फिचर

सर्कस टु सर्कस

  • स्कुल जाने उमेरमा भारतको सर्कसमा पुर्‍याइएका नेपालीहरु उद्धार गर्ने क्रम अहिले पनि जारी छ । उद्धार गरी ल्याइएको एक समूहले सर्कसलाई फर्फरमिङ आर्ट्सका रुपमा सात वर्षअघि सुरू गरेका थिए । अहिले उनीहरु यसैमा करिअर बनाउँदै छन् ।
- राजु घिसिङ, काठमाडौं
उता (भारत) अरुले भनेजस्तो गर्नुपथ्र्यो, भएन भने कुट्थे । यहाँ चाहिँ कला मात्रै देखाउँदा पुग्छ । पर्फरमर, आर्टिस्ट भनेर चिनिँदा आफैंलाई प्राउड लाग्छ ।

भाद्र २३, २०७४-सर्कस ∕ जब यो शब्द सुनिन्छ, आङ नै सिरिंग हुन्छ । किनभने दसौं हजार नेपाली बालबालिका भारतको सर्कसमा फसेका छन् । अर्को कारण : सर्कसमा पर्फरमेन्स पनि त्यस्तै खालको हुने गर्छ, जुन कला धेरैले गर्न सक्दैनन् ।

बेलबारी, मोरङका विजय लिम्बू आठ वर्षको छँदा सर्कसमा काम गर्न मद्रास पुगेका थिए । अहिले २५ वर्षका उनले भने, ‘दलालले घरमै पढ्न पाइन्छ, राम्रो लुगा लाउन र मीठो खाना पाइन्छ भनेर मलाई फकाएर लगेको थियो । तर त्यहाँ पुगेपछि भनेजस्तो केही भएन ।’ मुम्बई सर्कसमा चार वर्ष रहेपछि उनलाई उद्धार गरिएको थियो ।

स्कुल पढ्ने उमेरमा विजयले सर्कसमा दैनिक १८ घण्टा काम गर्नुपरेको थियो । आराम जम्मा ६ घण्टा । कति गाह्रो हुँदो हो ? सोच्दा नै अत्यास लाग्छ । मद्रासमा दैनिक तीन शोसम्म गरेका उनले घर फर्कंदा चार वर्षको तलब भारु ३० हजार (नेपाली ४८ हजार रुपैयाँ) पाएका थिए । ‘दलालले भनेजस्तै हुन्छ र केही पाइन्छ भनी खुसीसाथ गएको थिएँ तर सर्कसभित्र पसेपछि पस्यापस्यै भइयो । फर्कने चान्स थिएन । बाहिर निस्कने पनि मौका थिएन । चार वर्ष बस्दा जम्मा दुईपल्ट सर्कसबाहिर घुमाउन लगिएको थियो । नत्र काम–ट्रेनिङ–काम–ट्रेनिङ ।’ उनीसँगै मुम्बई सर्कसबाट ११ केटा र ६० केटी उद्धार गरिएको थियो । त्यसमा धेरै नेपाली थिए ।

स्वदेश फर्केर गोदावरीस्थित एक होस्टलमा बसेका उनले एसएलसी परीक्षासम्म दिए । सर्कसमा सिकेको कलालाई उनले जिम्न्यास्टिक प्रतियोगितामा उपयोग पनि गरे । पाँचौं राष्ट्रिय खेलकुद २०६५ मा २ रजत र २ कांस्यपदक हात पारे भने छैटौं संस्करण २०६८ मा स्वर्ण पदक नै जिते । त्यसयता उनी प्रतियोगितामा सहभागी भएनन् । उनले नेपालको जिम्न्यास्टिकमा करिअर देखेनन् र फेरि सर्कसमै फर्किए । भारत गएनन्, दलालको फन्दामा पनि परेनन् । ‘बाध्यतावश भए पनि सर्कस जानियो । सिकेको सीप त्यही हो । यसैलाई व्यावसायिक रूपमा किन अगाडि नबढाउने भन्ने लाग्यो,’ उनले भने ।

***

सर्कसबाट रेस्क्यु गरी फर्केकाहरूका लागि सात वर्षअघि एउटा वर्कसप भएको थियो । एक महिने वर्कसपमा २३ जना सहभागी थिए । त्यसमा सर्कसमा सिकेका कलालाई करिअरका रूपमा लानेमा जोड दिइएको थियो । वर्कसपमा सहभागीहरूले नक्खु र टौखेलमा पर्फरमेन्स गरे । वाहवाही पाए । त्यसले सर्कसमै अर्को करिअरको सम्भावना देखाइदियो । र, १३ जना मिलेर सन् २०१० मा संस्था नै बनाए– सर्कस काठमान्डु ।

नेपालको पहिलो र हालसम्मको एकमात्र सर्कस कम्पनी ‘सर्कस काठमान्डु’ नै हो । यसमा संस्थापकमध्ये विजय, सरस्वती अधिकारी, शर्मिला लामा, सुनिता (शीतल) घिमिरे र डली (डोली) तामाङ अहिले पनि सक्रिय छन् । विजयबाहेक चारै जना विवाहित हुन् र उनीहरू परिवार सम्हाल्दै पर्फरमिङ आर्ट्समा निरन्तर छन् । उनीहरूले यसलाई परिचय बदल्ने अवसरका रूपमा लिएका छन् ।

‘भारतबाट फर्केर ठीक गरेजस्तो लाग्छ किनभने यहाँ फ्रिडम छ । उता (भारत) अरूले भनेजस्तो गर्नुपथ्र्यो, भएन भने कुट्थे । यहाँचाहिँ कला मात्रै देखाउँदा पुग्छ । पर्फरमर, आर्टिस्ट भनेर चिनिँदा आफंैलाई प्राउड लाग्छ,’ मनहरी ज्यामिरे, मकवानपुरकी २५ वर्षीय शीतलले भनिन् ।

उनी भारतमा पुग्दा कति वर्षकी थिइन् भन्ने यादै छैन । ‘अकोला भन्ने ठाउँमा पुगेको थाहा छ तर यो कहाँ पर्छ भन्ने पत्तो छैन । त्यहाँ लगेर हजुरआमा र बुबाले सर्कसमा हालेको मात्र याद छ,’ राजमहल सर्कसमा बिताएको नौ वर्ष स्मरण गर्दै उनी भावुक भइन्, ‘हामी ५०–६० जना थियौं । धेरै नेपाली थिए । अरू असम, बंगलादेशका । १५ वर्षमुनिकालाई रेस्क्यु गर्दा सर्कस नै खाली भयो ।’ सन् २००८ मा रेक्स्यु गरिएकी उनले थपिन्, ‘म सानै छँदा आमा बित्नुभएको थियो । मलाई सर्कसमा छाडेपछि घरका मान्छे कहिल्यै भेट्न आएनन् । त्यसैले मेरो कोही छैन भन्ने लागेको थियो । धेरै कुटाइ खाए पनि त्यहाँ बानी भइसकेको थियो । उतै रमाइलो लाग्न थालेको थियो । रेस्क्यु गर्दा पनि आउने मन थिएन, जबर्जस्ती आएँ ।’

स्वदेश फर्केर फेरि सर्कसमा लागेपछि पर्फम गर्न बेलायत जाने अवसर मिल्यो । त्यसका लागि पासपोर्ट चाहियो, जसले उनको परिवारसँग पुनर्मिलन गरायो । पाँच वर्षयता दसैंमा घर जाने गरेकी उनले भनिन्, ‘घरमा मलाई पहिले थाहा थिएन, छोरीलाई सानैमा पठाएर गल्ती भयो भन्नुहुुन्छ ।’ उनी अब करिअरकै रूपमा सर्कसलाई निरन्तर अगाडि बढाउने योजनामा छिन् । भन्छिन्, ‘फर्केपछि समाजमा घुलमिल थिएन । कसैलाई चिन्दैन थिएँ, कसैले चिन्दैन थियो । जब सर्कस सुरु गर्‍यौं तब हामी समाजमा पनि प्रवेश गर्‍र्यौं । अहिले हामीलाई आर्टिस्ट भनेर चिन्छन्, बोलाउँछन् । 

साह्रै खुसी लाग्छ । त्यसैले यसलाई करिअरकै रूपमा लाने योजना छ ।’

कटारी, उदयपुरकी २२ वर्षीया डलीका पति ड्राइभिङ गर्छन् । उनको तीन वर्षकी छोरी छन् । गत वर्ष फेरि सर्कसमा फर्केकी उनी भन्छिन्, ‘सर्कसमा फर्कंदा सुरुमा गाह्रो भयो । त्यसैले उहाँ (पति) सर्कस नगर्नू भन्नुहुन्छ । जानेको कला उपयोग गरौं भनी आफ्नै खुसीले सर्कसमा फर्केकी हो ।’

उनलाई सात वर्षको छँदा दलालले बाआमासँग कुरा गरेरै केरलाको ग्रेट इन्डिया सर्कसमा पुर्‍याएको थियो । त्यहाँ दुई वर्ष बसेकी उनले भनिन्, ‘सुरुमा माया गर्ने रहेछ । दलालले भनेजस्तै राम्रो हो भन्ने लाग्यो । तर पछि गाह्रो हँुदै गयो । फर्केर मम्मी, ड्याडी, दिदीबहिनीलाई भेट्न पाउँदा साह्रै खुसी लाग्यो । उनीहरू मलाई फेरि त्यही काम गरेको भनी सम्झाउँछन् । तर म अहिले बाध्यता होइन, आर्टिस्ट बनेर आएकी छु । आफैंलाई राम्रो लाग्छ । यो एउटा कला हो, गर्नुपर्छ ।’

‘पुरानो दाग मेटाउन सकियोस् भनी सर्कसमै लागेको हो तर त्यो जीवन र यो जीवनमा धेरै फरक छ,’ लामो श्वास लिँदै विजयले भने, ‘पहिले कसैले मतलव गर्दैनथे । टिकट किनेर आउनेले ताली बजाएर सकिन्थ्यो । फ्रिडम थिएन, अहिले छ । अहिले पर्फरमर भन्छन् । सबैले रेस्पेक्ट गर्छन् । आफूलाई गर्व लाग्छ ।’ उनले थपे, ‘महाभूकम्पपछि सर्कसमा भारत जाने नेपाली बालबालिका धेरै बढेका छन् । त्यसलाई रोक्न चाहन्छौं । आफैं जान चाहनेलाई पनि त्यो स्तरको ट्रेनिङ यहीं दिन सके उनीहरू रोकिन्छन् । हामी यसमा पनि लागेका छौं । हामी यहीं व्यवस्थित रूपले सर्कस सञ्चालन गर्न सक्छौं ।’

मकवानचुली, मकवानपुरकी २८ वर्षीया सरस्वती अधिकारी भन्छिन्, ‘सर्कस कतिले नराम्रो भन्छन् । इन्डिया गयो कि ट्राफिकिङमा परेको ठान्छन् । त्यसैले हाम्रो समाजको सर्कस आर्टिस्टलाई हेर्ने दृष्टिकोण बदल्न पनि इन्डियामा सिकेको कला यहाँ सुरु गरिएको हो ।’ उनीहरू सोमबारदेखि शुक्रबारसम्म दैनिक साढे चार घण्टा झम्सीखेलमा अभ्यास गर्छन् ।

अहिले सर्कस काठमान्डुमा विजय संयोजक छन् । सरस्वती एडभोकेसी गर्छिन् । शर्मिला कोषाध्यक्ष हुन् । विभिन्न कार्यक्रममा पर्फम गर्दा लिने पारिश्रमिक नै उनीहरूको आम्दानी भएको प्रोग्राम एसोसिएट म्यानेजर सपना सुब्बाले बताइन् । ‘हाम्रो मुख्य उद्देश्य ह्युमन ट्राफिकिङविरुद्ध जनचेतना फैलाउनु हो । बिहे, बर्थडे, पार्टी, मेलामा पर्फम गर्दा पाउने पारिश्रमिक नै हाम्रो कमाइ हो ।’ सर्कस एक्ट सिकाएर पनि आम्दानी गर्न थालेको सर्कस काठमान्डुले यूके, अस्ट्रेलिया, दुबई र नर्वेमा पनि प्रदर्शन गरिसकेको छ । आधुनिक सर्कस फ्युजन आर्ट पनि हो । त्यसैले यसप्रति पार्कर लगायत अरूका आर्टिस्टहरू पनि आकर्षित भएका छन् । 

twitter: @rghising

तस्बिरहरू : हेमन्त श्रेष्ठ

प्रकाशित: भाद्र २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार