फिचर

क्यान्सर जितेकी प्राध्यापक

- फातिमा बानु

भाद्र २४, २०७४-उनलाई आजभोलि एउटै प्रश्नले दिग्दार बनाउँछ । यो प्रश्न हो –‘अहो, तपाइँ जिउँदै हुनुहुन्छ ?’ हरेक शुभचिन्तक, आफन्तले उनलाई भेट्नेबित्तिकै सोध्ने प्रश्न नै यही हो । उनी भन्छिन्, ‘म मरिसके भन्ठान्नेहरूको अगाडि स्वस्थ भएर उभिन सकेकी छु, खुसी लाग्छ ।’

उनी अर्थात्, तारा पोखरेल । उनी शिक्षण अस्पताल महाराजगन्जकी पूर्व प्रोफेसर हुन् । त्यहाँ उनले ३९ वर्ष पढाएपछि भर्खरै अवकाशप्राप्त भएकी छन् । तारा हाल नर्सिङ संघकी अध्यक्ष छिन् । अब उनको नामको अगाडि अर्को नयाँ उपाधि पनि थपिएको छ— क्यान्सर जितेकी नर्स । १० महिना क्यान्सरसँग लडेपछि अहिले उनी पुरानै जीवनशैलीमा फर्किंदै छिन् । र, उनलाई भेट्ने मान्छेहरूलाई पत्याउन गाह्रो छ कि कुनै दिन उनी स्तन क्यान्सरबाट प्रताडित थिइन् । 

‘क्यान्सर ज्यान लिने रोग हो, यसको कुनै उपचार छैन । अझ नेपालमा त सम्भव नै छैन’ भन्ने मानसिकता अझै मेटिन नसकेको समाज हो, नेपाली समाज । अब उनको अभियान नै बनेको छ— क्यान्सरको उपचारै छैन भन्ने (कथित) मानसिकता भत्काउने र उपचार नेपालमै सम्भव छ भन्ने मानसकिता हुर्काउने । भन्छिन्, ‘क्यान्सरभन्दा ठूलो रोग ‘मानसिकता’ को हो, जसलाई मैले उहिल्यै जितिसकेकी थिएँ ।’

०७२ फागुन महिनाको एक बिहान । दैनिकीझैं उनी नुहाउँदै थिइन् । देब्रे स्तनमा स–साना अस्वाभाविक गिर्खा भेटिए । सोचिन्— यस्ता गिर्खा पहिले थिएनन्, के पलाएछ ? निकैबेर छामिन् तर, कतै दुख्ने, घोच्ने या बिजाउने भएन । झट्टै उनको मनमा चिसो पसिहाल्यो । कतै स्तन क्यान्सर त होइन ? 

शंकाले नित्य टोकिरह्यो । एक नर्स, स्वास्थ्यकर्मी भएकाले उनलाई क्यान्सरको लक्षण चिन्न मुस्किल थिएन । क्यान्सर विशेषज्ञ डाक्टर सुदीप श्रेष्ठसँग उनको राम्रो चिनजान थियो, तुरुन्तै फोन गरिन् । परीक्षण गर्दा पत्ता लाग्यो— उनको शंका सही नै रहेछ । भन्छिन्, ‘अहँ, कत्ति पनि आत्तिएकी थिइनँ, घरमा पनि कसैलाई भनिनँ ।’ यतिसम्म कि आफूलाई क्यान्सरको भएको कुरा उनले शल्यक्रिया हुने दिन मात्रै घरमा थाहा दिएकी थिइन्, अझ विदेशमा पढिरहेका छोराछोरीलाई त थाहा नै नदिऊँ भन्ने उनको चाहना थियो ।

‘मेरा लागि क्यान्सर सन्चो हुन सक्ने एउटा स्वास्थ्य समस्या थियो, अरूका लागि मृत्यु,’ उनी भन्छिन्, ‘त्यसैले कसैलाई भन्न चाहिनँ, भनिनँ ।’ त्यतिखेर उनलाई आफ्नो रोगबारे त्यति चिन्ता थिएन । बरु क्यान्सरबारे राम्ररी नबुझेका परिवारले थाहा पाए भने कस्तो प्रतिक्रिया होला, कति आत्तेलान् भन्ने चिन्ताले गाँजेको थियो उनलाई ।

क्यान्सरबाट लडिरहेका दिनहरूमा पनि उनले आफ्नो दैनिकी सामान्य बनाइन् । ती दिनहरूमा उनी शिक्षण अस्पताल महाराजगन्जमा ‘वमेन हेल्थ एन्ड डेभलपमेन्ट’ विषय पढाउँथिन् । शल्यक्रियापछि मुस्किलले १५ दिन मात्रै आराम गरेपश्चात् उनी पुरानै जीवनशैलीमा फर्किन संघर्ष गर्न थालिन् ।

शल्यक्रिया हुने दिनसम्म विद्यार्थीलाई थाहा थिएन कि उनलाई स्तन क्यान्सर थियो । दिनहुँ घरको ढोकामा लामो लाइन हुन्थ्यो, उनलाई भेट्न आउने मानिसहरूको घुइँचो हुन्थ्यो । ‘मलाई देख्नेबित्तिकै कोही रुन्थे, कोही अंगालो हाल्थे,’ उनले सम्झिन्, ‘उल्टै उनीहरूलाई सम्झाउनु–बुझाउनुपथ्र्यो ।’

आज पनि मानिसहरू उनलाई देख्नेबित्तिकै आँखा चौडा बनाउँछन्, कोही ‘विचराभाव’ ले उनीतर्फ टोलाउँछन् । उनलाई भने निको लाग्दैन ।

क्यान्सर पहिलो स्टेजमा मात्रै भएकाले पनि होला, उनलाई ठीक हुन समय लागेन । उपचारले काम गर्‍यो । क्यान्सर भएको स्तन झिकेर ६ चरण केमो लिएपछि उनी क्यान्सरमुक्त त भइन् । तर, मानिसहरूले उनको स्वास्थ्यप्रति गर्ने आशंका भने यथावत् छ, हटिसकेको छैन ।

यसरी तारा पोखरेललाई क्यान्सर जित्न उनको ज्ञान र विज्ञताले मात्रै सघाएको होइन । बढी सघाएको त उनको आफ्नै जीवनमा घटेको घटनाले हो, अनुभवले हो ।

ताराकी आमा पनि क्यान्सरपीडित थिइन् । ६० वर्ष पुगेकी आमालाई पाठेघर मुखको क्यान्सर भयो । आमाको क्यान्सर निको पार्न उनी नगएको अस्पताल भएन, नभेटेको डाक्टर भएन । 

‘३० वर्षअघि नेपालमा क्यान्सर अस्पताल थिएन, मैले भारत लगेँ,’ उनी सम्झिन्छिन् । यसको उपचार हुँदैन, पाँच वर्ष मात्रै बाँच्छिन् भनेर भारतबाट फर्काइएकी आमालाई उनले थप २८ वर्ष बचाइन् । आमाको क्यान्सर तेस्रो स्टेजमा पुगेको थियो । तेस्रो स्टेजको क्यान्सरलाई अहिले पनि चिकित्सकले ‘मृत्यु कुर्न’ घर फर्काउँछन् । घर फर्केपछि आमाको मनोविज्ञान खस्कन नदिन उनी लागिपरिन्, परामर्श र घरेलु उपचार गरेरै आमाको आयु बढाइन् । दुई वर्षअघि मात्रै उनकी आमा बितिन् । ‘आमालाई जिताउने तयारी गर्दागर्दै आफैं बलियो भएछु,’ उनले भनिन् । 

उनको उपचार खर्चमा नर्सिङ एसोसिएसनले एक लाख २५ हजार रुपैयाँ सहयोग दिएको थियो तर, उनले लिन मानिनन् । त्यो रकमबाट उनले क्यान्सर रोग निवारण अभियानमा अक्षय कोष खोलिन्, क्यान्सरपीडित नर्सको सहयोगार्थ । 

पेसा र चासोमिल्दो भएपछि तारालाई सुरुदेखि नै थाहा थियो— क्यान्सर रोग लाग्यो भनेर आत्तिनु हुँदैन । जीवनको एउटा मोडमा उनले यही रोगलाई बेहोरिन् । र, आत्मविश्वासकै आडबलमा पुनर्जीवन पाइन् पनि । आजभोलि तारा क्यान्सरपीडितलाई परामर्श दिँदै हिँड्छिन् । ६२ वर्षीया तारा भन्छिन्, ‘बिरामीलाई औषधिभन्दा बढी परामर्शको खाँचो छ, क्यान्सरपीडितका लागि हौसला मिसिएको परामर्श सबैभन्दा ठूलो औषधि हो ।’

 

प्रकाशित: भाद्र २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार