प्रवास

समलिङ्गी विवाह मान्यताका लागि अस्ट्रेलियामा मतदान

- नारायण खड्का, अस्ट्रेलिया

भाद्र २५, २०७४-समलिङ्गी विवाहलाई मान्यता दिने वा नदिने विषयमा अस्ट्रेलियामा हुलाकबाट राष्ट्रिय रुपमा मतदान हुने भएको छ । 

यदी उक्त मतदानबाट समर्थनको पक्षमा नतिजा आएमा अस्ट्रेलियामा समलिङ्गी विवाहले मान्यता पाउनेछ । अस्ट्रेलियामा समलिङ्गी विवाहलाई मान्यता दिनुपर्छ भन्ने विषयमा लामो समयदेखि कुरा उठाउँदै आइएको छ । संसदीय निर्वाचनको समयमा पनि यो विषय प्राथमिकतामा परेको थियो । सरकारले १ सय २२ मिलियन अष्ट्रेलियन डलर मतदानमा खर्च गर्ने जनाएपछि यस सम्बन्धमा अदालतमा मुद्दा समेत परेको थियो । तर, मुद्दामा अदालतले सरकारको पक्षमा फैसला गरेपछि यही मंगलबार मतपत्र हुलाकमार्फत सबै अस्ट्रेलियालीहरुलाई वितरण गर्ने सरकारले तयारी गरेको छ ।

अहिले अस्ट्रेलियामा समर्थन र विरोधमा आवाजहरु आइरहेका छन् । तर, पनि प्रधानमन्त्री माल्कम टर्नबुलले र विपक्षी दलका नेता बिल सर्टनलगायतले भने यसलाई समर्थन गर्ने बताइरहेका छन् । यदी यहाँका जनताले समर्थनको पक्षमा बहुमत दिए भने संसद्‌मार्फत यसलाई कानुनी रुप दिइने तर विरोधमा मत खसेको खण्डमा भने संसदबाट यो पास नहुने प्रधानमन्त्री टर्नबुललाई उल्लेख गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसका साथै समलिङ्गी विवाहको पक्ष र विपक्षमा रहेका सर्वसाधारणहरुका बिचमा झडप भएको समाचारहरु समेत सार्वजनिक भएका छन् । पक्ष र विपक्षमा यहाँ रहेका सबै दलहरुका सांसदहरु पनि एकमत हुन सकेका छैनन् भने सबै राजनीतिक दलहरुबीचमा समेत एकमत देखिएको छैन । 

प्रकाशित: भाद्र २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार