कुराकानी

भाषाभन्दा माथि कोही हुँदैन : शरच्चन्द्र वस्ती

- पारस नेपाल, काठमाडौं

भाद्र १७, २०७४-

जीवन्त भाषाका रूपमा आफ्नै विशिष्ट सौन्दर्य र विशेषता बोकेको नेपाली भाषा केही वर्षयता चौतारीमा अलपत्र छोडिएको मादल जस्तो भएको छ, जसलाई जति बेला मन लाग्यो प्याट्ट पारिहाल्ने । यस्तो अभ्यासले नेपाली भाषाको हित गर्दैन भन्ने यथार्थप्रति प्राय:ले हेक्का राखेको पाइँदैन । यो देखेर पीडा महसुस गर्ने भाषा अभियन्ता शरच्चन्द्र वस्ती नेपाली भाषालाई पूर्ववत् गरिमा दिलाउने मिसनमा निकै वर्षदेखि लागिपरेका छन् । एक दशकअघि ‘हाम्रो भाषा’ मार्फत यसबारे खबरदारी गरेका उनी हालै त्यस्तै अर्को पुस्तक ‘नेपाली कसरी लेख्ने ?’ सहित आएका छन् । प्रस्तुत छ, यही पुस्तकको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश :

 

भाषा प्रयोगका तौरतरिका सिकाउने नयाँ पुस्तक निकाल्नुभएछ । यसको आवश्यकता किन पर्‍यो ? ‘हाम्रो भाषा’ नै पर्याप्त थिएन र ?

हिज्जेको बहानामा नेपाली भाषालाई निरन्तर अन्योलग्रस्त बनाइराख्ने र विवाद चर्काइराख्ने काम राज्य संरक्षित निकायहरूले वर्षौंदेखि गरिरहेका थिए, जसले हाम्रो भाषालाई संकीर्ण र कमजोर बनाउँदै लगेको थियो । त्यसबाट चिन्तित नेपाली भाषाका महागुरुहरू र वरिष्ठ लेखक, पत्रकार, साहित्यकार आदिको अग्रसरतामा ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ (नेकशुले–२०६९) पुस्तिका बनाइएको तपाईंलाई थाहै छ । त्यसले मूलत: हिज्जेको अराजकता समाप्त गरी नेपाली भाषालाई उसको स्वाभाविक गतिमा समयानुकूल तवरले अघि बढ्ने राजमार्ग निर्माण गरेको थियो ।

त्यसकै अनुक्रममा आम भाषा प्रयोगकर्ताका लागि शुद्ध, सही र प्रभावशाली नेपाली लेख्न बाटो देखाउने एउटा सशक्त र छरितो पुस्तकको आवश्यकता महसुुस गरी मलाई यो पुस्तक लेख्न आग्रह गरियो । प्रतिष्ठित भाषासेवी, लेखक, पत्रकारहरूको बैठकले यसले समेट्नुपर्ने विषय, पक्ष र अँगाल्नुपर्ने शैली मात्र होइन, यसको नामसमेत तय गर्‍यो । सोही अनुरूप मैले यो पुस्तक तयार गरेको हुँ ।

तपाईंले भने जस्तै मलाई पनि ‘हाम्रो भाषा’ नै पर्याप्त छ, अर्को पुस्तक जरुरी छैन भन्ने लागेको थियो । तर त्यो पूर्णत: शब्दप्रयोगमा केन्द्रित पुस्तक थियो, यो चाहिँ मूलत: हिज्जेमा केन्द्रित छ । लेख्न सिक्ने–सिकाउने भएकाले कतिपय सन्दर्भ मिल्दा पनि देखिन सक्छन्, जसबारे मैले भूमिकामै स्पष्ट पारेको छु । तर नेपाली लेख्नेहरूका सामु हिज्जेको ठूलो अन्योल छ, यसलाई सम्बोधन गरिनु जरुरी छ भन्ने कुरा आएपछि म यो पुस्तक लेख्ने निर्णयमा पुगेको हुँ । यसरी ‘हाम्रो भाषा’ र यो पुस्तक एकअर्काका परिपूरक बनेका छन् । एउटा पुस्तक पढ्नेले अर्को पुस्तक पढ्दा थप सन्तुष्टिको अनुभव गर्नेछ ।

यो पुस्तक डेढ वर्षअघि नै तयार भइसकेको हो । विभिन्न प्राविधिक कारणले प्रकाशनमा विलम्ब भएकाले बल्ल बजारमा आइपुगेको छ ।  

तर, यसैबीच नेपाली भाषामा ठूलो उथलपुथल भएको छ । अहिले यसको सान्दर्भिकता के त ?

२०६९ सालको उक्त अभियानले आम नेपाली भाषाभाषीमा आफ्नो भाषाप्रतिको चेतना र संवेदनशीलता ह्वात्तै बढाइदिएको थियो । यसैबीच, गत वर्ष संयुक्त अक्षरका खुट्टा काटेर लेख्नुपर्ने आदेशविरुद्ध उनीहरू आन्दोलित भए । फलस्वरूप भाषामाथि अनधिकृत हस्तक्षेप गरी उल्टो बाटो हिँडाउन लागिपरेका निकायहरू रक्षात्मक अवस्थामा धकेलिए र आफूले गरेको गल्ती स्विकार्दै नेकशुले–२०६९ ले देखाएको दिशातिर अभिमुख हुन बाध्य भए । यसै क्रममा प्रज्ञा प्रतिष्ठानले संयुक्त अक्षरका खुट्टा नकाट्ने, जथाभावी पदवियोग नगर्ने र शब्दकोशबाट विस्थापित गरिएका शुद्ध हिज्जेका शब्दहरूलाई पुन: शब्दकोशमा समावेश गर्ने अर्थात् २०४० सालको नेपाली बृहत् शब्दकोशमा फर्कने निर्णय गर्‍यो । तर, निर्णय भएको एक वर्ष हुन लाग्दा पनि यसतर्फ कुनै काम भएको छैन । परिमार्जित मान्यता र नियमहरू व्यवस्थित रूपमा आएका छैनन्, आधिकारिक शब्दकोश प्रकाशित भएको छैन अनि पाठयपुस्तकहरूमा रहेको भद्रगोल सच्याइएको छैन । अब शुद्ध र सही नेपाली कसरी लेख्ने त भनेर बाटो देखाउने कुनै माध्यम छैन । यो अन्योल र शून्यताका बीच यो पुस्तक सही बाटो देखाउने एक मात्र आधारका रूपमा उपस्थित हुन पुगेको छ । यस प्रकार, पुस्तक प्रकाशनमा भएको विलम्बले यसको उपयोगिता र सान्दर्भिकतालाई झन् टडकारो बनाएको छ ।

भाषामा अनधिकृत हस्तक्षेपको कुरा उठाउनुभयो । यो रातारात भएको हो र ?

होइन । चार दशकदेखिको कसरत हो यो । यसको सूत्रपात २०३४ सालमा त्रिभुवन विश्वविद्यालयले गर्‍यो, जसलाई २०४० को शब्दकोशमा लागू गरियो । संस्कृतबाट आएका तत्सम शब्दलाई चाहिँ जस्ताको तस्तै राख्ने, त्यसबाहेक अन्य सबै भाषाबाट आएका त्यस्तै शब्दको भने हिज्जे बिगारेर लेख्नुपर्ने उदेकलाग्दो नियम घोषणा गरेर थालिएको थियो भाषामाथिको अनधिकृत हस्तक्षेप । अनधिकृत किनभने यसो गर्ने अधिकार कसैलाई पनि हुँदैन— चाहे त्यो कुनै विद्वान्, विद्वत्समूह, कुनै निकाय, सरकार वा सार्वभौम संसद् नै किन नहोस् । यो कथित नियम अन्तर्गत श/ष को सट्टा स मात्र र दीर्घ ई/ऊ को सट्टा ह्रस्व मात्र लेख्नुपर्ने गराइयो । अनि हिज्जे बिगारेर अंगभंग गरिएका शब्दहरूलाई पहिलो दर्जामा उकालेर शब्दकोशमा मूल प्रविष्टि दिइयो र हिज्जे नबिगारिएका शुद्ध शब्दहरूलाई दोस्रो दर्जामा झारेर वैकल्पिक प्रविष्टि दिइयो । यसले भाषामा अराजकताको अन्तहीन शृंखलालाई जन्म दियो । वर्षेनि जस्तो जथाभावी हिज्जे बिगार्दै जाने, जथाभावी पदवियोग गर्ने, वर्णमालाबाट अक्षरहरू नै हटाइदिने अनि संयुक्त अक्षरका खुट्टा काट्ने कुचक्र यसकै परिणाम थियो ।

झ्वाट्ट सुन्दा शब्दकोशमा जस्तो रूपमा प्रविष्टि दिए पनि के फरक पर्छ, आखिर शब्द त रहिहाल्छ जस्तो लाग्छ । तर यो ज्यादै गम्भीर कुरा हो । किनभने आधिकारिक शब्दकोशमा जुन हिज्जेलाई मूल प्रविष्टि दिइएको छ, राज्यको औपचारिक लेखापढी, सरकारी कामकाज र पाठयपुस्तकमा त्यही हिज्जे लागू गर्नुपर्ने हुन्छ र गरिन्छ । नयाँ पुस्ताले बिगारिएको हिज्जे मात्र पढ्न पाउँछ र सही हिज्जेलाई गलत ठान्न थाल्छ । यसरी एउटै पुस्ताको अन्तरालमा शुद्ध हिज्जेका शब्दहरू प्रयोगबाट पूरै विस्थापित हुन पुग्छन् । थप दु:खको कुरा त के भने, यति कुचक्रले पनि नपुगेर उक्त शब्दकोशको २०५८ सालको संस्करणदेखि त मूल शब्दलाई वैकल्पिक प्रविष्टि पनि नदिई चुपचाप शब्दकोशबाटै हटाउने अभियान चलाइयो । भाषाप्रति र यसका प्रयोगकर्ताप्रति योभन्दा ठूलो विश्वासघात अरू के हुन सक्छ ? 

त्यस बेला यसको विरोध कसैले गरेन त ?

हस्तक्षेप अभियानको नेतृत्व त्रिवि र शब्दकोश दुुवैमा बालकृष्ण पोखरेलले गर्नुभएको थियो । यसको सूत्रपात गरिन लाग्दा, २०३४ सालमै यसका विरुद्ध मुकुन्दशरण उपाध्याय उभिनुभएको थियो । उहाँको भनाइ थियो— कुनै पनि भाषाबाट आएका शब्दलाई बलजफ्ती बिगार्न हुँदैन, शुद्ध शब्दलाई मिल्काएर अशुद्ध शब्दलाई चलाउन हुँदैन । यसले भाषालाई चर्को विवाद, विग्रह र अराजकताको चक्रमा फसाउनेछ । तर त्यस बेला उहाँको कुरा कसैले सुन्न चाहेन । क्रमश: अरूले पनि सशक्त रूपमा आवाज उठाउँदै आए । त्यसको बृहत्तर रूप चाहिँ आजभन्दा पाँच वर्षअघि प्रकट भएको हो ।

समयक्रममा मुकुन्दशरणको भनाइ सही ठहरियो । आफ्नो नेतृत्वमा गरिएको कामले नेपाली भाषा विवाद, विग्रह र अराजकतामा फस्दै गएको देखेपछि बालकृष्ण पोखरेल ठूलो पछुताउमा पर्नुभयो र त्यसलाई पापको संज्ञा दिँदै प्रायश्चित्तका लागि अग्रसर हुनुभयो । यस क्रममा यी दुवै महारथी आआफ्ना मतभेद थाती राखेर एक ठाउँमा उभिनुभयो र गहन विमर्शपछि नेकशुले–२०६९ ले आकार लिन पुग्यो । त्यस्तै चिन्ताले पिरोलिएका कृष्णप्रसाद पराजुली, कुमारबहादुर जोशी, कमल दीक्षित, जगदीश घिमिरे आदिको पनि यसमा उत्तिकै योगदान रह्यो ।

त्यसो भए, प्रज्ञा प्रतिष्ठानले २०४० सालको शब्दकोशमा फर्किने भने पनि मुख्य समस्या समाधान भइसकेको रहेनछ, होइन ?

हो नि । तर धेरैलाई यो भ्रम छ । मैले यहाँ त्यसैलाई स्पष्ट पार्न खोजेको हुँ । प्रज्ञा प्रतिष्ठान सही दिशातिर उन्मुख भएको त हो र यसको स्वागत पनि हुनुपर्छ । शुद्ध शब्द र तिनको प्रयोगलाई निषेधै गर्ने २०५८ सालयताको उपक्रमलाई त यसले निरस्त पारेको छ, तर समस्याको मूल जरो जस्ताको तस्तै छ । त्यसलाई उसले सम्बोधन गरेकै छैन । समस्याको जरोमा पुगेर मात्र त भएन नि, त्यसलाई उखेल्नु पनि पर्छ । नत्र त घुम्दैफिर्दै रुम्जाटार भइहाल्यो नि ।

नेपाली भाषामा जहिल्यै हिज्जेकै विवाद उठिरहेको हुन्छ । यो कहिल्यै टुंगिएला कि नटुंगिएला ?

हिज्जे सम्बन्धमा नेपाली भाषाका परस्पर विरोधी अथवा समानान्तर मुख्य दुई धार भनेकै माथि उल्लेख भएका तिनै दुई भाषा–महारथीहरूका धार हुन् । अरू सबै यिनै दुई गुरुकुलमध्ये एउटाका शिष्य वा अनुगामी हुन् । दुवै महारथीले नेपाली भाषालाई विग्रह र अराजकताबाट जोगाउन भनी एक ठाउँमा आएर एउटा व्यवस्था दिनु भनेको सानो कुरा होइन । यो समन्वय र सहमतिको, भाषिक संवेदनशीलताको व्यवस्था हो । यसलाई अनुसरण गर्नासाथ हिज्जेको विवाद टुंगिन्छ । वर्षेनि नयाँ नियम भन्दै हिज्जे बदल्दै जाने चलन सदाका लागि समाप्त हुन्छ । २०४० सालको अवस्थामा फर्कने प्रज्ञा प्रतिष्ठानले यही दिशातिर कदम उठाएको हो, जसलाई त्रिविले समेत अनुमोदन गरेको छ । मेरो पुस्तक ‘नेपाली कसरी लेख्ने ?’ पूरापूर यही व्यवस्थालाई स्विकारेर आएको हो ।

भाषिक एकरूपताका लागि अरूले गरेका पहललाई अराजक भन्दाभन्दै तपाईंले पनि यस पुस्तकमा आफ्नै मान्यता स्थापित गर्न खोज्नुभएको छ नि ?

त्यस्तो कदापि होइन । मैले भर्खरै माथि केही नाउँ लिएँ । कसैसँग तुलना गर्न नसकिने यस्ता भाषा–महारथीहरू र विशिष्ट भाषासेवीहरूले मिलेर गरिदिएको व्यवस्था छोडेर आफ्नो बेग्लै मान्यता बोकिहिँड्ने धृष्टता म कसरी गर्न सकुँला ? उहाँहरूको संयुक्त प्रज्ञालाई उछिन्न सक्ने तहमा पुगेको भ्रम अरू कसैलाई होला, ममा त्यस्तो भ्रम छैन । परम्परा नभत्काउने तर सिद्धान्त र परम्पराका नाममा जडसूत्रवादी नहुने, भाषालाई उसको स्वाभाविक गतिमा अघि बढ्न दिने, कुनै पनि बहानामा जबर्जस्ती केही पनि नलाद्ने, भाषाले अंगीकार गरेको प्रवृत्ति र स्वीकार गरेको कुरालाई सहर्ष स्विकारेर अघि बढ्ने नेकशुले–२०६९ का मान्यता हुन् । भाषाभन्दा माथि कोही हुँदैन, यो स्वत: परिवर्तनशील हुन्छ, सुधार वा परिवर्तनका नाममा भाषालाई एकातिर घिच्याउने अधिकार कसैलाई हुँदैन भन्ने मान्यता यसले अँगालेको छ ।

यो व्यवस्था निर्माणका क्रममा भएको छलफलमा म पनि आकण्ठ डुबेको थिएँ । त्यसैले त्यसपछाडिका तर्क, चिन्ता, चिन्तन र उपपत्तिबारे बताउन सकुँला र त्यसका बुँदाहरूको व्याख्या पनि गर्न सकुँला । तिनका आधारमा थप वा अवशिष्ट केही कुरा भन्न वा गर्न प्रयास पनि गरुँला । तर, आफ्नो बेग्लै मान्यता लिई हिँड्न सक्ने सामथ्र्य ममा छैन ।  

तपाईंले पुस्तक तयार पार्न निकै मिहिनेत गर्नुभएको भनिएको छ । तर यो गल्ती/अशुद्धिहरूको प्याकेज जस्तो देखिन्छ । संयुक्त क्रियापद जोडेर लेख्ने भन्दाभन्दै धेरैतिर छुट्टिएको देखिन्छ (गर्न हुँदैन, जोड्नु पर्दैन), अंग्रेजीका एकै खाले कतिपय शब्दको हिज्जेमा भिन्नता देखिन्छ (clinic/क्लीनिक, visa/भीसा, spirit/स्पिरिट), शृ (शृंखला) हुनुपर्ने ठाउँमा श्रृ (श्रृंखला) पाइन्छ अनि चन्द्रविन्दु पनि घटेका छन् । असावधानीवश यस्तो भएको हो कि यस्तै गर्न खोजिएको हो ? 

चन्द्रविन्दु दिँदा अन्य मात्रामा मिसिएर एकै ढिक्का जस्तो देखिने अवस्था नहोस् भनेर कतिपय ठाउँमा शिरविन्दुको प्रयोग गरिएको हो । यस सम्बन्धी नियम पुस्तकमै छ । शृ र श्रृ दुवै प्रचलनमा रहेकाले लोकले मन पराएको बहुप्रचलित रूपलाई तिरस्कार नगरिएको हो । संयुक्त क्रियापद छुट्टिएको र अंग्रेजीका एकै खालका शब्दमा हिज्जे फरक देखिएको चाहिँ असावधानी वा प्रुफको गल्तीको परिणाम हो । त्यसलाई तुरुन्तै हुन लागेको पुनर्मुद्रणमा सच्याइनेछ ।

उच्चारणको प्रसंगतिर जाऔँ । नेपाली जिब्राले श/ष/स को भेद छुट्टयाउन सक्दैन, त्यसैले स मात्रै लेख्नु गर्नुपर्छ, ञ र ण उच्चारण गर्न सक्दैन त्यसैले यस्ता अक्षरहरूलाई वर्णमालाबाटै हटाउनुपर्छ भन्छन् एक थरी भाषागुरुहरू । तपाईं चाहिँ के भन्नुहुन्छ ?

यी दिउँसै रात पार्ने खालका तर्क हुन् । म लामो कुरा गर्दिनँ । तपाईं स्वयं ‘निस्तो’ र ‘दुष्ट’ शब्द उच्चारण गरी हेर्नुस् । तिनमा रहेको स/ष उच्चारण गर्दा जिब्रो कहाँ ठोकिन्छ, त्यहाँबाट हावा/सास कसरी अघि बढ्छ र तिनको ध्वनि कानले कस्तो सुन्छ, ध्यान दिनुस् । त्यस्तै राणा/राना, वाणी/बानी शब्द उच्चारण गरी हेर्नुस्, जिब्राले ण उच्चारण गर्ने मात्र होइन, कानले पनि टडकारै ण सुन्दो रहेछ र त्यसका आधारमा फरक अर्थबोध पनि हुँदो रहेछ भन्ने स्वत: थाहा पाउनुहुनेछ । यति थाहा पाउन विद्यावारिधि गरिरहनुपर्दैन । बरु विद्यावारिधि गरेकाले चाहिँ यो थाहा पाउन छोड्दा रहेछन् । उच्चारण कहिल्यै नसिकाउने अनि उच्चारण गर्न सक्दैनन् भने अक्षरहरूलाई वर्णमालाबाटै हटाउने काम त जघन्य भाषिक अपराध हो ।

तत्समबाहेक अन्य शब्दमा श/ष/स को सट्टा एउटै स लेख्दा, दीर्घ ई/ऊ को सट्टा ह्रस्व मात्र लेख्दा विद्यार्थीका लागि सरल हुन्छ भन्ने तर्क गर्नेहरू पनि छन् नि ?

सरलताको यो नारा झ्वाट्ट सुन्दा निकै आकर्षक लाग्छ । तर यो घातक नारा हो । यी यस्ता अक्षर र ध्वनि हुन् जसले शब्द र बोलीलाई विशिष्टता र गहिराइ दिन्छन् । विश्वका भाषा सिक्न, बोल्न र विश्वसँग दोहोरो कुराकानी गर्न यिनको महत्त्व अतुलनीय छ । शिक्षाको उद्देश्य मानिसमा लुकेको क्षमतालाई विकसित गराएर विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनु हो । सरलताका नाममा भइरहेको क्षमता पनि समाप्त पारेर झन् कमजोर बनाउने योजनालाई शिक्षा भन्न सकिँदैन । जीवनमा उँभो लाग्न र अघि बढ्न चाहनेले यस्तो बाटो कहिल्यै रोज्दैन ।

श/ष, ई/ऊ हटाउने नियमले भाषालाई नराम्रो असर पार्‍यो भनेर यसैलाई संकेत गर्न खोज्नुभएको हो ?

त्यसले भाषालाई अरू पनि थुप्रै घातक असर पारेको छ । अन्योल, अस्थिरता र अराजकता बढाएको त छँदै छ, नेपाली भाषालाई संकीर्ण र अपभ्रंशमुखी बनाएर भाषाबाट भाषिकातर्फ उन्मुख गराएको छ । संसारभर शुद्ध रूपमा लेखिने शब्द बिगारेर लेख्नुपर्दा नेपालीप्रति हीनताबोध पैदा गरेको छ । दिवंगत र जीवित सिद्धहस्त स्रष्टाहरू शुद्ध लेख्न नजान्नेमा दरिएका छन् । नेपाली शुद्ध लेख्न सक्छु भन्ने नेपाली भेट्न दुर्लभ हुन थालेको छ । नेपालबाहिरका नेपालीले नेपालको नेपालीलाई मानक मान्न छोडेर बेग्लै मानक शब्दकोश बनाउने प्रयास थालेका छन् । अझ डरलाग्दो कुरा त यसले भाषिक द्वन्द्वको बीउ रोपेको छ ।

कसरी ?

सूत्रबद्ध रूपमा भन्दा, यसले हिमाल, पहाड र तराईका विभिन्न राष्ट्रिय भाषाका शब्दहरूको अंगभंग गरेर तिनको शुद्ध रूपलाई नेपालीमा अशुद्ध र अग्राह्य घोषित गर्छ । हरेक समुदायको अस्मिता र पहिचानको एउटा प्रमुख आधार भाषा हो, यसले त्यसैमा ठाडो हमला बोल्छ । आफ्नै मातृभूमिमा पितृपुर्खादेखि प्रयोग हुँदै आएका आफ्नो भाषाका शब्दलाई राज्यसत्ताको बलमा कसैले अग्राह्य घोषित गर्छ, तिनको अंगभंग गर्छ र बिगारिएका शब्द प्रयोग गर्न बाध्य बनाउँछ भने सोच्नुस्, उनीहरूको मनमा कति ठूलो चोट पर्छ । यसले उनीहरू सबैमा नेपाली भाषाप्रति वितृष्णा र विद्वेषभाव पैदा गर्दै लगेको छ, जसले अन्तत: भाषिक द्वन्द्व, विग्रह र विखण्डनमा पनि पुर्‍याउन सक्छ । यसले नेपाली भाषालाई असहनीय धक्का दिन सक्छ । कैयौँ देशमा त्यहाँका भाषा यसै गरी विस्थापित गरिएका छन् । यसतर्फ हामी अत्यन्त संवेदनशील हुनुपर्छ ।

फेरि पुस्तकतिरै आऔँ । तपाईंले शुद्ध वा मूल शब्दतिर जानुपर्छ भन्ने आग्रह राख्नुभएको देखिन्छ । ‘सहर’ होइन ‘शहर’ लेख्नुपर्छ भन्नुहुन्छ । तर कतिपय भाषागुरुहरू मूलमा जाने भए उर्दूको ‘शहर’ होइन, अरबीको ‘शेहर’ मा पुग्नुपर्छ भन्ने तर्क गर्छन् ।

यसको उत्तर त्यही तर्कमा निहित छ । ‘शहर’ शब्द नेपालीमा अरबीबाट होइन, उर्दूबाट आएको हो, त्यसैले ‘शेहर’ को कुरा उठाउनु कुतर्क मात्र हो । हाम्रो आग्रह त नेपालीमा आएर स्थापित भइसकेका शुद्ध शब्दलाई बलजफ्ती भाँचकुँच नगरौँ भन्ने मात्रै हो । बुझ्नुपर्ने कुरा के हो भने, आगन्तुक शब्द हाम्रो भाषामा आफैँ पस्न आएका अवाञ्छनीय शरणार्थी होइनन्, आफ्नो भाषालाई समृद्ध र बढी सम्प्रेषणीय बनाउन हामीले सादर निम्त्याएका र भाषिक नागरिकता प्रदान गरेका ‘व्यक्ति’ हुन् । आफ्नो गर्जोले हामी कुनै विदेशीलाई नागरिकता दिन्छौँ भने ‘नेपाली हाइट’ मा मिलाउनुपर्छ भनेर उसका खुट्टा काट्न वा नाक ताछ्न थाल्दैनौँ । त्यो असभ्यता, बर्बरता र कृतघ्नता हो । तिनले यहाँको नियम–कानुन र प्रचलन भने अवश्य मान्नुपर्छ । आगन्तुक शब्द पनि यस्तै हुन् । जबर्जस्ती तिनको अंगभंग गर्न मिल्दैन । आफू सग्लो रहेरै तिनले हाम्रो भाषिक नियम–कानुन मान्नुपर्छ । मानेकै छन् । हाम्रै नियम अनुसार बहुवचनमा जान्छन्, हाम्रै क्रियापदबाट नियन्त्रित हुन्छन्, तिनमा हाम्रै विभक्ति हाम्रै पाराले लाग्छन्, तिनको प्रतिनिधित्व पनि हाम्रै सर्वनामले गर्छन् ।

बिगारिएकोबाट नबिगारिएकोतिर, शुद्धतातिर जानुपर्छ भन्नु वास्तवमा कुनै आग्रह नै होइन । यो त मानिसको मूल प्रकृति नै हो । मानिस अज्ञानबाट ज्ञानतिर, अव्यवस्थाबाट व्यवस्थातिर, अँध्यारोबाट उज्यालोतिर नै जान चाहन्छ । मानवसभ्यताको विकास नै यसरी भएको हो । मानिस भाषामा पनि मूल शब्दसँग राम्रो हिमचिम नहुन्जेल मात्र अशुद्ध वा अपभ्रंशले काम चलाउँछ, त्यसपछि त मूल र शुद्धतिरै रमाउन थालिहाल्छ । ‘आकाश’ र ‘अकास’ दुवै राख्नुस्, ‘आकाश’ कै प्रयोग गर्छ । केटाकेटीमा ‘नवम्बर–दिसम्बर’ भनेर पढेकाले ठूलो भएपछि ‘नोभेम्बर–डिसेम्बर’ लेख्न थालिहाल्छ । नजानुन्जेल ‘पिल्सिङ’ भन्छ, शुद्ध रूप ‘पेन्सन’ रहेछ भन्ने थाहा पाएपछि त्यही भन्न रुचाउँछ । ‘पिल्सिङ’ लाई मेट्ने वा हटाउने भन्ने कुरै होइन, जानेपछि स्वत: ‘पेन्सन’ तिर जान्छ भन्ने हो । यहाँ त ‘पेन्सन’ लाई हटाएर ‘पिल्सिङ’ तिर जाऊ भन्ने उर्दी आउने थालेर पो आपत् परेको हो । शहर, कानून, खुशी, गरीब, शहीद, स्कूल, कार्टून, फेशन, शेयर जस्ता शब्दमा पनि यही भएको हो ।

तर, तपाईंका नजरमा गलत नै भए पनि धेरैजसो प्रयोगकर्ता आगन्तुकको तद्भवीकरणमा बानी परिसके नि त ? जस्तो— कम्प्युटरमा ‘सहर’ लेख्दा एकातिरको की थिच्ने बानी परेको छ, अब ‘शहर’ लेख्नुपरे अर्कातिर थिच्नुपर्ने हुन्छ । नेपालीले खालि हिज्जे सिकेरै जिन्दगी बिताउनुपर्ने ?

हेर्नुस्, नजानेर उल्टो जुत्ता लगाउन थालियो भने त्यसमा पनि बानी पर्छ, त्यसपछि सुल्टो लगाउन थाल्दा दुई–चार दिन अप्ठयारो लाग्छ । तर सुल्टो के हो भन्ने थाहा पाएपछि त सुल्टै लगाउनुपर्‍यो नि । यो त्यस्तै समस्या हो । एक–दुई हप्ताकै अभ्यासले यसको समाधान भइहाल्छ ।

पुस्तकमा ‘भगवान्,’ ‘हनुमान्’ जस्ता हलन्त शब्दलाई खुट्टा नकाटी राखिएको छ । के हलन्त बहिष्कार गर्न खोजिएको हो ? फेरि, ‘पश्चात्’ लाई ‘यथावत्’ राख्नुको कारण चाहिँ ?

हलन्त बहिष्कार गर्न खोजिएको बिलकुलै होइन । हलन्त शब्दले त्यहाँ यथोचित स्थान पाएका छन् । तर एउटा सत्य के हो भने, संस्कृतबाट आएका हलन्त शब्दलाई खुट्टा नकाटी लेख्ने प्रवृत्ति नेपाली भाषाले टडकारो रूपमा विकास गर्दै लगेको छ । भगवान, हनुमान जस्ता असंख्य शब्द यसका उदाहरण हुन् । यिनलाई हलन्त लेख्ने चलन लगभग हराइसकेको छ । अझ हामी त ‘महान्’ लाई ‘महान’ मात्रै लेख्दैनौँ, संस्कृतले अशुद्ध मान्ने ‘महान’ मा संस्कृतकै भाववाचक प्रत्यय जोडेर ‘महानता’ पनि बनाउँछौँ र ढुक्कसँग चलाउँछौँ । बोल्दा खुट्टा काटे पनि लेख्दा सग्लै लेख्नु नेपालीको आफ्नै विशेषता बन्न पुगेको छ । राम, बलराम मात्र होइन, स्कूल, फेशन जस्ता शब्द पनि यसका उदाहरण हुन् । भगवान, हनुमान आदिलाई पनि हाम्रो भाषाले त्यही लहरमा राख्न थालेको हो । अनायास हुँदै आएको यो स्वाभाविक परिवर्तनलाई पुस्तकले अस्वीकार नगरेको मात्र हो । हलन्त नहटिसकेका ‘पश्चात्’ जस्ता शब्दमा जबर्जस्ती हलन्त हटाउनेतिर लागिएको पनि छैन ।

समस्त शब्द आँखाले हेर्दा लामा देखिए भने छुट्टयाउने, नत्र जोड्ने चलन चलेको छ । यो पुस्तक पनि त्यसैको पछि लागेको हो ?

हो ।  किनभने समस्त शब्द जति लामो भए पनि जोडेर लेख्ने संस्कृतको चलन हो । नेपाली भाषाले चाहिँ हेर्दा सजिलो लाग्नेसम्मलाई मात्र जोड्न मन पराउँदो रहेछ, नत्र छुट्टयाउँदो रहेछ । यो पनि यसको आफ्नै विशेषता हो । त्यही भएर हामी ‘गृहमन्त्री’ जोड्छौँ, ‘महालेखा परीक्षक’ छुट्टयाउँछौँ । ‘त्रिभुवन विश्वविद्यालय’ वा ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ लाई एउटै डिकोमा राख्दैनौँ । अर्थ फरक पर्दैन र परम्परा भत्कँदैन भने छुट्टयाएर लेख्ने प्रवृत्ति आजको नेपाली भाषामा क्रमश: बढ्दै गएको छ । यो गल्ती वा विकृति नभएर सरलतातिरको स्वत:स्फूर्त यात्रा हो । भाषा सामान्यत: नियममै चल्छ, तर कहिलेकाहीँ रूढिबद्ध पनि हुन्छ र यदाकदा यसले यादृच्छिक गतिसमेत अपनाउँछ । भाषाले स्वाभाविक रूपमा चालेको पाइलाप्रति संवेदनशील हुनुपर्छ । जडसूत्रवादी बनेर त्यसमाथि आक्रमण गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।

हिज्जे सम्बन्धी समस्या समाधान गर्न, पत्रपत्रिकामा प्रयोग भएका शब्दको संग्रह गरेर हेर्ने (कर्पस) र जुन हिज्जेको बढी प्रयोग भएको देखिन्छ त्यही लेख्ने पनि भन्छन् नि कतिपय भाषागुरुहरू ?

त्यो पनि एउटा विधि हो, तर शुद्ध हिज्जे लेख्न बाधा सृजना नगरिएको अवस्थामा मात्र त्यसले काम गर्छ । अनेक उर्दी जारी गरेर शुद्ध हिज्जे लेख्न नदिने, शुद्ध हिज्जेका शब्दलाई शब्दकोशबाटै हटाउने हाम्रो जस्तो अवस्थामा कर्पस जस्तो वैज्ञानिक विधिले पनि काम गर्दैन ।

भाषाको भद्रगोल समाप्त पार्न अब गर्नुपर्ने काम के हो त ?

मूलत: भाषामाथिको अनधिकृत हस्तक्षेप फिर्ता हुनुपर्छ । आजका सम्पूर्ण समस्या र विकृतिको मूल स्रोत २०४० सालको शब्दकोशमा लागू गरिएको आगन्तुक शब्द सम्बन्धी त्यही नियम र शब्दको प्रविष्टि सम्बन्धी त्यही अराजकता हो । त्यो फिर्ता हुनासाथ विकृतिको मूल सङ्लिन्छ र त्यसपछि आएका विकृति स्वत: निरस्त हुँदै जान्छन्, शुद्ध शब्दहरू सही ठाउँमा प्रतिष्ठित हुन्छन् । त्यसपश्चात् यसै अनुरूप शब्दकोश निर्माण गरिनुपर्छ, स्पेलचेकर बनाइनुपर्छ, अक्षर र शब्दको उच्चारण सिकाउने व्यवस्था गरिनुपर्छ र अनिवार्य नेपालीमा हिज्जेका नियम पढाउन बन्द गरी अभ्यासबाट हिज्जे सिकाउन थाल्नुपर्छ । भाषामाथिको अनधिकृत हस्तक्षेप फिर्ता हुनासाथ समस्या समाप्त हुन्छन् । किनभने, नेपाली भाषामा कुनै समस्या छैन, समस्या त जबर्जस्ती लादिएका मात्र हुन् ।

यत्रा समस्या यति सजिलै कसरी समाधान होलान् ? यो त अतिरञ्जित कल्पना भएन र ?

यो कल्पना होइन, धरातलीय यथार्थ हो । यसको प्रमाण स्वयं अनधिकृत हस्तक्षेपहरू नै हुन् । किनभने, नेपाली भाषामा दुईतिहाइजति स्थान संस्कृतका शब्दले ओगटेका छन् । हिज्जेका दृष्टिले सबैभन्दा जटिल र कठिन शब्द त्यहीँ छन् । तर तिनमा हस्तक्षेप नगरिएकाले कुनै समस्या अथवा विवाद छैन । सलल्ल बगेर आएका छन् र तिनैले नेपाली भाषाको गरिमा जोगाएका छन् । बाँकी एकतिहाइमध्ये पनि दस प्रतिशतजति मात्र स्थान ओगट्ने आगन्तुक शब्दहरूको हिज्जेमा हस्तक्षेप गरिएका कारण आज यो वितण्डा खडा हुन पुगेको छ । यद्यपि, हिज्जेका दृष्टिले यी शब्द निकै सरल र सहज छन् । अब भन्नुस्, अनधिकृत हस्तक्षेप फिर्ता हुनासाथ जबर्जस्ती लादिएका समस्या किनारा लागेर यी पनि त्यसै गरी सलल्ल बग्न थाल्छन् कि थाल्दैनन् ?

यस सन्दर्भमा तपाईंको पुस्तक कहाँनेर छ त ?

यसले अनधिकृत हस्तक्षेपलाई अस्वीकार गरी सही बाटो देखाएको छ । त्यसैले पनि यो सरल, सहज र स्पष्ट छ । नेपाली भाषाको अबको बाटो यही हो । नेपाली लेख्न चाहनेले सामना गर्नुपरेका सबै समस्या समाधान गर्न र अन्योल समाप्त पार्न प्रयास गरेको छ । आफ्नै पुस्तकबारे म अरू के भनूँ ? 

...

प्रकाशित: भाद्र १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार