फिचर

इतिहास : मान्छेको मूल्य !

  • उबेला महिला, पुरुष र बालकलाई ‘मासेर’ दास बनाइन्थ्यो । यस्तो मासिनु भनेको पारिवारिक सम्बन्ध अर्थात् प्रेमबाट अलग गरिनु थियो । त्यति बेला मान्छे वस्तु बन्थ्यो । तर आज नि ?
- अर्जुन पन्थी
सन् १८६६ देखि १८६७ सम्म नेपालमा १८ महिनासम्म उत्तरी भारतबाट दासको ओइरो लाग्यो । खास कारण त्यहाँको अनिकाल थियो ।

भाद्र २४, २०७४-वस्तुबारे लेखिरहँदा मनमा एउटा प्रश्न बाराम्बार आइरहन्थ्यो– मान्छेको बारेमा किन नलेख्ने, ऊ पनि वस्तु होइन र ? कुनै चीज ‘वस्तु’ त्यतिबेला हुन्छ, जतिबेला त्यो नाफाका लागि राखिन्छ । धेरै ठाउँमा अहिले पनि मान्छेहरू नाफाका लागि राखिन्छन् । बाँकी कुरा अरू बेला लेखिएलान् तर यो लेखलाई राणाकालमा दासका रूपमा किनबेच हुने करियाहरूमा केन्द्रित गरेको छु । र, करिया मोचन भए पनि आजसम्म पनि त्यसका रूपहरू छैनन् र ? भन्ने प्रश्न लेखको अन्तमा उठाएको छ । 

उबेला महिला, पुरुष र बालकलाई ‘मासेर’ दास बनाइन्थ्यो । यस्तो मासिनु भनेको पारिवारिक बन्धन अर्थात् प्रेमबाट अलग गरिनु थियो । त्यति बेला मान्छे वस्तु बन्थ्यो । अर्थात् किनबेचका लागि राखिएको निस्सार जीवन । ती मान्छेहरूलाई सुकेनास रोगले ग्रस्त भएका वृद्ध चन्द्रशमशेरले मुक्तिको आँट गरेका थिए । यहाँ चन्द्रशमशेरले करिया मोचन गर्दा दिएको व्याख्यानलाई मूलआधार मानिएको छ । उनले १९८१ मंसिर १४ मा टुँडिखेलमा ठूलो सभा (हेर्नुहोस् तस्बिर) गरी सारालाई सन्ताउन्न पत्रे किताब बाँडेका थिए । तर पछि शान्ति निकेतनले प्रकाशन गरेको किताब त्योभन्दा लामो पृष्ठको छ । यसमा करियाहरू को थिए भन्नेदेखि अमलेख गर्नेसम्मका प्रयासहरूबारे जानकारी दिइएको छ । 

लडाइँमा हार्ने मान्छेबाट अरू फाइदा लिन नसक्ने हुँदा उनीहरू र दरसन्तानलाई करिया राखिन्थ्यो । समयअनुसार करिया कसलाई राख्ने भन्ने चलनमा पनि फेरफार हुँदै गयो । गरिब र कंगाल बनाइएका मान्छेहरूले आफ्ना सन्तानलाई पनि करियाको रूपमा बेच्न थाले । जंगबहादुरको शासनअघि यो चलन थियो । चोरी डकैती गरिने मान्छेलाई पनि करियाको रूपमा बेचबिखन गर्न थालियो । राजेश गौतमले आफ्नो पुस्तक ‘राणाकालीन नेपालको एक झलक’ मा लेखेका छन् कि देशका लागि लड्न गएका सिपाही, पुलिस र अड्डाबाट कतै खटिई गएका कर्मचारीहरूको स्वास्नीले अर्कालाई करणी गराएमा, गर्ने गराउने दुवैलाई दासी बनाइन्थ्यो । सरकारको विरोध र विद्रोह गर्नेहरू पनि जंगबहादुरको समयअघि दासी बन्थे । जहर सेनले ‘कैलाश’ जर्नलको लेखमा उल्लेख गरेअनुसार भारतमा तल्लो जात कहलिएका मानिसहरूलाई दासको रूपमा किनेर नेपाल ल्याइन्थ्यो । नेपालमा पनि जंगबहादुरले आफ्नो मुलुकी ऐनमा दास बनाउनलाई जात छुट्याए । ब्राह्मण, क्षत्री र राजपूतलाई दास बनाउन पाइँदैनथ्यो । 

यी दासहरू काम र इज्जतका लागि त राखिन्थ्यो नै, बेचेर नाफा कमाउनका लागि पनि पालिन्थ्यो । करियाले मालिकको घरमा दिनभर खेतमा काम गर्नु त छँदै थियो । ‘राति मालिक मालिक्नीको खुट्टामा तेल घस्ने, जुठोचुलो गर्ने, ढिकी जाँतो, घाँसपात, भकारा सोहर्ने, सबैको विवाहमा डोली बोक्ने, कलश बोक्ने आदि काम गर्नुप‍र्‍थ्यो,’ भीमबहादुर पाँडेले ‘त्यसबखतको नेपाल’ मा लेखेका छन् । त्यति मात्र होइन मालिकको यौनदासी पनि बन्नुपर्दथ्यो ।

मालिकले करियाका सबै जहान पाल्न गाह्रो–साह्रो परेमा उनीहरूलाई बेचिदिन्थे । किन्नेहरू प्राय: खेतीवाला हुन्थे अर्थात् जमिनदार । रिस उठेको बेला मालिकले करियालाई काममा दल्ने र नौडाँडा पनि कटाउने गथ्र्यो । यस्ता मानिस बिक्री हुने बजार थिए । दोपाया चौपायाझैँ गरी बेचिन्थे उनीहरू । जता मूल्य बढी आयो उतै । कल्पना गर्दा पनि अत्यास लाग्ने ती परिवारहरू जबरजस्ती छुट्टिँदा, कति रुवावासी हुन्थ्यो होला । आफ्ना सन्तानहरूसँग प्रेम अंकुराउन नपाउँदै बेचिनुपर्दा । माथि नै भनिसकेँ, उनीहरूलाई जिन्दगीको सार निख्रिएका वस्तु बनाइन्थ्यो । बेचिएका करियाका सन्तानलाई आमाबाबु को हुन् भन्ने नै थाहा हुँदैनथ्यो । १९८० सालसम्म त धनीका छोरीको विवाहमा दाइजो दिइन्थ्यो । पाँडेले लेखेका छन्, ‘आजभोलि सेफ, फ्रिज, मोटर, सोफा दाइजो दिएझैँ ।’ त्यस्तो बेला मान्छे (करिया) के वस्तु थिएन र ?

मालिकहरूले खालि नाफा सोच्थे । करिया पाल्दाको नोक्सानी तिनका छोराछोरी बिक्रीबाट उठाउन पाइन्छ भन्ने हेतु उनीहरूमा थियो । चन्द्रशमशेरको व्याख्यानमा लेखिएको छ एउटी कमारीबाट ६ ओटा छोराछोरी जन्माउने र ६ वर्षसम्म त्यसलाई पालेर बेच्ने हिसाब किताब मालिकहरूसँग हुन्थ्यो । कमारी ‘बाँझी नै रहली’ कि भन्ने चिन्ता मालिकहरूमा हुन्थ्यो । कमारीले पेट बोकेमा मालिकले हर्ष मान्थे । पेट नबोकेमा लोग्ने बराबर फेरिन्थ्यो । पाँडेका अनुसार सात/आठ ‘बेत ब्याएमा’ र छोरी पाएमा मालिकले चिठ्ठा परेजस्तो आनन्द अनुभव गर्दथे । यस्ता नाफाखोर थिए त्यति बेलाको नेपालमा पनि  ! 

यसरी खरिद–बिक्री गरिएका महिलाहरू मालिक र ‘आफूसुखी’ बाट यौन शोषणमा पर्थे । त्यति बेला दास नबन्ने जातका मानिसलाई ‘आफूसुखी’ भनिदोरहेछ । आफ्नो खुसअनुसार काम गर्न पाउने भएकाले । अन्य ‘आफूसुखी’ बाट जन्मेको बच्चा भएमा ऐनबमोजिमको दस्तुर तिरी अमलेख गराउन पाउने सरकारी व्यवस्थालाई पनि मालिकहरूले लत्याइदिन्थे । त्यस्तै मालिकबाट जन्मेका करिया महिलाका छोराछोरी स्वत: अमलेख अर्थात् स्वतन्त्र हुने भएकाले उनीहरूले गरिब लोग्ने खोजेर बिहे गरिदिन्थे । ताकि उसबाट जन्मेको सन्तान भनेर फेरि करिया नै रहोस् । अझ यौन सुखका लागि फेरि त्यहीँ बेचिएकी करियासँग पनि जान्थे । 

बेचिनु त नियति नै थियो । करियाले सम्झँदा हुन्, ‘हाम्रो भाग्य नै यस्तै’ तर भाग्य थिएन त्यो, सामन्ती व्यवस्थाको चलन थियो । भारतमा रहेका इंगलिस्तानी पनि करिया बेचबिखनको धन्धामा लागेकै थिए । समय र चलन फेरफार हुँदै गएपछि उनीहरूले पनि अमलेख गरे । तर फेरिँदो अर्थतन्त्रबीच हुर्किरहेको भारतीय बजारमा करियाहरूलाई उपभोग गर्नचाहिँ छाडेनन् । यस्तो भारतीय बजार नेपाली करियालाई पनि बेचिने ठाउँ थियो । ‘त्यतिबेला भारतीय फौजमा भर्ती गराउने लालच देखाउँदै गल्लावाल आउँथे नेपालमा,’ चन्द्रशमशेरको मन्तव्यमा छ । ती गल्लावालले भर्तीको दलाली मात्र गरेनन् । कोइलाखानी, चियाबगान, कोठी, गल्लीहरूमा कुल्ली कामका लागि पनि मान्छेहरू ओसार्न थाले । करियालाई भगाएर हिन्दुस्तानका गल्लीहरूमा बेचिन थालियो । ‘यति उति कमाउनेछौ’ भनेर लालच देखाई कुल्ली काममा लैजाने भर्तीवालाका पञ्जामा उनीहरू परे (पृ. ३२) । 

यसरी पुरुषहरू मात्र हैन महिलाहरू पनि हिन्दुस्तानमा बेचिन सुरु भए होलान् भन्न सकिन्छ । यस्ता अंग्रेजी फौजमा भर्ती गराउने लालच देखाउने गल्लावालले करिया मात्र नभई ‘आफूसुखी’ मान्छेलाई पनि हिन्दुस्तानमा लगे होलान् । अझ सुधा करियाहरू त गल्लावाल अथवा भर्तीवालाको पञ्जाबाट मुक्त हुन सक्ने कुरै भएन । एक आपत्बाट फुस्केर अर्को आपत्मा पुगेझैँ ।

यो समय र सन्दर्भमा राणाकालमा ३ पटक करिया मुक्तिको प्रयास थालियो । जंगबहादुरको पालामा । देवशमशेरको पालामा । चन्द्रशमशेरको पालामा । 

डेनियल राइटलाई उल्लेख गर्दै जहर सेनले लेखेअनुसार सन् १८७७ (विसं १९३४) मा नेपालमा २० देखि ३० हजार दासहरू थिए । सन् १८६६ देखि १८६७ सम्म नेपालमा १८ महिनासम्म उत्तरी भारतबाट दासको ओइरो लाग्यो । खास कारण त्यहाँको अनिकाल थियो । यसरी ल्याउने दासहरू सिसागढी (चिसापानीगढी), हेटौँडा, पर्सौनीलगायतका ठाउँमा राखिन्थे र उच्च नाफामा बेचिन्थे । कतिपय त आफ्ना आमाबाबु र नलनाताहरूले नै बेच्न आउँथे । धेरै अर्थमा उनीहरू कथित ‘तल्ला जाति’ भनिएका हुन्थे । अभाव अनिकालमा अभिभावकले पाल्न नसकेका आफ्ना बच्चाहरू नेपालीलाई बेचिदिन्थे, पटना डिभिजनको कमिस्नर जेनकिनको रिपोर्ट उद्धृत गर्दै सेनले लेखेका छन्– यसमा भारत सरकारले खासै नियन्त्रण राखेको थिएन ।

त्यति बेला ४ देखि ५ रुपैयाँमा दासहरू किनेर नेपालमा ३० देखि ४० रुपैयाँसम्म बेचेर नाफा कमाउँथे । त्यस्ता मान्छेहरूमा गोर्खा सिपाहीहरू हुन्थे । भारत र नेपालको बीचमा किनिएका दासहरूलाई ल्याउनका लागि विभिन्न चौकी, कचहरी तथा डिपोहरू हुन्थे । गोदामजस्तो । बिचरा कति त बाटैमा मर्ने रहेछन् । दसैँबजारको खसीझैँ ।

सन् १८६६–६७ मा उत्तरी भारतबाट ल्याइएका यस्ता ४५० दासलाई जंगबहादुरले मुक्त गरी काठमाडौँस्थित ब्रिटिस भारतीय दूतावासमा बुझाए । उनले बच्चाहरू किनबेच गर्न नपाइने ऐन पनि बनाए । पुन:स्थापनाका लागि फर्काइएका महिला दासीहरू फेरि नेपाल जान चाहन्थे । सम्भवत: अनिकालको जीवन सम्झेर । त्यति बेलाको बंगाली प्रशासनिक रिपोर्टलाई उल्लेख गर्दै सेनले लेखेका छन्, भगौडाहरूलाई नयाँ मुलुक र मोरङमा लगेर छाडिन्थ्यो । किनभने कतिपय जंगलको बाटो भागेर आउँथे । औलोको जगजगीको बेला भएकाले मानिसहरू नयाँ मुलुक र मोरङमा धेरै काल बाँच्न सक्दैनथे भन्ने डर थियो । यसबाट जंगबहादुरले गरेको अमलेख भारतबाट बेचिने दासहरूलाई रोक्नजस्तो देखिन्छ । उनीपछि देवशमशेरले पनि करिया मोचनको अभ्यास गरे ।

देवशमशेरकी रानीले नेल ठोकिएकी कमारीलाई मालिकले दिएको दु:ख देखी उसको मोल धनीलाई दिएर अमलेख गरेकी थिइन् । ईश्वर बरालले संकलन गरेको देवशमशेरको परंपट्टामा यसबारे उल्लेख छ । कमारा–कमारीको बिक्री गरिने कागजपत्रलाई परंपट्टा भनिनेरहेछ । यसअनुसार रानीको थप इच्छाबमोजिम धनीलाई खेत बिर्ता दिएर कास्की लमजुङमा देवशमशेरले १९५८ सालमा करिया अमलेख गराए । तर त्यो पूर्ण थिएन । धनीले ज्यादा कुटपिट सास्ती सासना नदिएसम्म उसकहाँ काम गर्नुपर्ने थियो । यदि धनीले त्यस्तो दु:ख दिएमा नजिकैको अड्डाबाट छुटाइदिने भन्ने थियो । तेस्रो प्रयास चन्द्रशमशेरले गरेका थिए ।

चन्द्रशमशेरले करिया मुक्तिका लागि १४ लाख रुपैयाँ टुँडिखेलमा ‘स्पिच’ दिनुअघि नै छुट्टाएका थिए । उनले भनेका छन् ‘फेरि थप्न चाहिए जति भरबित्तो गरीकन पनि पु‍र्‍याइदिनमा बाँकिराख्ने छैनँ,’ (पृ. ६०) । के. मजुमदारलाई उद्धृत गर्दै जहर सेनले लेखेका छन्– चन्द्रशमशेरको पालामा नेपाल सरकारले ३६ लाख ७० हजार रुपैयाँ करिया मुक्तिका लागि खर्च गर्‍यो । ५९ हजार ८७३ जना करियामध्ये ५१ हजार ७ सय ८२ लाई मात्र सरकारले पैसा तिर्‍यो । बाँकी ४ हजार ६५१ लाई उनीहरूका मालिकले नै मुक्त गरे । १ हजार ९८४ जनाको यसबीचमा मृत्यु भयो । १ हजार ३४२ जना भागे । ११४ जनाले आफ्नो मुक्तिका लागि आफैं पैसा तिरे ।

पशुपतिनाथ मन्दिरको कोषबाट पैसा लिएर मुक्त गरिएकाले उनीहरू ‘शिवभक्त’ कहलाइए । उनीहरूलाई तत्कालीन ‘भिक्षाखोरी’ नामबाट परिवर्तित ‘अमलेखगन्ज’ मा राखियो । अमलेख भएका कतिपय शिवभक्तहरू सकभर पहिले बसेकै ठाउँमा बसे । पाँडेले लेख्छन्, उनीहरू शिवभक्त भएको भोलिपल्ट बाँधा पल्टे अर्थात् जीउ बन्धकी राखी पैसा सापट लिएर । यस्ता बन्धकी जीवन लिएर बाँच्नेहरू धेरै पछिसम्म थिए ।

मेरो एउटा प्रश्न अझै सकिएको थिएन, किन त उनी जस्तो जहानियाँ निरंकुश शासकलाई पनि करिया उन्मूलन गर्न मन लाग्यो ? यसबारे चन्द्रशमशेरले ‘स्पिच’ मा केही तर्क छन् । उनले अरू ज्यामी र खेतालासँग पनि करियालाई तुलना गर्दै मुक्तिको तर्क बलियो देखाएका छन् । ‘बानियारे (ज्यालामा काम गर्ने) लाई करियाका जस्तै जन्मभर खुवाउनु नपरी आफूलाई चाहिने टाइमसम्म मात्र राख्न पाइने हुनाले यो चलन साह्रै बेस हो’ भनेका छन् । यसबारे त मालिकहरूलाई फाइदा हुने भन्दै हिसाबकिताब नै देखाएका छन् । यसको अर्थ सामन्ती अर्थतन्त्रबाट देश ब्रिटिसहरूको जस्तै उदार अर्थतन्त्रमा जानुपर्छ भन्ने मनसाय पनि बुझिन्छ । अझ ‘स्पिच’ मा यो पनि भनेका छन् कि करिया मुक्ति ‘रोकेर नरोकिने’, ‘नभइनछाड्ने’ कुरा भइसकेको छ किनभने ‘स्कुल पाठशाला बराबर थपिंदै गएकाले’, ‘दक्षिण सिमाना नजिक जताततै रेल’ खुलेकाले र ‘भागी मुग्लान पस्न सक्ने’ भएकाले करिया मुक्ति आवश्यक छ । चढ्दो भारतीय बजारको प्रभावले पुरानो चलन बाँकी रहँदैन भन्ने दृढता उनको मनमा परेको देखिन्छ । चन्द्रशमशेरको चिन्ता यो पनि छ कि, ‘अघि असभ्य गनिएका मुलुकहरूमा पनि यो चलन उठिसक्यो, हामी मात्र यो कुरीतिको फन्दामा फसिरहेका छौँ’ (पृ. ४९) । किनभने तत्कालीन लिग अफ नेसनले संसारभरका देशहरूमा यो प्रथा हटाउन अनुरोध गरेको थियो ।

चन्द्रशमशेरको थप तर्क यो छ कि करिया ‘हाम्रा धर्ममार्गको आवश्यक अंग होइन’ । धर्मको कुरासँगै मानवीय पक्षलाई पनि अघि सारेका छन् उनले त्यो (करिया) बालककालैमा बिकेको होला, ‘मेरा पनि आमाबाबु हुँदा हुन्, छँदै थिएनन् कि ? थिए भने कहाँ होलान् ? सँगमा किन छैनन् ? भनी त्यो मनमनै भन्दो हो.’ आदि चिन्ता गरेका छन् । आफ्नो ‘स्पिच’ मा यी कुराहरू तत्कालीन समयका मालिकहरूलाई बुझाउनलाई लेखेजस्तो बुझिन्छ । किनभने चन्द्रशमशेरको यो कदमका विरोधी करिया मालिक नै थिए । जे होस् ‘राज्यको धन भन्नु नै आफ्नो हो’ भन्ने समयमा लाखौँ पैसा खर्च गरेर कमैया मालिकलाई फकाउनु लरतरो काम थिएन । अन्यत्र यसैका लागि गृहयुद्ध भएका छन् ।

यो चलन आजको सम्पन्न देश अमेरिकाबाट हटाउनुपर्छ भन्दा त्यहाँ सन् १८६१-१८६५ सम्म ठूलो गृहयुद्ध मच्चिएको थियो । अरबी राष्ट्रहरूमा धेरै पछि उन्मूलन गरियो । नेपालमा भने त्यति बेला सजिलैसँग यो प्रथा कानुनी तथा केही व्यावहारिक रूपमा हट्यो ।

यसो भन्दैमा यो प्रथा नेपालमा जरैदेखि हल्लिएर गएको थिएन । प्रथा गए पनि नियत र गरिबी त बाँकी नै थियो । त्यसैले धेरै कालसम्म यो प्रथाको अवशेष कुनै न कुनै प्रकारले बाँकी रह्यो । जस्तो २०४७ सालपछि पनि नेपालमा मान्छे बेचबिखन हुने उदाहरण पनि थिए । गोपाल गुरागाईंले २०४९ सालको ‘जनमञ्च’ को रिपोर्टिङमा कञ्चनपुरका रिसुवा दगौरा चौधरीको कथा लेखेका छन् । ती रिसुवा १४ पटक बेचिएका थिए ।

रिसुवा दाङमा जन्मिएका थिए । ३ वर्ष कैलालीको मालाखेतीमा काम गरेपछि त्यहाँका मालिकले १५ सय रुपैयाँमा कञ्चनपुर झलारीका अनन्तरामलाई बेचिदिए । झलारीकै फग्गी पण्डितले फेरि १५ सयमै किने । त्यसपछि कालागौरी कञ्चनपुरमा नै बेचिदिए । त्यसपछि फग्गी राना थारूकहाँ आएर रिसुवाले ७ वर्ष काम गरे । ऋण सकिएन । यस क्रममा उनी कञ्चनपुरको सुँडा गाविसमा बेचिए, १५ सयबाट बेचिन थालेका रिसुवाको मोल मालिकहरूले नाफा खाँदै १४ औँ पटक कञ्चनपुरमा बेचिँदा २० हजार भएको थियो । यो २०४९ सालको कुरा थियो । २०५७ सालमा मात्र सरकारले कमैया मुक्त घोषणा गर्‍यो । अझै पनि काठमाडौँछेउछाउमा तरकारी खेती गर्ने साहुका टनेलमा छाप्रो बनाई बसेका कैलालीका थारू दम्पतिलाई देख्दा मुक्तिको रूप मात्र फेरिएको सार उहीझैँ लाग्छ ।

प्रश्न अरू पनि छन्, विसं २०४६ पछि माइती नेपालका कथा र वैदेशिक रोजगारका कहर पनि यसै शृंखलाका कडी हुन् कि होइनन् ? बम्बई र कलकत्ताको कोठीमा बेचिने चेलीहरूको कथा पनि यसकै उपक्रम हो कि होइन ? भारतको के कुरा, पहिले राणा दरबारमा अहिले धरान, पोखरा, काठमाडौँलगायतका सहरमा यौन शोषणका लागि ल्याइने मान्छेहरू पनि यही सिलसिला हो कि होइन ? बहस जरुरी छ, तर मान्छे मासेर वस्तु बनाउने क्रम अझै रोकिएको छैन ।

प्रकाशित: भाद्र २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार