर्ने अवसर जुर्‍यो । त्यही प्रसङ्ग देखिएका केही प्रसङ्गहरु यहाँ उल्लेख गरिंदैछ ।  

 

शेक्सपियरको जन्मघर

विलियम शेक्सपियरलाई उनको जन्मघरमै भेट्न सकिन्छ । तर, भौतिक रुपमा नभई उनको कृति र वंशथलो हेरेर जान्न सकिन्छ । उनी जहाँ जन्मेर बाल्यकाल बिताएका थिए । हुर्किंदै गर्दा खेलेको घर र आँगन जस्ताको तस्तै छ, त्यहाँ मात्र शेक्सपियर छैनन् । त्यही घरमा उनका बुबाले चलाएको व्यवसाय छालाको पञ्जा बनाउने घरेलु कारखाना अझै छ । त्यसबारेमा शेक्सपियरले हेर्ने, बुझ्ने, जान्ने, सिक्ने मौका पाएका थिए । अहिले पनि त्यसलाई संरक्षण गरेर राखिएको छ । पर्यटक र आगन्तुकले अवलोकन गर्न सक्छन् । त्यो घरमा अहिले पनि त्यही समयको प्राचिन वस्त्र (मिडिबल ड्रेस) पहिरिएका कलाकारहरु, कर्मचारीहरु खटिरहेका छन् । उनीहरुले शेक्सपियरको बाल्यकालिन जीवन कहानी भनेर त्यो प्राचिन समयको याद दिलाउँछन् । उनीहरुले स–सना घरेलु बस्तुहरु देखाएर व्याख्या गरिदिन्छन् । प्राचिन घरको स्याहार सम्भार, रखवारी, मौलिक वस्तुहरुको सुरक्षा त गर्ने नै भए । आधुनिकताको चापबाट जोगाउन कति सकस भएको होला ?

आगन्तुकहरुलाई ‘द शेक्सपियर सेन्टर’ लेखिएको घरको ढोकाबाट प्रवेश गराइन्छ । टिकट घरका कर्मचारीको सुरक्षा जाँच र अनुमती पछि यात्रा सुरु हुन्छ । भित्तामा कुँदिएको छ, ‘मलाई तिम्रो जीवन कहानी सुन्न ठूलो इच्छा छ ।’ शेक्सपियरको अमूर्त चित्र त्यहीसँगै छ । दायाँ कुनाको ठूलो पर्दामा शेक्सपियरका ख्यातिप्राप्त नाटकहरुलाई श्रव्यदृश्य श्रृंखलावद्ध प्रदर्शन भइरहेको हुन्छ । भित्तामा शेक्सपियरका कृतिहरुको नाम, पात्रलाई धातुको ठूलो सिक्काको आकारमा कुँदेर सजाइएका छन् । पुस्तकहरु प्रदर्शित छन् । उनको वंशावली भित्तामै टाँगिएको छ ।

भित्री आँगन छिरेपछि शेक्सपियरको जन्मघर आउँछ । घर दुई तले छ, भूईतला र माथिल्लो । काठको खाँबा, इट्टा, माटो र टायलको छाना लगाइएको छ, जुन शताब्दीऔं पुराना हुन् । छानो नेपाली शैलीभन्दा केही चुच्चो देखिन्छ ।

घरभित्र शेक्सपियरका आमा–बाबुले प्रयोग गरेको ठूलो खाट छ । त्यो समयमा ठूलो खाटसँगै जोडेर बच्चालाई कोक्रो र सँगै सानो खाट राखिएको छ ।उतिखेर बच्चालाई पाँच वर्षसम्म आमाबाबुसँगै सुताउने चलन थियो । त्यसपछि छुट्टै कोठामा राखिन्थ्यो । जहाँ दाजुभाइसँगै रहेर बिताएका दिनहरुको स्मरण गराउँछन्, कलाकार अर्थात् गाईडहरु । यी गाइडहरुको भेषभूषा, भाषाशैली, प्रस्तुतिले शेक्सपियरकालिन जीवन्तता झल्काउँछ । महान् लेखक विलियम शेक्सपियरको यी सम्पूर्ण भौतिक सम्पदा र बौद्धिक सम्पत्तिहरुको प्रवर्द्धन कार्य ‘द शेक्सपियर बर्थप्लेस ट्रस्ट’ले गर्दैआएको छ । यो ट्रस्ट पब्लिक डोनेसन (सार्वजनिक अनुदान) बाट चलेको छ ।  

 

शेक्सपियरको वंश

बुबा जोन शेक्सपियर र आमा मेरी आर्डेनको विवाह सन् १५५७ मा भएको थियो । दम्पतीको आठ सन्तान थिए । त्यसमा तेस्रो सन्तान विलियम शेक्सपियर थिए । विलियम शेक्सपियरले आन्ने आथवेसाग सन् १५८२ विवाह गरेका थिए । जसबाट तीन सन्तान जन्मिएका थिए । दुई छोरी (सुजना र जुडी) र एक छोरा हामनेट थिए । छोराको ११ वर्षको बाल्यावस्थामै निधन भएको थियो ।

 

प्रतिभाशाली शेक्सपियर

विलियम शेक्सपियर पढाइमा तेज थिए । उनले पढेर लण्डनमा जागिर सुरु गरेका थिए । त्यो समयमा उनको तलब वार्षिक ६० पाउण्ड थियो । त्यतिखेर एक प्रधानाध्यापकको बार्षिक तलब ३० पाउण्डमात्र हुन्थ्यो । अर्थात् विलियम शेक्सपियरको बौद्धिक क्षमता र प्रतिभाको खरो मापन भएको थियो । विलियम शेक्सपियरको अधिक तलबले नयाँ इतिहास रच्यो । उनले दुई वर्षको तलबले जन्मघरदेखि दश मिनेटको पैदल दुरीमा घर किने । जुन ठाउँ अझै पनि शेक्सपियरको ‘न्यु प्लेस’ (नयाँ ठाउँ) भनेर चिनिन्छ । शेक्सपियरले आर्जेको घर र बगैंचाहरु यहीं छन् ।

प्रवेशद्वारसँगै दायाँतर्फ बगैंचा छ । त्यहाँ त्यो समयको प्राचिन इनार सुरक्षित राखिएको छ । त्योभित्र पानी पनि छ । थरीथरीका फूल र बगैंचामाथि शेक्सपियरका कृतिको नामहरु धातुमा कुँदिएका छन् । ती चर्चित नाटक र अन्य कृतिको शीर्षकलाई धातुको ध्वजा बनाएर ठड्याइएका छन् । त्यस्तै, भूइमा चर्चित सनेटको शीर्षकलाई धातुमा कुँदेर आधुनिक शैलीमा बिछ्याइएका छन् । बगैंचामा फूल र बोटबिरुवा मात्र छैनन्, त्यसमा बिसाउने ठाउँहरु राखिएका छन् । शेक्सपियरका नाटकका पात्रहरुलाई आधार बनाएर कुँदिएका धातुका थरीथरीका मूर्तिहरु बगैंचा वरिपरि सजाएर राखिएका छन् । शेक्सपियरका ३८ नाटक, १ सय ५४ सनेट, दुई लामा कविताहरु प्रकाशित छन् । उनका ख्यातिप्राप्त नाटकमध्ये २६ वटा यही घर र बगैंचामा बसेर लेखेका थिए । त्यसैगरी सनेट र अन्य कविताहरु पनि यहीं रचेका थिए । ती कृतिहरु संसारकै नमुना बिउमात्र होइन, शनै शनै सतिसाल बनेर उभिएका छन् ।

 

छोरीको घर

शेक्सपियरको न्यु प्लेसबाट दश मिनेट दुरीमा ‘हल्स क्रफ्ट’ भन्ने घर छ । त्यो उनको छोरी सुजनाको घर हो । सुजनाको विवाह डाक्टर जोन हलसँग भएको थियो । उनकै नामबाट हल्स क्रफ्ट रहेको हो । यसभित्र जडीबुटी बनाउने गरेको सामानहरु सजाइएका छन् । आयुर्वेद सम्बन्धी पुस्तकहरु छन् । भाँडाकुँडाहरु छन् । डाइनिङ हलको भित्तामा शेक्सपियरको परिवारको चित्रकला सजाइएको छ । उतिबेला प्रयोग गरिएका कुर्सी, टेबल र फर्निचरहरु राखिएका छन् । त्यो घरसमेत ‘द शेक्सपियर बर्थप्लेस ट्रस्ट’ अन्तर्गत रहेको छ । पुरानो शैलीको घर जरजर अवस्थामा छ । चारैतिरबाट फलामको खाँबाले टेको दिइएको छ ।

 

नाटक यसरी

विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरलाई उनका कृतिहरुले बचाइरहेको छ । उनको नाटकलाई जहिलेसुकै जीवन्त तुल्याउने काम कलाकारहरुले गर्दैआएका छन् । अंग्रेजीमा रचिएका नाटक विश्वका अनेकन भाषामा अनुदित र प्रदर्शित छन् । यद्यपि शेक्सपियरको जन्मघरमा हरपल नाटक प्रदर्शन गरिन्छ ।

शेक्सपियरको जन्मघरको आँगनमा खुल्ला नाट्यशाला रहेको छ । यो एक खाले डबली (नाटक मञ्चन) स्थल हो । कलाकारहरु तैनाथ रहछन् । उहिलेकै पहिरनमा सजिएका उनीहरुको साथमा प्राचिनता जनाउने नाट्य मञ्चन सामग्रीहरु छन् । शेक्सपियरका नाटकहरु प्रदर्शन गर्दछन् । पर्यटक, आगन्तुक या दर्शकले अनुरोध गरेमा तत्कालै नाटकको अंश रुचीपूर्ण ढंगले अभिनयसहित प्रस्तुत गर्दछन् । ‘म्यागवेथ’ शेक्सपियरको चर्चित नाटकमध्ये एक हो । हामी नेपाली टोलीले डबली अगाडि पुग्नासाथ ‘म्यागवेथ’को एक भाग दुई नारी पात्रले एक मिनेटभित्र चित्ताकर्षक ढंगले प्रस्तुत गरेर मन्त्रमुग्ध तुल्याए । शेक्सपियरको यो वियोगान्त नाटक हो । जुन् सबैभन्दा पहिले सन् १६१६ मा प्रदर्शन गरिएको मानिन्छ । यसमा राजनीतिक महत्वकांक्षा पूरा गर्ने ध्ययमा  शारीरिक, संवेगात्मक र मनोवैज्ञानिक रुपमा असर पार्ने विषय समेटिएको छ ।

तस्बिर सौजन्य : जीवन राई

प्रकाशित: भाद्र २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार