स्वास्थ्य

सेतो दाग

- अतुल मिश्र

भाद्र २४, २०७४-उनी दिनहुँ गाजल लगाउँछिन् । कतिसम्म भने, झन्डैझन्डै कञ्चटसम्मै तान्ने गर्छिन्, गाजलको धर्को । उनले यसो गर्नुको विशेष कारण छ । अनुहारको त्यो भागमा उनको छाला सेतो छ र उनी त्यही ‘स्पट’ लाई लुकाउन खोज्छिन् सधैँ ।

बोलचालको भाषामा दुबी/चरकसमेत भनिने ल्युकोडर्मा, भिटिलिगोबाट पीडित भएका कारण उनी गाजल लगाउँदै सधैँ बढी नै सचेत हुने गर्छिन् । 

एक समय यस्तै थियो, दुबीको उपचार थिएन । भए पनि हाम्रो मुलुकमा सुलभ थिएन । समय अहिले त्यस्तै छैन र गाजलको भर परिरहनुपर्दैन । दुबीलाई अब सामान्य उपचारबाटै निको पार्न सकिने धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् ।

‘यो छालासम्बन्धी सामान्य समस्या हो,’ उनी भन्छन्, ‘जोसुकैलाई हुन सक्छ अनि सरल र सहज उपचार पनि सम्भव छ ।’

हाम्रो मुलुकमा सेतो दागको समस्याबारे बृहत् अध्ययन भएको त छैन, तर २ देखि १० प्रतिशतसम्म जनसंख्यामा यो समस्या रहेको अनुमान छ । 

अमेरिकन एकेडेमी अफ डर्माटोलजी (एएडी) का अनुसार विश्वभरिमा लाखौं व्यक्तिलाई सेतो दागको समस्या छ । तीमध्ये आधाजति २१ वर्ष पुग्नुअघि नै यो समस्याले ग्रस्त हुन्छन् । 

उपचार नगरे दुबी जीवनभर रहिरहन्छ । यस्तो दाग आफैं हराउँदैन । दुबी आफैँ हराउने घटना दुर्लभै छ । यो समस्या सबै प्रकारको छालाको रङ भएका, सबै जातिका व्यक्तिमा उत्तिकै मात्रामा हुन्छ । सेतो दाग हुने महिला र पुरुषको संख्या लगभग उस्तै हुन्छ ।

तपाईंका कुनै परिवार सदस्य, आफन्त वा मित्रलाई दुबी छ भने, तपाईंलाई पनि सर्ने सम्भावना हुन्छ । यस्तै, अटोइम्युन रोग भएको, मुख्य रूपले ‘हासिमोटो डिजिज’ (एक प्रकारको थाइराइड रोग) वा एलोपेसिया एरिएटा (चिन्डोपना) भएका व्यक्तिलाई दुबीले दु:ख दिने सम्भावना बढी हुन्छ । 

दुबी किन हुन्छ भनेर हालसम्म स्पष्ट हुन सकेको छैन । अनुमान के भने शरीरको रोग प्रतिरोधक क्षमताले आवश्यकताभन्दा बढी काम गर्न थाल्यो भने यसले कीटाणुसँगै आफ्नै शरीरको कोषलाई समेत नष्ट गर्न थाल्छ । अनि दुबी हुन्छ ।

‘रोगप्रतिरोधी क्षमताले अति सक्रिय भएर हाम्रो छालालाई रङ प्रदान गर्ने मेलोनोसाइट कोष नष्ट गर्दा अर्थात् त्यो कोष मरेपछि छालामा सेतो दाग विकसित हुन थाल्छ’, डा. कर्ण भन्छन् । 

सेतो दागले कुनै खास शारीरिक समस्या उत्पन्न नगरे पनि यसबाट प्रभावित भएकाहरू डिप्रेसनको सिकार हुने गरेको डा. कर्ण औंल्याउँछन् । यस्तै, समाजमा यसलाई कुष्ठजस्तै देख्ने अवैज्ञानिक सोचले समेत प्रभावितलाई थप मर्का पर्ने गरेको छ । 

‘यो तपाईंको छालामुनि भएको रङ बनाउने कोषले काम गर्न नसकेर भएको समस्या हो’, डा. कर्ण भन्छन्, ‘चिन्ता नलिई यसलाई सामान्य शारीरिक प्रक्रिया ठान्नुस् । यो सौन्दर्यसम्बन्धी समस्या मात्र हो ।’ 

लक्षण

तपाईंको छालाको रङ हल्का हुन थाल्छ, त्यस ठाउँका रौंसमेत सेता हुन थाल्छन् भने यो दुबीको समस्या हुन सक्छ । दुबी चिलाउने वा दुख्ने गर्दैन । त्यस्तो ठाउँमा संवेदनशीलता पनि अन्यत्रको छालामा जस्तै हुन्छ । 

उपचार 

अचेल दुबीको उपचार जताततै हुने गर्छ । सामान्यतया यसको उपचारका निकै विधि पनि छन् । यस्तो समस्या भए छालारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । 

तथापि दुई प्रकारका उपचार बढी प्रचलित छन्– फोटोथेरापी र मेलानोसाइट प्रत्यारोपण । फोटोथेरापीअन्तर्गत बिरामीले औषधि सेवन गरेर घाममा बस्नुपर्छ । यसकै अर्को प्रक्रियाअन्तर्गत बिरामीले औषधि सेवन गरे पनि नगरे पनि एउटा मेसिनभित्र दिइने विशेष प्रकारको प्रकाशभित्र समेत बस्नुपर्ने हुन सक्छ । 

अचेल मेलानोसाइट प्रत्यारोपणसमेत हुन थालेको छ । यो अति सामान्य प्रत्यारोपण हो । छालालाई लठ्याएर बिरामी होसमा रहँदै यो प्रत्यारोपण गरिन्छ ।

यसअन्तर्गत बिरामीको शरीरमा रहेको सामान्य छालाबाट मेलानोसाइट निकालेर यसको विशेष प्रकारको झोल तयार गरिन्छ र सेतो दाग भएको भागमा लगाइन्छ । तर यसो गर्नुअघि दुबी भएको ठाउँको छालाको माथिल्लो तह लेजर प्रविधिबाट हटाइन्छ ।

यस्तै, उपचारमा विभिन्न प्रकारका औषधिको सेवन र छाला प्रत्यारोपणसमेत प्रचलनमा छ । यसअन्तर्गत सक्सन ब्लिस्टर एपिडर्मल ग्राफ्टिङ, मेलानोसाइट इपिडर्मल सेल सस्पेन्सनलगायत प्रक्रिया उपयोग गरिन्छन् ।

दुबी सर्दैन 

दुबी सरुवा रोग नभएकाले डराउनु पर्दैन । यो एक व्यक्तिबाट अर्कामा सर्दैन । यो छुँदा, सम्पर्कमा रहँदा, चुम्बन लिँदा, शारीरिक सम्पर्क गर्दा सर्दैन । यौन अंगमा सेता दाग भए पनि अन्य स्वस्थ व्यक्तिको जस्तै शारीरिक सन्तुष्टि आदिमा कुनै अन्तर आउँदैन । यो दाग हुनुमा खाद्यपदार्थको कुनै दोष हुन्न । आफूलाई रुच्ने जे खाँदा पनि हुन्छ ।

सेतो दाग/दुबी र कुष्ठमा फरक 

-दुबी भएको छालामा संवेदना हुन्छ, तर कुष्ठ भएको छालामा संवेदना हुँदैन वा निकै कम हुन्छ । 

-दुबी चिलाउन सक्छ, तर कुष्ठ चिलाउँदैन ।

-दुबी भएको छालामा रौं हुन्छ, तर यसले समेत आफ्नो कालो रङ गुमाएर सेतो भएको हुन्छ । कुष्ठ भएको छालामा रौं पनि नष्ट भएको हुन्छ ।

atulmishra7@gmail.com

प्रकाशित: भाद्र २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार