फिचर

केले बनाउँछ ‘महान् नेता’ ?

- कान्तिपुर संवाददाता , काठमाडौं
महान् नेता बन्ने एउटा गुण ‘साहस’ हो । जर्मन चान्सलरएन्गेला मार्केलले दस लाख शरणार्थीलाई स्विकारेर एउटा शक्तिशाली उदाहरण प्रस्तुत गरिन् ।

भाद्र १७, २०७४-नेता बन्नका लागि धेरै गुण आवश्यक हुन्छन् । तिनको ख्याल नै नगरी, उनीहरूले गरेका कामको मूल्यांकन नै नगरी ‘राजनेता’, महान् नेतालगायतका पगरी गुथाइदिने गरिएको पाइन्छ । खासमा के गुण र शैलीले नेता महान् हुन्छन् त ? यही प्रश्नलाई लिएर वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा अध्यक्ष क्लाउस स्वाव र ली क्वान यु स्कुल अफ पब्लिक पोलिसी सिंगापुरका डिन किशोर महबुवनीले ‘प्रोजेक्ट सिन्डिकेट’ मा एक मन्थन गरेका छन् । त्यसैको अनूदित अंश :

केही समयअघि, सिंगापुरमा एक दिन डिनर गर्ने क्रममा हामीले के गुणले ‘महान् नेता’ बनाउँछ भन्ने विषयको परिभाषा खोज्ने कोसिस गर्‍यौं । क्लाउसले पाँचवटा प्रमुख तत्त्वहरू हृदय, मस्तिष्क, बलिष्ठ शरीर, तन्तु र आत्मालाई जोड दिए । तर किशोरले करुणा, कठिनाइ र साहसलाई महत्त्वपूर्ण ठाने । तर जे भए पनि दुवैले बनाएका यी सूचीहरूको सुरुआत भने हृदयबाटै हुन्छ । जस्तै : महात्मा गान्धी र नेल्सन मन्डेलालाई जनताको अवस्थाप्रति सहानुभूति नजागेको भए उनीहरू आफैंका लागि ‘महान सफलता’ मिल्ने थिएन । उनीहरूको हृदयमा उब्जिएको एउटा भावनाले अन्याय खेपिरहेका जनताको पक्षमा लड्ने साहस पैदा गर्‍यो । यस्ता वीर नेताहरू सामान्य समयमा उदाउने सम्भवना हुँदैन ।

यो समय पनि सामान्यचाहिँ छैन, किनभने आज पनि संसारका धेरै स्थानमा असमानता छ । त्यसैले ‘महान् नेता’ बन्नका लागि प्रेरित गर्ने यो एउटा समय हो । 

क्यानेडियाली प्रधानमन्त्री जस्टिन ट्रयुडु जो एक युवा नेता हुन्, उनले ठूलो आशा जगाएका छन् । सामान्य जनतालाई सहयोग गर्ने उनको प्रतिबद्धताकै कारण उनले आंशिक रूपमा चुनाव जिते ।

आफूलाई कसरी बदल्ने र समयानुकूल हुने ? यसका लागि दिमाग चाहिन्छ । संरचनाहरू जटिल र तीव्र रूपमा परिवर्तन भइरहेका छन् । त्यसैले स्मार्ट निर्णयहरू गर्न सक्नुपर्छ । थुप्रिएर रहेका सूचनाहरूलाई अवस्थाअनुसार परिवर्तन गर्ने क्षमता हुनुपर्छ । केही समकालीन नेताहरूले त्यस्ता धेरै योग्यता देखाइरहेका छन् । 

जस्तो उदाहरणका लागि, भारत र चीनले लगातार गरिरहेको आर्थिक वृद्धि र तीव्र विकासले यो दर्साउँछ कि राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीले क्रमश: चौथो औद्योगिक क्रान्तिले ल्याएका अवसर र चुनौतीलाई राम्ररी बुझेका छन् । उनीहरूले जटिल अवस्थामा पनि नयाँ उद्योगहरूको विकास र विज्ञान प्रविधिमार्फत मात्र आर्थिक उन्नति सम्भव छ भन्ने बुझेका छन् । 

नयांँ प्रविधाको चुस्त प्रयोगले गरिबी हटाउन मद्दत गरिरहेको छ । ‘आधार’ मा आबद्ध भई विद्युतीय परिचयपत्र भएका एक अर्बभन्दा बढी भारतीयहरूले प्रशासनिक झन्झटबिना सामाजिक सुरक्षाको फाइदा लिएका छन् । 

स्मार्टफोन प्रयोग गर्ने एक अर्बभन्दा बढी चिनियाँले सबै प्रकारका उपभोक्ताका लागि आवश्यक उपत्पादनहरूमा मोबाइलबाट भुक्तानी गर्न सक्छन् । जसले उनीहरूको जीवनशैलीलाई सहज बनाइदिएको छ । भारत र चीनमा जो कसैले भरोसा गर्ने खालको प्राविधिक प्रगति भइरहेको छ । ती मुलुकमा आशावादीहरू बढिरहेका छन् । 

पिउ रिसर्च सेन्टरका अनुसार ८७ प्रतिशत चिनियाँ आफ्नो देशको वर्तमान आर्थिक अवस्थाप्रति सन्तुष्ट र सकारात्मक छन् । ८२ प्रतिशत चिनियाँ अहिले आफूले भोगिरहेको भन्दा उन्नत स्तरको जीवनशैली छोराछोरीको पालामा हुने ठान्छन् । त्यस्तै ८३ प्रतिशत भारतीय पनि मुलुकको आर्थिक अवस्थाप्रति सकारात्मक सोच्छन् । ७६ प्रतिशत भारतीय आफ्ना बालबच्चाका लागि पछि राम्रो हुनेमा विश्वस्त छन् ।

महान् नेता बन्ने अर्को ठूलो गुण भनेको ‘साहस’ हो । सन् २०१५ मा विशेषगरी शरणार्थीको मान्यता प्राप्त गर्न खोज्ने सिरियालीहरूको संख्या युरोपमा अत्यधिक बढ्यो । मानवीयताको भावना धेरैले प्रकट गरेजस्तो गरे । धेरै राजनीतिक नेताहरूले उनीहरूलाई मानवीय सुरक्षा दिने सक्ने आश्वासन दिएर बोलाए, तर अन्तिममा ढोका बन्द गरे । कमजोर नेताहरू कसैको दबाब वा प्रतिस्पर्धीसँग डराउँछन् र पछि हट्छन् त्यहाँ पनि त्यस्तै भयो । 

तर जर्मन चान्सलर एन्गेला मार्केलले त्यसो गरिनन् । दस लाख शरणार्थीलाई स्विकारेर 

उनले एउटा शक्तिशाली उदाहरण प्रस्तुत गरिन् । सुरुमा, उनी आफ्ना मतदातासामु उभिइन् । यतिसम्म कि उनलाई आफ्नै पार्टीभित्रबाट असहयोग भइरहेको थियो । केहीले त उनको राजनीतिक अवसानका बारेमा लेख्नसमेत थालिसकेका थिए । तर उनको साहस मरेन । अहिले उनी हाम्रो समयकी विश्वकै एक शक्तिशाली नेताका रूपमा चिनिएकी छन् ।

त्यस्तै साहस इन्डोनेसियाका राष्ट्रपति जेको ‘जोकोवी’ ले आफ्नो शान्त शैली देखाएका छन् । युरोपमा जस्तै इन्डोनेसियामा पनि पपुलिस्ट राष्ट्रवादी नारा उराल्नेहरूले इन्डोनेसियाली राज्यको मूल आधार मानिएको सहिष्णुतासम्बन्धी पाँचवटा सिद्धान्त समेट्ने ‘प्यानकासिला’ को मान्यतालाई भत्काउन खोजिरहेका छन् । जोकोवीकै राजनीतिक सहयात्री ‘अकोक’ भनेर चिनिने जाकर्ताका पूर्वगभर्नर वासुकि तजाहाजा पुरनामा इस्लामको विरुद्ध गएर त्यो (प्यानकासिला) मान्यता भत्काउन खोज्नेहरूलाई मलजल गर्न सक्थे । मर्केलकै जस्तै जोकोवीले अतिवादीहरूविरुद्धको लडाइँ जारी राखे, यतिसम्म कि अतिवादी समूह हिज्ब–अत–ताहरिर’ लाई प्रतिबन्ध लगाए । 

अवश्य पनि, ‘साहस’ मार्फत सकारात्मक परिवर्तन ल्याउन ‘मसल’ चाहिन्छ । प्रभाव र तत्काल काम फत्ते गर्न सक्ने अधिकार आवश्यक पर्छ । नेताहरूमा राजनीतिक वास्तविकता बुझ्ने चतुर्‍याइँ चाहिन्छ । त्यस्तो चतुर्‍याइँले आयरल्यान्डको राजनीतिक प्रणालीमा ठूलो परिर्वतन ल्याएको थियो । जस्तो कि धेरै परम्परावादी मानिने यो देशमा भारतीय मूलका समलिंगी पुरुष लियो भारदकर प्रधानमन्त्री बनेका थिए । 

महान् नेता बन्नका लागि धेरै प्रकारका गुण आवश्यक पर्छन् भन्ने कुरा पोप फ्रान्सिसले पनि देखाएका छन् । चतुर्‍याइँ, साहस, नैतिकता, बौद्धिकताको गुणका कारण पोपले संसारभर रोमन क्याथोलिक चर्चहरूप्रतिको धारणा र अवस्थामा परिवर्तन ल्याउने प्रयास गरे । उदाहरणका लागि, परम्पराअनुसार पोपले समलैंगिकतालाई वैधानिकता दिन मिल्दैन । तर पोप फान्सिससँंग यस्तो साहस थियो कि उनले भने, ‘यदि कुनै व्यक्ति ‘गे’ (पुरुष समलिंगी) हो र ऊ भगवान् खोज्छ, पाउने आशा राख्छ भने म को हो हुँ र, उसको बारेमा निर्णय गर्ने ?’ 

पोप फ्रान्सिसले चर्चभित्रको परम्परागत घेरा तोडिदिए । त्यस्तैगरी गत वर्ष ल्याटिन अमेरिकी मुलुकहरूमा ‘जिका भाइरस’ संक्रमण बढेपछि पोप फ्रान्सिसले महिलाहरूलाई गर्भाधानका लागि कृत्रिम प्रक्रिया अपनाउन सुझाव दिए । अझै विस्तृतमा भन्ने हो भने पोप फ्रान्सिसले चर्चकोहरूको संरचनालाई विकेन्द्रित गर्ने, अझै समावेशी बनाउने र ‘चर्च सबैको घर को’ भन्ने देखाउने साहस देखाए, विवेक प्रयोग गरे । यस्तै समझदारपूर्ण क्रियाकलापले ठूला वरिष्ठ अधिकारीहरू बिनाआकाकानी भ्याटिकनमा आवतजावत गर्न सक्छन् । तर पोप फ्रान्सिस अझै पनि साधारण, सभ्य जीवन जिइरहेका छन् । धेरै नेताहरू एक वा अर्को विन्दुमा असफल भइरहेका हुन्छन् । तर यस्तै केही कुराले नेतालाई महान् बनाउँदै लगेको हुन्छ । 

प्रकाशित: भाद्र १७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार