ब्लग

यूएईमा जस्तै कानुन बोल्ने दिन कहिले आउला ?

काठमाडौं
नेपालमा भने यस्ता फुली र जौं बालाहरु लगाउनेहरु साइरन बजाउँदै हिँडेको प्रशस्तै भेटिन्छन् । उनीहरुलाई सर्वसाधारणले बाटो छोडिदिनुपर्छ । सर्वसाधारणका सानातिना विषयमा उनीहरुको ध्यान त्यति जाँदैन । कतिपय अवस्थामा प्रहरीलाई निजी काममा प्रयोग गरेको बारम्बार सुनिन्छ ।

भाद्र २२, २०७४-हालैको बिहान साढे ८ बजे म अफिसतिर हुँईकिँदै थिएँ । रसअलखैममा पुग्नु थियो । यो संयुक्त अरब इमिरेट्सको सातौं राज्यमध्येको एक ।  रसअलखैमहको बिन मजिद होटल सामुन्ने पुग्दा बाँया लेनबाट आइरहेको एउटा गाडीले हर्न बजायो । हल्का कालो सिसा लगाएको सेतो रङको त्यो गाडी भित्रबाटै एक जनाले गाडी रोक्न भने । अगाडि ओभर ब्रिज थियो । मैले गाडी रोक्न सकिनँ । त्यो गाडी अगाडि पुगेपछि ‘डबल ईन्डीकेटर’बालेर रोक्न ईसारा गरेँ । म अलमलमा परिरहेको थिएँ । गाडी साईड लगाएँ । गाडी रोकेर बाहिर निस्केँ ।  उनी पनि बाहिर निस्किए । प्रहरी रहेछ । काँधमा चारवटा फुली रहेछ । ठुलै प्रहरीका हाकिम रहेछन् । एकछिन त डर पनि लाग्यो । ऊ सीधै मेरो गाडीको अगाडि भागमा आए । मेरो गाडी मुनीपट्टि ईन्जिननिर प्लास्टिक गुजुमुज्ज परेर बेरिएको रहेछ । त्यो देखाउँदै भने,‘यो प्लास्टिक ईन्जिनको फितामा बेरियो भने आगो लाग्न सक्छ ।’ मैले प्लास्टिक निकालेँ । सम्भावित दुर्घटनाबाट जोगाइदिएकोप्रति धन्यवाद दिएँ । ऊ मुस्कुराउँदै आफ्नो बाटो लागे । 

नेपालमा भने यस्ता फुली र जौं बालाहरु लगाउनेहरु साइरन बजाउँदै हिँडेको प्रशस्तै भेटिन्छन् । उनीहरुलाई सर्वसाधारणले बाटो छोडिदिनुपर्छ । सर्वसाधारणका सानातिना विषयमा उनीहरुको ध्यान त्यति जाँदैन । कतिपय अवस्थामा प्रहरीलाई निजी काममा प्रयोग गरेको बारम्बार सुनिन्छ । यूएईका धेरै सरकारी कर्मचारीको व्यवहारलाई नजिकबाट नियाल्ने मौका पाएको छु । उनीहरु जोसुकै र जुनसुकै पदका किन नहुन् ड्युटी समयबाहेक सरकारी गाडी प्रयोग गर्दैनन् । घरबाट अफिस जान र अफिसबाट घर आउन आफ्नै गाडी चढ्ने गर्दछन् । त्यही भएर होला, ती फुलीधारी प्रहरी पनि आफ्नै निजी गाडीमा सवार थिए ।

  

मे महिनाको पहिलो हप्ता । अफिसबाट घरतर्फ फर्कंदै थिए । बाटोमा  ‘हम्प’राखिएको थियो । सुस्तरी अगाडि बढिरहेका बेला सामुन्ने ट्राफिक प्रहरीले हात हल्लाउँदै अगाडि बढ्न ईसारा दिए । उनी निहुरिएर गाडीभित्र चिहाए । सिटबेल्ट बाँधे नबाँधेको जाँच गरेका रहेछन् । नबाँधेकालाई हाँसी हाँसी ईसाराले सिटबेल्ट बाँध्नु भन्थे । बाँधेकालाई मुस्कुराउँदै ‘थम्प अप’गर्थे । सामान्य अवस्थामा प्रहरीले जरिवाना गर्ने ठाँउमा पनि गलत भो भन्दै मुस्कुराउँथे । यस्तो काम यूएईमा भाईरल छ ।

 

त्यसो त, नेपाल प्रहरीका इन्स्पेक्टर सीताराम हाछेथुको पनि प्रशंसा हुन्छ । एकजनाले मात्रै राम्रो काम गरिदिदाँ जनमानसमा राम्रो प्रभाव जाँदोरहेछ । यूएईका आममानिसलाई प्रहरीको भूमिका र न्यायप्रति उत्तिकै विश्वास छ । प्रहरीले जानीजानी नियोजित रुपमा कसैलाई फसाउँदैन र दु:ख दिँदैन भन्ने विश्वास जनतासँग छ । यूएईमा ट्राफिक प्रहरीले चालकलाई अपमान गरेको र चालकहरुले ट्राफिक प्रहरीलाई अटेर गरेको अहिलेसम्म कहिल्यै सुन्नु परेको छैन । केही दिनअघि मात्र रिसको झ्वाँकमा आफ्नो ट्याक्सी ब्याक गरेर अर्को गाडीलाई धक्का दिने पाकिस्तानी ड्राइभरलाई यूएई सरकारले उसको लाइसेन्स रद्द गरी मुलुक पठाइदियो । नेपालमा त ब्याक गरेर मान्छेको ज्यान लिने पुरानो चलन छ । त्यस्ता चालकलाई नेपाल सरकारले दुर्घटना भन्दै उन्मुक्ति दिएको घटनाहरु प्रशस्तै सुनिन्छ । चालकका लापरबाहीले नेपालमा यसरी वर्षेनी कयौंले ज्यान गुमाएका छन् । आफन्त, नातागोता, अभिभावक र छोराछोरी गुमाएका छन् । हत्यारा चालक भने केही दिन जेल बसेर तिनै आफन्तका अगाडि छाती फुलाएर बाहिर निस्कन्छन् ।    

मेरा एकजना मित्र जागिरको सिलसिलामा नेपालबाट अफ्रिकाको एउटा सानो टापु सेइशेल्ज जाँदै थिए । उनको ट्रान्जिट अबुधाबी एयरपोर्ट थियो । एयरपोर्टमा समातिए । कुनै समय यूएईमा रहँदा बैंकबाट लिएको ऋण नतिरेको भन्ने आरोप उनलाई लगाइयो । उनी समातिएको ३ दिनपश्चात् सकुशल सोही विमानबाट सेइशेल्ज गए । प्रहरीले समातेपछि कुट्छ, पिट्छ र अपराध कबुल गराउँछ भन्ने डर र मानसिकता बोकेका उनी प्रहरीको व्यवहार देखेपछि तीनछक्क नै परे । उनी भन्छन्,‘अपराधी नै हो भने पनि प्रहरीलाई भेटेपछि उनीहरुको व्यवहारले अपराधी पनि सुध्रिन्छ ।’  

नेपाल सरकारले केही महिना पहिले काठमाडौं उपत्यकालाई ‘नो हर्न’ क्षेत्र घोषणा गर्‍यो । ‘गाडीले हर्न बजाउन नपाइने ?’ भन्दै आलोचना गरियो । तथापि यो कार्य सफलतापूर्वक लागू भएको छ । केही समय पहिले बाटो काट्ने पैदाल यात्रुलाई जेब्राक्रसिङबाट अनिवार्य बाटो काट्नु पर्ने नत्र २०० रुपैयाँ जरिवाना गर्ने नियम बनाइयो । यसको पनि सर्वत्र विरोध गरियो । विरोध हुनुका कारणहरु थिए, अव्यवस्थित साँघुरा बाटा, सवारी साधनको भीड, ठाउँ ठाउँमा जेब्राक्रसिङको अभाव आदि । ती कारणहरु भन्दा पनि अझै ठुलो कारणचाँहि के हो भने सर्वसाधरणलाई नियमको परिधीभित्र बाँधिन गार्‍हो हुनु हो । त्यसो त, केही वर्ष अगाडि एमाले नेता वामदेव गौतमले पनि डोरी नाघ्दै बाटो काटेको देखिएकै हो ।

 

हिजोसम्म जहाँ पायो त्यहीबाट उफ्रँदै बाटो काट्न पाइने ठाउँमा आजदेखि अलिक पर गएर जेब्राक्रसिङबाट बाटो काट्नु निकै असजिलो भयो । नेतादेखि जनतासम्म जनचेतनाको अभाव अझै व्याप्त देखियो । त्यसमाथि २०० रुपैयाँ जरिवाना ठोक्नु त सर्वसाधारणको लागि कम आक्रोशपूर्ण थिएन । सरकार आफ्नो निर्णयबाट पछाडि हट्न बाध्य भयो । 

ट्राफिक प्रहरीले यो नियम लागू गर्नुपूर्व जनचेतनाका विभिन्न अभियान चलाउनु आवश्यक थियो । ठाउँ ठाउँमा जेब्राक्रसिङ र ट्राफिक सिग्नल बनाउन जरुरी थियो । झ्याप्प समातेर २०० रुपैयाँ जरिवाना तिराउनुअघि उनीहरुलाई अभ्यस्त बनाउन जरुरी थियो । यसको लागि विभिन्न अनलाइन र सामाजिक सञ्जालमा तीव्र प्रचारप्रसार गर्न जरुरी थियो । यहाँ त के देखियो भने सर्वसाधारणले कतिखेर बाटो काट्छन् झ्याप्प २०० रुपैयाँको रसिद काटौंला भनेर गौंडा ढुक्ने काम भयो । जनतालाई राज गर्ने मानसिकतायुक्त शासकको व्यवहार प्रहरीले देखाए । जसको कारण ट्राफिक प्रहरी असफल भएको छ ।

 

तिनै देशका युवा युवतीले यूएईमा जेब्राक्रसिङ नभएको गलत स्थानबाट बाटो काट्दा २०० दिर्हाम्स (झण्डै ६ हजार रुपैयाँ) जरिवाना भने चुपचाप तिर्छन् । एक जना नेपालीले त प्रहरीलाई मलाई यो नियम थाहा थिएन भनेर भनेछन् । प्रहरीले पनि नम्र भएर जवाफ फर्काएछन्, ‘कानुन, मौजुद कानुन ।’ अर्थात् कानुन कानुन हो ।  मलाई यो नियम थाहा थिएन भनेर यूएईमा धरै हुन्न । कानुनले कसलाई नियम थाहा छ कसलाई थाहा छैन भन्दैन । बरु यो देशमा आउनुअघि यस्ता नियम थाहा हुनु पर्छ भन्छ ।

हामीले यहाँ भोग्ने गरेका यस्ता सुखद् अनुभूतीहरु नेपालमा बिरलै भोग्न पाइन्छ । यसको कारण नेपालका प्रहरी सेवामा मात्रै हैन कि निजामती सेवाका समग्र सरकारी कर्मचारीहरुलाई पनि हामी जनताको सेवक हौं भन्ने भावना पलाउन नसक्नु । जनताको सेवा गर्न बिरलैले पाउने मौका मैले पाएको छु र भाग्यमानी भएको छु भन्ने भावना उनीहरुमा देखिन्न । सरकारी कर्मचारी भएपछि अब हामी जनताको नोकर भयौं, जनताले तिरेको करले पेट पाल्छौं, छोराछोरी पढाउनेदेखि घरखर्च चलाउनेसम्म गरिब जनताकै पैसा हुन् । यिनीहरुलाई सम्मान गर्नु पर्छ भन्ने भावना न हिजो थियो न आज नै देखिन्छ । किनकि नेपाल सरकारका ती सेवकहरुलाई राज गर्न सिकाइन्छ न कि जनताको सेवा । 

मैले यूएईमा गाडी चलाएको ८ वर्ष भएछ । यो ८ वर्षमा दुईपटक जरिवाना तिरेको छु । ती जरिवानाहरु मैले तिर्नै पर्ने थिए । एउटा ओभर स्पीड थियो भने एउटा सामान्य दुर्घटना अर्थात् गाडी कतै पर्खालमा ठोक्किएर कुच्चिएको थियो । मैले त्यो जरिवाना तिर्न कहिल्यै बाग्रेनिङ गरिनँ । न त प्रहरीले जरिवाना बढाएर मलाई अन्याय नै गर्‍यो । ट्राफिक प्रहरीले लागू गरेको नियमलाई पालना गरेको छु । म जस्ता प्रायले पालना गरेका छन् । अर्थात् देश सिस्टममा चलेको छ ।

बेला बेला सोच्ने गर्दछु, यूएई प्रहरीका ती हाकिमलाई मेरो गाडी रोकेर मलाई बचाउन के आवश्यकता थियो होला र ? मुस्कानसहितको सेवा दिन के आवश्यक थियो होला र ? बैंकबाट लिएको ऋण नतिर्नेलाई राम्रो व्यवहार गर्न किन परेको थियो ? उत्तर सजिलो छ, ‘किनकि उनीहरु त आमजनताको सेवक हुन् ।’गलत गर्नेलाई सजाय दिने त कानुन छँदैछ नि ! ‘कानुन, मौजुद कानुन ।’नेपालमा पनि यूएईमा जस्तै कानुन बोल्ने दिन कहिलेदेखि आउला र ? खै !

प्रकाशित: भाद्र २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार